बुधबार, वैशाख १२, २०८१

नेपाली व्यवसायी संघ नेदरल्याण्डसले नेपाली व्यापार दिवश मनाउने

नेपालप्लस संवाददाता / नेदरल्याण्ड्स२०७८ चैत ९ गते १६:४८

नेपाली व्यवसायीहरूको हक, हित र सहयोगको लागि स्थापित संस्था नेपाली व्यवसायी संघ नेदरल्याण्ड (भीनोन) ले नेपाली व्यापार दिवश मनाउने लगायतका बिभिन्न निर्णय गरेको छ ।

आफ्नो वार्षीक साधारण सभा पश्चात निर्वाचित नयाँ कार्य समितिको पहिलो औपचारिक बैठकले यस्तो निर्णय गरेको हो ।

अध्यक्ष जीएन देवकोटा(अमिर)को अध्यक्षतामा बसेको उक्त पहिलो कार्यकारी बैठकले नेदरल्याण्डमा रहेका नेपाली उद्यमीहरूको हक, हित र सहयोगका लागि थुप्रै निर्णयहरू गरेको छ । बैठकले भविष्यमा छिट्टै नै एक बृहत कार्यक्रमको आयोजना गरि नेपाली व्यापार दिवस (नेपाल बिजनेश डे) मनाउने निर्णय गरेको हो ।

उक्त दिवसमा नेदरल्याण्डमा रहेका देश विदेशका सफल उद्यमीहरू, सरकारी प्रतिनिधीहरू र बिशिष्ट व्यक्तिहरूको उपस्थिती रहने छ ।

सचिवालय महासचिव आरके सुवेदीले नेपाली व्यवसायीहरूको हक, हित, सहयोग र प्रवर्दनका लागि भीनोनले बृहत कार्ययोजनाहरू ल्याएको बताएका छन् । जस अनुसार भीनोनले भविष्यमा उद्यमीहरूको लागि डिजिटल प्रविधिको बिकास र बजार व्यवस्थापन गर्न सहयोग गर्ने, ग्यास र बिजुली जस्ता वस्तुहरूमा सामूहिक छुटको लागि पहल गर्ने, उद्यमीहरूको खरिद-बिक्रीलाई सहजीकरण गर्न नेपाल डिलर होमको स्थापना गर्ने आदि छन् ।

उक्त बैठकले बीस हजार यूरो प्रारंभिक पूजी रहेको “भीनोन अक्षय कोष” स्थापनाको निर्णय समेत गरेको छ । भीनोनका अनुसार उक्त रकम भीनोनमा सदस्य रहेका नेपाली उद्यमीहरूलाई आवस्यकता अनुसार सहुलियत ब्याजदरमा लगानी गर्न ऋण सहयोग स्वरूप प्रदान गरिने छ ।

बैठकले आफ्नो संरचना विस्तारका लागि नेदरल्याण्ड्सका सफल नेपाली व्यवसायी शशी पौड्याल प्रमुख संरक्षक र हरेक निवर्तमान अध्यक्षहरू स्थायी सदस्य रहने गरी स्थायी रूपको भीनोन संरक्षण परिषद गठन गरेको छ ।

यसै गरि नेदरल्याण्डमा रहेका नेपाली तथा भूटानी सफल व्यवसायीहरू र गैरराजनीतिक सामाजिक अभियन्ता एवं उच्च दक्ष विद्वानहरू सम्मिलित एक विशिष्ट भीनोन सल्लाहकार परिषद समेत गठन गर्ने जानकारी दिईएको छ ।

तपाइँको प्रतिक्रिया