शुक्रबार, असोज २१, २०७९

हरेक नेपालीले पद खोज्दा एनआरएनमा राजनिति र झगडा

सुरेन्द्र पाण्डे (पूर्व अर्थमन्त्री)२०७८ चैत १३ गते २२:३२

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

एरिस्टोटलले भनेका थिए ‘दरिद्रताले आक्रोश जन्माउँछ । रिस गराउँछ ।’ आजभन्दा करिब २५ सय वर्ष अगाडि । हामी यि र यस्तै समस्यासित जुध्दै अगाडि बढ्न चाहिरहेका छौं । हामी त्यसको समाधान, त्यसको अन्त्य चाहन्छौं ।

दोस्रो मैले के देखिराखेको छु भने १९ औं शताब्दीमा ब्यवशायीहरु खासगरि वस्तु बनाएर वस्तु बेच्न दौडिन्थे । त्यसमा मुनाफा खोज्थे । त्यसबेलाको पूँजीवादको विशेषता, चरित्र त्यहि थियो । उत्पादन उद्योग युग थियो । विशौं शताब्दीमा त्यसले आफ्नो रुप परिवर्तन गर्‍यो । वस्तु लिएर जाने होइन पैसा लिएर जाने । त्यहिं कारखाना खोल्ने, त्यहिं कच्चा पदार्थ किन्ने, त्यहिं मजदूर लगाउने र त्यहिं बेचेर मुनाफा लिएर फर्किने । त्यसलाई बित्त पूँजीकारुपमा हेरियो ।

यो २१ औं शताब्दि चाहिं ज्ञान पूँजीका रुपमा विकास गरिंदै छ । यो ज्ञान पूँजी तथ्यांक (डेटा) पूँजी हो । निगरानी (सर्भेलियन्स) पूँजी । आज जोसित धेरै तथ्यांक छ ति विश्वका सबैभन्दा धनी । त्यसो हुनाले यो परिवर्तनशिल संदर्भमा विश्व जसरि अगाडी जाँदै छ यसमा विश्वभर छरिएर रहेका नेपालीहरुले आफ्नो श्रेष्ठता हाँसिल गर्नकोलागि प्रतिस्पर्धा गर्नुस् र अगाडि आउनुस् । मेरो यहाँहरु सबैलाई अपिल छ ।

मैले के देखिरहेको छु भने अबको समयमा कृत्रिम बुद्धिमत्ता (आर्टिफियल इन्टेलिजेन्स), रोबर्टिक, ट्रेडिङ, प्रिन्टिङ या अरु प्रविधिले प्रविधिकै क्रान्तिको नयाँ अभ्यास शुरु भएको छ । यसको आधारमा हिजोका पूर्वाधारहरुमा गरिने लगानीको सट्टामा अब नयाँ पूर्वाधारमा विश्वले लगानी गर्न शुरु गरेको छ । नेपाल त्यसमा पछाडि परिसक्यो । हामीले त्यसको बारेमा छलफल गर्नुपर्छ । शिक्षामा बिध्यालयदेखिनै आर्टिफियल इन्टेलिजेन्स लगानी गर्नुपर्छ र अब हाम्रा विध्यार्थीहरुलाई त्यस अनुसार लगानी गर्नुपर्छ ।

मैले विश्वका सात डाटा पूँजी कम्पनी (डाटा क्यापिटल कम्पनी) को कमाई हेरेको साँढे सात हजार अर्व डलर रहेछ । जो संसारका एक सय देशका भन्दा ति सातवटा कम्पनीले बढी गार्ह्स्त उत्पादन गर्छन् । यस्तो खालको आजको दुनियाँमा नेपालमा अब डेटा राख्ने, डेटा माईनिङ गर्ने, डेटा स्टकिङ गर्ने, डेटा ब्रोकरिङ गर्ने, डेटा बेच्ने नयाँ किसिमको लगानीको संभावनापनि बढेर गएको छ ।

अनगिन्ति डेटाहरु छन् त्यसलाई कहिं भण्डार गरेर ति बेच्ने संभावना छ । यहाँहरुले त्यसको संभाब्यता खोज्नुस् । त्यो प्रविधिपनि यहाँहरुले हेर्नुस् । त्यो सिप र ज्ञान आर्जन गरेर त्यसमा लगानी गर्नुस् । मेरो आग्रह छ ।

दोस्रो म चितवनको प्रतिनिधि हो । कहिलेकाहिं म यसो सोच्छु, के गर्न सकिन्छ होला ? म नारायणीको किनारमा समुद्र बनाउन सकिन्छ होला भनेर सोच्ने गर्छु । नारायणीको दुबै किनारमा ४ लेनको बाटो बनाउने । दुबै किनारमा बेलुका डिनर गरौं आउनुस् भन्ने । नारायणीको नदी किनारमा बसौं, पिउँ । यस खालका अवधारणामा जाने हो भने हामीले दोलालघाटमा बनाउन सक्छौं । नयाँ खालका रचनात्मक लगानीमा यहाँहरु आउनु भो भने नेपाललाई अगाडि लान सक्छौं । मलाई लाग्छ, हामीले नेपालमा धेरै अवशरहरु स्रिजना गर्न सक्छौं ।

त्यसका संभावना लिएर, हेरेर आउनुस् । हामी छलफल गर्न सक्छौं । कतिपय कुरा त मैपनि सल्लाह दिन सक्छु ।

यहाँहरुलाई मेरो एउटा सल्लाह छ । अलिअलि अन्तरबिरोध भयो । झगडा भयो भन्नेपनि मैले सुनें । नेपालीहरुको एउटा चरित्र छ । ‘नेपालीलाई के गर्दिए हुन्छ ?’ भन्ने हो भने ‘सबैलाई पिएचडीको डिग्रि दिए हुन्छ’ भन्ने गरेको छु मैले । केमा भन्दा ‘डाक्टर इन जुस’ । डाक्टर केमा भन्दा सबैले संगठन बनाउने । जहाँ गएपनि नेपालीलाई इज्जत पहिले चाहिने । सानो सानो भएपनि एउटा सानो कमिटी बनाएर त्यसको प्रमुख हुनुपर्ने । उस्तै पर्‍यो भने सत्यनारायण पूजा समितिको अध्यक्ष बन्नुपर्ने । यसलाई बन्द गर्नुस् ।

मेरो आग्रह छ यसलाई बन्द गर्नुस् । यस्ता अल्प द्रिष्टीवाला साना साना खालका झगडामा नलाग्नुस् ।

मैले देख्छु कि नेपालमा कति मान्छेहरु, भारतीयहरु यहाँ आएका होलान् । खै बिजेपी र कंग्रेस आई बनाएको संझना छ यहाँहरुलाई ? छैन ।

म एक चोटी ईजरायल गएको थिएँ । त्यहाँ मैले के देखें भने ३० वटा संगठन रैछन् । करिब तीन हजार नेपाली बसेको देशमा । हुँदाहुँदा के भएछ भने निधारमा खरानीको टिको लगाउने शाही बाबाको संगठनपनि फुटेर दुई वटा भएछ । कुन चाहिँ आधिकारिक भन्ने विवादले ।

अमेरिकामा म एक चोटी सम्मेलनमा जाँदा मैले सोधेको थिएँ ‘कति छन् नेपालीको संगठन ?’

‘साँठे आठ सय ।’

पार्टी पार्टी भित्रका संगठन । यो गुट र त्यो गुटको संगठन । अनि मैले उहाँहरुलाई भनेको थिएँ ‘पैसा बोकेर, बुद्दी बोकेर कृपया आउने नेपाल । यो झगडा गर्न छोडिदिनुस् । झगडा गर्न त नेपाल आउनुस् हामी छँदै छौं नी । दोहोरि मच्चाउनी ।’

त्यसकारण यो चिजलाई बदलेर नयाँ ढंगको मार्ग खोल्नुस् । त्यतातिर जानेगरि यहाँहरुले सोच्नुस् । यो अधिवेशनमा के देख्छु भने यहाँहरु विचारधाराको लडाई गरिरहनुभएको छ । त्यसमापनि स्थानन्तरण (सिफ्ट) भएको म देखिराख्या छु ।

जब म युरोपमा नर्डिक (ध्रुविय देश) जान्छु म समाजवाद देख्छु । जब म चीन जान्छु पूँजिवाद देख्छु । मलाई त्यो लाग्दछ । त्यसकारण एक किसिमको परम्परावादी सोच, विचारको धङधङीबाट माथि उठ्नुस् । अब देश निर्माण गर्ने बिचारधारा बोकेर, देशलाई केन्द्रमा राखेर अगाडि बढौं । यहाँहरुलाई मेरो शुभकामना छ । आउनुस् नयाँ सोच, नयाँ द्रिष्टिकोणसहित नेपाल बनाउन एक जुट भएर अब अगाडि जाउँ । यि सानातिना झगडा छोडिदिनुस् । बिर्सिदिनुस् ।

यहाँबाट अमेरिका जाँदा, अन्त जाँदापनि यहाँको झगडा बोकेर किन जानुहुन्छ ? छोरो फर्केर आउनेवाल छैन, छोरी फर्केर आउने होइन । तपाईहरु त्यहाँ चाहिं म फलानो ठाउँमा बसेको भनेर उहि पुरानो कुरा सम्झेर झगडा गर्दै बसेर हुन्छ ? कृपया यसभन्दा माथि उठिदिनुस् । यहाँहरुलाई मेरो अनुरोध छ ।

यहाँहरुले उठाउनुभएका कतिपय प्रश्न, मुद्दाहरु छन् । त्यसलाई समाधान गर्ने कुरामा हामी लाग्दै छौं । त्यसमा हाम्रो पूर्ण सहयोग तपाईहरुलाई रहने छ । आउने दिनहरुमा ‘अब चाहिं नेपालीहरुले झगडा गर्न छोडेछन् है’ भन्ने समाचार सुन्न पाइयोस् ।

(गैर आवाशीय नेपाली संघको काठमाडौंमा जारि दशौं महाधिवेशन समापनका अवशरमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले राखेको मन्तब्यको संपादित अंश-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक