बिहीबार, जेठ १२, २०७९

‘एनआरएनए बिगारेको पुरानाले हो, तिनलाईनै प्राथमिकतामा राख्ने ?’

डा. उपेन्द्र महतो२०७८ चैत १२ गते १२:४२

संस्था एकदमै बिकट पस्थितिबाट गुज्रिंदै छ । किनभने हामी सबैले अभियानकारुपमा बुझेको भए यो बिकट स्थिति आउने थिएन । जब हामी साँघुरिएर संस्थामा पस्यौं । त्यसैले यस्तो बिकट स्थिति आएको छ । यो बिकट स्थितिबाट पार गर्नपनि अरुले सक्दैनन् । हामी आफैंले मात्रै गर्न सक्छौं । त्यो भाव, त्यो सद्भाव र त्यो सद्भावना तपाईहरु सबैले देखाउनुभएकोमा धेरै धेरै धन्यावाद दिन चाहन्छौं । आभार प्रकट गर्न चाहन्छौं । मेरोलागि गैर आवाशीय नेपाली संघको पदमा पुग्न ६० लाख नेपालीनै सक्षम छन् । सबले चलाउन सक्छन् ।

तर पदहरु केहि सिमित भएकाले केहि ब्यक्तिहरुलाई जिम्मेवारी दिनुपर्ने बाध्यता छ । त्यो जिम्मेवारी सकेसम्म जिम्मेवारीका साथ काम गर्न सक्ने, काम गर्न खोज्ने सबैलाई अटाउने किसिमले प्रयास गर्ने छौं ।

हामी सात जना अध्यक्ष मण्डललाई तपाईहरुले जुन जिम्मेवारी दिनुभएको छ मलाई लाग्छ त्यसमा कसैलेपनि आफ्नो ब्यक्ति र आफ्नो विशेष स्वार्थलाई अगाडि बढाउनु छैन । उहाँहरु सबै यो संस्थामा दिनरात लाग्ने ब्यक्तिहरु हुनुहुन्छ । उहाँहरुले यो इमान्दारितपूर्वक गर्नुहुने छ भन्ने म विश्वाश दिलाउन चाहन्छु । र उहाँहरुले गरेको निर्णयलाई कहिलेकाहिं सानो र क्षणिकरुपमा मन नपर्दिन सक्छ त्यो मन नपरेको बेला चित्त नदुखाइदिनपनि म अनुरोध गर्छु ।

र सबैभन्दा ठूलो अनुरोध तपाईहरुसित मेरो के छ भने हेर्नुस् पाप गर्ने मान्छे त्यसको दोषी हुँदोरहेछ । यदि कुनै पाप कर्म गरेको छ भने उसको कर्मको फलपनि उसैले भोग्नुपर्छ । तर त्यो भन्दा बढी दोष कसलाई जान्छ भने त्यो पाप गर्न त्यो ब्यक्तिलाई कसले उत्साहित गरेको छ । कसले उसलाई प्रोभोक गरेको छ । म तपाईहरु सबैलाई एकदमै अनुरोध गर्छु, मलाई चाहिं पापको दोषी नबनाईदिनुहोला । किनभने मैले तपाईहरुलाई गैर आवाशीय नेपाली अभियानमा यस्तो उत्साहित गराइदिएको छु कि नेपाललाई सम्बृद्द गराउने अभियान तपाईहरु अहोरात्र, आफ्नो ब्यवशाय, आफ्नो काम र समय, आफ्नो परिवार छोडेर दिन रात यसमा लाग्नुभएको छ ।

म धेरै साथीहरुलाई हेरिरकहेको छु पछिल्लो समयमा । गैर आवाशीय नेपाली अभियानमा यत्ति लागिसकेका छन् कि आफ्नो ब्यवशायलाईपनि केहि समयकोलागि छोडिदिनुहुन्छ । यो पाप मलाई नबोकाईदिनुस् कृपया । तपाईहरु सबैभन्दा पहिला आफू बन्नेमा, आफ्नो ब्यवशाय, आफ्नो परिवार, आफ्नो काम, आफ्नो पेशालाई सबैभन्दा बढी समय दिनुस् । त्यसबाट बचेको समय मात्रै गैर आवाशीय नेपाली संघलाई दिनुस् ।

यदि गैर आवाशी नेपाली संघमा लागेर तपाईहरु बिग्रिनुभयो भने हामीले ठूलो पाप भोग्नुपर्छ । त्यो पापबाट मलाई बचाईदिनुस । त्यसमा मेरो एकदमै बिन्ति छ । अनुरोध छ । लाग्नुस् तर फूर्सदको बेलामा लाग्नुस् । सबै काम छोडेर नलाग्नुस् ।

यो गैर आवाशीय नेपाली अभियान ६० लाख गैर आवाशीय नेपालीको अभियान हो । प्रत्येकको मनमा, मस्तिष्कमा, दिलमा बसिसकेको छ । मैले आफूले सकेको काम देशको सम्बृद्दीकोलागि गर्नेनै छु । यसकोलागि मलाई कुनै पदनै चाहिंदैन । कुनै संस्था चाहिंदैन । कुनै ब्यक्ति चाहिंदैन । ‘म एक्लै गर्छु’ भनेर त्यो भावना सबैमा आइसकेको हुनाले तपाईहरुलेपनि म एक्लैपनि गर्छु भन्ने भाव ल्याउनुस् । म यो संस्थालाई दिनरात सबै छोडेर लाग्छु भनेर कृपया त्यो भाव नल्याइदिनुस । त्यो शुरुमा सन् २००३-२००५ मा आवश्यकता थियो । अहिले आवश्यकता छैन ।

त्यसकारण म फेरि अनुरोध गर्छु, तपाईहरु पहिले आफ्नो काम, आफ्नो पेशा, आफ्नो परिवारलाई पहिलो प्राथमिकतामा राख्नुस् । त्यसबाट निस्केको फुर्सदलाई गैर आवाशीय नेपाली संघ र देशको सम्बृद्दीको बाटोमा लगाउनुस् । यो तपाईहरुसित अनुरोध गर्दै आज जुन जिम्मेवारी दिनुभएको छ त्यसकालागि आभार ब्यक्त गर्न चाहन्छु ।

हेर्नुस् आज म फेरि तपाईहरुलाई एउटा कुरा भन्छु, १८ वर्षमा मैले आजसम्म कुनैपनि समितिमा मलाई मन नपर्ने कुरा भएपनि म सहेर बसेको छु । त्यो गैर आवाशीय नेपाली संघको, संस्थाको मर्मलाई संस्थाको रुपमा हुँदा खेरि म सहेर बसें ।

जीवाजी त्यतिखेर संस्थाको अध्यक्ष हुनुहुन्थ्यो । मलाई आएर भन्नुभो “सरकारको तर्फबाट तीन वर्ष लगातार बस्नेहरु मात्रै गैर आवाशीय नेपालीको दर्जा (स्टाटस) मा हुने भो । त्यसो गर्दा हाम्रा विद्यार्थी र मध्यपूर्वमा बस्ने श्रमिकहरु गैर आवाशीय परिभाषाबाट छुट्टिनसक्छन् । तर नेपाल सरकारले यो मानिरहेको छैन । तपाईले खालि बिरोध नगरिदिनुस, मनले मानिदिनुस् ।”

मैले ‘मेरो मनले त मान्दैन । म स्टेजमा गएर बिरोध गर्दिन । तर हात चाहिं बिरोधमा उठाउँछु ।’

तपाईहरुलाई थाह होला, त्यो सम्मेलनमा, हलमा मैले हात उठाएको थिएँ । म यो परिभाषालाई मान्दिन भनेर । र मैले अहिलेसम्मपनि मानेको छैन । तर विधिविधान अन्तर्गत रहेर मैले त्यो कुरालाई सधैं पालना चाहिं गरिरहेको छु ।

त्यस्तै गरेर, गैर आवाशीय नेपालीहरुको एकदमै बिकट स्थिति आउँदाखेरि मैले कुमारजीलाई भनें ‘यदि कसैको अहंकारको मात्रै समस्या हो भने मलाई कसैको मुन्तिर राखिदिनुस् । म काम गर्न तयार छु ।’

मलाई के विश्वाश थियो भने गैर आवाशीय नेपाली अभियानको बारेमा कसैलेपनि विधिविधानको अडान मैले भन्दा बढी जानेको छैन होला । तर त्यो विश्वाश मैले गुमाएँ । त्यो विश्वाश कायम गर्न सकिन ।

कुमारजी यहिं हुनुहुन्छ । उहाँले भन्नुभयो विधान संशोधन हुँदै छ । यो ६५, २५ १० प्रतिशत, अनलाईन आदि ईत्यादि । मैले उहाँलाई भनें ‘म यसमा सहमत छैन । मेरोलागि यो अनलाईन सहमति हुन्न ।’ हुनत म अलिकति परम्परावादी (कन्जरभेटिभ) पनि हुँला । मलाई मित्रहरुसित मुखामुख गर्न, अनुहार हेर्न मन लाग्छ । उसले भनेको कुरा मलाई कस्तो लाग्छ र मैले भनेको कुरा उसलाई कस्तो लाग्छ त्यो हेर्नकोलागि भौतिकरुपमै उपस्थिति हुने पक्षमा छु ।

यो हिसाबकिताब, गुणा गरेर पुरानो काम गर्नेहरुलाई ६५ प्रतिशत प्रतिनिधिमा राख्नुहुन्छ । संस्था बिगारेको कसले हो ? पुरानोले हो । नयाँले होइन । जसले संस्था बिगार्ने उसैलाई प्राथमिकतामा राख्ने ?’ भनेर कुमारजीलाई मैले भन्दाखेरि ‘अब यो विधान संशोधन समिति बनिसकेको छ । उहाँहरुले प्रस्ताव राखिसक्नुभएको छ । हामीले छलफल गर्छौं । जुन कुरा सर्वसम्मातिबाट पास हुन्छ त्यो मात्रै हामी पास गर्छौं । हुनदिन्छौं’ भन्नुभयो ।

कुमारजीले कुलजीलाई फोन गर्नुभयो । मैले भनें ‘कुलजीलाई प्रतिपक्ष नबनाउनुस् । एनआरएनमा प्रतिपक्ष कोहिपनि छैन । निर्वाचनको प्रक्रियाबाट हार्‍यो भने हार्‍यो ऊपनि साधारण एनआरएन हो ।’

मैले त्यसो भन्दा कुमारजीले ‘हैन, मैले उहाँलाई भनिसकेको छु । एक पटक आउन दिनुस्’ भन्नुभयो ।

मैले कुलजीलाई फोन गरें । ‘कुलजी, कुमारजीले यसो यसो भन्नुहुन्थ्यो । यो कुरामा म चाहिं सहमत छैन । यसरि अनलाईन के के । यो ६५, २५, १० प्रतिशतमा म सहमत छैन । म हिसाबमा कमजोर भएरपनि होला । मलाई यो मन परेको छैन । तर तपाईले त्यहाँ मानिदिनुभयो भने पास हुन्छ । मान्नुभएन भने बहुमतबाट पास हुन्न ।’

मलाई के विश्वाश थियो भने कुलजीले विधानमा यो ६५, २५ र १० प्रतिशत राख्ने कुरा मान्नुहुन्न होला । उहाँले गएर मानिदिनुभयो । आज सबैभन्दा झनझटको जडनै त्यहि रहेछ । मान्नु भो । पछि मैले ‘कुलजी तपाईलेपनि मान्दिनु भो ?’ भन्दाखेरि मलाई कुल जीले भन्नुभो ‘दाई मैले त सुन्दाखेरि मलाई राम्रै लाग्यो ।’

सुन्दाखेरि पो राम्रो लाग्यो । गर्दाखेरि लाग्नुपर्‍यो नी । हो त्यसकारण गैर आवाशीय मित्रहरुलाई के भन्छु भने मनमा लागेको कुराहरु भन्नुस् । तर जुन कुरामा हामीले सहमति जनाईसकेको छौं भने मन परेपनि नपरेपनि त्यो कालकोलागि त्यो कुरालाई मानिदिनुस् ।

बाहिर कमेन्ट गरेर, आज हामीले देश सम्बृद्द बनाउने, देश बनाउने कुरा गर्छौं । तर तपाई हाम्रो छबी नेपालमा के छ भन्ने तपाई हामीले एक पटक ऐनामा आफ्नो अनुहार हेरौं ।

तपाई हामी दिनरात मिलेर हामीले एनआरएनएको स्टाटस बनायौं । छबी बनायौं । त्यो छबी बिगार्नकोलागि केहिपनि समय लागेन । तर एउटा चिन्ता के नगर्नुस् भने यो सबै क्षणिक कुरा हो । तपाई हामीले गर्ने हो भने यो यति छिटो मेटिएर जान्छ कि तपाई हामी आजै संकल्प गरौं, पदमा आएपनि नआएपनि यस सम्बृद्दीको अभियानमा अगाडि बढ्ने छौं । लाग्ने छौं । र यसको बिग्रेको छबीलाई सफाई गरेर अझै माथि तुरुन्तै लग्ने छौं । यो संकल्प गर्न आज हामी सबैले मनमा राखौं ।

हामी जुन अभियानमा लागेका छौं त्यो पवित्र अभियान हो । यो अभियानले यहाँ केहि नभएतापनि माथि (स्वर्ग) जाने बेलामा भगवानले सोध्छ ‘के गर्‍यौ ?’ अरु केहि नगरेपनि केहि नभन्नुस् । यत्ति भन्नुस् ‘गैर आवाशीय नेपाली अभियानमा लागेको थिएँ।’ सबैकुरा माफ हुन्छ ।

(गैर आवाशीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा जारि दशौं महाध्वेशनमा एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्रले राखेको मन्तब्यको संपादित अंश-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक