बिहीबार, वैशाख १३, २०८१

अगामी निर्वाचनमा देउवाको तालमेल र कांग्रेस केन्द्रिय सर्कुलरनै अवज्ञाको संकेत

नेपालप्लस संवाददता / काठमाडौं२०७८ चैत १४ गते १३:०८

बिभिन्न विरोध र असहमतिका वावजुद नेपाली कांग्रेसले सत्ता गठवन्धनका दल्हरुसँग नजिकिंदो स्थानिय निर्वाचनमा चुनावी तालमेल गर्ने निश्चित भएको छ । कांग्रेसको केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितीको बैठकमा आफ्नो धारणा राख्ने अधिकांस सदस्यहरु चुनावी तालमेलको पक्षमा देखिएका छन । माओबादी र माधव नेपालको पार्टीसँग तालमेल गर्ने मुख्य चाहना सभापति देउवाको हो । देउवा आगामी प्रतिनिधि सभा चुनावसम्म केन्द्रिय सरकारमा रहेको अहिलेको गठवन्धन जोगाउने पक्षमा छन ।

त्यसैले आफ्ना पक्षका बहुमत केन्द्रिय सदस्यहरुलाई बोल्न लगाएर भए पनि उनले आफ्नो सोच अनुसारको निर्णय जस्ताको त्यस्तै गराउने छन । देउवाले निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गर्नु हुँदैन भनेर अभिब्यक्ति दिंदै आएका नेताहरुलाई भन्ने गर्दछन- कांग्रेसले चुनावी गठबन्धन नगरे माओवादी केन्द्र फेरि एमालेसँग मिल्छ ।

‘एमाले–माओवादी फुटे, हामी जितिहाल्छौँ भन्ने सोच्नुभएको होला । अनि उनीहरु फेरि मिले भने के हुन्छ ? त्योबेला के गर्ने ? कि मिल्न दिने ? मिल्न दिने भए पनि दिऊँ, मलाई त केही छैन । तपाईंहरुको इच्छा उनिहरुलाई फेरी मिल्न दिने हो भने पनि दिऔँ । हामीले छोडिदिने हो भने उनिहरुलाई मिल्न केही समस्या छैन । आफ्नो फाईदाका लागि जो जता पनि मिल्छ’ देउवाले भन्ने गरेका छन् ।

खासमा देउवालाई नजिकिंदै गरेका निर्वाचनमा केपी ओलीको ठूलो त्रास छ । गत संसदिय निर्वाचनमा नेपाली कांग्रेसको पूर्ण धरातल हल्लिने गरेर ओलीले धावा बोलेको उनले बिर्सेका छैनन । ओली प्रती देउवाको ब्याकुल मनस्थिति बेला बेला सुनिन्छ ।

दुई दिन अघि राजधानीमा भएको एउटा कार्यक्रममा बोल्दै उनले भनेका छन ‘गठबन्धन नै नगरे पनि केपी ओलीको पार्टी कमजोर छैन । हाम्रा कार्यकर्ताले गर्ने चिन्ता ठिक हो । पार्टी कमजोर नहोस्, बलियो होस् भन्ने मलाई पनि छ । पार्टी बलियो बनाउनुपर्ने छ । त्यसका लागि अहिले गठबन्धन गर्नैपर्ने अवस्था छ । अझैपनि ओलीजीको पार्टी धेरै बलियो छ । ओलीजी र माओवादी छुटिहाले, हामी जितिहाल्छौँ भन्ने नसोचौँ । नेपालमा लोकतान्त्रिक पार्टी भनेको कांग्रेसमात्रै हो, अरु त सबै कम्युनिष्ट हुन् । त्यसैले हाम्रो पार्टीलाई बलियो बनाउँदै सबैलाई मिलाएर जानुपर्छ ।’

सर्सर्ती हेर्दा नेपाली कांग्रेसका नेताहरुलाई चुनावी तालमेल सामान्य जस्तो लाग्न सक्दछ । चुनावी प्रकृयामा हुने तालमेलहरु सामान्य पनि हुन्छन । कुनै परिस्थिती विशेषमा गरिने तालमेलहरु कतिपय हिसावले फलदायी हुने पनि गरेका छन । तर सभापती देउवाको जस्तो हतास मनस्थीतीमा हुने तालमेलहरु पक्कै पनि फलदायी हुँदैनन ।

पछील्लो चुनाव यता समय पाँच वर्ष गुज्रेको छ । यसको मतलव के हो भने शेरवहादुर देउवा पाँच वर्ष अझै बुढा भएका छन । हरेक टोलमा पाँच उमेर थपिएका नयाँँ मतदाता थपिएका छन र सबै भन्दा महत्वपूर्ण कुरा यो पाँच वर्षमा देश टाट पल्टिने बाटोमा पुगेको छ । यही अवस्था र सत्यताका विचमा सबैभन्दा धेरै पटक प्रधानमन्त्री बन्न सफल शेरबहादुर देउवा आगामी निर्वाचनहरुमा जाँदैछन । त्यो पनि तालमेलको चुनावमा ।

नेपाली कांग्रेस पार्ट्वीमा उमंग कत्ती पनि छैन । उनै शेरबहादुर, रामचन्द्र, कृष्ण सिटौला, महतहरुले विगत ३० वर्ष देखि लगातार कार्यकर्तालाई भाषण सुनाएका छन । केही नयाँँ थपिएका शेखर, गगन थापा र विश्व प्रकाशहरु अल्पमतमा छन जसका प्रस्तावहरुमा देउवा रहुन्जेल निर्णय हुन सक्दैन ।

शेरबहादुर देउवा २०५१ सालमा गिरिजाप्रसाद कोइरालासँग झगडा गरेर प्रधानमन्त्री भएका थिए । अहिले २०७८ सालको अन्त्यसम्म पनि उनी देश र पार्टीको नेतृत्वमै छन् । यति लामो समयसम्म एउटै नेता केन्द्रीय नेतृत्वमा कसरी रहिरहन सक्दछ ? तर पनि देउवा नेतृत्वमा छन र सधैं जसो नेपाली राजनीतिको केन्द्रमा छन ।

धेरैलाई लागेको हुनुपर्दछ, तीन दशक सत्ता र सत्ताको वरिपरि रहन सक्नु चानचुने कुरा होइन । यो सामर्थ्य देउवामा मात्र छ । किनभने उनले यि सबै वर्षहरुमा आफू सत्ता वा शक्तिमा जमिरहन अनेक तालमेल गरेका छन । अहिलेको तालमेल पनि ‘शक्ति’ निरन्तरताको एउटा कडि हो । तथापी नेपाली कांग्रेसले पछील्लो निर्वाचनलाई हेर्‍यो भने आफ्नो अनुहार उज्यालो गरी देख्ने छ ।

पछिल्ला निर्वाचन र देउवाले विताएका राजनीतिक दशकहरुलाई हेर्ने हो भने नेपाली कांग्रेसको अहिलेको आवश्यकता भनेको तालमेल होइन एक्लै निर्वाचनमा जानु थियो । किन यो पार्टीलाई विस्मृतीमा पुगिने डर लाग्यो ?

पार्टीका नेता शेखर कोइराला भन्छन- नेपाली कांग्रेस डराउने पार्टी होइन । यसलाई डराउने बनाइएको छ । केन्द्रिय नेताहरुले नै डरको उद्योग चलाएका छन । यो डरले कसलाई कती फाईदा हुन्छ थाहा छैन । तर दिर्घकालिन रुपमा यसले पार्टीलाई अपांग बनाउँछ ।

पछिल्ला दिनहरुमा देउवाको तुलनामा कोइराला बढी देश दौडाहमा छन । कार्यकर्ताका अनुहार अरुको तुलनामा यिनैले देखेका छन । कार्यकर्ता माझ छाएको तालमेल प्रतिको वितृष्णा कोइरालालाई जत्तिको अरुलाई विरलै थाहा छ । त्यसैले कोइराला यसको विरुद्दमा छन ।

देउवालाई लाग्छ, तालमेल विना शक्तिमा रहन कठिन मात्र होइन । असम्भव छ । पार्टी भित्रको अहिलेको द्वन्द भनेको पार्टी बलियो बनाउने कि शक्तिमा रहने बाटो खोज्ने !

कोइराला भन्छन ‘म साथीहरुको अल्प राजनीतिक ज्ञानका कारण अचम्म्वित भएको छु । पार्टीलाई कमजोर बनाएर कसरी शक्तिमा रहिरहन सकिन्छ ?’

स्थानिय निर्वाचनको घोषणा लगत्तै नेपाली कांग्रेसले गरेको घर दैलो कार्यक्रमका केन्द्रिय पर्यवेक्षकहरुले ७७ वटै जिल्लामा गरेको अध्ययनले तालमेल बिना पनि आगामी निर्वाचनमा बहुमत आउने निष्कर्ष सभापति देउवालाई बुझाएको छ । कोइराला पक्ष यही पाटोलाई आधार मानेर कार्यकर्ता माझ जाने छ । जसले तालमेल भएका ठाँउहरुमा केन्द्रिय निर्देशनलाई अवज्ञा गर्ने सम्भावना बढ्ने छ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय भन्दा जिल्ला धेरै टाढा छन । अबको निर्वाचनमा केन्द्रको सर्कुलरको अवज्ञा हुने प्रवल सम्भावना छ ।

‘अर्को चुनाव चिन्हमा मतदान गर्नका लागि केन्द्रले दिएको निर्देशन मतदाताले मान्नै पर्छ भन्ने जरुरत छैन’ कांग्रेसका एक जना नेताको भनाइ छ ।

‘पाँच वर्ष अघि चितवनको भरतपुर तालमेलले नेपाली कांग्रेसलाई धेरै पाठ सिकाएको छ । प्रचन्ड पुत्रीलाई जिताउने देउवाको आत्मघाती निर्णयले कार्यकर्ता माझ जुन निरासा छोडेको थियो अब त्यस्तो हुन्न’ ति नेताको भनाइ छ ।

त्यो निर्वाचन पछी पाँच वर्ष वितेका छन । यो पाँच वर्षमा पाँच लाख भन्दा बढी केटाकेटी वालिग भएका छन जसले अब शेरबहादुर देउवालाई चिन्दैन । किनभने यो पुस्ताले टाट पल्टिन लागेको देशको अनुहार चिन्दछ । आर्यघाट पुग्ने दिनसम्म कुर्सीमा लत्रिइरहने नेताहरुको अनुहार चिन्दछ । मतदाताहरुले बुझेका छन, देउवाको निर्देशन स्वार्थ प्रेरित छ जुन आर्यघाटसम्म रहिरहन्छ । त्यसैले अवको चुनाव दलिय निर्देशनको अवज्ञाको चुनाव हुनुपर्दछ ।

तपाइँको प्रतिक्रिया