मंगलबार, वैशाख ११, २०८१

फ्रान्समा राष्ट्रपती निर्वाचन : कहिले ? कसरी काम गर्छ ? को छन् दौडमा ? नेतृत्व कसले गर्दैछ ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७८ चैत २६ गते ६:०४

Photo Source- screen shot via .rfi.fr

फ्रान्समा यो वर्ष दुईवटा निर्वाचन हुँदैछ । पहिलो आगामी पाँच वर्षका लागि देशको राष्ट्रपति चयन गर्ने हो । पहिलो चरणको मतदान आइतबार, १० अप्रिलमा हुँदैछ । कसैलेपनि ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्न नसकेमा आइतवार २४ अप्रिलमा दोस्रो चरणको निर्वाचन हुनेछ ।

त्यसपछि जुनमा फ्रान्सको अर्को संसद चयन गर्ने चुनाव हुनेछ ।

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका उम्मेदवार

फ्रान्सको शीर्ष पदको दौडमा एमानुएल माख्रों, मारिन ल पेन र जँ-लुक मेलँशों परिचित अनुहार हुन् । अर्थात् बढी चर्चित ।

फ्रान्सेली राजनीतिक परिदृश्यमा सबैभन्दा नयाँ र सबैभन्दा विवादास्पद आगमन अति दक्षिणपन्थी अझ कसैकसैले त अतिवादीपनि भन्छन्, एरिक जेम्मुर हुन् ।

जेम्मुर लामो समयदेखि फ्रान्समा घर घरमा चिनिने नाम हो । हालसम्म उनी ल फिगारो र अन्य अखबारहरूमा नियमित स्तम्भकारका साथै इस्लाम, अध्यागमन र महिलाहरूका लागि उत्तेजक प्रसिद्ध टिभी टिप्पणीकार थिए ।

राष्ट्रपती पदको दौडमा भाग लिने उम्मेदवारहरूको पूर्ण सूची :

(१) नाताली आर्थो, लुत उभ्रिए (वर्कर्स पार्टी)

(२) निकोला दुपों ऐग्नँ- देबु ला फ्रंस (फ्रान्स अराईज)

(३) आन हिदाल्गो- पाख्ति सोसियालिस्त (सोसलिस्ट पार्टी)

(४) यानिक जादो – युरोप एकोलोजी ले भेयर (ग्रीन पार्टी)

(५) जँ लासाल – रेसिस्तों (रेसिस्ट पार्टी)

(६) मारिन ल पेन- रास्सँब्लमँ नासियोंनाल (नेशनल र्‍याली)

(७) राष्ट्रपती एमानुयल माख्रों – ला रेपुब्लिक अँ माश (द रेप्ब्लिक अन द मुभ)

(८) जँ लुक मेलँशों – ला फ्रंस आँसुमिज (फ्रान्स अनबोड)

(९) फिलिप पुटु- नुभो पाख्ती अँतिक्यापेतालिस्त (न्यु एन्टि क्यापिटालिस्ट पार्टी)

(१०) भालेरी पेक्रेस – ले रेपुब्लिक्याँ (द रेपब्लिकन्स)

(११) फाबियाँ रुसेल – पाख्ती कम्युनिस्ट फ्रंसे (फ्रेन्च कम्युनिस्ट पार्टी)

(१२) एरिक जेम्मुर- रेकँकेत (रिकङक्वेस्ट)

शुक्रवारसम्मको सर्वेक्षणमा कसको कति मत ? ड्राफ्टमा हेर्नुस् : 

स्रोत-युरोन्युज

फ्रान्सेली चुनावले कसरी काम गर्छ ?

चुनावमा प्रत्येक सम्भावित उम्मेद्वारले फ्रान्सको शीर्ष पदको लागि आफ्नो समर्थन गर्न मेयरहरू वा स्थानीय राजनीतिज्ञहरूबाट ५०० हस्ताक्षरहरू जुटाउनुपर्ने थियो ।

फ्रान्सको संवैधानिक परिषदले मार्च ७ मा उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरेको थियो ।

त्यसपछि २८ मार्चमा निर्वाचनको आधिकारिक अभियान सुरु भयो । फ्रान्सेली मिडियाले प्रत्येक उम्मेद्वारलाई तिनका एजेण्डाबारे छलफल गराउन बराबर समय दिनुपर्ने नियम छ । त्यसको पालना गर्नुपर्छ ।

अप्रिल १० मा हुने पहिलो चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार त्यसपछि पन्ध्र दिनपछि हुने दोस्रो चरणमा जाने छन् । पहिलो चरणमै ५० प्रतिशत कटाएमा स्वत उक्त ब्यक्ति राष्ट्रपती बन्ने छ । तर पहिलो चरणमै राष्ट्रपती फ्रान्समा अहिलेसम्म कोहिपनि बन्न सकेको छैन ।

फ्रान्सेली मतदाताहरूले अर्को पटक संसदको तल्लो सदन, अर्को राष्ट्रिय सभाको लागि जुनमा फेरि मतदान गर्नेछन् ।

मतदाताहरूले देशको प्रत्येक ५७७ निर्वाचन क्षेत्रहरूको लागि संसद सदस्य चयन गर्छन् ।

प्रतिनिधि वा सांसदहरू पनि दुई चरणको निर्वाचनमा बहुमतले निर्वाचित हुन्छन् । पहिलो चरणमा उम्मेदवारले पूर्ण बहुमत र दर्ता मतदाताको एक चौथाइ बराबर मत प्राप्त गरेमा मात्र विजयी हुनसक्छ ।

उम्मेदवारहरूले दोस्रो चरणमा जानका लागि दर्ता भएका मतदाताहरूको संख्याको १२ दशमलव ५ प्रतिशत प्राप्त गर्नुपर्छ । यदि एक उम्मेदवारले मात्र यो प्राप्त गरे त्यसपछि सबैभन्दा धेरै मत प्राप्त गर्ने दोस्रो उम्मेदवार पनि दोस्रो चरणमा पुग्न सक्छ । यदि कुनै पनि उम्मेदवारले यो शर्त पूरा गरेन भने शीर्ष दुई उम्मेदवार दोस्रो चरणमा जान पाउँछन् ।
फ्रान्सेली चुनावमा कसले मतदान गर्न सक्छ ?

चुनावको दिनसम्म १८ वर्ष पुगेका फ्रान्सेली नागरिकले मतदान गर्न पाउनेछन् । फ्रान्समा चार करोड ८७ लाख योग्य मतदाता छन् ।

विगतका चुनावहरूमा कैदीहरूलाई पनि मतदान गर्न दिइएको थियो । उनीहरूलाई आफ्नो नागरिक अधिकारबाट विशेष रूपमा बञ्चित गर्नु हुन्न भन्ने मान्यता राखिएको हो ।

मतपेटिकामा व्यक्तिगत रूपमा तिनले सिधै मतदान गर्न दिने वा तिनको अनुमति अनुसार अन्य ब्यक्तिले मत दिन पाउने नियम बनाइएको थियो ।

तर यसका लागि आवश्यक पर्ने विस्तृत कागजी प्रक्रियाका कारण सन् २०१७ को राष्ट्रपति चुनावमा कैदीहरुको कुल संख्या मध्ये दुई प्रतिशतले मात्र मतदान गरेका थिए ।

यो वर्ष पहिलो राष्ट्रपति चुनाव हुनेछ जसमा कैदीहरूले हुलाकद्वारा मतदान गर्न पाउने बनाईएको छ ।

सन् २०१९ को युरोपेली चुनावमा कैदीहरूले हुलाकद्वारा मतदान गर्न पाएका थिए । त्यसले गर्दा मतदानमा भाग लिनेको संख्यामा वृद्धि देखियो ।

फ्रान्सका राष्ट्रपति कति शक्तिशाली ?

फ्रान्सको राष्ट्रपतिसित यति धेरै शक्ति र अधिकार हुन्छ कि जसले गणतन्त्रको अध्यक्षता गर्दछ । सरकारलाई नियन्त्रण गर्दछ । संसदलाई नियन्त्रण गर्दछ । संवैधानिक अदालतलाई नियन्त्रण गर्दछ । पराष्ट्र नितिपनि नियन्त्रण गर्छ । अन्तर् राष्ट्रिय सम्मेलनमा जान्छ । सेनापनि नियन्त्रण गर्छ, केहि शर्त पुर्‍याएर । एउटा सर्वशक्तिमान राष्ट्रपती । कसैकसैले शक्तिशाली राजा जस्तो भनेरपनि आलोचना गर्ने गरेका छन् ।

यस्तो किन भएको हो भने आंशिक रूपमा विश्वव्यापी मताधिकार र सरकारको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको क्षमता, अधिकारको कारण हो ।

संवन्धित : फ्रान्सेली राष्ट्रपतिलाई जर्मनी, युके र अमेरिका लगायत दर्जनौं देशका नेतालाईभन्दा किन असिमित अधिकार ?

दुई वटा चुनावको समयले गर्दापनि फ्रान्सेली राष्ट्रपतिको शक्तिलाईसमेत बलियो बनाईदिन्छ । संसदीय चुनाव लगभग एक महिना पछि आउँदैछ जसले राष्ट्रपतिमा जित्छ उसले संसदीय बहुमत जित्नेछ ।

कसैलेपनि एक महिनामा आफ्नो राजनीतिक विचार परिवर्तन गर्नुसक्दैन, गर्दैन । त्यसैले व्यवस्थापिकाको निर्वाचनले प्रायः राष्ट्रपतिलाई दिए जस्तै बहुमत दिन्छ ।

निर्वाचनका केही प्रमुख मुद्दा :

(१) मुद्रास्फीति र दैनिक खर्च – भर्खरको सर्वेक्षणले देखाएको छ, क्रय शक्ति घटेको छ । त्यसैले सामान किन्न सक्ने क्षमता फ्रान्सेली मतदाताहरूको लागि शीर्ष चिन्ताको विषय बनेको छ । विशेष गरी युरोपमा उच्च मुद्रास्फीति भएकाले जिवन थप जटिल बन्दै गएको छ ।

धेरै देशहरूमा कोविड-१९ को कडा प्रतिबन्धहरू पछि ऊर्जाको मूल्य र उच्च मागको कारणले गर्दा यस वर्ष यूरोजोनमा मुद्रास्फीति ५ दशमलव एक प्रतिशतमा पुगेको छ ।

(२) वातावरण – वातावरण फ्रान्सेली जनताका लागि प्रमुख चिन्ताको विषय बनेको छ । भर्खरैका सर्वेक्षणहरूले यो मतदाताहरूका लागि तेस्रो सबैभन्दा ठूलो मुद्दा भएको सुझाव दिएको छ ।

तर यसले ग्रीन पार्टीका उम्मेद्वार यानिक जादोको समर्थनमा ठूलो काम गरेको जस्तो भने देखिँदैन । उनी हाल दक्षिणपन्थी, पुरातनवादी (वा अति दक्षिणपन्थी वा कट्टरपन्थी) र वामपन्थी उम्मेद्वारहरू पछि करिब ५ देखि ६ प्रतिशतले मतदान गरिने देखिएका छन् ।

सन् २०२० को नगरपालिकाको चुनावमा फ्रान्सका धेरै प्रमुख शहरहरूमा ग्रीन पार्टीको सफलताले राष्ट्रिय मञ्चमा पनि थप भोट ल्याउने आशा राखेका थिए ।

(३) कोभिड -१९ महामारी : पछिल्लो दुई वर्षको राजनीति कोभिड-१९ महामारीले खाएको छ जसमा सरकारले दैनिक जीवनमा लगाएको प्रतिबन्धहरूसमेत समावेश छन् ।

राष्ट्रपति पदका उम्मेद्वारहरूले जनवरीमा खोप पासको परिचय सहित संकटको सामना गर्ने राष्ट्रपती माख्रोंको आलोचना गरेका छन् । त्यसमा रेस्टुरेन्ट र सार्वजनिक जीवनका अन्य क्षेत्रहरूमा पहुँच गर्न खोप वा कोविड-१९ बाट निको भएको प्रमाण देखाउन आवश्यक थियो ।

चुनाव अघि फ्रान्सेली सरकारले फर्वरीमा कोरोनाको ओमिक्रोन तिब्र भएपछि वा कोविड-१९ कम भएपछि ति प्रतिबन्धहरु हटाएको थियो ।

(४) अध्यागमन – अध्यागमन फ्रान्समा एक विवादास्पद विषय हो । यो विषय फेरि चुनावी बहसको ठूलो मुद्दा भएको छ । विशेष गरी पुरातनपन्थी र दक्षिणपन्थी उम्मेद्वारहरुले यसलाई चर्कोसित उठाएका छन् ।

ले पेन र जेम्मुरले विदेशीहरूलाई सामाजिक सहायता कटौती गर्न र फ्रान्सेली नागरिकहरूको लागि यी सुविधाहरू आरक्षित गर्न आह्वान गरेका छन् । उनीहरूले शरणार्थीहरूको प्रवेश सीमित गर्न पनि आह्वान गरेका छन् ।

फ्रान्सको पाँचौं गणतन्त्रका राष्ट्रपतिहरू

(१) चार्ल्स द गोल (१९५९-१९६९)- पहिलो सात वर्षको कार्यकालको लागि एक निर्वाचक प्रक्रिया (इलेक्सन कलेज) बाट निर्वाचित । त्यसपछि १९६५ मा प्रत्यक्ष विश्वव्यापी मताधिकार द्वारा पुन: निर्वाचित । सन् १९६९ मा जनमत संग्रह हारे पछि उनले राजीनामा दिए ।

(२) जर्जस पम्पिदु (१९६९-१९७४)-उनको म्यान्डेट समाप्त हुनुभन्दा दुई वर्ष अघि मृत्यु भयो ।

(३) भालेरी जिस्कार्ड देस्ताँ (१९७४-१९८१)- सात वर्षको कार्यकाल पूरा गरे ।

(४) फ्रंस्वा मितेरँ (१९८१-१९९५)- दुई पटक सात सात वर्षको दरले १४ वर्ष कार्यकाल सेवा गरे । उनी नेपाल जाने एक मात्रै फ्रान्सका बहालवाला राष्ट्रपतीपनि हुन् । उनी १९९६ को मेमा नेपालको राजकिय भ्रमणमा गएका थिए ।

(५) ज्याक सिराक (१९९५-२००७)- उनले एक पटक सात वर्ष र अर्को पटक पाँच वर्षको कार्यकाल पूरा गरे ।

(६) निकोला सार्कोजी (२००७-२०१२)

(७) फ्रांस्वा होलँद (२०१२-२०१७)

(८) एमानुएल माख्रों (२०१७ देखि हालसम्म) । हालको राष्ट्रपती निर्वाचनमा फेरिपनि उम्मेदवार बनेका छन् ।

(युरोन्युज र फ्रंस २४ को सहयोगमा)

तपाइँको प्रतिक्रिया