शुक्रबार, असोज २१, २०७९

देउवाको भारत भ्रमण राष्ट्रिय मुद्दाभन्दा आगामी निर्वाचनमा प्रभाव पार्ने कसरत

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २२ गते १३:१७

भारतको तीन दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री शेरबहाहादुर देउवा आइतवार स्वदेश फर्केका छन । देशका लागि सबैभन्दा धेरै पाँचौं पटक प्रधानमन्त्रीको कुर्सीमा पुगेका देउवाको अहिलेको भारत भ्रमण पनि पाँचौं हो । देउवा पहिलो पटक प्रधानमन्त्री बन्दा ०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सातदिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१ बुँदे संयुक्त समझदारीपत्र भएको थियो ।

त्यसअघि भएको महाकाली सन्धिको शीघ्र कार्यान्वयन र परियोजनामा निजी लगानीसमेत आकर्षित गर्ने सहमति भएको थियो । देउवाको यसै भ्रमणमा उनले पंचेश्वर सम्झौतामा हस्ताक्षर गरेका थिए । दोस्रोपटक प्रधानमन्त्री हुँदा उनी ०५८ चैत ७ देखि ११ सम्म भारतको औपचारिक भ्रमणमा गएका थिए । तत्कालीन प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निमन्त्रणामा भएको त्यो भ्रमणमा पुर्व-पश्चिम रेलवेको सम्भाव्यता अध्ययन र महाकाली सन्धिको कार्यान्वयनलाई दुवै सरकारले उच्च प्राथमिकतामा राखेको संयुक्त बक्तब्य सार्वचनिक गरिएको थियो ।

त्यसपछी प्रधानमन्त्री शेरबहादुर देउवा अहिले समेत गरेर अरु तीन पटक भारतको औपचारिक भ्रमणमा भारत पुगे । २५ वर्ष अघी उनकै कार्यकालमा भएको महाकाली सन्धि र पञ्चेश्वर सम्झौता जसले देशको राजनीतिमा लामो समयसम्म खैलाबैला मच्चायो । त्यसको अहिलेसम्म कुनै पत्तो छैन । देउवाले आफ्नो भ्रमणमा हरेक पटक भारतलाई महाकाली सन्धि अघी बढाउनका लागि अनुनयविनय गर्दै आएका छन । तर प्रकृया ज्युँकात्युँ छ ।

करिव चार हजार मेघावाट बुद्युत उत्पादन हुने भनिएको यो परियोजना यसरी अघी बढेको छ मानौं त्यहाँ कुनै सम्झौता नै भएको थिएन । देउवाले यसपटक पनि महाकाली सन्धि अघी बढाउने विषयलाई मोदीका कानमा सुनाउन भ्याए । सिमा समस्याका बारेमा छलफल भएको देउवाले बाट पनि उनका समकक्षी मोदिले भने सिमा समस्या समाधानको कतै कुरा उठाएनन । बरु भारतको उही पुरानो चासोलाई ‘सुरक्षा खतरा’ लाई मोदीले देउवाका कानमा मात्र भनेनन भारतीय संचारमाध्यमले सदा झैं यसलाई पनि उछाले । तर भ्रमणको अन्त्यमा आउनु पर्ने संयुक्त वक्तब्य आएन ।

भ्रमणमा यस्तो किन हुन्छ भने दुबै पक्षबाट आफ्ना कुराहरु उठाइन्छ । तर कुनैपनि कुरामा सहमती हुन सक्दैन । सिमाका विषयमा भारतले नेपाललाई कुनै पनि बेला टेरेको छैन । भारतका आफ्ना स्पष्ट एजेण्डा र नेपाल प्रती छुट्टै अपेक्षा छन । २००७ सालको दिल्ली, राजा र राणाहरु विच भएको सम्झौतालाई नै भारतले निरन्तरता दिन खोजेको बेला बेला प्रकट भइरहेको छ । त्यसैले दुई देशिय समानता र सम्मानको सम्बन्धलाई बढाउन अहिले पनि चाहेको छैन ।

शेरबहादुर देउवाले कालापानी लिम्पियाधुरा लगायतका सिमा समस्यालाई दुबै देशका अधिकारी संलग्न संयन्त्रले छिटो समाधान गर्ने विषयमा प्रधानमन्त्री मोदीसँग छलफल भएको बताए । जब कि सन् १९९८ मा भारत भ्रमण क्रममा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीसँग यो विषय उठाएका थिए। त्यसको हल खोज्न दुवै देशका परराष्ट्र सचिवस्तरीय समिति बनेको थियो। र सो विषय संयुक्त विज्ञप्तिमा परेको थियो ।

त्यही संयन्त्रमार्फत विवादको समाधान खोज्ने २४ वर्ष पछीको देउवाको आग्रह नेपालका लागि किन पनि खास सान्दर्भिक त छैन । तर पनि देउवाले त्यही कुरा उठाए । यसका अर्थ छन । देउवा र मोदी दुबैलाई थाहा छ, सिमा समाधानको कुरा दुई देशिय सम्यन्त्रको सुझावले समाधान हुने विषय होइन । यो समस्या कुटनिती तहभन्दा माथि पुगेको छ । लामो समयसम्म कुटनितिक क्षेत्रमा काम गरेका पूर्व अधिकारिहरुले समेत यो समस्यालाई राजनीतिक रुपमा समाधान गर्न सुझाएका छन । सिमा समस्या खासमा देउवाको एजेण्डामा थिएन ।

अब हुन लागेका तिनै तहका निर्वाचनमा ‘हट ईश्यु’ बन्ने सिमा विवादलाई कुनै न कुनै रुपमा भ्रमणमा लिएर जानुपर्ने दवाव देउवामा थियो र घुमाउरो पाराले यसलाई उठाए । तर सबैलाई थाहा छ- सिमा समस्यामा अझै पनि संयन्त्रको कुरा उठाइरहनु त्यो देखावटी आवरण मात्र हो । भ्रमणको उद्देश्य बाहिर जस्तो देखिए पनि भित्री रुपमा निकै फरक छ । देउवाले नजिकिंदै गरेका चुनावहरुलाई हेरेका छन । नेपालका आन्तरिक निर्वाचनहरुमा भारतको प्रभावलाई बुझेका उनको पहिलो प्राथमिकता नै सत्तारुढ दल भारतीय जनता पार्टीसँग सामिप्यता बढाउनु नै हो ।

भारतीय संस्थापन पक्षले सुरुवाती समय देखी नै शेरबहादुर देवालाई ‘प्रो अमेरिकन’ भनेर बुझ्छ । त्यसैले देउवा सँगको सम्बन्धलाई उसले सँधैं विचमा राख्यो । टाढा जान पनि दिएन नजिक पनि ल्याएन । अहिले पनि देउवाप्रती भारतको निती त्यही छ । तर देउवाले भने आफ्नो झुकावमा जरुर परिवर्तन गरेका छन । यो देउवाले मात्र नभएर उनकी पत्नी आराजु देउवाले पनि भाजपा सँगको सम्बन्धलाई कसिलो बनाउने तरिकाहरु प्रयोग गरिरहेकी छन । भ्रमणमा जन्तर मन्तर रोड पुगेर भाजपाको कार्यालयमा चिया चमेना गर्नु आराजुको योजना मुताविक एउटा कडि हो ।

केही समय अघि बालुवाटारमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई राखी बाँधेर भाइ बनाएपछि सुरु भएको सम्बन्धको बाटो भाजपाको मुख्यालयसम्मका लागि नै थियो । भयो पनि । भाजपालाई खुशी पार्ने अर्को महत्वपूर्ण कडि काशी यात्रा थियो । काशी यात्राले भाजपाको मनमा सितल मात्र बनाएन त्यसले नेपालमा धर्म सापेक्षता र निरपेक्षतामा बाँडिएका मतदातालाई आफू हिन्दू राष्ट्रको पक्षधर रहेको संकेत देउवाले दिएका छन । समग्रमा देउवाको भ्रमणले भारतसँग जोडीएका विद्यमान राष्ट्रिय मुद्दाहरुलाई भन्दा पनि आगामी निर्वाचनहरुमा गहिरो प्रभाव पार्ने निष्चित छ ।

यदी नेपालको आन्तरिक मामिला वा निर्वाचनहरुमा भारतीय संस्थापन पक्षले पर्दा पछाडिबाट भूमिका खेल्छ भने त्यो भूमिकालाई आफ्नो पक्षमा पार्न देउवाको यो भ्रमणले नेपाली कांग्रेसको मत परिणाममा पक्कै पनि फेरबदल गरिदिने छ । देउवा अथवा अन्य कुनैपनि नेपाली नेताहरुका लागि अहिले राष्ट्रिय मुद्दा भन्दा पनि आसन्न निर्वाचन आफ्नो पोल्टामा पार्ने अनिक कसरत भएका छन । भाजपाको मुख्यालय र काशी यात्राले आगामी निर्वाचनहरुमा पक्कै पनि बाटो ‘क्लियर’ गरेको छ ।

शेरबहादुर देउवा देशको नेता हुँदै होइनन । पटक पटक तिनले चाल्ने कदमहरुले बताएका छन र नेपाली जनताले उनलाई राष्ट्रको नेताको रुपमा अपेक्षा पनि गरेका छैनन । आँखा चिम्लेर के भन्न सकिन्छ भने कांग्रेस सभापतिको रुपमा उनको भारत भ्रमणको गणितिय जोड घटाऊले आगामी निर्वाचनहरुमा निकै ठूलो प्रभाव पार्ने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक