बिहीबार, वैशाख १३, २०८१

गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा ल्याउन एनआरएनएका दुई अध्यक्षद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २२ गते २२:२९

सन् २०२१-२३ कार्यकालका लागि गैरआवासीय नेपाली संघका केन्द्रिय अध्यक्षद्वय कुल आचार्य र रबिना थापाले मंगलवार बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवालाइ भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

आचार्यले उक्त भेटमा संसदको आगामी बैठकबाट गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयनमा ल्याउन आग्रह गरे । “प्रधानमन्त्रीज्यूले सकारात्मक अभिव्यक्ति दिनुभयो” आचार्यले भने ।

आचार्यले मंगलबार नै अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी ज्ञापन पत्र बुझाए । उनले एनआरएनहरुका लागि डलर खाता खोल्न नेपाल सरकारले गरेको सहजीकरणका लागि धन्यवाद दिए ।

आचार्यले संघले संसारभरिका एनआरएनहरुलाई नेपालका बैंकहरुमा डलर खाता खोल्न आह्वान गरेको भन्दै केही व्यावहारिक समस्या हटाउन सहयोग गरि दिन आग्रह गरेका थिए ।

उक्त अवसरमा अर्थमन्त्री शर्माले डलर खाता खोल्न केही व्यावहारिक समस्या भए तिनलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

आचार्यले प्रधानमन्त्री देउवा, अर्थ मन्त्री शर्मा, मुख्य सचिव शंकर बैरागी तथा अर्थ सचिव मधु मरासिनीसँगको भेटघाटमा संघले अगाडी बढाएको १० अर्ब रुपियाँको ‘एनआरएनए नेपाल विकास कोष’ को कार्यान्वयनमा रहेका व्यावहारिक समस्या समाधान गर्न आग्रह गरेका थिए ।

“उहाँहरुले कुलजी अगाडी बढ्नोस, यी समस्या सुल्झाउन सरकारले हरसम्भव सहयोग गर्ने बचन दिनुभयो” आचार्यले भने । ती भेटघाटमा एनआरएनए नेपाल विकास कोषका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई पनि सहभागी थिए ।

मंगलवार नै आचार्यले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुसँग बैठक गरे । कम्तीमा १०० कोठा सहितको सुविधा सम्पन्न श्रद्धाश्रम (वृद्धाश्रम) निर्माण गर्न कोषले जग्गा उपलब्ध गराउने आश्वासन दिएको छ ।

झन्डै १५ देखि १७ करोडमा निर्माण गरिने उक्त परियोजनाका लागि आचार्य स्वयमले रु एक करोड प्रदान गर्ने घोषणा गरेका छन् । गत साता बसेको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकमा श्रद्धाश्रम निर्माणका लागि चार करोड रुपियाँ भन्दा बढी रकमको प्रतिवद्धता व्यक्त गरिएको थियो ।

अध्यक्ष आचार्य मंगलबार राती कर्मथलो बेलायत प्रस्थान गरेका छन् । उनले छिट्टै नेपाल फर्केर यी कामहरु अगाडी बढाउने जनाएका छन् ।

तपाइँको प्रतिक्रिया