शुक्रबार, असोज २१, २०७९

देउवाजी निर्धक्क भएर सोध्नुस- सानो देश भनेर हेप्नी ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १७ गते १५:४२

प्रधानमन्त्री शेरबहादुर देउवाले यहि महिनाको १८ गते देखि २० सम्म भारतको तीन दिने औपचारिक भ्रमण गर्दैछन । पाँचौ पटक प्रधानमन्त्री बनेपछी देउवाको यो पहिलो भारत भ्रमण हो । २०४६ सालको परिवर्तन भए पश्चात नयाँँ नियुक्त हुने प्रधानमन्त्रीले भारत भ्रमण गर्नु परम्परा जस्तै बनेको छ । नेपाल र भारतका बिचमा सिमाना मात्र नभएर धेरै कुरा जोडीएको छ । यि दुबै भूमीहरुका बिचमा सिमाको रेखांकन पूर्व देखिनै गहकिलो सम्बन्ध छ । सम्बन्ध सिमारेखा कोरिए पछी पनि जारी रह्यो । अझै छ ।

तर अहिलेको नेपाल भारत सम्बन्ध त्यती सुमधुर छैन । खासगरेर दिल्लीको शासन सत्तामा भारतीय जनता पार्टीले कदम राखे पछी दुई देशको सम्बन्ध चिसिंदै गएको महशुस भएको छ । सम्बन्धले मात्र सम्बन्धहरुलाई अगाडि बढाउन सक्दैन । मित्रता जिवित रहनका लागि दुबै पक्षको सिर उँचो रहनु पर्दछ । आत्मसम्मानमा चोट लाग्नु हुँदैन ।

तर पछिल्ला भारतीय कदमहरु कस्ता छन भने हाम्रो आत्मसम्मानमा चोट मात्र लागेको छैन हाम्रो शिर झुकाइएको छ । ति सिमा समस्या होउन् वा पारवहनका मुद्दा । हामीलाई भारतले कटौरामा राखेर हुँडलेको छ । अहिलेको समय पक्कै पनि पौराणिक कालमा कुनै अर्कै कारणले जोडिएको सम्बन्ध जस्तो होइन । यो बराबरिको समय हो । भूगोलका कारणले अधिकार कुण्ठित नहुने समय हो यो ।

भारतीय जनता पार्टीका नेता कार्यकर्तालाई जति आफ्नो देशको मायाँ छ त्यहि हाराहारीमा नेपालीलाई नेपालको मायाँ छ । तर एउटा सत्य के हो भने यो युगमा मायाँले मात्र राष्ट्रियता धानिंदैन । यसका लागि अधिकारको दौडमा दुबै देशसँग गतिलो हस्तक्षेपकारी भूमिका हुनु बहुत जरुरी छ । हामी त्यो भूमिका निभाउन कत्तिको सफल भयौं भन्ने कुरा महत्वपूर्ण हो ।

भारतले आफ्नो सुबिधाका लागि नेपालसँग लिनुपर्ने र नेपाललाई भन्नुपर्ने कुनैपनि कुरा बाँकी छोडेको छैन । तर हामीले भनेका छैनौं । हामीले आफ्नो अधिकारका लागि खवरदारी गरेका छैनौं । किनभने हामीलाई भारतसँग डर छ ।

२२ वर्ष अघी २४ डिसेम्बर १९९९ मा नेपालको त्रिभुवन विमानस्थलबाट ईण्डियन एयरलाइन्सको जहाज अपहरण भयो । अपहरणकारीले जहाजलाई अफगानिस्तानको कान्दहार पुर्‍याए । त्यसको धेरै समयसम्म ईण्डियन एयलाइन्सले काठमाडौं उडान भरेन । तर भारत सरकारले यदि काठमाडौं दिल्ली उडानलाई सुचारु गर्ने हो भने त्रिभुवन विमानस्थलमा (जहाजमा पस्नु अघी) आफ्नो ऐजेन्सीले सुरक्षा जाँच गर्न पाउनुपर्ने सर्त अघि सार्‍यो । कुनै देशको सुरक्षाको कुरा थियो, नेपाल सरकारले नाइनास्ती गरेन । हाम्रो सरकारले भारतीय स्वार्थलाई स्विकार गर्‍यो ।

खैर, समाचार माध्यममा सार्वभौमसत्ता सम्पन्न मुलुकको व्याख्या गर्दै आलोचनात्मक टिका टिप्पणी भए । न भारत सरकारले टेर्‍यो न नेपाल सरकारने सुन्यो । यसको मतलव भारत आफ्नो राष्ट्रिय स्वार्थमा कुनै पनि प्रकारको सम्झौता गर्दैन । उसलाई थाहा छ, एउटा कोरा भूगोललाई राष्ट्र बनाउन कति युग खर्चिनु पर्दछ भन्ने । हामी किन बुझ्दैनौं, हामीलाई आफ्ना कुरा राख्न कुन त्यस्तो शक्तिले रोकेको छ ?

भारतमा भारतीय जनता पार्टी लगातार दोस्रो पटक सरकारमा छ । र नेपाल सबैभन्दा बढी असुरक्षित यहि बेला भएको छ । मोदी सरकारकै बेला अन्तर्राष्ट्रिय नियम र कानुन अनुसार हामीले पाउनुपर्ने नुन पाएनौं । तेल पाएनौं । लत्ता, कपडा, र खानेकुरा पाएनौं । यहि बेला हाम्रो भूभाग भारतको नक्सामा पर्‍यो । नदी र खोल्सा खोल्सीमा बाँध बाँधेर नेपाली भुमी डुवानमा परेको छ । डुवानकै कारण हरेक वर्षायाममा हजारौं परिवार बेघर भएका छन । भारतमा मजदुरी गर्न गएका नेपाली मजदुरहरु भारतीय सरकारी संयन्त्रबाट किन लुटिन्छन ? २८ वर्षसम्म पनि महाकाली सन्धि किन कार्यन्वयन हुँदैन ? धेरै कुरा छन हामीले भारतलाई सुनाउन नसकेका । भन्न डराएका ।

यसले नेपाल भित्र भारत विरोधी भावना हर्लक्क बढेको छ । जसलाई नेपालका राजनीतिक दलहरुले हरेक चुनावमा प्रयोग गर्छन् र नेपाली जनताका मनमा भारत प्रती अझ जहर घोलेर छोडिदिन्छन । तर जब तिनै पार्टीहरु सरकारमा पुग्छन त्यहि भारतसँग घनिष्ट बन्छन ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेपालका यिनै समस्याहरुका बिचमा दिल्ली भ्रमणमा जानेछन । उनले आफ्ना भारतीय समकक्षीसँग आफूसँग जोडिएका, आफ्नो धरातलले आशा गरेका र दशकौं देखि नेपाली जनताले प्रतिक्षा गरेका यि समस्याहरु छलफलमा राख्लान नराख्लान यो छुट्टै कुरा भयो । तर धेरैलाई के लाग्दछ भने यो औपचारिक भ्रमणको औंपचारिकता मात्र हो । यदी देउवाको अहिलेको भ्रमण समस्यामा केन्द्रित नभैकन केहि एम्बुलेन्स र पुस्तकालय खर्चमा मात्र सिमित भयो भने नेपाल र नेपालीका लागि यो भन्दा ठूलो दुर्भाग्य अर्को केहि हुँदैन ।

नेपाल र भारत बिचमा दर्जनौं यस्ता मुद्दा र समस्याहरु छन जसको समाधानका लागि दुई दशक भन्दा अघि देखि दुबै देशका अधिकारी संलग्न विभिन्न समितिहरुले काम गरिरहेको भनिएको छ । तर यति लामो समयसम्म कुनैपनि समस्या समाधान तर्फ नजानु भनेको भारतीय संयन्त्र यि समस्या समाधानका लागि सकारात्मक नहुनु हो । त्यसैले अबको पालो भनेको नेपालका प्रधानमन्त्रीले आफ्नो तहबाट कड्केर कुरा गर्नुपर्ने समय हो ।

नेपाली शब्दकोष पल्टाएर हेर्ने हो भने समकक्षीको अर्थ बराबर, एउटै तहको वा उस्तै भन्ने बुझाउँछ । शेरबहादुर देउवाजी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तपाईंसँग बराबरको हैशियतका हुन । एउटै तहका हुन र उस्तै हुन । नेपाल र भारतबिच रहेका समस्याहरु कूटनितीक समाधान भन्दा बाहिर पुगिसकेका छन । यिनको समाधान भनेको राजनीतिक स्तरबाट नै हो । त्यसैले अब भन्ने बेला हो । भारतलाई कान ठाडा पार्न लगाएर सुनाउने समय हो -सानो देश भनेर हेप्नी ? खोइ महाकाली सन्धि कार्यन्वयन गरेको ? कालापानीबाट तिम्रा सेना तुरुन्त फिर्ता लैजाउ र हामीलाई हाम्रो भूमी फिर्ता देउ ! महाकाली थुन्ने अधिकार कसले दियो ? कुन कानुनले लक्ष्मणपुर बाँध बाँध्न मिल्छ ? दुई देशका सिमानामा गाडीएका जंगे पिलर किन उखलेको ? देउवाजी तपाईंका समकक्षीलाई सोध्न सक्नुहुन्छ ? यि तीन करोड नेपालीका चासोका प्रश्न हुन ।

जीवनका ति अन्तिम वर्षहरुमा हिंड्दै गर्दा पक्कैपनि शेरबहादुर देउवासँग ब्यक्तिगत आग्रह छैनन होला । यदि छन भने पनि त्यस्ता ब्यक्तिगत आग्रह केहि समय थाँती राख्नुस । यो देशको कुरा हो । तीन करोड नेपालीको आत्मसम्मानको कुरा हो । निर्धक्क भएर सोध्नुस- सानो देश भनेर हेप्नी ?

तपाइँको प्रतिक्रिया

फेसबुक