शुक्रबार, वैशाख ७, २०८१

अंग्रेजी बोल्ने मामा किन भकारो सोहोर्छन ?

ददि सापकोटा २०७८ चैत २३ गते १९:१०

गाउँमा मामा थिए । कार्की मामा । मेरा मित्रहरु राधा र राजकुमारका बुवा । तर मेरा मित्र ध्रुव दुलालका भने मामा । हामी असाध्यै मिल्ने । अर्जुन नेपाल र भरत नेपालकापनि मामा । त्यसैले हामी दौंतरीहरु सबैका मामा बने । नाम कसैले सोध्दैन थियो । नामै कार्की मामा  । असाध्यै रसिला । भरिलो, अनुहार । गोरो । यस्सो हेर्दा कुनै पश्चिमा मुलुकको गोरे जस्तै । हामीले जिस्केर ‘गोरेसित काम गरेकाले गोरेको सेतो रङ सर्‍या हो’ भन्ने गर्थियौं । तर खासखुस । सिधा भन्न डर लाग्थ्यो ।

उनी काठमाडौंको ब्लुस्टार चार तारे होटेलमा जागिरे रहेछन । अहिले त्यो ब्लुस्टार मल बनेको छ ।  हामीले उनको काम बारे सुन्थ्यौं – उनी सुरक्षाकर्मी हुन । उनी गोरेका खाना बनाउने ‘कुक’ हुन । हैन हैन, उनी गोरेका गोठाला थिए । गोरे चराउने उनको काम हो । गोरे चराउँदा चराउँदै गोरेजस्तै भएका ।

गाइभैंसी लिएर उनका घर अघिल्तिरबाट गयो । उनी भकारो सोहोरिरहेका भेटिन्थे । कहिले भैंसीको आङमा पानी छम्केर पखालिरहेका देखिन्थे । बाटोको छेउमा गाइभैंसी चराउँदै गर्दा मामासित गफ हुन्थ्यो । उनी अंग्रेजी बोल्थे । त्यतिखेर हामी दुई चार कक्षा पढ्दा अंग्रेजी असाध्यै कठिन विषय थियो । उनी खरर अंग्रेजी बोल्थे । ‘हेलो सर, गुडमर्निङ, हाउ आर यु सर ?

‘फाईन फाईन ‘ ।

‘गुड डे टु यु सर’ भन्दिएपछी गोराहरु अति रमाउने’ उनले सुनाउँथे ।

‘गोरे त खुशी भयो भने मुठ्ठीमा डलर राखेर हातमा खुसुक्क हाल्दिन्थे । स्यालुट हानेर थ्याङ्क्यु सर’ भन्दिएपछी अति खुशी हुन्थे । गोरेलाई खुशी पार्न सक्यो भने त डलर झारिहाल्छ” कार्की मामाले सुनाएको म अझै संझिन्छु ।

उनी अंग्रेजी सिकाउँदा सिकाउँदै भकारो सोहोरिरहन्थे । मलाई भने सधैं त्यही कुरोले हिर्काइराख्यो- ‘यो अंग्रेजी बोल्ने मान्छेले भकारो किन सोहोर्छ ? भकारो सोहोर्नेले कसरी अंग्रेजी बोल्छ ?’

कक्षामा पढ्नुपर्ने अंग्रेजी नजानेर टाउको खाइरहेको हुन्थ्यो हाम्रो । दशौं पटक पढ्यो, दिमाखमा घुस्ला जस्तो नलाग्ने । दिमाखमा घुस्यो । कण्ठ पार्‍यो, बोल्ने बेला नआउने । गाउँको बाटो भएर हिंड्थे गोरेहरु, आक्कलझुक्कल । सौराहाबाट घुम्दै गाउँतिर टहलाउने गोरा । कार्की मामा गोरे देखेपछी फटाफट अंग्रेजी बोल्थे ।

हामीलाई सिकाईएको हुन्थ्यो- धेरै पढ्नुपर्छ । ठूलो मान्छे बन्नुपर्छ । धेरै कमाउनुपर्छ । कमाएर जग्गा जमिन, घर घडेरी जोड्नुपर्छ । अफिसमा सरकारी जागिर खानुपर्छ । बा आमालाई सुख दिनुपर्छ, पढ्यो भने त्यो सबै हुन्छ । त्यो सबै हुन पढाईमा अब्बल हुनुपर्छ । अब्बल पढाई भनेको गणित र अंग्रेजी हो । धेरै नपढी अंग्रेजी जानिन्न ।

कार्की मामा

एकदिन मैले कार्की मामालाई सोधें- मामा तपाईले कति पढ्नुभएको हो ? धेरै पढ्नुभएको होला है ?

‘किन ?’

‘यस्तरी अंग्रेजी बोल्नुहुन्छ । धेरै पढेर त अंग्रेजी बोल्नुभएको होला नी !’

मामा मुर्छा परेर हाँसे ।

‘किन हाँस्नुभएको मामा ?’

‘मैले पढेकै छैन’ उनले भने ।

‘नाई के मामा, भन्नु न के ! कति पढ्नुभएको हो ? मलाईपनि हजुरले जस्तै गोरेसित अंग्रेजी बोल्न मन छ । अंग्रेजी बोलेर डलर कमाउन मन छ । गोरेसित हिंड्न मन छ ।’

मामाको बानी बाबुलाई ‘बाउ’ भन्ने थियो । मामाले दोहोर्‍याए “हेर बाउ, मैले पढेकै छैन । गोरेसित रसरङ गर्ने । हाँस्ने, बोल्ने । बोल्दै जाँदा आउँछ ।’

पत्यार लागेन । बोल्न जाने पो बोल्ने । नजानेपछी त शुरुमै आउँदै आउन्न कसरी बोल्ने ?

मामालाई त्यही भनें ‘मामा जाने पो बोल्ने, जानेकै छैन भने के भनेर बोल्ने तनी ? बोल्न खोज्यो घाँटीमा अड्केको अड्क्यै गर्छ । मामाले ढाँट्नुभाको ।’ उनलाई हैरान बनाएँ ।

मामाले भने ‘हेल्लो सर गुडमर्निङ, हाउ आर यु ?, आइ एम फाईन, भेरी गुड सर, थ्याङ्क्यु सर’ भन्दै जाने । गोरेले बोलेको सुन्ने अनि बानी पर्दै जान्छ । जती अंग्रेजी आउँछ उति भन्दै जाने । ‘

‘बोल्दा खेरी बिग्रियो भने रिसाउँदैनन मामा ?’

‘गोरे कहिल्यै रिसाउँदैन । नेपालीले अंग्रेजी बोलेको रुचाउँछ ।’

मामालाई फेरि सोधें ‘मामा अनि नपढीकिन अंग्रेजी जानिने रैछ । फरर बोल्न सकिने रैछ । गोरेको संगत गर्न पाइने रैछ । डलर झार्ने रैछ । अनि किन अंग्रेजी बोल्न हाम्लाई पढ्नैपर्छ ? धेरै पढ्न पर्छ भन्छन त ! सबले ढाँट्ने रैछन है मामा ? बच्चा भनेर दुख दिनलाई ।’

मामाले नपढिकनै अंग्रेजी बोलेको, डलर कमाएको सुनेपछी मैले मामालाई भनें ‘यस्तो गाह्रो गरेर किन पढ्नी ? नपढिकनै अंग्रेजी जानिने रैछ अनि किन यस्तो दुख गरेर कण्ठ पार्ने ? अंग्रेजी पढेपनि बोल्न नसकिने रैछ । नपढे पनि बोल्न सकिने रैछ, किन पढ्ने ? बरु यो दुख नगर्नी र मामाले जस्तै गोरेको संगत गरेर दाम कमाउने ।’

मामा बेस्सरी हाँसे ।

‘पढेपछी राम्रो काम पाइन्छ । गाईड हुन पाइन्छ । अझ राम्रो काम पाइन्छ । धेरै राम्रो लेख्न बोल्न जान्यो भने त गोरेले लान्छ पनि आफ्नै देशाँ ।’

मामाको मुली घर काठमाडौं साँगा थियो । आफ्ना जती चितवन र हेटौंडा बजार वरिपरी थिए । आफन्तले लोभ्याएछन्- आ ! यो साँगाको पाखामा के दुख गर्ने ? बिउ मिल्काईदियो भने चितवनको खेतमा सुन फल्छ सुन ! उतै जानुपर्छ । आफन्त सँगै बस्नुपर्छ ।

साँगाबाट मामाको परिवार चितवन झरेको थियो । चितवनमै घरपरिवार भयो । भुराभुरी भए। हुर्किंदै गए । चितवनमा सुन फलाउने रहर जागेपछी ब्लुस्टार होटेलको गोरा गोठालो उनको लागि घाँडो भयो । त्यहाँबाट हात झिकेछन ।

चितवनको झुवानी पुग्न त्यो बेला दुई वटा खोला तर्नुपर्थ्यो, बुढी राप्ती र कयर । कयर खोला वर्षामा हुस्कीले टन्न मातेको मान्छे झैं लङफगाउँथ्यो । कहिले रिसले चुर भएर बडेमानका ढुंगासमेत पल्टाउँदै हुनहुनिएर आउँथ्यो । असाध्यै असुविधा थियो । पुल थिएनन । त्यसबाहेक साना कुला दर्जन जती तर्नुपर्ने । वर्षादमा हिलोले ज्यान पुर्ला जस्तो हुने । बिजुली थिएन । राती कोही मान्छे बिरामी परे अस्पतालको मुखपनि देख्न पाउँदैन कि भन्ने त्रास थियो । जंगली जनावरले बाटो कुरेका हुन्थे । “आज गैंडाले बाटो छेक्यो नी’ गाउँलेहरुले दिनदिनै सुनाउँथे ।

मामाको परिवारलेनै फेरि बसाई सर्ने सोच बनाए । भाई अर्जुन नेपाल र मेरा साथी ध्रुवको परिवार हेटौंडा बसाई सरे ।

सँगै पढेका । कागती र काँक्रा चोर्न गएका । खोलाको डिलमा फुकालेर राखेको लुगा नुहाएर निस्किँदा गाईले खाइदिएर नांगै मकै बारीबारी घर फर्किनुपरेका ति सबै वाल्यकालका संझना लिएर गए, ध्रुव, अर्जुन, भरत दाईले । देउसी खेल्न जाँदा निकै बेर भट्याउँदापनि घरबेटी नउठेपछी रिसले गाइ भैंसीका दाम्ला काटेर छोडिदिएका । अहो तिसबै याद टुक्रा टुका पारेर गए ति ।

उनीहरु बसाइ सर्दा  हाम्रा संझना मात्रै लगेनन । हामीलाई मात्रै छोडेनन । तीनले पनि दुखका केहि आँसु त्यहिं बगाएर गए । केहि गाउँलेका आँसु समेत समेटेर सँगै लगे । हामी मात्रै दुखी बनेनौं ।  सारा गाउँ आँसुमा डुब्यो । हामीलाई तिनले छोडेर हिंडेको घर अगाडीबाट पनि हिंड्न मन लागेन । अंग्रेजी सिकाउने कार्की मामा भने पुर्ख्यौली थलो साँगानै लागेछन । अब हामीलाई अंग्रेजी सिकाउने मामापनि बिराना भए ।

म पढाई, जागिर र ब्यक्तित्व बनाउने लोभले काठमाडौं लागिसकेको थिएँ । गाउँका दुख, संघर्ष र कार्की मामाका गाउँका दुख र गुनासा भन्दा काठमाडौंको विशाल शहर मेरो लागि झन धेरै दुख, संघर्ष र चुनौतिका पहाड थिए ।

गाउँ जाँदा यदाकदा मामासित भेट हुन्थ्यो । मामालाई नबोलाई मैले कहिल्यै त्यो घरको बाटो काटिन । गाउँ जाने भन्यो कि अंग्रेजी सिकाउने, अंग्रेजी बोलेर भकारो फाल्ने कार्की मामा झल्झली संझिरहन्थें ।

जती सोधे पनि नरिसाउने । असाध्यै मिठो बोली । अति मिलनसार । वालवालिका, बुढाबुढी सबैका प्यारा । मेरो  पृय भाइ, साथी राजकुमार कार्की र राधाका पृय बुवा । गाउँभरिका मामा रहेनन भन्ने खबर हेटौंडा बस्दै गरेको भाई अर्जुनको फेसबूकमा देख्दा रिंगटा लागेर घुमायो ।

बच्चाका कुरा नसुनिने, बच्चाका जिज्ञासा हुन्छन भनेर नबुझिने त्यो बेलाको समाजमा मामा सुनिने, भोगिने र गाउँले भन्जा भान्जीका शिक्षक जस्ता थिए । सबैका पृय मामा ।

मामा ईत्रुका हुँदा तपाईले सिकाएको अंग्रेजी, झर्को नमानी सुनाएका मार्मिक कथा र भकारो फाल्दै सिकाएको अंग्रेजी भुलेका छैनौं । तपाईलाई सदा मन, मस्तिष्क र पलपलमा राखेका छौं । ढिलो भएपनि हार्दिक श्रद्दान्जली र उच्च सम्मान ! ‘मिस यु मामा !

तपाइँको प्रतिक्रिया