बिहीबार, वैशाख ६, २०८१

नेपाली सन्चार माध्यमको प्राज्ञिक पुस्तक अन्तर्राष्ट्रिय बजारमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २५ गते १६:२१

नेपाली सन्चार माध्यमको विकासबारे विश्वका अरु देशका बिज्ञहरुले पनि पढ्न, बुझ्न र अनुसन्धान गर्न सहयोग मिल्ने उद्देश्यले तयार पारिएको प्राज्ञिक पुस्तक आज शुक्रवारबाट विश्वका बिभिन्न विश्वविद्यालयहरुमा उपलब्ध हुने भएको छ ।

“नेपालको परिप्रेक्ष्यमा बैश्विक दृष्टिकोण” नामको यो पुस्तक संसारभर छरिएरका प्राज्ञिक पाठकहरुका लागि उपलब्ध भएको हो । नेपालको संचार माध्यमको विकासबारे गहन अध्ययन गर्न चाहने विश्वको कुनैपनि मुलुकका प्राज्ञिक अध्येताले यो पुस्तकलाई सन्दर्भका रुपमा उपयोग गर्न सक्नेछन् ।

नेपाल भित्र र बाहिर गरी नेपाली भाषामा निस्कने झन्डै एक हजार समाचारपत्र, एक हजार एक सय स्थानिय रेडियो, दुइ सय जति टेलिभिजिन च्यानल, तीन हजार अनलाइन, ८० भन्दा बढी तालिम या अध्ययन गराउने मिडिया इन्स्टिच्युटहरु नेपाली मिडियाको विकासको साँगो पाँगो इतिहास यो पुस्तकमा भेटिने दावी गर्नछन् पुस्तकका सम्पादक मध्ये एक, भानुभक्त आचार्य ।

बेलायतमा रहेको अन्तर्राष्ट्रिय प्रकाशक रुटलेज : टेलर र फ्रान्सिसद्वारा प्रकाशित यो पुस्तक डा. भानुभक्त आचार्य (सहायक प्राध्यापक, युनिभर्सिटी अफ ओटावा, क्यानडा) र सहप्राध्यापक डा. श्याम शर्मा (स्टोनीब्रुक युनिभर्सिटी, अमेरिका) द्वारा सम्पादन गरिएको हो । नेपाल र नेपाली डायस्पोराका २१ मिडिया विद्वानहरूले योगदान गरेको यो पुस्तक चार खन्ड र १८ परिच्छेदमा बिभक्त छ ।

कोभिड-१९ को समयमा सबै जना घर घरमा थुनिएको समयलाई उपयोग गर्दे लेखिएको यो पुस्तक नेपाली मिडियाबारे गहन अध्ययन गरेका या मिडियामै काम गरिरहेका विद्वानहरुको निशुल्क योगदानमा आधारित छ ।

‘यो पुस्तक अरुले पढिदेलान् किन नपढ्लान या कति ब्रिक्री होला भन्ने कुरामा आधारित छैन’ किताबको व्याख्या गर्दै पुस्तकका एक सम्पादक भानुभक्त आचार्य थप भन्छन् “नेपाली मिडियाबारे अन्तर्राष्ट्रिय जर्नलहरुमा लेख प्रकाशित गर्न सक्षम बनौँ भन्ने हाम्रो ध्येय थियो । त्यो पुरा गर्यौँ । यसले गर्दा भविष्यमा अरु सन्चार विज्ञहरुलाई पनि अन्तर्राष्ट्रिय जर्नलहरुमा लेख प्रकाशित गर्ने बाटो खुलेको छ ।”

चार खन्ड मध्ये व्यावसायिक दृष्टिकोण शीर्षकको पहिलो खण्डमा एक्काइसौं शताब्दीमा नेपाली पत्रकारिता र दृष्टिकोण (डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा), मिडियाको जवाफदेही संयन्त्रका रुपमा प्रेस काउन्सिल नेपाल (डा. भानुभक्त आचार्य, श्रीमन शर्मा र डा. समीक्षा कोइराला), प्रसारण माध्यममा नीतिगत सुधार (लक्ष्मण हुमागाई र डा. तुलसी आचार्य), विदेशबाट सञ्चालित नेपाली अनलाइन मिडियाको दीगोपन र व्यावसायिक विकास (भगीरथ योगी र डा. जगन कार्की) र नेपाली समाचारकक्षमा डिजिटल रुपान्तरण (प्रा. रामकृष्ण रेग्मी) समेटिएका छन् ।

प्राज्ञिक दृष्टिकोण शीर्षकको दोस्रो खण्डमा एक्काइशौं शताब्दीमा नेपालको पत्रकारिता शिक्षा (डा. भानुभक्त आचार्य र डा. श्याम शर्मा), नेपालमा विकास सञ्चारको समालोचनात्मक अध्ययन (सुजिना शाक्य र डा. पियुष मिश्र), नेपाली मिडियामा कोभिड–१९ को प्रभाव (डा. कुन्दन अर्याल), कोभिड–१९ जस्ता महामारीमा युवाहरुलाई मिथ्या सूचनाबाट कसरी जोगाउने (कवि अधिकारी) शीर्षक परिच्छेदहरु छन् ।

सामाजिक–राजनैतिक दृष्टिकोण शीर्षकको तेस्रो खण्डमा नेपाली अखबारमा महिलाहरुको प्रतिनिधित्व (डा. समीक्षा कोइराला), राज्य नियन्त्रित मिडियाको चौथो अंगको भूमिका (उप प्रा. लेखनाथ पाण्डे), नेपालमा अनुसन्धानमूलक पत्रकारिताको अवस्था (उषाकिरण रेग्मी) एवम् स्थानीय रेडियोहरुको दीगोपनका चुनौतीहरूबारे (डा. सन्देशदास श्रेष्ठ) द्वारा अध्ययन गरिएको छ ।

त्यसैगरी ‘प्राविधिक दृष्टिकोण’ शीर्षकको पुस्तकको अन्तिम खण्डमा नेपाली अखबारको डिजिटल रूपान्तरण (डा. हर्षमान महर्जन), सामाजिक सञ्जालमा समाचार सेयर गर्ने प्रवृत्तिको तुलनात्मक अध्ययन (बिमला थपलिया), अनलाइन मिडियामा दीगोपनः आर्थिक ढाँचा र सम्भावना (प्रवेश सुवेदी), कृषि क्षेत्रको विस्तारमा सामाजिक सञ्जालको प्रयोग (उप प्रा. रामहरि तिमिल्सिना र डा. पूर्ण नेपाली) शीर्षकका परिच्छेदहरु समेटिएका छन् ।

३४२ पृष्ठको यो पुस्तक अहिले राउटलेजको आफ्नै पोर्टल लगायत विभिन्न अनलाइन बिक्रेताहरूबाट हार्डकपि वा सफ्टकपी खरिद गर्न सकिन्छ । हार्ड कभरमा यसको मुल्य २० प्रतिशत छुटसहित १३६ अमेरिकी डलर रहेको छ । इलेक्ट्रोनिक संस्करणको मूल्य ३९ अमेरिकी डलर रहेको छ भने ६ महिनाका लागि भाडामा पढ्न २४ डलर ४८ सेन्ट पर्छ ।

तपाइँको प्रतिक्रिया