शुक्रबार, जेठ १३, २०७९

विश्वव्यापी भौगोलिक र संख्यात्मक विस्तारका बावजूद एनआरएनएको साख गिर्नु दुर्भाग्यपूर्ण

जीवा लामिछाने / काठमाडौं२०७८ चैत १२ गते १४:२९

संसारभरि छरिएर रहेका असंख्य साथीहरूको संघर्ष, परिश्रम र योगदानले स्थापित गैरआवासीय नेपाली संघले विभिन्न चुनौतीलाई पार गर्दै करिव दुई दशकको यात्रा तय गरेको छ । एक संस्थापक सदस्यका नाताले म झन्डै २० वर्ष अगाडिका ती दिनहरु सम्झेर अझै भावुक र रोमाञ्चित हुन्छु । जब हामी सन् २००३ मा पहिलो विश्व सम्मेलन गर्दै थियौं, नेपालको शान्ति र समृद्धिमा आफ्नो क्षमताले भ्याएसम्म संलग्न हुने उत्कट चाहनाले हामी बीच गहिरो एकता, उत्साह र केही गरिहाल्ने आतुरता थियो । संसारभरि छरिएर रहेका नेपालीलाई एक आपसमा भावनात्मक रुपमा जोड्नु हाम्रो प्रारम्भिक लक्ष्य थियो । अनि त्यसरी भावनात्मक रुपले एकताबद्ध डायास्पोरालाई आआफ्नो सीप र क्षमतालाई बोकेर मातृभूमि नेपालको समुन्नतिमा हातेमालो गर्न प्रेरित गर्ने हाम्रो मूल लक्ष्य थियो । हाम्रो संगठित प्रयत्नका फलस्वरुप यी दुवै लक्ष्य नसोचेको गतिमा हासिल भयो ।

गैरआवासीय नेपाली संघले संसारका सबै कुनाका सबै नेपालीलाई भलै समेट्न सकेको छैन होला । तर हरेक देशमा हाम्रो संगठन नेपालीहरूको सबैभन्दा ठूलो, प्रभावशाली र समुदायको साझा चौतारी जस्तो संगठन बनेको स्वीकारोक्तिमा कुनै अत्युक्ति छैन ।

गैरआवासीय नेपाली अभियानको विस्तारसँगै संख्यात्मक र गुणात्मक ढंगले बृद्धि भइरहेको विश्वव्यापी नेपाली समुदायको नेपालसँग जोडिने क्रममा पनि अभूतपूर्व बृद्धि भएको छ । अब एनआरएनहरूको नेपालमा कति लगानी छ भन्ने प्रश्न नै गौण बनेको छ भन्ने लाग्छ । किनकि गैरआवासीय नेपाली समुदायको साना ठूला आर्थिक र बौद्धिक लगानी अब नेपालै भरि छरिएको छ र गनेर साध्य छैन । परिवारदेखि समुदायसम्म, परोपकारदेखि नाफामूलक परियोजनासम्म क्षमता अनुसारको व्यक्तिगत वा सामुहिक लगानीले गैरआवासीय नेपालीको उपस्थिति अब नेपालका हरेक क्षेत्रमा फैलिएको छ । यो अझ घनिभूत भएर विस्तारित हुनेमा कुनै शंका छैन ।

विदेशमा रहेर पनि नेपालको उन्नतीमा हातेमालो गर्न उत्साहित समुदायका रुपमा मातृभूमिले पनि हामीलाई उत्तिकै स्नेह दिएको थियो र छ । छोटो समयमै गैरआवासीय ऐनदेखि गैरआवासीय नागरिकतासम्मका ऐतिहासिक उपलब्धिका पछाडि आम नेपाली जनताको यही स्नेह र आशाको ठूलो भूमिका रहेको कुरामा कुनै विवाद छैन । संविधान निर्माणपछि समग्र मुलुक नै समृद्धिको पथमा केन्द्रित रहेको बेला त्यो यात्रामा हाम्रो समुदायको सहभागिता अपेक्षित र आवश्यक थियो । देशको हामीप्रतिको माया र अपेक्षा आज पनि उस्तै छ ।

तर साथीहरू, के हामी जुन उद्देश्यले जोडिएका थियौं, ‘नेपालीका लागि नेपाली’ भन्ने जुन भावनाले गाँसिएका थियौं त्यसमा अझै उत्तिकै समर्पित त छौं ? मातृभूमिको समृद्धिमा नै डायास्पोराको इज्जत, सम्मान र सुरक्षा आधारित हुन्छ भन्ने बुझेको हुँदा नेपालको समुन्नतिमा हाम्रो गहन भूमिका हुनैपर्छ भन्ने कुरामा हामी विश्वस्त छौं । तर के आफ्नो भूमिकाप्रति हाम्रो स्थापनाकालीन प्रतिबद्धता अझै उत्तिकै गहिरो त छ ?

दुई दशकको यो रोमाञ्चक यात्रामा कतै हामीले आफ्नो ‘फोकस’ गुमाएर पथच्युत त हुँदै गएनौं ? अभूतपूर्व विश्वव्यापी भौगोलिक र संख्यात्मक विस्तारका बावजूद हाम्रो संस्थाको साख आज किन गिरेको छ ? यो अति नै दुर्भाग्यपूर्ण कुरा हो । त्यसका लागि थोरबहुत हामी सबै जिम्मेबार छौं । संघमा आवद्ध सम्पूर्ण नेतृत्व वर्गले यस्तो अवस्था किन आयो र अब के गर्ने भन्ने विषयमा खुला सम्वाद, आत्मालोचना र विमर्श गरेर सुधारका उपाय पहिल्याउन आवश्यक छ । र, इमानदारिपूर्वक त्यसलाई लागू गर्ने प्रतिबद्धता देखाउन जरूरी छ ।

गैरआवासीय नेपाली साथीहरू, हामीसँग संसारमा अरु कुनै डायास्पोरासँग नभएको गर्व गर्नलायक विश्वव्यापी संगठन भएको इतिहास निर्माण भइरहँदा केही अनपेक्षित विकृति र अप्ठ्याराहरूको सामना गर्नु परिरहेको हामी सबैले महसुस गरेका छौं । नेतृत्वको चयन गाह्रो र असाध्यै खर्चिलो हुँदै गएको छ । हामीले यसमा सुधार गर्न तुरन्तै कदम चालेनौं भने धेरै ठूलो वर्गको यो संगठनप्रति मोहभंग हुने अब निश्चित भइसक्यो ।

यसै पनि अझै आलोचनात्मक दृष्टिकोण लिएर विदेशमा धेरै नेपाली साथीहरू संगठनबाट टाढै हुनुहुन्छ र सबै वर्गका गैरआवासीय नेपालीहरूलाई आबद्ध गर्न सकिएको छैन । यस्तोमा हाम्रो भूमिकाको बारेमा गहन छलफल गर्नुपर्ने सम्मेलन चुनाव केन्द्रित र बिभिन्न किसिमका उचित, अनुचित र असामयिक प्रभावको कैदी हुँदै गएको छ ।

यस पटक पनि फेरि नेतृत्व चयन कै विवादले एउटा दुःखद परिस्थितिको सृजना भयो । विवाद समाधानका लागि पूर्व अध्यक्षहरू संलग्न उच्चस्तरीय समिति बनेको थियो । आम अपेक्षा विपरित त्यो समिति असफल त भयो नै हाम्रै बीचमा पनि धेरै समस्या रहेको देखियो । एक पूर्व अध्यक्षका नाताले म यसमा आत्मालोचना गर्छु र संलग्न सबैलाई त्यसै गर्न अनुरोध गर्छु । हामीले विधान परिवर्तन गरेर पूर्व अध्यक्षहरूको भूमिकालाई सीमित र नियन्त्रित गर्न आवश्यक छ भन्ने निष्कर्षमा म पुगेको छु । र नयाँ कार्यसमितिलाई त्यसै गर्न आग्रह गर्छु ।

यस पटक प्रतिनिधि चयनमा देखिएको विवादले एकदमै अनपेक्षित र अप्रिय परिस्थितिको निर्माण भयो । अहिले बनेको कार्यसमितिका साथीहरूले आफ्नो कार्यकालभित्र विधानमा आवश्यक संशोधन गर्दै विवादरहित प्रतिनिधि चयनको प्रक्रिया अपनाएर संगठनलाई फेरि पुरानै लयमा फर्काउँदै पुनः आफ्नो उद्देश्यमा केन्द्रित गराउनु हुनेछ र संस्थाको गरिमालाई पुनर्स्थापित गर्नु हुनेछ भन्ने अपेक्षा राखेको छु ।

केही असमझदारीवश गैर आवाशीय नेपाली संघबाट चोइटिएर गएका साथीहरूको भावनालाई संबोधन गर्दै फर्काएर एकताको संदेश दिनु हुनेछ भन्ने पनि विश्वास लिएको छु । नयाँ कार्यसमितिका साथीहरूले यसैलाई आफ्नो कार्यकालको मूल जिम्मेबारी ठानेर काम गर्नु पर्नेछ । यद्दपि यो गहन जिम्मेवारी एउटा कुनै कार्यसमिति वा पदाधिकारीको मात्र होइन, गैरआवासीय नेपाली संघसँग जोडिएका हरेक सदस्यको हो भन्ने आत्मसात गरौं ।

साथीहरू, इतिहासको निर्माण गर्न गाह्रो हुन्छ भन्ने हामीलाई थाहा थियो । तर त्यो इतिहासको गरिमालाई अक्षुण्ण राख्न ‍झन् गाह्रो हुने रहेछ भन्ने हाम्रो दुःखद अनुभवले देखायो । आऔं, आज हामी एउटा संकल्प गरौं । गैरआवासीय नेपाली संघको विधान र उद्देश्य अनुरुप यो संघलाई एक स्वतन्त्र, गैरराजनैतिक सामाजिक तथा परोपकारी संस्थाका रुपमा अक्षुण्ण राख्दै थप प्रभावकारी बनाउनका लागि सबै राजनितिक दलहरुसँग सहयोग मागौं । तर हस्तक्षेपकारी भूमिका निर्वाह नगरी दिनु हुन सामुहिक अनुरोध गरौं । उहाँहरूले पनि बुझ्नु भएको छ- एकतामा मात्र गैरआवासीय नेपाली समुदायको शक्ति छ ।

र अन्त्यमा, यो संगठनको अस्तित्वको सारमा रहेको ‘नेपालीका लागि नेपाली’ भन्ने महान मन्त्रको उच्चारण गर्दै, सम्मेलन अवधिमा भोगेका नकारात्मक अनुभवलाई बिर्सेर आ-आफ्नो देशमा फर्केपछि एकता र भाइचाराको संदेश छर्न, संगठनमा अझ धेरै नेपालीको सहभागितालाई सुनिश्चित गर्न र नेपालको समुन्नतिको यात्रामा उत्साहका साथ जोडिन आह्वान गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु ।

मातृभूमिको जय होस ! सबैको जय होस् !

(गैर आवाशीय नेपाली संघको काठमाडौंमा जारि दशौं महाध्वेशनमा एनआरएनएका संस्थापक मध्ये एक जीवा लामिछानेले राखेको मन्तब्य-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक