शुक्रबार, वैशाख १४, २०८१

घलेद्वारा निर्वाचन समितिमाथि दूर्ब्यवहार, निर्वाचन समितिद्वारा राजिनामा (राजिनामा पत्रसहित)

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत ९ गते १७:४४

शेष घलेद्वारा गठन गरिएको निर्वाचन समितिलाईनै घलेले दूर्ब्यवहार गरेको भन्दै समितिका चार जनाले राजिनामा दिएका छन् । निर्वाचन समितिद्वारा आज प्रेस बिज्ञप्ती जारि गर्दै उक्त घोषणा गरिएको हो ।

प्रेस बिज्ञप्तीमा ‘गैर आवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुको गत मार्च ६ तारिख २०२२ मा बसेको बैठकले दिएको म्यान्डेट अनुरुप प्रमुख संरक्षक शेष घलेले गठन गर्नुभएको निर्वाचन समितिमा रही हामीले काम गरिरहेकोमा एनसीसीका अध्यक्षहरुले नै हाल सुरु गरिएको निर्वाचन प्रक्रिया संघको विधान र नियमावली विपरित हुनुका साथै संस्थालाई विभाजित र विखण्डन गर्ने उद्देश्यले अगाडि बढाइएको भन्दै प्रमुख संरक्षकलाई त्यतिबेला दिइएको म्यान्डेट अधिकांशले फिर्ता लिएको हामीलाई जानकारी गराएको’ उल्लेख छ ।

बिज्ञप्तीमा भनिएको छ “मिति २३ मार्च २०२२ का दिन अपरान्ह निर्वाचन अधिकृतहरुको बैठकमा प्रमुख संरक्षकले प्रमुख निर्वाचन अधिकृतसहित निर्वाचन समितिका सदस्यहरुलाई अमर्यादित व्यवहार गर्नुभएको प्रति गम्भीर आपत्ति प्रकट गर्दछौं ।”

निर्वाचन समितिको राजिनामा

“घले ज्यूसँग निर्वाचन अधिकृतहरुले छलफल गर्न खोज्दा कुनै अनुमति नदिइकन आफ्नो कुरा मात्रै लाद्न खोजेको कुरा पनि यसै प्रेस विज्ञप्तिमार्फत पनि जानकारी गराउँदछौं” बिज्ञप्तीमा थप भनिएको छ ।

निर्वाचन समितिका अधिकारीहरुलाई जम्मा १३२ जना प्रतिनिधि (मतदाता) हरुको नाम उपलब्ध गराईएकोमा कतिपय नामहरु डुप्लिकेट रहेको पाइएको र कार्यक्रमस्थलमा सहभागी हुन आएका आधिकारिक प्रतिनिधिहरु हरुपनि समावेश नगरिएको आधिकारिक प्रमाणहरु पाइएको बिज्ञप्तीमा उल्लेख छ ।

“यसरी विधान विपरित स्वतन्त्र तथा निष्पक्ष निर्वाचनको मान्यता विपरित निर्वाचन गराउन हाम्रो नैतिकताले नदिने भएकाले हामीहरुले निर्वाचनसमितिबाट देहाय बमोजिमका सदस्यहरुले सामूहिक राजिनामा गरेको जानकारी गराउछौं” बिज्ञप्तीमा छ ।

“निर्वाचन समितिको नाममा अब उप्रान्त गरिने कुनै पनि क्रियाकलाप प्रति हाम्रो संलग्नता र सहमति नरहने पनि स्पष्ट पार्दछौं । हामीले राजिनामा दिनुपर्ने आधारहरु कानुनसम्मत र संस्थाको हकहितको लागि भविष्यमा मार्ग दर्शक बन्ने विश्वास लिएका छौं” बिज्ञप्तीको अन्त्यमा भनिएको छ ।

तपाइँको प्रतिक्रिया