शनिबार, वैशाख ८, २०८१

एनआरएनएले पशुपती क्षेत्रमा अत्याधुनिक वृद्ध आश्रम बनाउने, आचार्यद्वारा एक करोड प्रतिवद्दता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १४ गते १७:३६

गैर आवाशीय नेपाली संघ (एनआरएनए) ले नेपालमा अत्याधुनिक सुविधायुक्त वृद्ध आश्रम निर्माणको घोषणा गरेको छ ।

उक्त आश्रम निर्माणकालागि नवनियुक्त तीन अध्यक्ष मध्येका एक कुल आचार्यले एक करोड रुपियाँ दिने प्रतिबद्दता जनाएका छन् ।

एनआरएनएद्वारा आज गरिएको निर्णय अनुसार अन्य पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुबाट तीन करोड ५६ लाख पचास हजार दुई सय बाइस रुपैयाको प्रतिबद्धता गरिएको छ ।

संघको नवनिर्वाचित कार्यसमितिको ८४ औं बैठकले पशुपति क्षेत्रमा एक सय कोठा क्षमताको आश्रम बनाउने निर्णय गरेको हो ।

संघका अधिकारीहरुले आजै सोमवार पशुपतीको दर्शन गरी आश्रमण निर्माण स्थलको सामान्य अवलोकनसमेत गरेका थिए ।

त्यसैगरि बैठकले संघको आगामी कार्यकाल संचालनको लागि कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा दुई महासचिव गौरीराज जोशी र डा. केशव पौडेल, प्रवक्ता सोम सापकोटा र शिवकुमार बरुवाल रहने गरी कार्यदल गठन गरेको छ ।

संघका नवनियुक्त अध्यक्षहरु डा. बद्री केसी, कुल आचार्य र रविनाद्वारा आजै नवनियुक्त अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराएका छन् ।

गत शनिबार र आइतबार होटेल हिमालयमा आयोजित संघको दशौँ महाधिवेशनमा तीन जना अध्यक्ष लगायत १०० बढी
पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । तीनै जना अध्यक्षहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका थिए ।

नेपाल आउन नसकेका नवनिर्वाचित पदाधिकारीहरुले जुमबाटै शपथ लिएका थिए।

कार्यक्रमको संचालन नवनिर्वाचित महासचिव गौरी राज जोशीले गरेका थिए।

संघका राष्ट्रिय समिति (एनसिसिहरुमा) भएका समस्या समाधानकालागि महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेललाई क्षेत्रीय संयोजकहरुसँग समन्वय गर्ने जिम्मा दिएको छ ।

संघद्वारा सोमवार जारी विज्ञप्तिका अनुसार संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक आगामी ९ अप्रिल २०२२ नेपाली समय ४ बजे बस्ने भएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक