शुक्रबार, वैशाख १४, २०८१

“एनआरएनएभित्र आधा वर्ष देखिको विवाद शक्ति र पदका लागि रहेछ भन्ने देखियो” संस्थापक सदस्य, खड्का

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ९ गते १६:१६

गैरआवाशिय नेपाली संघ (एनआरएनए) का संस्थापक मध्येका एक दिपक खड्काले अहिलेका गतिविधिले संस्थालाई दिर्घकालिन रुपमा अझ विखण्डन तर्फ डोर्‍याउछ कि भन्ने आशंका बढाएको बताएका छन ।

संघमा हाल सकृय नरहेका तर हरेक गतिविधिलाई गम्भिरतापूर्वक नियालीरहेका यि संस्थापक सदस्यले भने- यो दुई जना अध्यक्षको मात्र एनआरएनए होइन नि ! मलाई यो अनौठो लागिरहेको छ । मुख्य कुरा अहिले दुई जना अध्यक्षका प्रत्याशीबिच भएको मिलापले कस्तो नजिर बस्छ भन्ने हो ! तर अर्को पक्षबाट हेर्दा अहिलेको अवस्थामा मिल्नुको विकल्प पनि थिएन ।”

केही समय देखि संस्थाका गतिविधिले आफु निरास भएको बताउने खड्काले भने “संघ भित्र मौलाएको ब्यक्तिवादी सोचले नै अहिलेको अवस्था आएको हो । तथापी शुद्धिकरण गर्न सकिंदैन भन्ने चाहिं होइन । सामाजिक भनिएको संस्था अहिलेको अवस्थामा पुग्नु भनेको विडम्बना हो ।”

उनको थप भनाई छ “हामी विदेशमा बसेका छौं । नेपालमा भएका गतिविधिमा विभिन्न टिप्पणी गर्दछौं । राजनैतिक घरनाहरुलाई गाली गर्दछौं । तर हामी बाहिर बसेका, यहाँँको पद्दती जाने बुझेकाहरु खोइ त उदाहरणिय बन्न सकेको ?”

‘अब यसरी सहमतिमा बन्न लागेको समितिले एनआरएनएको भविष्यलाई कस्तो प्रभाव पार्ला ?’ भन्ने नेपालप्लसको एउटा निज्ञासामा खड्काले भने “मुर्त रुपमा हेर्ने हो भने साँच्चिकै यो कुनै समाधान होइन । अब उपाध्यक्षको बारेमा, महासचिव र सचिवको बारेमा के त ? मलाई त लाग्दछ, संस्थामा विकृतिको शुरुवात भएको छ । आम एनआरएनएहरुको लागि यो विडम्बना नै हो । दुईजना मिले पछी सबै कुरा मिल्छ भन्ने मानशिकता देखियो । यदी कुनै पक्षबाट साँच्चै नै केही गल्ती कमजोरी भएका थिए भने त्यसलाई पो सुधार गर्नु पर्ने हो । त्यो पक्ष तर्फ त कसैले सोच्दै सोचेन ।”

“दुई जनालाई मिलायो भने सबै मिल्छ भन्ने गलत सुरुवात हो । यो निकै निरासाजनक छ । तैपनि विगत आधा वर्ष देखि उब्जिएको परिस्थितीबाट बाहिर निस्किन केही मद्दत गर्ला कि भन्ने आशा हो” उनले भने “एनआरएनए भित्र आधा वर्ष देखि देखिएको विवाद विधी विधान र पद्दती भन्दा पनि शक्ति र पदका लागि रहेछ भन्ने देखियो । नत्र अध्यक्षको प्रत्याशी रहेकी एक जना महिलालाई किन बाहिर पारियो ?”

“महिला अध्यक्ष बनाएर सहमती गरेको भए त्यसको सन्देश निकै राम्रो जान्थ्यो” उनले भने “तीन जना अध्यक्षका प्रत्याशी मधे दुई जना पुरुषको वाहुल्य हुने एक जना महिला भएकै कारण बाहिर परे जस्तो देखियो” दिपक खड्काको तर्क छ ।

अहिले कुल आचार्यले संस्थापन पक्षसँग सहमति गरेपनि शेष घलेको एउटा समुह अझै पनि बाहिर छ । विभिन्न चरणमा घलेसँग वार्ता भएका छन । तर उनी मुलधारमा आउने नआउने टुङ्गो छैन । घले समुह एनआरएनबाट बाहिरिदा के असर गर्छ ?

खड्का भन्छन “संस्थाबाट जुनसुकै समुह अलग भए पनि असर पर्छ नै । अहिलेको स्थितिमा तेस्रो पक्ष देखिनु झनै चिन्ताको विषय हो । तर किन र केका लागि यस्तो भैरहेको छ मलाई अचम्म लागिरहेको छ ।”

तपाइँको प्रतिक्रिया