बुधबार, असोज १९, २०७९

स्थानिय निर्वाचनमा नेताहरुलाई मतदाताले सोधिरहनुपर्ने गम्भिर प्रश्न

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत १८ गते २०:४९

स्थानिय निर्वाचनले राष्ट्रिय पार्टीहरुको ढोकामा घण्टी बजाएको छ । निर्वाचनको परिणामका बारेमा पार्टीहरुको चासो हुनु स्वभाविक हो । तिनको आगामी राजनीतिमा अहिलेको स्थानिय निर्वाचन परिणामले धेरै कुराहरु निर्धारण गर्ने छ । स्थानिय निर्वाचन पछी हुने संसदिय चुनावका लागि अब बन्ने स्थानिय मतले सबै राजनीतिक दलहरुको आगामी बाटो स्पष्ट भन्ने छ । गणतन्त्र र धर्म निरपेक्षताको लेखाजोखा पनि यही निर्वाचनले गर्ने छ । किनकि गणतन्त्र र धर्म निरपेक्षतालाई कसरी अगाडि बढाउने भन्ने कुरामा कुनै पनि पार्टीका खुलस्त धारणा छैनन । कांग्रेस र एमालेका धेरै नेता अझै पनि धर्म र संघियताका विषयमा दोधारमा छन । तै पनि एक अर्का प्रतिको डर त्रास शुरु भैसकेको छ ।

माधव नेपाल र पुष्पकमल दाहाललाई नेपाली कांग्रेसको कमिजको फुर्को समातेर स्थानिय निर्वाचनको गण्डकी तरिएला भन्ने आशा छ भने कांग्रेस पुरानै निर्वाचनको डरबाट बाहिर निस्किन सकेको छैन । केपी ओलीको डरलाई पुष्पकमल दाहाल र माधव नेपालले हतियार बनाएका छन र यसलाई अझै उचाल्ने पक्का छ । पार्टी जोडिने बेलाको निर्वाचन र पार्टी फुटेपछीको निर्वाचनमा कस्तो तात्विक फरक पर्ला भन्ने कुरा ओलीको चेतनाले भ्याएको छैन । त्यसैले उनी उही पुरानो भारत विरोधी ‘स्टेटमेन्ट’लाई आधार बनाउने पक्षमा छन् ।

अहिलेको निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्न पुन: भारत विरोधी नाराले मद्दत गर्ला नगर्ला त्यसको भेउ अझैसम्म उनलाई छैन । जस्तो खाले भारत विरोधी नाराको तामझाममा उभिएर उनी संघिय गणतन्त्र नेपालको प्रधानमन्त्री बनेका थिए ति नाराहरु वालुवाटारका कुनै चिहानघरमा ओली आफैंले गाडिसकेको नेपाली जनताले पक्कै पनि भुलेका छैनन । त्यसैले केपी ओली ‘राम’ भरोसे छन । चितवनको ठोरीमा रामको जन्म सावित गर्न उनी ज्यान फालेर लागेका छन । अहिले बेच्न सकिने नारा भनेको पक्कै पनि धर्म हो भन्ने ओलीलाइ लागेको छ । यदी संघियताको दोहोलो काड्न पर्‍यो भने पनि उनी पछी हट्ने छैनन ।

संवन्धित : जातेजाते ओलीका नाममा १३ सय रोपनीको जोगाड

तर यो भन्दा पर, नेपालका राजनीतिक दलहरुले उठाउन नचाहेको विषय भ्रष्टाचार हो । चुनावभरि कुनै पनि ठुला राजनीतिक दलहरुले यो मुद्दा उठाउने छैनन । किनभने देशका ठुला भन्दा ठुला भ्रष्टाचारका मुद्दामा शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, इश्वर पोखरेल, बिष्णु पौडेलहरुको नाम जोडीएको छ । अनुसन्धान संयन्त्रहरुले यिनिहरुलाई भ्रष्टाचारिको सुचीमा नराखेको भए पनि नेपाली जनताले यिनलाई साधु नेता मान्न तयार छैनन ।

बितेका पाँच वर्ष यता देश टाट पल्टिने बाटोमा पुगेको छ । तल देखि माथिसम्म पुरै अर्थतन्त्र हल्लिएको छ । विदेशमा मजदुरी गर्ने नेपालीहरुबाट आउने विदेशी मुद्रा रोकिने हो भने देश टाट पल्टिएको हामी सबैले अहिलेनै महसुस गर्ने छौं । दक्षिण एशियाको छिमेकी राष्ट्र श्रीलंकाले जस्तो सास्ती अहिले भोगिरहेको छ हामी लगभग त्यसको नजिक पुगेका छौं ।

श्रीलंकाका जनता, इन्धन र औंषधी नपाएर सडकमा उत्रका छन । राष्ट्रपतिको रजिनामा मागिएको छ । श्रीलंकालीहरुले सरकारी कार्यालय अगाडि धर्ना बस्न थालेको धेरै भईसकेको छ । देशमा न त तेल उत्पादन हुन्छ न औंषधीका चक्की बन्छन । आयात गर्नका लागि विदेशी मुद्राको भण्डार रित्तिएको छ । नेपालको अवस्था पनि हालको श्रीलंकाको जस्तै छ । तर अलिकती फरक के छ भने हाम्रो सरकारले युवाहरुको पाखुराको रस खाडी र मलेशियामा बेचेको छ । त्यसैले हामी धनीजस्ता देखिएका छौं । यो दिर्घकालिन समाधान पक्कै होइन । देशको यो अवस्था कसरी भयो त ?

संवन्धित : मनमोहन अधिकारीले केपी ओलीलाई तानसेन टुँडिखेलमा झपार्दा

अहिलेको स्थानिय र संसदिय निर्वाचनमा मुख्य रुपमा यही प्रश्न उठ्नु पर्छ र उठ्ने पनि छ । जसको जवाफ नेताहरुले दिनैपर्छ । देश किन टाट पल्टिने बाटोमा छ । हाम्रो अर्थतन्त्र कसरी तहसनहस भएको छ । जुनसुकै ब्यवस्था परिवर्तन भए पनि किन नेपालीको जीवनस्तर उकासिन सक्दैन ? कसरी राजनीतिक दलका नेताहरुको चर्या रातारात परिवर्तन भएको छ ? यो हामीले जवाफ नआउन्जेल सोधिरहनु पर्दछ । भोट दिंदा हजार पटक सोच्नु पर्दछ । अबको समय नेताहरुका गुलिया भाषण सुनेर मुख मिठ्याउने होइन । जनताले परिणाम देख्न पाउनु पर्दछ । ब्यवस्था परिवर्तन हुँदा देखेका सपनाहरु फुलेको हेर्न पाउनु पर्दछ । देश किन यस्तो भयो ? के के कारण छन जनताले एक जोर चप्पल फेर्न नसक्नुका पछाडि ? पक्कै पनि देशमा मौलाएको भ्रष्टाचार नै हो ।

केपी ओली, पुष्पकमल दाहाल, देउवा लगायत पार्टीका छोटे बडे नेताहरुको शानमान र ठाँड पछाडिको आयश्रोत के हो ? अहिलेको स्थानिय र संसदिय निर्वाचनमा भ्रष्टाचारको मुद्दाले महत्वपूर्ण परिणाम निकाल्ने छ । त्यसैले ठूला भनिएका पार्टीहरु चुनावी प्रतिस्पर्धामा एकअर्कासँग नभएर आफैंसँग डराएका छन । हरेक पार्टीका दोस्रो तहका केही नेताहरुले के बुझेका छन भने भ्रष्टाचारलाई न्युनिकरण गर्न सक्ने हो भने चुनावमा बहुमत ल्याउन सकिन्छ ।

नेपाली कांग्रेसका केन्द्रिय उपाध्यक्ष धनराज गुरुङले गत साता सम्पन्न पार्टीको केन्द्रिय समिती बैठकमा बोल्दै भनेका थिए- ‘२०४६ सालपछिका गाविस अध्यक्ष, उपाध्यक्ष र नपाका मेयर, उपमेयरदेखि सांसद, मन्त्री, प्रम, उच्च पदका कर्मचारी, सेना, प्रहरी, न्यायाधीश सबैको सम्पत्ति छानबिन गरेर मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध अभियान चलाऔं । तब कांग्रेस जित्छ । सम्पत्ति छानबिनको शुरूआत मेरैबाट गरियोस् ।’

धनराज गुरुङले बोलिरहँदा सभापति देउवा मन्द मुस्कानका साथ टाउको टेढो पारेर बसिरहेका थिए । अली कनिष्ठहरुलाई झन हाँसो उठ्यो होला । किनभने कुनैपनि उच्च पदस्तको सम्पत्ति खासगरेर नेताहरुको सम्पत्ति छानविनको दायरामा ल्याउन हाललाई सम्भव छ कि छैन भन्ने ति कनिष्टहरुले झनै बुझेका छैनन । खासमा नेताहरुको सम्पत्ति छानविन गर्न सम्भव छ कि छैन भन्ने कुरा गुरुङ स्वयंलाई पनि राम्रोसँग थाहा नहुनसक्छ । तर उनलाई के कुरा थाहा छ भने यदि माथिल्ला जम्मै नेताहरुको सम्पत्ति छनविन गर्न सकियो भने नेपाली कांग्रेसले चुनाव जित्छ । उनलाई यो पनि थाहा छ, यदि सम्पत्ति छानविन गर्न सकियो भने अहिले दौरा सुरुवाल लगाएर देशको उन्नतिको भाषण पढ्ने अधिकांश नेताहरु खोरमा जाकिन्छन । जब यि खोरमा जान्छन तब देशको उन्नतिको ढोका कसैले रोक्न सक्दैन ।

बैशाख ३० को चुनाव, त्यसपछिको संसदिय चुनाव, प्रदेश चुनाव हरेक पटक केपी ओली, प्रचन्ड, र देउवाहरुलाई सोध्न छोड्नु हुन्न- देश टाट पल्टाउने बाटोमा पुर्‍याउने को हो ? र तिमीहरुको ठाँटको जिन्दगी सजाउने आयश्रोत के हो ? हामीले प्रश्न सोध्न छोड्नुहुँदैन । जनताले प्रश्न सोध्न छोडे भने देउवा, ओलीहरु अझै मोटाउँछन । धनराज गुरुङहरुको आवाज पातलिन्छ । धनराज गुरुङहरुको आवाज पातलियो भने देशलाई टाट पल्टिनबाट कसैले जोगाउन सक्दैन !

तपाइँको प्रतिक्रिया

फेसबुक