शुक्रबार, वैशाख १४, २०८१

पद्दती र पारदर्शीताको त्यो रटान, पद बाँड्ने यो टिके प्रथा

तिर्थनाथ कँडेल२०७८ चैत १६ गते १९:४६

लेखक तिर्थनाथ कँडेल

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशनको घोषणा हुनु केहि अघिदेखिनै कुल आचार्य पक्षको एउटा नारा बाहिरियो ‘पद्दती र पारदर्शिता, समावेशी एनआरएनए हाम्रो प्रतिबद्दता ।’

यो नारा आकर्षक मात्रै थिएन, क्रान्तिकारीपनि थियो । यो यस्तो नारा थियो सबैले प्रष्ट बुझ्ने । कसैलाइ ब्याख्या गरिरहनु नपर्ने । सामाजिक संस्थाको विकासकालागि मुल मन्त्र जस्तै ।

संस्था नितिनियम, विधिविधानको पद्दतीमा चल्नुपर्छ । सामाजिक संस्थामा त झन पारदर्शिता हुनैपर्छ । त्यो भएमा भ्रस्टाचार, मनपरी, अनियमिततता, बेथिति हुन्न । र त्यो सबै गर्नकोलागि सबै वर्ग, क्षेत्र, लिंग, समुदायको समावेशीता हुनुपर्छ ।

कुल आचार्यको यो नाराले ‘कुल दाई हाई हाई’ निकै पायो ।

चुनाव होला होला जस्तो हुँदा कुल आचार्यले यसलाई झनै उराले । संस्थामा पारदर्शिता भएन । विधिविधानलाई लत्याईयो ।

यो नारालाई स्थापित गराउन उनले हरेक चुनावी डबलीमा दोहोर्‍याए, तेहेर्‍याए ‘कुल आचार्य कसैको पदकालागि होइन । हामीलाई पदको लोभ लालच छैन । संस्था बचाउनकालागि हामी विधिविधान, पद्दतीको लागि लडिरहेका छौं ।’

धेरैलाई लाग्यो- कुल आचार्य साँच्चै पदका लोभी होइनन् । साँच्चिनै एनआरएनएभित्र ब्यापक धाँधली भएको छ । विधिविधान कुल्चिने काम भएको छ ।

तर अन्तत देखियो-२०५२ सालमा माओवादीका भन्दापनि अझ चर्का लाग्ने उनका यि क्रान्तिकारी नारा केका लागि रहेछन् ? पद, पद र फेरिपनि पदकालागि मात्रै । र उनका पछि पछि लागेर पद्दती र पारदर्शीताको रटान दिने पिछलग्गुहरुको पनि ध्येय के रहेछ ? आचार्यको पछ्यौरीको फेरो समातेर पद लिने ।

महाधिवेशन शुरु हुनु करिब १४ दिन अघि उनले यि सबै नारा भित्रभित्रै पोलिसकेका रहेछन् । अर्थात्, विधिविधान, पद्दती र पारदर्शितालाई डढेलो लगाइसकेका रहेछन् । जुन बेला उनी महेश श्रेष्ठ, जीवा लामिछाने, कांग्रेस नेता पूर्ण बहादुर खड्का र गगन थापा, उपेन्द्र महतो र कुमार पन्त लगायतका केहि ब्यक्तिसित बसेर महाधिवेशनको १० दिन अघिनै विधिविधानलाई लात हानेर पदमा सहमति गरिसकेका थिए । हस्ताक्षर गर्न मात्रै बाँकि थियो ।

विधिविधान, पद्दती र पारदर्शितालाई लात हानेर पदको सहमति पत्र गोजिमा बोकिसकेका उनले शेष घलेको महाधिवेशन शुरु हुने दुई तीन दिन अघिको साँझपनि ‘यतै छु’ भनेर सामुहिक तस्विर खिचाएका थिए । उनले विधिविधान र शेष घलेलाईसमेत एकै पटक लात्ताले हाने ।

शेष घले विधिविधानमा चुकेकाले त्यो ठिकैपनि मानिंदो हो, यदि उनी आफ्नो मूल नारा, चुनावी आदर्श विधिविधानमा अडिएको भए । तर कुल आचार्य अडिएनन् ।

उनले लगभग अड्काएर, बखेडा झिकेर र एक पछि अर्को शर्त राखेर निर्वाचन र महाधिवेशन रोक्दै आए ‘प्रतिनिधि छनौटको विषयमा अनियमितता भएको छ । एनआरएनएहरु आइसिसीका खम्बा भएकाले तीनलाई बलियो बनाउन एनसिसीले पठाएको सूची सदर हुनुपर्छ ।’

यहि अत्तो थपाईले एनआरएनए एउटा जटिल मोडमा पुग्यो । सहमति गर्नै पर्‍यो । लौ त्योपनि सामान्य मानौं । तर विधानमा भएको ६५, २५ र १० प्रतिशतको प्रावधान नसुधारि हुन्न भन्ने अडान राख्नसक्नुभयो ? सहमतिमा पद बाँडफाँड गरेपनि त्यो प्रावधान सच्याउनुपर्छ र त्यसकोलागि लिखित सहमति हुनुपर्छ । त्यो सच्याउने वा हटाउने सुनिस्चितता अधिवेशनको हलले गर्नुपर्छ भन्ने अडान राख्न के सकिंदैनथियो ?

महाधिवेशनका प्रतिनिधिको मनशाय लिनुभयो ? तिनको धारणा र मत लिनुभयो ? यो सबै अप्ठेराका गाँठा तिसित फुकाउनुभयो ?

नयाँ एनसिसीले पठाएका डेलिगेट्सहरु मान्नु पर्छ भन्ने विधानत ब्यवस्था गर्ने अडान राख्नसक्नुभयो ? अनियमितता भएको छ भन्ने आरोप दर्जनौं पटक लगाउनुभएको थियो । केकेमा अनियमितता भएको हो खुलाउनुभयो ? अनियमितता भएकोले त्यसमा गम्भिर तरिकाले स्वतन्त्रपूर्वक छानबिन हुनुपर्छ भन्ने अडान राख्नुभयो ?

पदको टिका लगाउँदापनि कस्ता कस्ता सम्म पद बाँडिए । निर्वाचन गर्ने जिम्मेवारीमा बसेकाहरुसमेत पदको टीका थाप्न पुगे । सडकबाट छोपेरपनि कसैलाई पद थमाईयो । कहिंकतै प्रक्रियामा कहिल्यै नदेखिएकालाई समेत पद सुम्पिंदा तपाईको विधिविधान, पद्दती र पारदर्शिताको मागिखाने भाँडो कुन दुलोमा लुक्यो ?

संवन्धित : शेष घलेद्वारा आव्हान महाधिवेशन र निर्वाचन समितिको बैधानिक औचित्य

‘एनसिसीहरु केन्द्रका खम्बा हुन्’ भन्ने तपाईको गायत्री मन्त्र जस्तै थियो । के तपाईले पद पाउनसाथ अब ति खम्बा बलिया भए ? पद्दती र विधिविधान अनि एनसिसीहरुलाई बलियो बनाउन छ महिना महाधिवेशन रोक्न सक्ने तागतले एनसिसी बलियो बनाउने ताकत किन राखेन ?

मार्च २७, आइतवारका दिन गोप्य सहमतिमा संशोधन गरिएको विधानमा मात्र अहिलेको कार्य समिति सहमतिमा चुनिएकोले अर्को पटक देखि नजिर नबस्ने र सन् २०२३-२०२५ मा यो संशोधित विधान स्वत निस्क्रिय भएर सन् २०२१ कै विधान स्वत सक्रिय हुने स्पष्ठ उल्लेख छ । र त्यो विधान रातारात (२७ मार्च आइतवार का दिन) परराष्ट्र मन्त्रालयबाट लाहा छाप लगाएर मान्यता दिने काम भएको छ ।

यसको अर्थ आगामी २०२३ बाट जुन जुन माग तपाईले राख्नुभएको थियो ति केहिपनि पुरा नहुनेगरि तपाई आफैंले सहमति गर्नुभयो । आफू अध्यक्ष बन्नैकालागि लम्पसार पर्नुभयो । अर्थात् एनआरएनएको २०२१ को विधान तपाईकै एक पदकालागि बलात्कृत हुन पुग्यो । सामुहिक बलात्कार । कहाँ गए एनसिसीहरुलाई बलियो बनाउने नारा ?

तपाईनै हो-संरक्षक समितिलाई पूर्ण अधिकार दिनुपर्छ भन्ने । आइसिसीको ८२ औं बैठकले संरक्षक समितिलाई गरेको खारेजीलाईसमेत मान्यता दिनुभयो । एम आई एस पद्दती, फेस भेरिफिकेशन पद्दती हुँदै हुन्न भन्ने तपाईको नारा कुन टुकुचा खोलाको फोहोरि गन्धमा मिल्काउनु भयो ?

तपाईको एउटा पदकोलागि यति धेरै एनसिसीका अभियन्ताहरु विवादित, लज्जित, नैतिकरुपमा पतन हुनुपर्ने ? छातीमा हात राखेर, आँखा चिम्म गरेर सोच्नुस् त, तपाईकै कारण वर्षौं देखि मिलेर बसेका प्रवाशिबिच कतिको वैमन्स्यता भयो । तपाईले खडा गरेका ‘आइरन लेडी’ हरु अहिले कता छन् ? एनसिसीको भेला आयोजकहरु अहिले कसको पक्षतिर छन् ? तपाईकै लागि ज्यान दिन भनेर विरोधीको ‘जिब्रो थुतिदिने’ सम्मको धम्की दिनेहरुले अहिले तपाईलाई कुन फिल्मको खलपात्रको रुपमा उभ्याईरहेका छन् । तपाईकै कारण विवादमा तानिएका शेष घलेको आत्मले तपाई कुन द्रिष्टिकोणले हेर्छ ! यसको हिसाबकिताब गर्नुपर्दैन ?

तपाईले तिन अध्यक्षयात्मक प्रणालीमा लगभग मार्चको ११ मै सहमति जनाइसक्नुभएको थियो । तपाईलाई भित्रभित्रै पदको बार्गेनिङमा डुब्नुथियो भने त्यहि बेला शेष घलेलाई यो कुरा भनेर किन बाहिरिनुभएन ? यदि तपाईले यो सहमतिको रहस्य खोलिदिएको भए शेष घले त्यसरि महाधिवेशन गर्न हिंड्ने थिए ? तपाईले एनसिसीहरुलाई मात्रै धोका दिनुभएन जे भएपनि एनआरएनएको लामो अभियानमा आफ्नो समय, सिप, पैसो खर्चेका शेष घलेलाई अन्तिम समयमा छुरा धस्नुभयो कि भएन ?

चुपचाप लागेर बसेका शेष घलेको पाखुरा समातेर सक्रिय बनाउने को हो ? शेष घलेलाईनै दिनुपर्छ सबै अधिकार भन्दै उचाल्ने को हो ? बिभिन्न देशका एनसिसीहरुलाई आफ्नो सूची सदर नगरेसम्म केन्द्रलाई तिर्नुपर्ने दस्तुर नतिर भन्दै उक्साउने को थियो ? तपाईले टिके पद पाउनासाथ के ति समस्या हल भए ? तपाईले पद पाएपछि अब एनसिसीले खुरुक्क दस्तुर तिर्नुपर्ने भयो ? तपाईको आँखामा शेष घले को हुन्, के भए ?

होटेल याक एण्ड यतीमा भएको महाधिवेशनको रचनाकार को थियो ? घलेलाई आर्थिक बोझ त बोकाउनुभयो नै, तपाईकै कारणले चोइटिएर गएकाहरुको जिम्मेवार को ? यो सबैको डिजाईनर तपाई होकि होइन ? यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?

कमसेकम तपाईको पद्दती, पारदर्शिता र विधिविधानको रटान मिल्ने, तपाईले अडान लिएको एक ठाउँ त देखाइदिनुस्, सक्नुहुन्छ ?

विश्वभरिका एनसिसीहरुलाई फुटाएर, विवादित बनाएर, संघलाई छ महिना बन्धकमा बाँधेर, आर्थिक घाटा पुर्‍याएर र केहि साथीहरुलाई बदनाम गराएर साटीएको टिके पदबाट कुन नैतिकताले अब एनआरएनएको अभियान हाँक्नुहुन्छ ? सयौं ब्यक्ति र संस्थालाई बदनाम गराएर लिएको तपाईको पदले के तपाईलाई शान्ति दिन्छ ? दिईरहेको छ ?

वास्तबमा यो पद एनआरएनएको २० वर्षे ईत्तिहासमा मात्रै होइन गैर आवाशीय नेपालीलाई सधैं घोचिरहने घाउ बन्ने छ । पद्दती र पारदर्शिता, विधिविधानको प्रसंग निकाल्दापनि त्यसले धेरैलाइ झस्काउने छ । धेरै नेपालीको मनमनमा रोपिएको शत्रुताको टुसा छिट्टै मर्ने छैन । तपाईले हानेको लात्ताको डाम मेटीन धेरै समय कुर्नुपर्ने छ र त्यसको ब्याज प्रवाशी नेपाली, यो संस्थाले तिरिरहनुपर्ने छ ।

तर तपाईले टिका थापेर पद पाएपनि त्यसको मान मर्यादा, श्रद्दा र आदरभाव रहने छैन । माफ गर्नुहोला, यो नमिठो लाग्नसक्छ । तर तपाईलाई प्रवाशका लाखौं नेपालीले अनन्तकालसम्म ‘एक कुशल धोकेवाज’ का रुपमा लिईरहने छ्न् ।

र तीनले भन्ने छन्-कुल आचार्यकालागि मिल्ने नारा त यो पो हो-

छोडिदियौं पद्दती र पारदर्शिता

पदकालागि बेचौं ठाउँ ठाउँमै नैतिकता

कँडेलका अघिल्ला लेखपनि हेर्नुस्

शेष घलेद्वारा आव्हान महाधिवेशन र निर्वाचन समितिको बैधानिक औचित्य

युक्रेनी जनताका हातहातै हतियार र अफगानिस्तानबाट सिक्नुपर्ने पाठ

प्रधान न्याययधिशमाथि महाअभियोग : सत्ताको लुछाचुँडी र बदला लिने आआफ्नै हतियार

नेताहरुको पछाडि बन्दुक राखेर ब्यवस्था खल्बल्याइरहने को ?

राष्ट्रका निर्माताको जन्मदिनमा एक दिन छुट्टी नगर्नु ईतिहास मेटाउने सरकारी प्रपञ्च

निर्वाचनमा हार्नेहरु केन्द्रिय समितिमा मनोनित : आन्तरिक लोकतन्त्रको भयानक खिल्ली

पौडेलको द्वैध चरित्र देशकै लागि घातक

तपाइँको प्रतिक्रिया