शुक्रबार, जेठ ६, २०७९

रविन्द्र मिश्रको उल्टो बाटो

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १२ गते १७:३४

रबिन्द्र मिश्र । फोटो स्रोत- द काठमाण्डु पोष्ट

रबिन्द्र मिश्र फेरी चर्चामा छन । उनलाई चर्चामा आउने तरिका थाहा छ । मिश्र राजनीतिमा आएको ५ वर्ष २६ दिन भएको छ । तर उनी चर्चामा आउन थालेको अली अघि देखि नै हो !

बीबीसी नेपाली सेवाको नेपाल सन्दर्भ सायदै मान्छेहरुले विर्सिन सक्छन । खरो प्रश्न, देश विदेशको अनुभव र हरेक दिन जसो फेरिइरहने नेपाली राजनीतिको रङ, मिश्रलाई चर्चामा ल्याउन मनग्गे थिए । मिश्र स्वभावले पत्रकार होइनन । तर उनलाई के थाहा थियो भने पत्रकारिता नै यस्तो बाटो हुनसक्छ जसले राजनीतिको बाटोलाई खोतल्न मद्दत गर्न सक्छ । त्यसैले अंग्रेजी विषयमा स्नातकोत्तर गरेका मिश्र पत्रकारिता पढ्न पंजाव युनिभर्सिटी लाहोर पुगे । मनले मानेन शायद । लण्डन हान्निए ।

युनिभर्सिटी अफ लण्डनबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरे । सन १९९५ देखि बीबीसी नेपाली सेवामा जोडीएका मिश्रले २००६ मा प्रमुखको जिम्मेवारी पाए । त्यही खुड्किलो थियो जसमा टेकेर मिश्रले चर्चाको वुलंन्दी छोए ।

बीबीसी नेपाली सेवाले नेपालका विभिन्न राजनीतिक आन्दोलनमा गाउँ गाउँबाट जनतालाई सडकमा उतारेको थियो । खास गरेर २०४६ सालको जनआन्दोलन सफल हुनुमा यो रेडियो कार्यक्रमको धेर थोर हात छ ।

त्यो बेला आन्दोलनरत दलहरुले आफ्ना कार्यक्रम र योजनाहरु जनता माझ पुर्‍याउने एउटा मात्र माध्यम बीबीसी नेपाली सेवा नै थियो । यसैका समाचार र कार्यक्रमहरुले जनता तात्तिएका थिए । आन्दोलन सफल भयो । तर जनताको आकांक्षा सफल हुन सकेन । रविन्द्र मिश्र जनताका सफल हुन नसकेका आकांक्षाका बिचमा उदाएका थिए । नेपाल सन्दर्भमा सोधिने हरेक प्रश्नहरु नेपाली जनताका थिए । नेता र राजनीतिक दलहरुसँगको जनताको निराशा मिश्रले समातेका थिए । त्यही थियो उनको चर्चाको चुरो ।

उनले नेपाल सन्दर्भमा राजनीति दलका नेताहरुलाई गर्ने प्रश्न सुन्दा सुन्दा धेरैलाई ‘यो मान्छे राजनीतिमा आउने हो भने देशको कायापलट नै हुन्छ । देश परिवर्तन गर्ने सामर्थ्य छ मिश्रसँग’ भन्ने लाग्यो ।

दुनियाँको रित अजीवको छ- उचाल्नेहरु धेरै हुन्छन । तर हात समात्ने भेटिंदैनन । मिश्रलाई पनि लाग्यो, यो देशको मुहार मैले मात्र फेर्न सक्छु । आज भन्दा ५ वर्ष २६ दिन अघि जतिबेला रविन्द्र मिश्रले निर्वाचन आयोगमा साझा पार्टीका नामले नयाँँ पार्टी दर्ता गराए त्यही बेला निकै सामान्य सुनिने र वस्तिको भाषा जस्तो लाग्ने आम आद्मी पार्टीले भारतमा तहल्का मच्चाएको थियो । दिल्ली विधान सभा चुनावमा त्यो पार्टीले ईतिहास निर्माण गर्‍यो । सरकारी सेवाबाट अवकाश प्राप्त अरविन्द केजरिवाल रातारात हिरो भए । उनको शान्त र सालीन उपस्थितीले धेरैको मनमा स्थान बनायो ।

केजरिवाल दिल्ली देखि धेरै पर काठमाडौंका मनसम्म पुगे । त्यही बेला हरेक नेपाली राजनीतिककर्मीले आफूमा एउटा केजरिवाल देखे । रविन्द्र मिश्रले पनि देखे । ‘भ्रष्टाचारिलाई किरा परोस’ लेखिएका टि-सर्ट लगाएर सडकमा धर्ना बस्नु भन्दा चुनाव लडेर निति निर्माण गर्ने तहसम्म पुग्न चाहने निर्णय पक्कै पनि जायज थियो । तर खराव के थियो भने उनले आफूमा कहिल्यै पनि रविन्द्र मिश्र देखेनन । सधैं अरविन्द केजरिवाल देखे ।

हुन त छिमेकी देशको राजनीतिले नेपालमा प्राय: प्रभाव पार्दै आइरहेको छ । नेपालका धेरैजसो नियम कानुन अझ त्यसमा पनि संविधानमा नै भारतीय संविधानको प्रभाव छ । तर बेलायतबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका मिश्रले आफ्नो भूगोल, समाज र संस्कृतिको गतिलो अध्ययन नागरिकनै आफू भित्र कुनै ब्यक्तिको प्रतिविम्ब खोज्नु किमार्थ सहि थिएन । त्यहि कारण हो रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीले विघटनका अन्तिम पाइला चालेको देखिंदैछ । पाँच वर्षको अन्तरमा टुक्रिने, जोडीने र फेरि टुक्रिने क्रम तय गरिरहेको यो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय हुने खवर खासमा अब नौलो रहेन । दुबै पार्टीका नेताहरुबिच विभिन्न चरणका छलफल भैरहेको राप्रपाका नेताहरुले सार्वजनिक गरिसकेका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देनको उदयसँगै त्यो पार्टीले स्पष्ट रुपमा राजतन्त्र पुनर्स्थापना र हिन्दुराष्ट्रको एजेन्डा अगाडि सारेको छ भने विवेकशील साझा पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कल्याणकारी लोकतन्त्र, संसदबाट निर्वाचित गैरदलीय ख्यातीप्राप्त व्यक्ति राष्ट्रपति भन्ने कुरा अगाडि सारेको छ । झट्ट हेर्दा दुई पार्टीका विच पार्टीगत एजेण्डा मेल नखाए जस्तो देखिन्छ । तर केही समय अघि मिश्र आफैले ल्याएको ‘मार्ग परिवर्तन’ भन्ने दस्तावेज संघियता खारेज गर्ने र धर्म निरपेक्षताका बारेमा जनमत संग्रह गर्ने कुरा उठाए । उनी विवादमा पनि तानिए । दस्तावेजको चर्को विरोध भयो ।

उनले दस्तावेजमा उल्लेख गरेका छन- धर्मनिरपेक्षताबारे जनमत संग्रह, स्थानीय निकायलाई पूनर्संरचना र सुदृढ गर्दै संघियताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन । यो मार्ग परिवर्तन हो । गोरखा जानुपर्ने मान्छे गोरखपुरतिर हिँडेर कहिल्यै गोरखा पुगिँदैन । लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने गए हुन्छ । तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन ।

दस्तावेजमा चलेको विवाद र आफूसँग असहमत पक्षका २६ जनालाई मिश्रले कारवाही गरिसकेका छन । पार्टीको विवाद अदालतमा छ । यहि मेसोमा उनी विवेकशिल साझाबाट राप्रपामा फड्को मार्न खोजिरहेका छन । राजेन्द्र लिङ्देन राप्रपा नेतृत्वका लागि नयाँ अनुहार हुन । त्यसबाहेका प्राय: अरु सबै पंचायतमा देखिएका अनुहारहरु हुन । कुनै न कुनै कालखण्डमा कालो पोतिएका ब्यक्तिहरु छन ।

लिङ्देनकै भनाइ अनुसार साँच्चिकै यथार्थपरक नेता हुन उनी भनेपनि उनका एजेण्डाहरु पश्वगामी छन । यो यस्तो समय हो जुन समयमा राजतन्त्र कहिल्यै पनि बैकल्पिक शक्ति हुन सक्दैन । कांग्रेस एमालेहरुको विकल्प राप्रपा हुन सक्ला । तर राजा हुन सक्दैन । मिश्रको उल्टो कदमले देशको राजनीति र गणतन्त्रलाई खासै फरक पर्ने छैन । तर अली अली फरक ति मान्छेहरुलाई पर्ने छ जसले कुनै राजनीतिज्ञलाई कडा प्रश्न सोधेकै भरमा मिश्र भित्र देशको अनुहार फेर्ने सामर्थ्य देखेका थिए ।

साँच्चै देशको अनुहार कस्तो हुन्छ ? मिश्रले देखेका होलान त्यो अनुहार ? नेपालमा राजतन्त्र नभोगेको पुस्ता भर्खर किशोरावस्थामा छ र अहिले रहेको ८५ प्रतिशत जनसंख्याले कुनै न कुनै रुपमा राजतन्त्र भोगेको छ । राजतन्त्र भोग्नेहरु सबैलाई थाहा छ त्यो भोगाइ । मिश्रले कसरी भन्लान राजतन्त्र अग्रगमन भनेर ? अहिले हेर्दा रविन्द्र मिश्र थाकिसकेका छन । जो मान्छे थाक्छ निश्चित रुपमा उ उल्टो बाटो फर्किन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक