बिहीबार, चैत १५, २०८०

ओलीजी, देउवाका हरेक पदचापमा हिंड्ने तपाई लायक र देउवा नालायक कसरी ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २३ गते १६:०८

Photo-thehimalayantimes.com

ओलीजी तपाईंले ठीक भन्नु भएको छ । दिल्लीस्थित नेपाली दुतावासमा चुच्चे नक्सा नराख्दा राष्ट्रको शिर निहुरिएको छ । धेरै थरिका खेलहरु भएका छन देशको शिर झुकाउन । ख्यालखयाल मै खेलिएका खेलहरुले देशको शिर पटक पटक झुकेको छ । देशले कहिल्यै टाउको ठड्याउने मौका पाएन ।

तपाईंले अझ पछाडि फर्केर हेर्नु भयो भने देख्नुहुनेछ, देशको शिर कती पटक झुकेको छ । ३० वर्ष यता सत्ता र सताको वरिपरि तपाईं पनि हुनुहुन्छ  । शेरबहादुर देउवाको कुरा छोडौं । देउवाले देशको टाउको उठाउने काम कुनै पनि कालखण्डमा गरेनन । नेपाली राजनीतिमा उनी निकै लचिला पात्र हुन । देशको सम्पूर्ण जिम्मेवारी वहन गर्न नसक्ने कमजोर र नेपाली राजनीतिकै कलंकित पात्र हुन । सिद्धान्त, बिचार र आदर्श नभएको मान्छे जोसँग पनि मिल्न लचिलो बन्न सक्छ र जस्तोसुकै सम्झौता गर्न तयार हुन्छ । यही लचिलो र सम्झौतापरस्त स्वभावकै कारण देउवा विभिन्न कालखण्डमा फरक-फरक शक्तिबाट प्रयोग भएका छन ।

गिरिजाप्रसाद विरुद्ध देउवालाई तपाईंहरुले प्रयोग गर्नुभयो । लोकतन्त्र विरुद्ध राजाले प्रयोग गरे । राजा बिरुद्ध माओवादीले प्रयोग गरे । भारत विरुद्ध अमेरिकाले प्रयोग गर्‍यो । अहिले चीनविरुद्ध भारतले प्रयोग गर्दैछ । यही कारण हो देउवा अहिले सम्म टिकिरहेका छन । देउवाको विकृत मानशिकताले नेपाली राजनीतिमा मच्चाएको उधुमको ठुलै फेहरिस्त छ । देशको शिर झुकाउन उनले नेपाली राजनीतिमा देखाएको उदण्डता हरेक पुस्ताले बिर्सिने छैन ।

एउटा कुरा तपाईंले बिर्सिनु भयो ओलीजी, देउवाको आफ्नै शिर छैन । शिर नभएको मुर्कट्टा मान्छे हुन उनी । हुँदै नभए पछी उनको शिर झुक्दैन । त्यसैले देउवाले देशको शिर देख्दैनन । साँच्चै देशको शिर कहाँ हुन्छ ? हामी जस्ता धेरैलाई लागेको हुन्छ, देशको शिर सिमानामा हुन्छ । सिमा मिचिँदा, कुनै विदेशीले सिमालाई धावा बोल्दा, देशका कार्यकारीले सिमानाको सुरक्षामा नबोल्दा देशको शिर निहुरिन्छ । तपाईंलाई पनि यस्तै लाग्छ । यदि देशको शिर सिमाना मै ठडिएको हुन्छ भने यो झुकेको मात्रै होइन, काटिएको छ । शिर काटिँदा त तपाईंले पनि जोगाउन सक्नुभएन । यहि सत्य हो भने देश पटक पटक झुकेको छ, लछारिएको छ, पछारिएको छ ।

तपाईंलाई एउटा सानो जिज्ञासा ओलीजी- जनताले औषधी उपचार नपाउँदा देशको शिर निहुरिन्छ कि निहुरिंदैन ? जनताले पेटभरी खान नपाउँदा देशको शिर झुक्छ कि झुक्दैन ? परिवारको पेट पाल्न मरुभुमी पुगेका युवाको लास बन्द बाकसमा देश भित्रिंदा देशको शिर निहुरिन्छ कि नुहुरिंदैन होला ? प्रधानमन्त्री त तपाईं पनि हुनुभयो । सिमानामा मात्र देशको शिर हुन्छ भने लिम्पियाधुरालाई नक्सामा हालेर छपाउनका लागि तपाईंले पुर्‍याएको योगदान अकल्पनिय मान्नु पर्दछ ।

तर नि ओलीजी- कालापानी, लिम्पियाधुरा समेटिएर छापिएका पाठ्यपुस्तक गाउँ गाउँका स्कूलहरुमा पठाउन तपाईंले नै रोक्नु भएको होइन ? देशको शिर यसले कसरी उँचो बनायो ? तपाईं प्रधानमन्त्रीमा आसिन भएको बेला आधा रातमा भारतीय गुप्ताचर संस्था ‘र’ का प्रमुख सामन्त कुमार गोयललाई प्रधानमन्त्री निवासमा डाकेर के छलफल गर्नु भयो ? त्यसले देश झुकाएन र ?

अर्को देश जोसँग शताब्दियौं देखी सिमा समस्या छ, हरेक अप्ठ्याराहरुमा उसले हामीलाई निचोर्दै आएको छ, अझ अतिक्रमण भएको नेपाली भूभागमा भारतीय सेनाले परेड खेलिरहेको समयमा तपाईंले कुनै अर्को देशको गुप्ताचर संस्थाको प्रमुखलाई सुटुक्क भेट्नुभयो । के कुरा भयो ऊ सँग ? के लेनदेन भयो ? नत्र तपाईंहरु दुइ जना विच भएको छलफल जनताले किन जान्न पाएनन ? यसले राष्ट्रको शिर उँचो बनाएको छ र ? राष्ट्रको शिर सिमानामा मात्र छैन ओलिजी । तपाईंहरुले बोल्ने हरेक कुरामा, तपाईंहरुको जीवनशैलीमा, तपाईंहरुको लवाइमा, खवाइमा राष्ट्रको शिर हुन्छ जुन तपाईंहरुले जोगाउन सक्नु भएको छैन ।

दिल्लीस्थित नेपाली दुतावासमा चुच्चे नक्सा नराख्नु भन्दा पहिले नै राष्ट्रको शिर झुकेको छ । सयौं पटक निहुरिएको छ । अझ हामीले त भोको पेटमा, औषधी नपाएर छट्पटाएका नेपाली जनताका आँशुमा, देश छोडेर पलायन हुँदै गरेका युवाहरुका पैतालामा, स्कुल जान नपाएर भविष्य नलेखिएका वालवालिकाका निधारमा जतततै देशको शिर देख्छौं । त्यो शिर ठाडो पार्न केही गर्नु भयो र तपाईंले ? केही गर्नु भएन । किनभने तपाईंहरुलाई सत्ता, शक्ती र पैसा चाहिएको छ । यि तीन चिजका लागि तपाईंहरु जेपनि गर्न सक्नुहुन्छ । जुनसुकै ठाउँमा पुगेर लम्पसार पर्न सक्नुहुन्छ ।

अलिकती पछाडी फर्केर हेर्नुस ओलीजी- हामी देखाइदिन्छौं तपाईंको कालको एउटा चित्र । तपाईं ईतिहासकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्थ्यो । तपाईंकै कार्यकालमा नेपाल वायु सेवा निगमका दुईवटा वाइडबडी विमान खरिद, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तथा पछिल्लो समय कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री-उपकरण खरिदजस्ता विभिन्‍न अनियमितता प्रकरण चर्चामा आए । तर, ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्‍नँ’ भनेर दोहोर्‍याइरहने तपाईं अनियमितता प्रकरणमा मुछिएकाहरूलाई कारबाही गर्न उदासीन मात्रै होइन उनीहरूलाई संरक्षण गर्न उद्धत हुनुभयो । त्यतिबेला तपाईंको सम्पूर्ण ध्यान अनियमितताका घटना ढाकछोप गर्नेमै सोझियो ।

त्यतिमात्र होइन, आफूनिकट व्यवसायीलाई सरकारी जग्गा भाडामा दिने, निश्चित व्यवसायीको स्वार्थअनुरुप ऐन नै संशोधन गरिदिने, निश्चित व्यापारीलाई फाइदा पुग्ने गरी भन्सार दर परिवर्तन गर्ने जस्ता कार्यमा तपाईं लागेको होइन र ? यि काण्डहरुले देशको शिर कहाँनेर उचो बनाएको छ ? केही व्यक्ति र व्यवसायीको प्रभाव तथा राजनीतिक स्वार्थका आधारमा तपाईं, शेरबहादुर देउवा र पुष्पकमल दाहाल मिलेर गरेका त्यस्ता केही निर्णयले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्दैछ । विज्ञहरुले भनेका छन- यसको अर्थ अब देश श्रीलंका बन्ने बाटोमा छ । देश जब अन्दाधुन्द श्रीलंकाको बाटोमा हिंड्छ । जनताले सामान्य सिटामोलका लागि धर्ना बस्नु पर्ने समय आउँछ । त्यसपछी के होला ? टाट पल्टिन लागेको देशको शिर कहाँ हुन्छ ओलीजी ?

चुच्चे नक्सा तपाईंहरुको हो । त्यसलाई भित्तामा झुण्ड्याउनु र नझुण्ड्याउनुमा कुनै तात्विक अर्थ हुँदैन । किनभने नक्सा र लिम्पियाधुराका नारा चुनावी हुन । ति नारासँग देशको शिर जोडिएको हुँदैन । देशको शिर तपाईंहरुको आत्मसम्मानसँग जोडिएको छ । जब तपाईंहरुले आफ्नो हैशियत बिर्सेर अर्को देशको सामान्य अधिकारीसँग लठारिनुहुन्छ, जब तपाईंहरु चुनाव जित्नैका लागि सम्झौतामा हस्ताक्षर गर्नुहुन्छ अनी झुक्छ देशको शिर । ओलीजी देउवाका हरेक पदचापमा तपाईं हिड्नु भएको छ अनी देउवा नालायक र तपाईं लायक कसरी हुनु भो ?

तपाइँको प्रतिक्रिया

फेसबुक