शुक्रबार, वैशाख १४, २०८१

परराष्ट्र र अर्थमन्त्री एनआरएनएसित टेडिएको टेडियै, अभियन्ता फकाउँदै हैरान

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १७ गते २३:५२

परराष्ट्र मन्त्री डा. नारायण खडा (बायाँ) र अर्थमन्त्री जनर्दन शर्मा दायाँ

करिब आधा दर्जन मन्त्री, बिभिन्न पार्टी कार्यालय र दर्जन भन्दा बढी नेतासित भेटघाट गरेपनि एनआरएनए अभियन्ताहरु परराष्ट्र मन्त्री र अर्थमन्त्रीलाई भेटघाटकालागि फकाउँदै हैरान भएका छन् ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनमा एनआरएनएसित सबैभन्दा सरोकार राख्ने गृह, अर्थ र परराष्ट्र मन्त्री मध्ये परराष्ट्र र अर्थ मन्त्री एनआरएनएसित टेडिएर सरिक भएनन् । उनीहरुले अहिलेसम्मपनि नयाँ नेतृत्वसित भेट्न मानिरहेका छैनन् । अभियन्ताहरुको फकाउने क्रम भने जारि छ ।

महाधिवेशनमा सहभागि नै नभएका अर्थमन्त्री र पराराष्ट्र मन्त्रीले नयाँ नेतृत्वसित सम्पर्क नगरेको मात्रै होइन, अर्थ मन्त्रीले त नवनियुक्त एनआरएनए अध्यक्ष (पहिलो ६ महिने कार्यकाल तोकिएका) कुल आचार्यको फोनसमेत नउठाएको एनआरएनए अभियन्ताहरुले नेपालप्लसलाई बताए ।

संवन्धित : पद्दती र पारदर्शीताको त्यो रटान, पद बाँड्ने यो टिके प्रथा -तिर्थनाथ कँडेल

एनआरएनए सित सरोकारनै नभएका शहरी विकास मन्त्री रामकुमारी झाँक्री, कानुन तथा न्याय मन्त्री दिलेन्द्र प्रसाद बडु, सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, प्रमुख दलका नेता केपी ओली, झलनाथ खनाल, पुष्प कमल दहाल देखि डा. प्रकाश शरण महत, रामचन्द्र पौडेल र पशुपती विकाश कोषका सदस्य सचिव डा. मिलन कुमार थापासम्म भेटे । तर अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्र मन्त्री डा. नारायण थापासित भने जति कोसिस गरेपनि विहिवार साँझसम्म भेट्न पाएका छैनन् ।

त्यसको रहस्य बल्ल खुलेको छ ।

शेष घलेले आयोजना गरेको एनआरएनए महाधिवेशन’ को अतिथि बनिदिन अर्थमन्त्री जनार्दन शर्मासित शेष घले र कुल आचार्य दुबैले सँगै भेटेर प्रस्ताव गरेका थिए । तर पछि कुल आचार्य एकाएक सहमतिमा आएपछि त्यसको जानकारि अर्थमन्त्रीलाई दिईएन । घलेको कार्यक्रम उद्घाटनमै पुगेपछि अर्थमन्त्रीले बल्ल संस्थापन पक्षसित सहमति भएको र कुल आचार्य घले पक्षमा नरहेको मेसो पाएका थिए ।

अर्थमन्त्रीले त्यहि बेलादेखि आफूलाई निम्ता दिएर आचार्य आफैं उपस्थित नभएको, विवादमा तान्न खोजिएको, एनआरएनएको विवादले दुईतिर महाधिवेशन हुनलागेको र आफूले त्यत्रो सहयोग गर्दागर्दैपनि धोका दिएको भन्दै ‘आगो’ भएका थिए ।

संवन्धित : हरेक नेपालीले पद खोज्दा एनआरएनमा राजनिति र झगडा – पूर्व अर्थमन्त्री, सुरेन्द्र पाण्डे

एनआरएनएको महाधिवेशनमा उनलाई निम्तो गरिएको थियो । तर उनी उपस्थित त भएनन् नै, शुभकामना सन्देशसम्म पठाएनन् । नयाँ नेतृत्व चयन भएसँगै गैर आवाशीय नेपाली संघकालागि खोल्ने भनिएको डलर खाता, श्रमिकहरुको जम्मा भएको रकम लगायतका विषयमा अर्थमन्त्री शर्मासित छलफलका लागि भेटघाटको निधो भयो । उनीसित भेटेरै छलफल गर्ने निर्णय गरिएको थियो । पहिलो छ महिने कार्यकालकालागि चक्रिय प्रणाली अनुसार अध्यक्ष बनेका कुल आचार्यले अर्थमन्त्री शर्मालाइ कयौं पटक फोन सम्पर्क गरे । तर उनी सम्पर्कमै आएनन् ।

अर्थमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्री यि तीन मन्त्रीसित प्रमुखरुपमा एनआरएनएको सरोकार र एनआरएनका विषयहरु मुख्यरुपमा संवन्धित छन् । त्यसैले अर्थमन्त्रीले बेमतलव गरिदिएपछि एनआरएनए अभियन्ताहरुले एनआरएनएको तर्फबाट आधिकारिकरुपमै पत्र पठाएर भेटघाटका लागि औपचारिक अनुरोध गर्ने निर्णयमा पुगे ।

त्यसैगरि, नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको संस्थाका परराष्ट्र मन्त्रीसमेत एनआरएन महाधिवेशनमा अनुपस्थित रहे । उनले पनि आफूलाइ विवादमा तानेको, शेष घलेको पक्षमा लागेर परराष्ट्र मन्त्रालयमा मुद्दामामिलाको स्तरमा पुर्‍याएको, कांग्रेस पार्टी र आफ्नो बदनाम गरेको, पछि पदकै लागि ति सबै मुद्दा छोडेको र आफ्नो बदनामी गरिसकेपछि फेरि संस्थापन पक्षमै रहेर विवाद साम्य पारेको भन्दै असन्तुस्ट रहेका हुन् ।

    संवन्धित : एनआरएनएको साख गिर्नु दुर्भाग्यपूर्ण -एनआरएनए पूर्व अध्यक्ष, जीवा लामिछाने

एनआरएनएको विवाद अनावस्यकरुपमा उचालेर आफूलाइ गलत ढंगले प्रयोग गरिएको, पार्टीमा दवाव दिन लगाएको, गलत सूचना प्रवाह गरेको भन्दै परराष्ट्र मन्त्री डा. नारायण खड्कापनि महाधिवेशनमा अनुपस्थित रहेका हुन् । उनले एनआरएनएको यो महाधिवेशन प्रकृयामा कतै सहभागिता देखाएनन् ।

परराष्ट्र मन्त्रीबाटै विधान अनुमोदनमा रोक्का

परराष्ट्र मन्त्री डा. नारायण खड्काको रिस महाधिवेशनमा अनुपस्थित रहेर मात्रै साम्य भएन । एनआरएनएको विधान संशोधन गरेर परराष्ट्र मन्त्रालयबाट लाहाछाप नलगाएसम्म त्यो विधान मान्य हुँदैन । त्यसैले विधान संशोधनको प्रतिलिपीमा परराष्ट्र मन्त्रालयमा आइतवार मार्च २७ (महाधिवेशनको दोस्रो वा अन्तिम दिन) का दिन विहानै पुर्‍याईयो । तर डा. नारायण खड्काले त्यो संशोधित विधानमा लाहाछाप नलगाउन मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिईसकेका रहेछन् ।

परराष्ट्रका कर्मचारीहरुले विहान ‘मन्त्रीज्युलाई सोध्नुपर्छ, मन्त्रीज्युको निर्देशन चाहिन्छ, मन्त्रीज्यु आउनुहुन्छ, समय छ नी उहाँलाई पर्खिउँ न, नआएपनि केहि खबर त गरिहाल्नुहुन्छ नी’ भन्दै झुलाए ।

दिउँसो दुई, तीन गर्दै अपरान्ह चार बज्यो । यता महाधिवेशन अन्त्य हुन लागिसकेको थियो । हुँदाहुँदा अपरान्ह पाँच नै बज्यो । तर न परराष्ट्र मन्त्रीनै आए न त कर्मचारीलेनै लाहाछाप लगाइदिए ।

संवन्धित : ‘एनआरएनए बिगारेको पुरानाले हो, तिनलाईनै प्राथमिकतामा राख्ने ?’ एनआरएनए संस्थापक अध्यक्ष, डा. उपेन्द्र महतो

यो खबरपछि महाधिवेशनमा रहेका एनआरएनए अभियन्ताहरु छटपटाउन थाले । परराष्ट्रको लाहाछापबिना संशोधित विधान मान्य नहुने र त्यो मान्य नभएसम्म संशोधित विधान अनुरुप नयाँ नेतृत्व घोषणा गर्नपनि नमिल्ने अर्थात् अवधानिक हुने स्थिति स्रिजना भयो । त्यहि दिन अर्थात् मार्च २७ आइतवारनै महाधिवेशन समापन हुँदै थियो ।

पछि परराष्ट्रका कर्मचारीहरुले ‘यो संशोधित विधान पहिले हेर्नुपर्छ, मन्त्रीज्युले हेर्नुहुन्छ र तीन चार दिन लाग्छ’ भन्ने सुनाइदिए । त्यसपछि ‘ल बर्बाद हुने भयो’ भन्दै अभियन्ताहरु छटपटिए । त्यसलगत्तै उनीहरुले महाधिवेशनमा रहेका कांग्रेस नेता गगन थापालाई सम्पर्क गरे, उच्चस्तरिय अभियन्तामार्फत् ।

त्यसपछि गगन थापाले ‘यो विधान संधोधन नभैकन म होटेल हिमालयबाट जाँदै जान्न’ भनेर अड्डि कसे ।

तत्कालै गगन थापा मार्फत् प्रधानमन्त्री शेर बहादुर देउवालाईनै सम्पर्क गरियो । र प्रधानमन्त्री देउवालेनै परराष्ट्र मन्त्रालयका कर्मचारीलाई फोन गरेर ठाडो आदेश दिए ‘त्यो संशोधित विधानमा तुरुन्त लाहाछाप लगाइदिनु’ । त्यसपछि बल्ल विधानमा लाहाछाप लाग्यो । र छ बजे संशोधित विधान आइपुग्यो । त्यो विधान ‘परराष्ट्रमा लाहाछाप लाग्यो’ भन्ने सुन्दासाथ एनआरएनए महाधिवेशनामा रहेका अभियन्ताहरु लामो सास फेरेर । एक अर्काको मुखमा हेरे । ‘ल काम फत्ते भयो’ भन्दै मुसुक्क मुसुक्क गरे ।

संवन्धित : हरेक नेपालीले पद खोज्दा एनआरएनमा राजनिति र झगडा – पूर्व अर्थमन्त्री, सुरेन्द्र पाण्डे

एनआरएनएको साख गिर्नु दुर्भाग्यपूर्ण -एनआरएनए पूर्व अध्यक्ष, जीवा लामिछाने

‘एनआरएनए बिगारेको पुरानाले हो, तिनलाईनै प्राथमिकतामा राख्ने ?’ एनआरएनए संस्थापक अध्यक्ष, डा. उपेन्द्र महतो

एनआरएनए एनसिसी खम्बा हुन् भन्दै तिनकै गला रेट्ने ?– एनआरएनए महासचिव, डा. हेमराज शर्मा

तपाइँको प्रतिक्रिया