बिहीबार, जेठ १२, २०७९

मृत्युसित लडेको साँढे दुई हप्ता

अल्योना चौसोभा२०७८ चैत १८ गते १४:५७

Image Credit-globaltimes.pk

म १७ वर्षको उमेरमा उच्च शिक्षाको खर्च तिर्न मारिउपोलमा काम गर्न गएँ । धेरै वर्षसम्म म दिनमा कानुनको विद्यार्थी र राती वेट्रेस थिएँ ।

डिप्लोमा गरिसकेपछि मैले मेरो विशेषता अनुसारको राम्रो कमाई हुने काम फेला पारिन । र क्याटरिङमा काम गरिरहने निर्णय गरेंव्। मरिउपोल एक सानो शहर हो । त्यहाँ नौ वर्षसम्म मैले धेरै मानिसहरूलाई भेटें र शहरको हरेक कुनाले के सास फेर्छ भनेर थाहा पाएँ ।

मेरो तलब थोरै थियो । तर त्यसले मलाई युक्रेन वरिपरि घुम्न, कुकुरको लागि ब्यवस्था गर्न र शहरको मध्य भागमा रहेको मेरो अपार्टमेन्टको जिर्णोद्दारको लागि थोरै बचत गर्न पुर्‍याउँथ्यो । म मेरो काम, मेरो शहर र मेरो जीवनयापनसँग सन्तुष्ट थिएँ ।

म केहि परिवर्तन गर्न जाँदै थिएँ । जब २४ फर्वरीमा टाढा विस्फोटहरू सुरु भएको सुनियो । हामीले सोचेका थिएनौं कि यस्तो खराब स्थिति हुनेछ। हामीले सन् २०१४ को यस्तो स्थितिबाट गुजारिसकेका थियौं । यो त्यतिबेला लामो समय टिकेन र शहरहरु बाँचे ।

तर, दुई दिनपछि कुरा झन् गहिरो भयो । बारम्बार विस्फोटहरू भइरहे । सहर कहिल्यै मौन थिएन । तैपनि हामीले जीवनयापन गरिरह्यौं र आधारभूत उत्पादनको भण्डार गर्‍यौं । शहरमा ग्यास स्टेशन र पसलहरू अझै पनि खुलिरहेकै थिए ।
पहिले बिजुली र सेल नेटवर्कले काम गर्न छोड्यो ।

हामीले समयमै हाम्रो फोन चार्ज गर्यौं । तर मोबाइलले काम नगरेपछि हामीले कुनै पनि जानकारी प्राप्त गर्ने सबै माध्यम गुमायौं । त्यसपछि हामी जोखिम लिइरहेका थियौं । कम्तिमा केहि पत्ता लगाउन शहर बाहिर जान लाग्यौं । त्यसपछि छिट्टै लुटपाटका कारण नजिकैका सबै पसल र फार्मेसीहरू खाली भए ।

हामीले वालवालिका र वयस्कहरू इन्सुलिन वा औषधि नपाएर मरेको देख्यौं । मानिसहरू सजिलै उपचार गर्न सकिने रोगबाटपनि पीडित थिए। सहरको सुरक्षामा खटिएका र प्रतिरोधमा संलग्न एक परिचित सिपाही औषधिको अभावमा निमोनियाका कारण मरे ।

बरफले ढाकिएको ठाउँमा एक मात्र पसल अझै काम गर्दै थियो। मानिसहरू आउँदै थिए । त्यो पसलमा लाइन लाग्दै थिए । यद्यपि हाम्रा सैन्य बलहरूले उनीहरूलाई पछ्याए । र त्यसपछि पाँच वटा प्रोजेक्टाइल (युद्दक विमान) हरू त्यो ठाउँमा उडे । भोलिपल्ट जब मेरो प्रेमी र म त्यहाँ पुग्यौं चारैतिर हताहत भएका द्रिष्य देख्यौं ।

मैले लाशहरू हेरेर सोचे: ती मानिसहरू सिपाही पनि होइनन् । यी नागरिक हुन् । यो कसैको बुबा हुन सक्छ । कसैको छोरा । यो सामान्य होइन । तैपनि हामी सामान्य कुरा जस्तै जीवन बिताइरहेका थियौं ।

त्यसपछि खानेपानीको लाईनपनि काटिएछ । पानीको अभाव भयो ।

रुसी सेनाले हामीले पानी पाउन सक्ने ठाउँहरूमा बमबारी गर्न थाले । एकचोटि हामीले पानीका केही बोतलहरू लिन सफल भयौं । र अर्को दिन त्यो ठाउँमा गोलाबारी भयो । मरेका मानिसहरू चारैतिर छरिएका थिए । हामीले जीवन र पानी बीच छनौटको सामना गर्यौं ।

हामीले हिउँ पगाल्न थाल्यौं । फोहोर पानी जम्मा गर्यौं । तर त्यो छिट्टै सकियो। हामी त्यही पानी प्रयोग गरेर आँगनमा आगो बालेर दुईवटा अण्डा पकाउन, मोजा धुन र त्यसपछि शौचालयमा फ्लस गर्थ्यौं ।

तीन दिनपछि अधिकारीहरूले ग्यास आपूर्ति बन्द गरे । ग्यास बन्द हुनु अघि, हामीले नयाँ मैनबत्तीहरू बनाउनको लागि मैन बत्ती बनाउने मोम (वेक्स) पगाल्यौं ।
झ्यालहरू ड्यामडुम बन्द गर्दापनि अपार्टमेन्टको तापक्रम ४ डिग्री सेल्सियसमा झर्यो ।

अब उपाय नहुने भो ।

मेरो ओंठबाट बाफका लप्का छुट्न थाले ।

मैले यो सहरमा बस्न सम्भव नभएको महसुस गरें जब तिनीहरूले यसको मध्य भाग नष्ट गर्न थाले । अस्पताल, विश्वविद्यालय, अदालत । म यी सबै भवनहरू नजिकै बसें । तिनीहरू कहिल्यै भत्किँदैनन् जस्ता बलिया देखिन्थे। र अब, प्रायः तिनीहरूमध्ये प्रत्येकको एउटा मात्र पर्खाल बाँकि रह्यो ।

बम विष्फोट यति धेरै भयो कि हामी अब सहर बाहिर निस्कन सकेनौं । जीवन झन् उदास बन्दै गयो । हामी ओछ्यानमा गयौं । हामीलाई थाहा थिएन हामी बिहान उठ्छौं कि उठ्दैनौं । जब हामी ब्यूँझ्यौं हामीलाई थाहा थिएन हामी अझै युक्रेनको भागमै छौं ।

हामीले एक अर्कालाई वरिपरिको खबर सोध्यौं । तर कसैलाई केही थाहा थिएन । हामी सबैले छाडेको मान्छे जस्तो लाग्थ्यो । बिर्सिएका सबैले । कहिलेकाहीं कसैले अर्को ब्लकबाट हाम्रो आँगनमा डल्ला फ्याँक्थे त्यो ब्लक अब अवस्थित छैन भनेर रिपोर्ट गर्न ।

यदि अधिकारीहरूले केही कारबाहीहरू गरे र केही रेलहरू बाहिर निस्किनकालागि छोडेपनि वा मानवीय कोरिडोरको लागि व्यवस्थित गरे पनि हामीसित यसको बारेमा पत्ता लगाउने कुनै उपाय थिएन ।

नजिकका आफन्त वा साथीभाइलाई पनि हामी जिउँदै छौँ भनी सम्पर्क गर्न सकेनौँ । मसँग मेरी आमा मात्र हुनुहुन्छ जो मेरी हजुरआमाको हेरचाह गर्न बेजिमियान गाउँमा सरिन् । यो गाउँ मारिउपोलबाट ४० मिनेटको दूरीमा छ । तर सन् २०१४ देखि यो रुसको कब्जामा छ । अन्तिम पटक मैले मेरी आमालाई चार वर्षअघि देखेको थिएँ र मलाई भेट्नको लागि उनले रोस्तोभ र खार्किभ हुँदै चक्कर लगाउनु परेको थियो। यो यात्रा उनको लागि धेरै महँगो र थकित पार्ने थियो ।

मारिउपोलका ती डरलाग्दो दिनहरूमध्ये एक थियो जुन दिन मैले उनलाई विदाई नोट लेखें । यो मेरो आमासम्म पुग्ने विचारले मलाई अलिकति हौसला प्रदान गर्यो । किनकि मलाई थाहा थियो, मसँग बिदाइ गर्ने अर्को तरिका छैन । मौकापनि न आ उनसक्छ ।

साझा दु:खले हामीलाई छिमेकीहरूसँग जोड्यो । मैले मेरा किताबहरू उनीहरूसँग साटासाट गरें । कसैले एउटा किताब पढ्थे र त्यसपछि त्यो आगो बालेर बसेका वरपरका मानिसहरूलाई दोहोर्याएर सुनाउँथे । अरूले ब्याट्री, लाइटर, बिहानको खाजा र घर छोड्न नसक्ने वृद्धहरूको हेरचाह गरे । हाम्रो छिमेकीहरू मध्ये एक बुढी आमै थिईन् जो आफ्नो जीवनको अधिकांश समय शिक्षिका थिईन् । उनले केहि पनि खाईनन्। उनले यसको सट्टा स्थानीय बिरालोहरूलाई खुवाइन् । अर्की वृद्ध महिलाले हामीलाई आगो निभाउन काठको किचन बोर्ड दिईन् ।

हामीले आगो जतिखेरपनि बालिरहने प्रयास गर्यौं । किनभने नयाँ आगो सुरु गर्न गाह्रो र समय लाग्ने थियो । आगोको लागि दाउरा प्रायः भिजेको थियो र यसलाई जलाउनु अघि सुकाउन एक दिन लाग्थ्यो ।

हाम्रो भवन नजिकैको शिशु स्कूल बमले पड्किएपछि हामी हाम्रो भुइँतल्लामा आश्रयको लागि केही कुर्सीहरू लिन त्यहाँ गयौं। म भित्र आएर बच्चाहरूको चप्पलको पङ्क्ति देखें । यसले मलाई मुटुमै हान्यो, म बच्चाहरूबाट चोरी गर्दैछु ।

यो युद्धले हामीलाई अकल्पनीय कुराहरू गर्न बाध्य बनायो ।

पछि हामीले आगो निभाउन वालवालिकाको लकर (लुगा, चप्पल, झोला राख्ने बाकस) प्रयोग गर्‍यौं।

मारिउपोलमा मेरो अन्तिम दिनहरूमा, आकाश सधैं जलिरहेको थियो । म पक्का थिएँ कि यो अन्त थियो । मैले हरेक दिन नयाँ विनाश देखें । रुसको सेना झन् नजिक आउँदै गयो । मैले बुझें, मेरो घर सुरक्षित रहने संभव छैन । जबकि सम्पूर्ण शहर ध्वस्त हुँदै छ ।

एकपटक झ्यालबाट बाहिर हेरेँ । हाम्रो यू-आकारको भवनमा पहिले नै तीनवटा प्वालहरू थिए । अचानक आँगनको रुखमा कसैको कम्बल अड्केर झुण्डिइरहेको देखेँ । मैले टाउको फर्काएर हेर्दा एउटा बालकोनी देखें जहाँबाट यो कम्बल निस्किएको हुनुपर्छ । विस्फोटका कारण अपार्टमेन्ट भित्र घुसेको थियो । बिस्फोटका बेला घरमा कोही हुनुहुन्छ कि भनेर सोचें । के मैले तिनीहरूलाई खोज्नु पर्छ ? तर यदि कोही घरमा थिए भने तिनीहरू बाँच्न सकेनन् । किनकि अपार्टमेन्ट पूर्ण रूपमा जलेको थियो।

मार्च १३ मा हामी केही समयको लागि सीढीहरू उक्लेर माथि गयौं । त्यसपछि छिमेकीहरूले ढोका ढकढक्याए:

“त्यहाँ सडक छेउमा सहरबाट भाग्ने बाटो छ । हामी १५ मिनेटमा प्रस्थान गर्छौं । के तपाई हामीसँग जानुहुन्छ ?”

हामीले हाम्रो ढाडमा बोक्ने झोला (ब्याकप्याक) हरू समात्यौं । तिनलाई उनीहरुको कारको डिक्कीमा फ्याँक्यौं र बाहिर गयौं। म पक्का थिएँ कि यसले समाधान दिन्न । खाँदा खाँदै छोडेको अधूरो खाना भान्साको टेबुलमा रह्यो। हामीले हाम्रो ल्यापटप पनि छोड्यौं ।

हामीले हाम्रो बाटोमा कुनै पनि चेकपोइन्ट नभेटीकनै शहर बाहिर निक्लियौं । सडकमा माईनहरु ओछयाइएको थियो । तर माइन प्रष्टै देखिन्थे । त्यसमाथिबाट कार चलाउनु आत्महत्या जस्तो देखिन्थ्यो । तर मृत्युको डरले कारमा बस्दा हामीले सफलतापूर्वक तिनीहरूलाई पार गर्यौं ।

जब हामी बर्दियान्स्क नजिक पुगेका थियौं मैले खुशीसाथ याद गरें: हामीतिर एउटा कारको लाइन नजिकिँदै छ !

यसको मतलब अगाडिको बाटो स्पष्ट छ । तर यो कार लाइन चलिरहेको थिएन। गोली हानिएको थियो । ड्राइभ गर्दै जाँदा मैले यी कारहरू भित्र लुगाहरू, भिजेको वाइपहरू र अन्य दैनिक प्रयोगका चीजहरू देखें ।

जब हामी बर्डियान्स्क नजिकैको रुसी चौकीमा पुग्यौं, सेनाले नजिकै रहेका कारहरूलाई लाइनमा बस्न लगायो । यस्तो लाग्थ्यो, तिनीहरूले हामी सबैलाई एकैचोटि गोली हान्न त्यसो गरिरहेका थिए । तर तिनीहरूले हामीलाई संगठित रूपमा जान दिन चाहेका रहेछन् ।

जापोरिजिया जाने बाटोमा हामीले १३ देखि १५ वटा रुसी चेकपोइन्टहरूको सामना गर्यौं । प्रत्येक पटक तिनीहरूले हामी प्रत्येकलाई निगरानी र जाँच गरे। तिनीहरूले हाम्रो फोन, पैसा, पानी, खाना लगे । यसले हामीलाई धेरै ढिलो गर्‍यो । त्यसैले हामीले कर्फ्यू अघि कम्तिमा कतै पुग्ने प्रयास गर्यौं ।

रूसीहरूले हामीलाई तिनीहरूले गरेको चोरी गोप्य राख्न आग्रह गरे । त्यहि बेला तिनीहरूले सोधे: “किन युक्रेन जाँदै हुनुहुन्छ ? हाम्रो इलाका वा डोनेट्स्क, लुगान्स्कमा किन जानुहुन्न ? हामीले द्वन्द्वलाई बेवास्ता गर्यौं र जवाफ दियौं “हामी हाम्रा युक्रेनी नातेदारकहाँ जाँदैछौं वा हामी युक्रेनबाट आएका हौं ।”

हामी कतै पुग्छौं भन्ने मलाई अझै विश्वास थिएन । हामी भोकाएका थियौं । हामी चिसोले कठ्यांग्रिएका । २० दिनसम्म नुहाउन नसकेर फोहोर उस्तै थियो । हामी सशस्त्र मानिसहरूले घेरिएका थियौं। कुनै पनि क्षणमा, चीजहरू भयानक रूपमा गलत हुन सक्थ्यो । एउटा चेकपोइन्टमा मैले एकजना मानिसलाई उसको मेसिन गनले सिधै मलाई लक्षित गरेको देखेँ । मसँग एउटै विचार थियो: भगवानले उसको हात चलाउन नदिउन् ।

जब हामी लगभग जापोरिजिया पुग्यौं सहरको बत्तीहरूले हामीलाई क्षितिजसम्म देखिने गरि लोभ्यायो । हामीले पत्ता लगायौं कि हामीले पार गर्नुपर्ने पुल ध्वस्त भएको थियो।
ट्याङ्कीमा सबैभन्दा बढी इन्धन भएको मानिसले नजिकैको साँघुरो बाटो भेट्टायो र त्यसको निरीक्षण गर्न गए । जब उनी फर्किए, उनले भने:

“त्यो बाटोमा माईन ओछ्याइएको छ । तर हामी त्यहाँबाट जान सक्छौं । हामीले अगाडिको कारको डोब पछ्याउँदै एउटा पाङ्ग्राबाट अर्को पाङ्ग्रा हिंडेकै डोबमा पारेर चलाउनुपर्छ । र हामीले हाम्रो दूरी कायम गर्नुपर्छ ताकि यदि एउटा कार विस्फोट भयो भने अरू बिस्फोटमा नपरोस् र बच्न सकियोस् ।

हाम्रो कार मालिक अनुभवी चालक नभए पनि हामीले जाने निर्णय गर्यौं । बाटो पछ्याउँदा, हामीले शान्तिको सास फेर्न कोसिस गर्यौं। मेरो मनमा मैले सक्ने सबै सन्त, भगवानहरूलाई सम्झिरहेको थिएँ ।

एउटा भनाइ छ ‘युद्धकालमा कोहि नास्तिक हुदैन ।’ मैले अहिले बुझें ।

जब अँध्यारो हुन थाल्यो हामीले अन्ततः युक्रेनी सेनालाई भेट्यौं । त्यसबेला हामीले गाडीको लामो लाइन बनायौं ।

“तिमीहरू को हौ?” युक्रेनी सैनिकहरूले हामीलाई चेकपोस्टमा सोधे ।

“हामी मारिउपोलबाट आएका हौं ।”

तिनीहरु मूर्खजस्ता थिए ।

परिचय पत्र जाँच पछि सिपाहीहरूले हामीलाई सुरक्षा गर्न प्रहरी गस्तीलाई बोलाए । सडकमा अनन्त काँडेदार तारहरू, सिन्डर ब्लकहरू र माईन ओछ्याएका टायरहरू थिए । हामीले फेरि धेरै सावधानीपूर्वक र हेडलाइटहरू निभाएर ड्राइभ गर्नुपर्‍यो ।

कतिपय चालकको धैर्यता टुट्यो । अँध्यारोमा तिनीहरूले छेउकुनाबाट लाइन उछिनेर जाने (ओभरटेक) निर्णय गरे । र मैले तिनीहरूलाई ब्लकहरूमा दुर्घटनाग्रस्त भएको देखें ।

हामी अन्ततः जोरपाजिया पुग्यौं। केहि दिन पछि मैले डिनिप्रोमा एउटा अपार्टमेन्ट भाडामा लिएँ ।

म सुरक्षित छु। म अहिले ठिक छु। तर मेरो शहर सुरक्षित छैन । त्यो शहरमा वर्षौं बिताएका छिमेकी, बासिन्दा सुरक्षित छैनन् ।

तर म अझै विश्वास गर्न सक्दिन कि मेरो पुरानो जीवन कता गयो, यस्तो अचम्ममा कसरि बित्यो ।

(मेडियम डेलीमा प्राकाशित आलेखलाई नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया