बिहीबार, वैशाख १३, २०८१

मृगकुन्जबाट कोशीटापु बनेको चराको गाउँ

सरोज बराल / ईनरुवा२०७८ चैत २५ गते १७:३१

कोशीटापुमा पाहुना चरा (टुन्ड्रा बिन गुज) को बथान । तस्विर – सन्जिव आचार्य

सुनसरी जिल्लाको कोशी क्षेत्रमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष वि। सं। २०३२ सालको फागुन महिनामा स्थापना भएको हो । आरक्ष स्थापना हुनुभन्दा पहिले यो स्थानमा मानिसहरुको बसोबास र खेतीपाती थियो । यसको बिभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरुको अहिले पनि सम्झना गर्छन् ।

यहाँका मानिसहरुलाई मोरङको केचना र रमाइलो अनि सुनसरीकै महेन्द्रनगर चक्रघट्टी र सालवनी बिचको जंगल फडानी, जमीन सट्टाभरना गरेर उपलब्ध गराइयो । मानिसहरु उता बसाइँ सरे ।

यो क्षेत्रलाई आरक्ष घोषणा गर्नुपर्ने मुख्य कारण थियो – जंगली भैंसी अर्नाको संरक्षण गर्नु । यसको लागि कोशीको पुर्वी तटबाँधबाट पश्चिम, पश्चिमी तटबाँधको पुर्वतिर, प्रकाशपुरदेखि दक्षिण र हरिपुरदेखि उत्तरमा पर्ने १७५ वर्ग किलोमीटर क्षेत्रलाई खाली गरियो ।

हामी यसको किनारामा बस्नेहरु यसलाई “मृगकुन्ज” भन्ने गर्दथ्यौं । हामीलाई वन्यजन्तुसँग कुनै सरोकार थिएन । हामी त आफ्नो गाई भैंसी चराउने खाली ठाउँ भेटेर खुशी नै भएका थियौं । हाम्रो नजर र भाषामा त्यो बानपारी अथवा बाँध पश्चिम थियो । त्यहाँ एउटा सानो खोला हुने गर्दथ्यो । त्यसलाई हाम्रो क्षेत्रतिर सरुवा खोला र अन्यत्र मोरिया खोला भन्ने गरिन्थ्यो ।

आरक्ष बनाएपछि ३३ सालको असारबाट सरुवा खोलासम्म कोशीको बाढी आउन थाल्यो । त्यो बाढी सामान्य हुने गर्दथ्यो । हामी पौडिएर गाईवस्तु चराउन खोला पारी जाने गर्दथ्यौं । पारी हाम्रा गाईवस्तु मृगकुन्जमा निर्धक्क छाडिन्थ्यो ।

पछि एकदिन त तत्कालीन शाही सेना आएर हाम्रा गाईवस्तु सबै कुसाहा आरक्षको प्रधान कार्यालय रहेको ठाउँमा लगेर थुनियो । त्यहाँबाट छुटाएर ल्याउन ७५ पैसा प्रतिगोटा तिर्नु परेको थियो । त्यही पनि हामीले चराउन छाडेनौं । बिस्तारै मुल्य बढेर रु. १, रु. २, रु. ५ हुँदै रु. ५० सम्म पुग्यो । बिस्तारै आरक्षको महत्व बुझ्दै पनि गयौं । कोशीको बाढीले पनि पुर्वी क्षेत्र ओगट्दै स्थायी रुपले यतै रहन थालेपछि मानिसहरुले यहाँ आफ्ना गाईवस्तु चराउन लैजान छाडे ।

कोशीटापुमा पाइने दूर्लभ श्रेणीको माटिकोरे (ब्ल्याक क्याप्ड किङफिसर) । तस्विर – सन्जिव आचार्य

बस्ती उठाएपछि यो क्षेत्र जंगलमा परिणत हुँदै गयो । जंगलमा अर्ना, बनेल, जरायो, मृग, निल गाई लगायतका थुप्रै जनावरहरु हुने गर्दथे । शुरुशुरुमा मानिसहरुले जाल थापेर बनेल मार्ने गरेको सुनिन्थ्यो । त्यस्तै गरी केही खाने कुराहरुमा एक प्रकारको पटाका राख्ने र त्यो खाँदा पड्किएर बनेल मर्ने । रातारात मासु बाँडेर लैजान्थे भन्ने पनि सुनिन्थ्यो । तर आफूलाई सरोकार नहुने भएकोले प्रत्यक्ष देख्न चाहिं पाइएन ।

जालमा पारेर कसरी मार्दा रहेछन् भनेर एकरात हेर्न गएँ । तर त्यो रात बनेल निस्किएन । पछि बनेल मार्ने क्रममा एकजनालाई क्षतविक्षत पारेर घाइते बनाएपछि यो हेर्न जाने रहर पनि सेलायो । घाइते बनेल धेरै खतरनाक हुन्छ भन्ने चाहिं थाहा पाइयो ।

एकपटक कोशीटापुको जंगलबाट निस्किएको अर्नाले आफ्नै घरको इनारमा पानी भर्दै गर्दा मेरो काकीलाई हानेर सिमीको झाङमाथि फ्याँकिदियो । त्यो देखेर मान्छेहरु धेरै कराए । त्यसपछि त्यो सिमीको झाङनै नाघेर अर्ना भागेको देखेपछि अर्नाको तागतको अनुमान लगाउन नसकिने रहेछ भन्ने थाहा भयो ।

कोशीले आफ्नो बाटो पुर्वी तटबाँधतिर स्थायी रुपले सारेपछि यो क्षेत्र अब अर्नाको साथसाथै चराहरुको लागि प्रसिद्ध हुनथाल्यो । यहाँ अहिले ५३१ प्रजातिका चरा पाइन्छन् । स्थानिय रैथाने चराहरु मात्र नभएर जाडो छल्नका लागि र बच्चा कोरल्नको लागि रुसको साइबेरिया देखिको चराहरु आउने गर्दछन् भने श्रीलंकादेखि पनि बसाइँसराइको क्रममा यहाँ आउने गरेका चराहरु पाइन्छन् । चराहरुको अध्ययन गर्नुपरे बिदेशी पर्यटकहरु पनि यहाँ आउने गर्दछन् ।

इ.सं. १९८७ बाट यो कोशीटप्पुलाई सिमसार क्षेत्र घोषित गरिएको थियो । “पछि इरानको एक शहर रामसारमा भएको विश्व सम्मेलनले जैविक विविधता भएको क्षेत्रलाई रामसार क्षेत्र घोषित गरिएपछि नेपालको ठुलो सिमसार क्षेत्र कोशीटप्पुलाई पनि रामसार घोषणा गरिएको हो” भन्नुहुन्छ यो क्षेत्रमा पर्यटक गाइड तथा चरा अध्ययनमा रुची राख्ने संजिव आचार्य ।

विशेषगरी हिउँदको समयमा धेरै चराहरु आउने गर्दछन् । यसरी आउने चराहरुको समुहले धेरै गुँड बनाएर एकै ठाउँमा बस्ने गरेको पाइन्छ । यसलाई चराहरुको गाउँ ‘बर्ड भिलेज’ वा ‘बर्ड कोलोनी’ भन्ने गरिएको छ ।

केही वर्षदेखि भारतको आसामदेखि आउने गरेको हात्तीहरु पनि फर्केर जाने बाटो बन्द भएकोले यहाँ रैथाने जस्तै भएका छन् । दुईवटा हात्तीहरु करेन्ट लागेर मरेपनि अझै पाँच वटा हात्तीहरु यहिँ छन् । यी हात्तीहरु बेलाबेलामा बाहिर निस्किएर बाली बिगार्ने र मान्छे मार्नेसम्म गरेको भएतापनि ‘हात्ती संरक्षण गरिनु पर्दछ, यो यस क्षेत्रको सम्पत्ति हो’ भन्ने गर्दछन् स्थानियहरु ।

अहिले कोशीटप्पुमा ४९८ वटा अर्ना, ५३१ प्रकारका चराहरु र ७७ प्रकारका बिभिन्न पुतलीहरु पाइन्छन् । यसको अलावा बिभिन्न ४१ प्रजातिका माछा, ४०५ प्रजातिका स्तनधारी, ५२ प्रकारको मेरुदण्डबिहिन हजार भन्दा बढि संख्यामा अजिङ्गर, घडियाल र मगर गोहीहरु रहेको जानकारी गराउनुहुन्छ मध्यवर्ति इलाकामा जैविक विविधताको अध्ययन गर्न रुचाउने अशोक कुमार साह ।

कोशीटप्पुबाट स्थानियहरुले धेरै फाइदा लिनसक्ने भएपनि यसको राम्रो सदुपयोग भएको पाइएको छैन ।

तपाइँको प्रतिक्रिया