शुक्रबार, वैशाख १४, २०८१

घलेले एनआरएनए बिभाजन गर्न खोजेको भन्दै एनसिसीहरुद्वारा असहमति

नेपाल प्लस२०७८ चैत ९ गते २०:२९

बुद्दि सुबेदी

गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले आफ्नो म्यान्डेटलाइ दुरुपयोग गरी संघ बिभाजन गर्ने उद्देश्यले एकतर्फीरुपमा निर्वाचन गर्न खोजेको आरोप लगाउँदै एनसिसीका नाममा भेला गर्नेहरुले असहमति जनाएका छन् ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्दी सुवेदीले आज प्रेस बिज्ञप्ती जारि गर्दै एनसिसी भेला आयोजकको नाममा असहमति जनाएका हुन् ।

उनले जारी गरेको बिज्ञप्तीमा भनिएको छ “एनसिसिका अध्यक्षहरुले गत ६ मार्च २०२२ मा संघमा देखिएको प्रतिनिधि विवादलाई समाधान गरी संकट समाधान गर्न प्रमुख संरक्षक शेष घलेलाई म्यान्डेट दिएकोमा उक्त म्यान्डेटलाई दुरुपयोग गर्दै एकतर्फी रुपमा सङ्घलाई विभाजन गर्ने उद्देश्यले एकपक्षीय निर्वाचन प्रकृया अगाडी बढाउन लाग्नु भएकाले उक्त कार्यप्रति हामी असहमति व्यक्त गर्दछौं ।”

बिज्ञप्तीमा गैर आवासीय नेपाली संघमा देखिएको विवाद समाधानका लागि उच्चस्तरीय समितिले छानबिन गरेबमोजिम वास्तविक प्रतिनिधि समावेश गरी विवाद रहित र स्वतन्त्र निर्वाचन र महाधिवेशन गराउन म्यान्डेट दिएको उल्लेख छ ।

तर दिएको म्यान्डेट विपरित विवादास्पद प्रतिनिधिका सम्बन्धमा छानबिन समेत नगरी, वास्तविक प्रतिनिधिको नाम प्रकाशित नगरी, एकपक्षीय ढंगले एनआरएनए एनसीसीहरूले सिफारिस गरेका प्रतिनिधिहरुको संलग्नता बेगरै कथित निर्वाचन गर्न लागेकोमा आफूहरु स्तब्ध भएको असहमति गर्नेहरुले उल्लेख गरेका छन् ।

उनीहरुले बिज्ञप्तीमा भनेका छन् “अर्को तर्फ गैर आवासीय नेपाली संघ विरुद्ध चिन्तामणि सापकोटा लगायत भएको निषेधाज्ञाको मुद्दामा सम्मानित उच्च अदालत, पाटनले एनआरएनएको विपक्षमा निवेदकको अधिकार हनन हुने गरी निर्वाचनजन्य कृयाकलाप नगर्न दिएको आदेशको सन्दर्भमा प्रमुख संरक्षकले गर्न लागेका गतिविधिहरु उक्त आदेशको विपरित हुने तर्फ समेत हामी सचेत छौं ।”

बिज्ञप्तीमार्फत् वास्तविक प्रतिनिधिहरुको संलग्नता विना एकपक्षीय र मनोमानी रुपमा एनआरएनएको विधान तथा नियमावली र अदालतको आदेशको बर्खिलाफ हुने क्रियाकलापमा एनआरएनएको संरक्षक संलग्न हुन खोजेकाले आफूहरुले ६ मार्च २०२२ मा दिएको म्यान्डेट फिर्ता लिएको उल्लेख गरेका छन् ।

“हामीले म्यान्डेट फिर्ता लिईसके पछि दशौं अधिवेशनका नाममा प्रमुख संरक्षकज्यूबाट भए गरेका कामका लागि हामी सहभागी र जिम्मेवार छैनौं । गैर आवासीय नेपाली संघको संकट समाधान गरी संस्था जोगाउन गरिने कुनै पनि पहलकदमीलाई हामी स्वागत गर्छौं ।”

असहमति जनाउनेहरुमा बुद्दी सुवेदी, दीपक गौतम, मोहम्मद मुक्तदा मुसलमान, शालिकराम डुम्रे, बिनोद थापा, सैलेन्द्र अधिकारी, कुन्दन घिमिरे, दीपक पुन, गीता खनाल थापा लगायत ५० भन्दा बढी देशका एनआरएनए राष्ट्रिय समन्वय परिषद (एनसीसी) का अध्यक्षहरु रहेको दाबी गरिएको छ ।

तपाइँको प्रतिक्रिया