बिहीबार, चैत १५, २०८०

विवादै विवादका बिचमा एनआरएन अभियानको उज्यालो पाटो

ददि सापकोटा२०७८ चैत १० गते १४:१६

लगभग छ महिना गैर आवाशीय नेपाली संघ (एनाअरएनए)को विवाद छताछुल्ल भयो । अँध्यारा कोठामा धेरै वार्ता भए । उज्याला छिंठीहरुमा विवाद मिलाउने धेरै छलफल गरिए । विवाद समाधानका नाममा धेरै समिति बने । करिब एक दर्जन बिकल्प अघि सारिए । यहि बिचमा एकले अर्कोलाई खुइल्याउने निकै प्रयास भए । तर विवाद उचालिँदै गए । आकाशिए । धेरैले भने- अब यो एनआरएनए भन्ने संस्थाको काम छैन । केहि अतिवादी र धेरै निराशावादीहरुले त यतिसम्म भने- अब यसलाई बिघटन गरिदिए हुन्छ । अर्थात् छ महिना लामो विवादकाबिच नाकारात्मक पक्ष मात्रै देखे । खराबै खराब मात्रै भेटे । तिनले सिक्काको अर्को पाटो हुन्छ भन्ने हेक्का राखेनन् । साकात्मकतापनि केहि छ कि भनेर सोच्ने लेठोसम्म गरेनन् ।

हो, एनआरएनएमा विवाद भयो । कचिंगलो मच्चियो । पदकालागि संस्थालाई दाउमा राख्ने कुचेष्टा पनि भए । तर यो विवादमा पदकालागि मात्रै मरिमेटेको भए पदकै लागि ज्यान फाल्नेले पाउने थिए । र विवादनै रहने थिएन । पदकालागि विधिविधान र पद्दतीलाई लत्याउनुहुन्न, बलात्कार गर्न दिनुहुन्न भन्ने पक्षपनि रहेकै यो विवाद स्रिजना भएको हो । राम्रो र नराम्रोकाबिचमा टकराव भएको हो । अन्तिम अवस्थासम्म संस्थाको विविधिविधान र पद्दतीलाई पालना गर्नु र गराउनुपर्छ भन्ने हजारौं एनआरएन र अभियन्ता थिए । त्यसैले विधानलाई पूर्णरुपमा शिथिल पार्न खोज्ने र सक्रिय राख्न खोज्नेबिच लडाई भयो ।

एनआरएनएका विधिविधानलाई अनादार गर्ने काम अहिले मात्रै होइन निकै लामोसमय देखि चल्दै आएको हो । केन्द्रिय समिति भनिएपनि अध्यक्ष केन्द्रित थियो यो संस्था । अध्यक्षले आफ्नो मनोमानि आफ्ना निर्णयहरु लाद्ने गरिएकै थियो । क्षेत्रीय संयोजक, राष्ट्रिय समन्वय समिति र आइसिसीलाई दिएका जिम्मेवारी पुरा नगर्ने र केन्द्रबाटै लादेर पुरा गर्न नदिने वा सक्रियनै नबनाउने गरिएको थियो । अहिलेको विवादले अब क्षेत्रीय समितिहरु सक्रिय हुनुपर्छ र तिनलाईनै आफ्नो क्षेत्रको विवाद मिलाउन मुख्य जिम्मेवार बनाइदिनुपर्छ भन्ने शिक्षा दिएको छ ।

यो संस्था लामो समयदेखि बल, शक्ति, सत्ताको आड, पाखुरा, धनको आड, उच्च हुँ भन्ने अहंकार, राजसी ठाँट र प्रदर्शनमा चल्दै आएको थियो । वा प्रभावित थियो भन्ने पाटो छर्लङ्गै थियो । त्यसको गति बढ्दै गएपनि हरेक महाधिवेशन्, निर्वाचनमा टालटुल पारिंदै आएको थियो । तर अहिले साना साना ति दुल्का भंगालामा बदलिए । त्यसपछि त्यहि बल, पैसा, शक्तिको तुजुकमै संस्थामा पद हत्याउने दुस्साहस चरमरुपमा यस पटक प्रकट भयो । अघिल्ला महाधिवेशनमा झैं सानातिना टालाले ति भंगाला टाल्न सकिएन । करिब १२ वर्षदेखि संकलन हुँदै गएको डंगुरको थुप्रो अहिले ढलेर एनआरएन सडकमा छताछुल्ल भएको मात्रै हो । अब यो डंगुर सफा गर्नुपर्छ भन्ने हेक्का सबैमा भएको छ । अब पक्कैपनि अहिलेसम्म देखिएका यि बिक्रिति र बसंगतिहरु तह लगाउन केन्द्रिय तहबाट मात्रै होइन देश देशबाटै आवाज उठ्ने छन् । यो सकारात्मक पाटो हो ।

अहिलेको विवादले सबैभन्दा धेरै सबक राजनितिक दलहरुलाईपनि सिकाएको छ । सम्पूर्ण नेपालीका साझा प्रधानमन्त्री शेर बहादुर देउवाले कुनै एक ब्यक्तिकालागि भोटको पछ्यौरा प्रवाशका सडकसडकमा ओछाउँदै हिंड्नुहुने थिएन । र एनआरएनएका अभियन्तालेपनि प्रधानमन्त्रीलाई गलत प्रयोग गर्नुहुन्थेन । नत प्रधानमन्त्रीले भन्दैमा प्रवाशका सबै नेपालीले खुरुक्क मान्थे न त अभियन्ताले प्रधानमन्त्रीलाई गलत तरिकाले प्रयोग गरेर भोट मागिदिन भन्दैमा आम गैरआवाशीय नेपाली खुशि हुन्थे । बरु प्रधानमन्त्रीले भोट मागेपछि एनआरएन, आफ्नै दलका कार्यकर्ताहरुमै आक्रोश र घ्रिणा उत्पन्न भयो । यसले ढिलैभएपनि प्रधानमन्त्रीसम्मलाई सबक सिकायो । र त कार्यक्रमको अतिथि बनिदिन आग्रह गर्दै देउवा निवाश पुगेका घले र कुल आचार्यलाई देउवाले जवाफ दिए- तपाईहरु गुट उपगुट बनाएर झगडा गर्नुहुन्छ । किचलो मच्चाउनुहुन्छ अनि मलाई विवादमा पार्नखोज्नुहुन्छ ? जानुस् पहिले तपाईहरु मिलेर आउनुस् ।

त्यति मात्रै होइन, एनआरएनएको विवादले गर्दा सरकारको नाकैमा कालो धब्बा बस्यो । परराष्ट्र मन्त्रालय बिरुद्द परेको मुद्दामा एनआरएनएका पक्षमा अदालतले निर्णय दियो । आफ्नै निकायमा दर्ता भएको संस्थासित सरकारले मुद्दा लड्न जानुपर्‍यो । अन्तत् हार्नुपर्ने अवस्थाले सरकार र नेपाली कांग्रेसनै लज्जित बन्नुपर्‍यो । परारष्ट्र मन्त्री, प्रधानमन्त्रीनै विवादमा तानिए । नेपाली कांग्रेसको भात्रि संगठननै विवादित बन्यो । प्रतिपक्षी पार्टीले एनआरएनलाई बिदेशमा बिभाजित गरेको आरोप लगाए । सरकार सन्चालन पार्टी, परराष्ट्र मन्त्री र प्रधानमन्त्रीनै लाग्दापनि सफल हुन सकेनन् । त्यसैले राजनितिक पार्टीहरुमा अहिले हेक्का भएको छ- सत्ता, पार्टी, शक्तीकै भरमा एनआरएनएलाई आफ्नो तजबिजले चलाउन नसकिने रहेछ । सत्ता र शक्तिभन्दा अलि पर सानो जिनिस् छ- न्याय र विधिविधान जसले मुख्य भूमिका खेल्छ । अब एनआरएनको मुद्दामा हात हाल्नु अघि राजनितिक दलहरुले १० पटक सोच्ने छन् । हच्किने छन् । यो एकदमै सकारात्म पक्ष हो ।

प्रवाशका भात्री संगठनपनि यो विवाद मच्चाउन उत्तिकै जिम्मेवार थिए । आफैं नेत्रित्वमा रहेको देशका विवाद मिलाउन नसक्ने, आफ्ना देशका साना समस्या समाधान गर्न नसकेर राजनितिक दल र नेताका ढोका ढोका चहार्ने । आफ्नो किचलोको भागिदार सम्पूर्णरुपमा केन्द्रलाई लगाउने, आफ्ना आफ्ना गुटका नेताको कान फुकेर आफू अनुकुल राजनितिक स्वार्थ एनआरएनएमा लाद्न खोज्ने । अब नेता, दल, सरकार, मुद्दामालिलाले मात्रै नेत्रित्व हत्याउन सकिन्न भन्ने तिनलाईपनि शिक्षा मिलेको छ ।

राजनितिक दल, तिनका कार्यकर्ता, नेताहरुले एनआरएनएका अभियन्ताबाट थैली लिएर आफ्ना आफ्ना गुटलाई चेपेका थिए । तिनले विवादमा रहेका पक्षलाई मिलाउने भन्दा थैलीकै सोझो गर्न आस्वाशन दिएका थिए । तिनले दाम त असुले । तर आसेपासेका आकांक्षा पुरा गर्न भने सकेनन् । यसबाट नेताहरुप्रति विश्वाश हुने रहेनछ । तिनको काम दाम झार्ने मात्रै रहेछ । तिनको आस्वाशनले मात्रै नेत्रित्वमा पुग्न नसकिने रहेछ भन्ने मलिनो बत्तीभएपनि तिनका दिमाखमा बल्यो ।

एनआरएनएको पदमा पुग्ने कतिपय आकांक्षी यस्ता थिए जसले हिजो नत कोरोना कालमा सहयोग गरे । न बाढी पहिरो जाँदा तिनले सुका दिए । नत भूकम्पकै बेला तिनले सेवा गरे । न एनआरएनए अभियानमा चासो र चाखनै रकहे । तर जबजब निर्वाचन आउँछ तबतब ति सल्बलाउँथे । दलाली गर्नेहरुबाट झारेको पैसो र राजनितिक भात्री संगठनका कार्यकर्ताको भोट गनेकै भरमा ति चुनावका बेला रडाको मच्चाएर, किचलो झिक्दै नेत्रित्वमा पुग्ने कसरत गर्थे । अब यस्ता अवशरवादीहरुलेपनि पाठ सिकेका छन् । ति अवशरवादीहरुलाई एनआरएनहरुले चिन्ने मौका पाए ।

अझ महत्वपूर्ण शिक्षा त गैर आवाशीय नेपाली संगका एनसिसी नेत्रित्वकर्ताले पाएका छन् । तिनले हिजो विधिविधानको अपहेलना गरेर एनसिसी भेला गर्ने, केन्द्रलाई बुझाउने शर्तमै लिएको सदस्यको दस्तुर गुटको निर्देशनमा नबुझाउने तर अनेक शर्त राखेर संस्थालाई बिभाजित गर्ने भूमिका खेलेका थिए । तिनको ध्येयपनि गुटका नेताको फेरो समातेर नेता बन्ने थियो । तर त्यस्ता स्वार्थीहरुको सपनापनि अहिलेको सहमतिले गर्ल्यामगुर्लुम ढालिदियो । गुटकै पछि लाग्दैमा नेत्रित्वमा पुग्न नसकिने रहेछ । आफ्नो स्वार्थ पर्दा गुटका नेताले सबैलाई छोडेर सुटुक्क सहमति गर्ने रहेछन् । अर्काको पछि लाग्दा बगरको ढुंगा झैं पल्टिनुपर्ने रहेछ । र हाम्रो बिजोग हुने रहेछ भन्ने गतिलो पाठ सिकेका छन् ।

पछिल्लो सहमतिले बिचौलियाहरुको झन ठूलो कन्तबिजोग भएको छ । ति संस्थापन पक्षसित मोलमोलाई र अनेक शर्त तेसार्दै ‘कलिङ काठमाडौं’मा निकै तामझामका साथ पुगेका थिए । तिनको तामझाम पाँच तारे होटेलदेखि चौरमा टाँगिएको टेन्टसम्म छरपस्ट भएको थियो । तिनमा एनआरएनए सचिवालयनै आफ्नै सन्दुसमा आइपुगेको भ्रम थियो । तर चौरमा गाडिएका टेन्टका खाँबापनि भोज सकिएर नझिक्दै तिनका सारा सपना चकनाचुर बने । जब माथिल्लो तहमा सहमति भयो यि बिचौलियाहरुको कन्तबिजोग बन्यो । अघिल्लो दिनसम्म राजा, महाराजा, देउता समान मानेका नेताहरुलाईनै तथानाम गाली गर्दै, बिज्ञप्ती र सामाजिक सन्जालमा स्टाटस लेखेर तितो पोख्नुपर्ने अवस्था बन्यो । एनआरएनएको समग्र अभियानकलागि यो ठूलो सम्पत्ती हो । किनभने सफा मनले लाग्ने समाजसेवीले अब त्यस्ता पदका लम्पट र बिचौलियाहरु को हुन् भन्ने चिन्न पाएका छन् । यसले आगामी नेत्रित्वकालगि, एनआरएनए अभियानकैलागि ठूलो ज्ञान दिएको छ ।

आम गैरआवाशीय नेपालीहरुले यो छ महिनामा बिगत दुई दशकमा चिन्न नसकेका अभियन्ताहरुलाई चिन्ने अवशर पाए । राजनितिक दल र गुटका नाममा संस्थालाई दुरुपयोग गर्नेहरु को हुन् र सच्चा अभियन्ता को हुन् भन्ने मेसो पाएका छन् । तिनले यो अभियानका सुझबुझपूर्ण, ईमान्दार, संस्थालाई वास्तवमै माया गर्ने, सहमति र सहकार्यकालागि अहोरात्र खटेर वार्ता र संवादको क्षमता भएका अभियान्कर्तालाईपनि चिन्न पाए ।

उच्च स्तरिय नेत्रित्वकर्तामापनि यसले ठूलै शिक्षा दिएको हुनुपर्छ । राजनितिक पार्टीका दैला चहार्नुहुन्न । तिनले आफ्ना स्वार्थकालागि कुनैपनि बेला प्रयोग गर्न सक्छन् । आफ्नो स्वार्थकालागि सबैसित साखुल्ले बनिदिन्छन् । तिनमा आफ्नो स्वार्थ सिद्द भएपछि उल्टै बदनाम गरिदिन्छन् भन्ने हेक्कापनि भएको छ ।

एनआरएनएको समग्र अभियानमा कहाँ कहाँ कमजोरीहरु छन् । यो संस्थालाई विवादित बन्न नदिन केकस्ता उपायहरु खोजिनुपर्छ भन्ने शिक्षा तिनलाई पक्कै मिलेको छ । संस्था हाँकिसकेकाहरुको दम्भपनि तोडिएको छ । क्षमताको तुलोमा ति तौलिईएका छन् ।

संस्थामा आजिवन हिरो बन्न खोज्नेहरुकालागिपनि उत्तिकै पाठ मिलेको छ । किर्नाहरुले रगत छउन्जेल चुस्छन् । जब शरिर ढल्छ ति फुत्रुक्क झरेर बाटो लाग्छन् । जुकाहरु आफ्नो पेट नभरिएसम्म ज्यानमा टाँसिन्छन् र भुँडी भरिएपछि फ्याट्ट भुइमा झरेर बाटो तताउँछन् भन्ने शिक्षा मिलेको छ । नेत्रित्वकालागि आजिवन रहर पालेकाहरुका वरिपरि झुम्मिएका किर्ना र जुकाहरु अहिले बाटो लागेपछि तिनकोपनि कन्तबिजोग भएको छ । योपनि समग्रमा एनआरएनए अभियानकलागि चम्किलो पक्ष हो ।

त्यसैले एनआरएनए भन्नु प्रवाशी नेपालीको समग्र, एकिक्रित, साझा अभियान हो । यो खोला, कुलेसा नभएर समग्रमा विशाल नदी हो । गर्मीयाममा साना कुलेसाहरु सुकिदिँदा नदीलाई सारा जमिनमा सिंचाई गर्न थोरै सकस हुन्छ । एनआरएनएको साझा अभियानमा आएका अहिलेका अप्ठेरा गर्मीयामको नदीले भोग्नु पर्ने सकस जस्तै हुन् । ति तिता छन् । तर तीनले संस्थाको समग्र अभियान र नेत्रित्वकालागि यति धेरै शिक्षा दिएका छन् कि गत दुई दशकमा तिनको कसैलाई हेक्का थिएन । सुख्खा जमिन रसाउन समय लाग्छ । तर त्यो रसाएपछि फेरि नदीमा पानी थपिन्छ र ति पुरानै गतिमा फर्किन्छन् । एनआरएनए अभियानपनि फेरि रसाउने छ । ति सबै शिक्षाबाट पाठ सिकेर फेरि उज्यालो बाटोतिर लम्किने छ ।

तपाइँको प्रतिक्रिया