शनिबार, वैशाख ८, २०८१

एनआरएनए नेतृत्वमा पुग्दा खस्केको गरिमा

कुमार पन्त२०७८ चैत २८ गते १४:२१

नेपाली कांग्रेसले शेष घलेले आव्हान गरेको महाधिवेशनमा भएका एक जना मुख्य मानिसलाई एक दिन पहिले यु टर्न गराएर स्वाट्टै संस्थापन पक्षतिर लगिदिएको कुरो जुन गर्नु भएको छ खास कुरोनै त्यहिंनिर छ । त्यो किन ल्यायो त भने नल्याएको भए एनआरएनए फुट्ने थियो । त्यो त महसुस गरेको हो नी नेपाली कांग्रेसले । त्यहाँ राखिरहेको भए त्यहाँ एउटा अधिवेशन हुन्थ्यो अर्कोतिर अर्को अधिवेशन हुन्थ्यो । त्यसपछि परराष्ट्र मन्त्रालयपनि कहाँ जाने कहाँ नजाने ? कसलाई मान्यता दिने कसलाई नदिने ?

हाम्रो त आफ्नै दाबी थियो- त्यहाँ त्यसरि महाधिवेशन हुनैसक्दैन । त्यो हुनसक्दैन भन्ने कुरापनि त पछि महसुस गर्नुभयो नी उहाँहरुले । हुनसक्ने भए त परराष्ट्रमन्त्री, प्रधानमन्त्री त्यहिं जानुहुन्थ्यो । त्यहाँ किन जानु भएन ? त्यहाँ जाँदा संस्था फुट्ने भयो भनेर । त्यहाँ त संस्था फुट्न अन्तिम अन्तिममा पुगिसक्या रैछ । यो भन्दा अगाडि हामी बढ्यौं भने यो संस्था फुट्ने रैछ । यो फुटाउन हुँदैन भन्ने उहाँहरुले महसुस गरेर आउनुभएको हो । नत्र त संस्था फुट्थ्यो नी !

राजनितिक पार्टीसित नाफा घाटा त होलान् । तर त्यो भन्दापनि संस्था नफुटाउन खोजेको हो । फाईदा घाटाको लडाई त राजनितिक दलहरुले मात्रै होइन तपाई हामी सबैले गरिहाल्छौं । तर संस्था फुटाउँदा फाईदा कसैलाई हुँदैन । मुख्य कुरा त्यहाँनिर छ नी । संस्था फुटाउने दुस्साहस कसैले गर्न हुन्न र फुट्दा सबैलाइ घाटा हुने रैछ भन्ने सबैले महसुस गरेको मैले अनुभुत गरेको छु ।

कुनै ब्यक्ति एक जना भएर संस्था चल्छ नत्र चल्दैन भन्ने कुरो साँचो होइन । ब्यक्तिको प्रभावले मात्रै त्यसो हुन्न । भोलि मेरोपनि आवश्यकता नरहन सक्छ । म सक्रिय भएँ, योगदान गरें भने मेरो आवश्यकता रहन्छ नत्र बिगार्नैकालागि म त्यहाँ किन चाहियो ?

त्यसैले ब्यक्तिगत रुपमा शेष घलेको प्रसंगमा हिजो उहाँको राम्रो देन थियो एनआरएनएमा । राम्रो कामपनि गर्नुभएको थियो । पछिल्लो दिनमा अलिकति फुटाउने गतिबिधिमापनि उहाँ लाग्नुभयो । त्यस्तै फुटाउने गतिबिधिमा लाग्नकोलागि चाहिँ उहाँको आवश्यकता छैन । संस्थालाई आवश्यक परेन । हिजो जस्तो भूकम्पमा काम गर्नुभयो, भवन बनाउने काममा लाग्नुभयो । संस्थामा सामाजिक काम जसरि गर्नुभयो त्यस्तै काम गर्नुभयो भने आवश्यकता रहन्छ उहाँको । यो संस्था सामाजिक, परोपकारि काम गर्ने राम्रो प्लेटफर्म हो, यो जरुरि छ भन्ने उहाँलाई लाग्छ भने उहाँ आएर काम गर्नुहुन्छ । नत्र उहाँ आएर काम गर्नुहुन्न ।

यो संस्थामा कुनै ब्यक्ति हुनैपर्छ भन्ने लाग्दैन । शेष घले नहुँदापनि चलेको थियो । उपेन्द्र महतो नआउँदापनि अधिवेशन चलेकै थियो । भोलि नहुँदापनि चल्छ । त्यसैले ब्यक्तिलाई धेरै प्राथमिकता दिनुपर्छ जस्तो लाग्दैन ।

पैसाको मात्रै कुरा संस्थामा भएन । शेष घले के संस्थामा पैसा मात्रै दिएर शेष घले भएको हो त ? उहाँले नेत्रित्वपनि गर्नुभएको थियो । हिजो बिचारपनि दिनुभएको थियो । शेष घले एक्लैले कति दिनुभयो त ? संस्थामा अहिलेसम्म अरबौंको काम भएको छ । त्यो अरबौंको काममा शेष घलेको मात्रै त थिएन । उहाँले मात्रै पैसा दिएर यत्रो भएको होइन नी संस्था ! त्यसैले पैसाकै लागि शेष घले खोजिएको थियो भन्ने कुरापनि होइन । उहाँ एउटा राम्रो ब्यक्तित्व भएको ब्यक्ति हो । ईमान्दार मान्छे हो । काम गर्दा ईमान्दार भएर गर्नुभएको थियो । चार वर्ष त मैले सँगै काम गरेको हो । त्यसरि काम गर्नुभयो भने भोलिपनि आवश्यकता रहन सक्छ ।

मान्छेको उमेरपनि हुन्छ । मान्छे सधैं उत्तिकै सक्रिय रहनपनि सक्दैन । मान्छे बुढोपनि हुँदै जान्छ । बुढो हुँदै गएपछि मान्छेका सोचाईहरुपनि बुढा हुँदै जान्छन् । गैर आवाशीय नेपाली संघ त एउटा अभियान हो । नेपालका राजनितिक दलजस्तो होइन । त्यसैले युवा मान्छे आउनुपर्छ । मेरो आफ्नैपनि गैर आवाशीय नेपाली संघमा उपादेयता सक्कियो भन्छु । म धेरै सक्रिय भएर लाग्ने होइन ।

नेपालका दलहरु देख्नुभएन ? म एसएलसी दिँदा जुन प्रधानमन्त्री हुनुहुन्थ्यो अहिलेपनि त्यहि प्रधानमन्त्री हुनुहुन्छ । गैर आवाशीय नेपाली संघलाईपनि त्यस्तै बनाउन खोजेको त होइन होला हामीले । एनआरएनएमा सधैं बुढा पुरानाहरु सक्रिय भैराख्नुहुँदैन । सामाजिक काम गर्ने संस्था हो यो । परोपकारी काम गर्ने बेला संझिए भैहाल्यो नी । त्यसैले नयाँ, युवाहरुलेनै नेत्रित्व गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

शेष घले आइदिनुस् भनेर मैले फकाउनेपनि होइन । मैले किन फकाउने ? पदिय जिम्मेवारीमा नभएपछि मैले किन फकाउनुपर्‍यो ? राम्रो काम गर्नकोलागि, संस्था एकताबद्द गराउनकोलागि मैलेनै किन फकाउन जानुपर्‍यो ? उहाँले मलाई फकाउन आएपनि भयो नी ।

तर म अध्यक्ष हुँदा उहाँले जुन गतिबिधि याक एण्ड यती होटेलमा गर्नुभयो “त्यसलाई रोक्नुस् । साँच्चै तपाई सक्रिय भएर काम गर्ने मन छ भने यहि संस्था छ । यहिँ मिलेर काम गर्न सकिन्छ । यसलाइ रोक्नुस्” भन्न म आफैं गएको थिएँ ।

एकचोटी केहि साथीहरुले शेष घलेको तर्फबाट एउटा ड्राफ्ट लिएर आउनुभयो । मैले यस्सो हेरें । मिलेर जान नसक्ने कुरा केहिपनि थिएन । ‘ल म यसमा सहि गरेर पठाइदिन्छु । तपाईहरुले यसमा उहाँको सहि गरेर ल्याउनुस्’ भनेर पठाएँ । वार्ता समिति भनेर उहाँहरुलेनै बनाउनुभएको रहेछ । शेष घलेलेनै बनाउनुभएको हो वार्ता समिति । मलाई त थाहपनि थिएन ।

मैले ‘मलाई तपाईहरुसित वार्ता गर्न केको वार्ता समिति गठन गरिराख्नुपर्‍यो । आउनुस् वार्ता गरौं तपाईहरुसित । तपाईहरुसित वा शेष घलेसितै कुरा गर्नपरेपनि गर्छु । के हो यो बिचबिचमा वार्ता समिति ? उहाँसित सिधै कुरा गराउनुस् न’ भनें मैले । म उहाँलाईनै फोन गर्छु भनें । मैले खबरनै पठाएँ । ‘तपाईलाई म भेट्दै छु’ भनेर । ‘यो वार्ता समितिले बेक्कारमा झन राम्रो म्यासेज दिंदैन’ मैले भनें । मैले सहि गरेर पठाएपछि उहाँले सहि गर्नुभएन ।

त्यसपछि साथीहरुले ‘त्यहिं जाउँ, भेटौं भन्नुभयो ।’ म गएँ ।

गएपछि ‘उद्घाटन सेसन शुरु भैसक्या छ । आइसिसीले अगाडि बढाउनुस्’ भन्नुभयो ।

मैले ‘ल ठिकै छ’ भनें । जबकि अरु साथीहरु कसैलेपनि मान्नुभएको थिएन । हाम्रो उद्घाटन सत्र कस्तो हुन्छ तपाईलेपनि देख्नुभयो । उद्घाटन समारोहमा कोको अतिथि, प्रमुख अतिथि आउँछन् त्योपनि देख्नुभयो । शेष घलेको उद्घाटन सत्रमा त एक जना मन्त्री जानुभएको थियो । थाह पाइहाल्नुभयो, माओवादी केन्द्रका तर्फबाट अर्थमन्त्री जानुभएको थियो । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले भाषणमै भन्नुभएको छ । “उहाँ झुक्किएर, थाह नपाएर जानुभएको हो । उहाँलाई फर्किनुस् भनेर मैले भनें” भन्नुभयो । त्यस्तो उद्घाटन सत्रलाई उद्घाटन सत्र कसरि भन्ने ?

तैपनि “तपाई यसमा खुशि हुनुहुन्छ भने धेरै साथीहरुले मान्नुभएको छैन । म साथीहरुलाई मनाउँछु । त्यसलाई उद्घाटन सत्र मानेर जाउँ । त्यसपछि अधिवेशन चाहिं हामीले गर्न पाउनुपर्छ” भनें ।

मैले त्यसो भनेपछि फेरि उहाँले “हैन, यो हलमा जति मान्छे हुनुहुन्छ त्यो मान्छेको बिचमा मात्रै निर्वाचन हुनुपर्छ” भन्न थाल्नुभयो ।

त्यो हलमा त सय जनापनि थिएनन् । त्यहाँ जति साथीहरु जानुभएको थियो उहाँहरु त फर्केर हामीतिर आइसक्नुभएको थियो । मैले सुनेको पछि त जम्मा ५८ जना हुनुहुन्थ्यो रे । त्यो चानचुन सय जनाको सूचीमा मेरोसमेत नाम थियो । तपाई आफैं सोच्नुस् यो कसरि आएको छ ।

त्यति भन्दापनि मैले ‘ल शुरुमा उद्घाटन त्यसैलाई मानौं । अगाडि बढौं’ भन्दापनि उहाँले मान्नुभएन । नमानेपछि उहाँको उद्देश्य त फुटाउनेनै रैछ भनेर बुझियो ।

त्यहाँ एनसिसीका अध्यक्षहरुपनि हुनुहुन्थ्यो । उहाँहरुलेपनि ‘जानुपर्छ’ भन्नुभयो । नमानेपछि एनसिसीकै साथीहरुले ‘ए उहाँले त संस्था कमजोर बनाउन लागेको रैछ । अब उहाँको पछि लागेर काम छैन’ भन्दै साथीहरुलेनै उहाँलाई छोडेर आउनुभएको हो ।

पछिल्लो समयमा मैले उहाँको संस्था प्रतिको राम्रो बुझाई, हेराई पाइन । जसरि मैले उहाँसित संवाद, छलफल र संगत गरें । ‘साथीहरुले आफूलाई त्यहाँ पुर्‍याउनुभयो’ भनेर भन्नुभयो उहाँले ।

एनसिसीका अध्यक्षहरु राखेर “तपाईहरुले यसरि मलाई अगाडि बढ्न भन्नुभयो । अहिले तपाईहरुले साथ छोडिदिने ?” भन्दै उहाँ कड्किनुभएको थियो । तर कसैले भन्यो भन्दैमा गलत कुराको पछि लाग्न त सकिंदैन, हुँदैन नी ।

पछिल्लो समयमा संस्थाप्रतिको बुझाई उहाँको नकारात्मकनै थियो । यो संस्थाप्रति, नेत्रित्वलाई सहयोग गर्ने कुरामा उहाँ नकारात्मक हुनुहुन्थ्यो भन्ने कुरा उहाँको गतिबिधिले प्रष्ट पार्छ ।

पछिल्लो समयमा नेत्रित्वमा जान चाहने साथीहरुको उक्साहटमा लागेर भनेपनि हुन्छ परराष्ट्र मन्त्रालय त्यसरि उहाँहरुसित संलग्न हुनुहुँदैनथ्यो । त्यसमा मात्रै मेरो कार्यकालको मलाई चित्त दुखाइ हो । तर पछि आएर हामी सबैले महसुस गर्‍यौं । उहाँहरुलेपनि महसुस गर्नुभयो । यि सबै कुराहरुलाई हामी सबैले भुल्ने भन्ने कुरा परराष्ट्रमा जाँदा भएको छ । मैले भुल्या छु । उहाँहरुलेपनि भुल्नुभएको छ । यसलाई फेरि नङ र मासुको जस्तो संवन्ध बनाएर हामी अगाडि बढ्नुपर्छ ।

बाँकी मेरो कार्यकालमा प्रतिबद्दता जनाएका सबै काम पुरा भए । संस्थामा १३, १४ करोड घाटा थियो । त्यो घाटा पूर्ति गरेरपनि ७०, ७२ लाख प्लस भएको छ । कोरोनाकालमा यति धेरै काम गर्‍यौं । परोपकारि कोष बन्यो । १० अर्बको लगानी कोष शुरु भयो । त्यसैले मैले मेरो कार्यकालमा यो गर्न पाइन, सकिन भनेर पछुतो मान्नुपर्ने केहि छैन । बरु म राम्रो गरें भनेर खुशि छु ।

तपाईहरुलाइ जस्तै तीन जना अध्यक्ष भएको मलाईपनि राम्रो लागेको छैन । यो कहाँ प्रिय निर्णय हो र ? तपाईहरुलाई भन्दा मलाई बढी मन परेको छैन होला । तीन जना अध्यक्ष कसरि नबनाउने होला, नबनाउन के गर्नुपर्ला भनेर म त त्यहिं भित्र बसेरपनि छटपटिएको थिएँ ।

तर महाधिवेशनको ३६०० प्रतिनिधिले एक मतले पास गर्नुभएको कुरा के हो भने एकता पहिलो प्राथमिकता । यो पटकलाई सबै कुरा भुलौं । नेत्रित्वमा आउन चाहने, पदका आकांक्षीहरुको कारणलेनै यो विवाद आएको हो । कसैले लुकाउनुपर्दैन । ‘म नेत्रित्वमा पुग्न आवश्यकता छैन’ भनेर त्यो उदारता देखाउन सकेनन् कसैलेपनि । त्यसैले ति प्रव्रित्तिका बिरुद्द भोलि समिक्षापनि गर्ला । ति मान्छेहरुलाईपनि चिन्ला संस्थाले । नेत्रित्वमा पुग्नैकालागि के के गर्दा रहेछन् संस्थामा भन्ने कुरा त तपाई हामी सबैले मूल्यांकन गरौंला ।

संस्थाको लागि, ल पद लेउ, कुन कुन पद लिनुपर्ने हो त्यसमा पुग, तर संस्थालाई एकताबद्द राखिदेउ भन्ने कुरामा चाहिं संस्थाको गरिमा गिरेको छ जस्तो मलाइ लाग्दैन । त्यसैले संस्थाको गरिमा चाहिं बचेको छ । बरु नेत्रित्वमा पुग्ने साथीहरुको, आकांक्षीहरुको गरिमा गिरेको छ भन्नुपर्दा मपनि सहमत छु । तर सँगसँगै भोलि राम्रो काम गर्नुभयो । मिलेर काम गरेर संस्थाको उचाई बढाउने काम गर्नुभयो साथीहरुले भने अहिलेको घटेको गरिमा बढाउँछन् र संस्थापनि उचाईमा पुग्छ ।

(गैर आवाशीय नेपाली संघका निवर्तमान अध्यक्ष पन्तले अप्रिल ३ आइतवार नेपालप्लससित गरेको अन्तर्वार्ताका केहि अंश-संपादक)

तपाइँको प्रतिक्रिया

फेसबुक