मंगलबार, वैशाख ४, २०८१

पानीको चुल्ठो मैलुङमा !

युवराज नयाँघरे२०७८ चैत १३ गते १०:०४

घुम्नु त घुम्नु शरद ऋतुमा ! हुन पनि भनेजस्तो ऋतु हो शरद् । कति धेरै प्रकृतिको छटा सुन्दरता देखिने पनि, भेटिने पनि । असोजको धपक्क चिसो मौसम ।

कुइरो नि खेल्ने, पानी पनि सङ्लिने । हामी ठूलै हूल कसेर मैलुङ पुग्यौँ– रसुवाको सुन्दर बस्ती । पानी, पानी र पानी ! यत्ति शब्द खेले मेरा छातीमा ।

त्रिशूलीको बेत्रावतीबाट छुट्टिएर मैलुङ जाने गाउँले गोरेटो, तन्कियो मस्तले । मणि, जयदेव, दीपक र गोपाल सन्जेलको लर्कन छ मसँग । अरु धेरै कविताका हली गोठालालाई बद्री मुडभरी र श्रीराम श्रेष्ठले मियो बनाएर लगेका छन् । मै नि परेँ, त्यही हुलको एउटा अनुहार ।

बेत्रावतीपछि धान खेतको लहलहमा हाम्रा छातीले धेरै बेर अलौकिक श्वास लिए, हर्षको कम्पन फेरे र प्रकृतिको उज्यालो आँखामा भरे । जीवन कति धेरै रुखिएछ, हँ !

सिउरानी, अर्चले फाँट, सल्मेटार र फलेटार नाँघ्दा फाट्टफुट्ट बस्तीसँग देखभेट भइरह्यो । दिन बिलिँदो छ । पहाडका चेपबाट हुसुस्स आउने कुइरोले हामीलाई मुसार्न छोडेन । ऊ छोएर जान्थ्यो, उकुसमुकुसिन पुग्थ्यौँ हामी ।

मैलुङका बारेमा धेरै कुरा सुने पनि पुग्न सकेको थिइन् । खोलैखोला र पानीको अपार भण्डार छ भन्ने खबर मेरा कानदेखि छातीसम्म भरिएका थिए टम्म । धेरै अघिदेखि । पानी पढ्ने रहरले नै होला भाइ श्रीरामले हिउँदपछि बर्खा र बर्खापछि हिउँदको समय मिलाउन खोज्दा मैले, निकै पटक उनलाई झम्टा खाएको थिएँ ।

अनि यो बल्लतल्ल मौका मिल्न पुग्यो । असोजको उज्यालो क्षितिज हेरेर साइत बन्न पुग्यो मेरा लागि ।

बिहानैदेखिको रस्साकस्सी झन् साँझसम्म बढ्न पुग्यो बेस्सरी । निकै वरदेखि भेटिएका पानीको बाँध, खोला, झर्ना र झरझर आवाजले म लट्ठ भएँ । साथीहरु अझ अवाक् भए । हरेक कुरा नौला, अपत्यारिला, विस्मित् पार्ने खालका छन्– पानीका चर्तिकला ।

तामाङै तामाङहरुको बाक्लो उपस्थिति रहेछ यो भेगमा । सरल र हार्दिक तिनको व्यवहारबाट हाम्रा कवि–चेतनामा पटक–पटक श्रद्धा उम्रिन्थ्यो । निकै वरदेखि नै हाम्रा साथी भएका चितबहादुर तामाङ भन्थे– ‘पहिला छोरी जान्थे बम्बै, अचेल छोरा जान्छन् बहराइन !’

जाने क्रममा फरक आएको रहेछ । क्रम टुटेको छैन । मात्र त्यति हो । दुःखलाई चिन्ने पद्धतिमा कमी आएको छैन । चितबहादुरले पटक–पटक यही कुरा भने । मैलुङ, भाङे, करेला, त्रिशूली सबै खोलाका पानी चाख्दा यही कुरा सुनिरहेँ मैले । सेतो सुन बगिरहेका खोला छेउमा धरधरी आँसु– सिमानापारि बालुवा बोक्ने यिनै बलिया ज्यान ।

घाम र पानीसँग राम्रो भेटघाट भयो । मैलुङको गर्जन अतिशय थियो । पहाडबाट गड्गडाएर मैदानको बाटो नसमातेको तुजुग मैलुङमा थियो । त्रिशूलीको झरझर झनै उल्कापातको थियो । साथीहरु पानीलाई हेर्थे र भन्थे– ‘यसमा सुन, फलाम र तामाका कण बगेर आएका छन् है !’

झरना अगाडि लेखक नयाँघरे

कुरो के थियो– धेरैले सामान्य रुपमा लिन्थे र हाँस्थे । तर आइतमान तामाङले यो कुरा हाँसोमा बिलाउन नदिने आधार दिए, तर्क पेस गरे ।

हो, यी खोलामा धातु र अभ्रखका बहुमूल्य घाउहरु गणेश हिमालतिरबाट खस्दा छन् रे । उनले एक मुठी बालुवामा पहेँला, राता, खैरा मिहीन कण नि देखाएथे ।

उत्तरतिरको बाटोमा केही अघिसम्म धानबारीको लहलहले थिचथाच पारेको थियो । आँखामा पहेँलपुर सुन्दरताले अँगालो हाल्न ठ्याम्मै छोडेन । तर भर्खरैदेखि अर्कै छटाले छुन थाल्यो– घरीघरी ।

मैलुङको झरझर । उत्ताउला छालहरु । शरीरै झन्झनाउने आवाजको पौँठे जोरी । हरेकका ओठ पक्क परे । आँखा छक्क परे । हृदयले बुर्कुसी मारेर पहाडका चेपबाट कोलाहल मच्चाउने त्रिशूलीसँग प्रश्न गरे अनगिन्ती ।

महा छक्क भइरहेछन् मेरा आँखा । बाफ रे कति धेरै झर्ना । साँच्चिकै कति धेरै छहरैछहरा । पूर्वपश्चिम– उत्तरदक्षिण सेताम्मे झर्नाको लस्कर । डाँडाबाट हाम्फालिरहेका सेता शक्तिशाली जल सुइरा । पानीमाथि पानीको धावा !

‘दाइ यो झर्नाको बस्ती हो ।’ श्रीरामले अलिक अघि बाटैमा भेटिएको झर्नालाई चिनाजानी गर्दै भनेथे । उनले चिनाउन्जेलमा हामीले अरु निकै छहरा देखिसकेका थियौँ । अनेक ढंगले हुत्तिएका, अनेक शैलीले हाम्फालेका र अनेक रुपले खसेका– शक्तिशाली र वेगवान छहराहरु । पानीको चुल्ठो पहाडैभरि !

ढल्दो घाम र पहाडमा मैलुङ निकै खुलेको थियो । बाटबाटै भेटिएका थिए– अनेकौं विद्युत् उत्पादनका आयोजना र परियोजना । कतै सामान असरल्ल थिए, कतै काला झन्डा गाडिएका थिए । कतै सुरुङ खनिएका थिए आधाउधी, कतै उरुङखात जाली र पाइपले बगर देखिन्थे विरुप । यी सबै बाँध र सुरुङबाट बिजुली बल्ने बित्तिकै देश कति उज्यालो हुँदो हो ? हाम्रा अनुहार एकाएक बल्थे आशाले, खुशीले र उल्लासले ।

झमक्क साँझ पर्दा मैलुङै पुग्यौँ । बाटैदेखि त्रिशूलीको गर्जनामा हामी हिरिक्किएका थियौँ । कानभन्दा पनि मनको मयल पखालिएका लागिरहेको थियो– सबैलाई । मैलुङको मादक साँझमा पहाडबाट सरर्र आउने कुइरोले आफ्नो दिव्यता जति पस्किन्थ्यो– त्योभन्दा बढी आनन्दित हामी हुन्थ्यौँ वरिपरिका छहरा देखेर ।
साथीहरु नाउँ राखेरै बोलाउन थाले– ‘जेठी, माइली, साइँली, ठाइँली, अन्तरी, जन्तरी, कान्छी !’ तर ती सङ्ख्या अपुरै हुन्थे । हातका आँख्ला नाँघेर रेखातिर लानु पर्थ्यो– झर्नाको गणना पूरा गर्न ।

हो, कति धेरै झर्नैझर्ना । आँखामा छक्क परेको प्रश्नले आफूलाई धेरै पटक हारेको ठानेको हुनुपर्छ । त्यस्तै भएँ म । अरु संगीका छाती पनि त्यै हालतका भए पटक–पटक ।

धेरै पर भएका छहरा पनि बाटोसम्म आइपुग्थे– तिनका बाच्छिटा । तिनकै मुख धोएका साथीहरु कुन–कुन कुनाको पानी कस्तो–कस्तो स्वादको छ भनेर बेलिबिस्तार लाउँथे । तिनलाई सुन, चाँदी, तामा वा पित्तलको रसायन यी छहरामा पनि मिसिएको भान हुँदो हो । यतिखेर हामी हाँसोभन्दा पनि गौण हुन थालेका थियौँ– पानी चिन्न थालेर ।

ढुंगेनीका चेपमा साना झुप्रा जताततै थिए । झमक्क साँझ परेपछि दर्केको पानीले सबैको सातो लियो एकैसाथ ।

टेकेको ठाउँमा गोडा नअडिने ढुंगा र चट्टान भेटिए । चट्याङ र बिजुलीले ताण्डव देखाएको देखाएकै गर्‍यो । हामी मैलुङ र त्रिशूलीको दोभानमा लम्पसार परेका थियौँ । बासको जोहो भयो– श्री बाल उदय प्राथमिक विद्यालय हाकु–९, रसुवामा ।

बिहानैदेखि खोलाको गर्जनाले हाम्रा ढुकढुकीमा संगीतको लहर उर्लिएको छ छपक्कै । बाटैदेखि छहराले हाम्रा आँखामा मुहुनी नै लाए उर्ली–उर्ली । यतिखेर दर्के पानी ओइरिएर जताततै खैलाबैला मच्चाएको मच्याएकै छ । जीवन यी सबै खालका आवाज र गतिको लय हो– जहाँ निरन्तर अनि अनवरत बगाइको चरित्र रहेको हुन्छ ।

मध्य रातसम्म कविता, गीत, मुक्तकका चट्याङ बर्सिरहे । कथा, निबन्ध र उपन्यासका गजबार झिक्न उद्यत तर्क उठिरहे । कला, संगीत र दर्शनका सिँढीमा टेकिएका पैताला वरपर गरिरहे ।

म घरी छहराको, घरी नदीको र घरी झरीको आवाजलाई पढ्न खोज्थेँ । यी भिन्न आवाजमा अन्तर्निहित स्वरको अर्थलाई छामेर आफ्नै चेतनाको उचाइलाई निहाल्न खोज्थेँ ।

मध्य रातपछि झरी थामियो र छाङ्छुङ्ग भयो । अलिक छेलिएका छहराहरु फेरि देखा परे । मैलुङको गर्जनामा अझ तिख्खर स्वर उर्लियो । त्रिशूलीको झरझरमा अरु निखार थपियो ।

सबैबाट भागेको निद्रालाई बद्री मुडभरी र श्रीराम श्रेष्ठले थामथुम पारे पटक–पटक । एउटा हार्दिक संयोजन र कला तिनले देखाएका थिए– हामीलाई । पानी चिन्ने र पढ्ने मौका हामीले पायौँ ।

छहरा र नदी एउटै लयमा कसरी बग्छन् ? झर्ना र खोला एउटै तरङ्गमा कसरी बहन्छन् ? समानताको माझमा विषमताको ठूलो शब्द देखिँदो रहेछ ।

मैलुङ पुगेर मैले शब्द र चित्रको आत्मा भिन्न पाएँ । अर्थ र तर्कको पृथकता अलग–अलग पाएँ । मैलुङ एउटा जल विम्ब रहेछ– जहाँ बग्नु, वेग र लहरसँग नयाँ मुस्कान हरेक पटक उपस्थित हुन पुग्छन् ।

नयाँघरेका अघिल्ला रचनापनि हेर्नुस्

रात रुङ्न राङरुङमा

सुरमुचेको एक्लो घर !

टोपीटाले भेट्न खोल्सी !

निबन्ध : गौचरनको स्वर

रोड्याइँ !

एक जोर नाङ्ला

हिउँको बाढी रातनाङ्गेमा !

कविता खोज्न ओलङ्गङतिर !

भुल्दै–भुल्दै गोर्खालीको वीरता !

रुकुम हानेपछि ‘उपराष्ट्रपती’सहित होटेलतिर

रोसीका हजार छाल

त्रिशुलीमा ढिकीच्याउँ !

भानुको आलोकमा भाषा

फाप्लुतिर फुरफुर

खप्तडका लेकबेसी

डिल्लुको बाख्रो

(नयाँघरे मदन पुरस्कार बिजेता साहित्यकार, लेखक हुन्)

तपाइँको प्रतिक्रिया