बिहीबार, असोज १३, २०७९

गिरिजासित शुशिल भड्किएको त्यो क्षण र गगन-विश्वप्रकाशको यो मौनता

नेपालप्लस संवाददाता / काठमाडौं२०७८ चैत २६ गते १२:३४

Image Credit-Nepali Times

सुशिल कोइराला गिरिजा प्रसाद कोइरालाका सहोदर भाई त थिएनन । तर सहोदर भाई भन्दा कम पनि थिएनन । सुशिल कोइराला र गिरिजा प्रसाद कोइरालाका विचमा यती ठुलो विश्वास थियो कि कहिल्यै पनि यिनिहरुले आपसी टिका टिप्पणी सार्वजनिक रुपमा गरेनन । गिरिजा प्रसादले त झनै गरेनन । किनभने सुशिल कोइराला आज्ञाकारी भाई थिए । उनी चुनाव नलड्नुका पछाडि गिरिजा प्रसादकै हात थियो । तिमीले पार्टी हेर्ने हो भने पछी सुशिल कोइरालाले खुरुक्क माने । सुशिल कोइराला पार्टीमा यसरी भिजे कि पार्टी कार्यालयमै आफ्नो डेरा बनाए । गिरिजा प्रसादको राजनीतिक यात्रामा सहयोग पुग्ने हरेक काम उनले गरे ।

तर एक पटक यस्तो समय आयो सुशिल कोइराला गिरिजा प्रसाद कोइरालासँग नराम्ररी भड्किए । यो २००९ को कुरा हो । सुशिल कोइराला पार्टीको कामको शिलशिलामा नेपालगन्जमा थिए । यता काठमाडौंमा माधव नेपालको प्राधानमन्त्रित्वमा नेपाली कांग्रेसले सत्ता साझेदारी गर्दै थियो । गिरिजा प्रसादले पुत्री सुजाता कोइराला लाई कांग्रेसको तर्फ बाट सरकारको नेतृत्वमा पठाए । उनी माधव नेपाल सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री बनिन । शुशिल कोइरालाले नेपालगन्जमा आफ्ना निकटकासँग गुनासो सुनाए- ‘यो अती भयो । अब पनि यसरी नै मुक दर्शक भएर बस्ने हो भने नेपाली कांग्रेस सकिन्छ । गिरिजा दाजु गेटिङ म्याड’ ।

जब शुशिल कोइराला काठमाडौं विमानस्थलमा उत्रे उनले गिरिजा प्रसादको चर्को आलोचना गरे । गलत कृयाकलाप विरुद्द उत्रिन उनले कार्यकर्ताहरुलाई आव्हान पनि गरे । सुशिल कोइरालाको जिन्दगीमा त्यो नै अन्तिम क्रान्ति थियो । त्यस पछी उनी पार्टी सभापति बने । प्रधानमन्त्री बने ।

अहिले शेरबहादुर देउवाको ताण्डवका विरुद्दमा- यो त अती भयो भन्ने एउटा पनि नेता देखिएन । शेखर कोइराला बाहेकको अर्को पुरै जमात फाईदा कुरेर बसेको छ । नेपाली कांग्रेस गुलामहरुको पार्टी भएको छ ।

स्थानीय तह निर्वाचन आचारसंहिता लागू हुनु एक दिनअघि विहीवारको मन्त्री परिषद बैठकले गैरसांसद रहेका व्यक्ति अधिवक्ता गोविन्द प्रसाद बन्दीलाइ कानुनमन्त्रीको रुपमा नियुक्ति गरे । यससँगै उनले २० देशका लागि राजदुत र नेपाल टेलिकमको प्रबन्ध निर्देशक गरी २१ अन्य नियुक्ति समेत गर्न भ्याएका छन । देउवाले विहिवार गरेका अधिकांश नियुक्ति न्याय संगत छैनन ।

अधिवक्ता गोबिन्द बन्दी ओली सरकारले गैर सांसदलाई मन्त्री बनाएको विरुद्दमा सर्वोच्चमा परेको मुद्दामा वहस गरेका वकील हुन । नेपाल टेलिकमका नवनियुक्त प्रवन्ध निर्देशक सुनिल पौडेल ओली सरकारका पालामा सेक्युरिटी प्रेस खरिद र ओम्नी समूहसँग जोडिएका ब्यक्ति हुन । राजदुत नियुक्तीमा पनि माधव कुमार नेपाल, रामचन्द्र पौडेल, पुष्पकमल दाहालका नातेदारहरु रोजाईमा परेका छन ।

शेरबहादुर देउवाको ईतिहास नै त्यस्तै छ- जब जब उनी प्रधानमन्त्री भए देशको उछिटो काढेका छन । अझ सबै भन्दा खतरानाक कुरा त माओवादीसँगको गठवन्धन नै हो । नेपालमा राजनीतिक दलहरुको यस्तो समुह बनेको छ जसलाई देशको फिटिक्कै चिन्ता छैन । आफ्ना नातागोता, ज्वाँई, जेठान, सम्धी, सासु ससुरा केन्द्रित सोच भएका नेताहरु सत्ताको वागडोर सम्हाल्न पुगेपछी देश यस्तै हुन्छ । देश पछाडि फर्किन्छ । जनताले दु:ख पाउँछन ।

एउटा प्रधानमन्त्री कस्तो हुनु पर्दछ ? कम्तिमा शेरबहादुर देउवा जस्तो त पटक्कै हुँदै होइन । पाँच पटक देशको प्र्धानमन्त्री बन्ने सौभाग्य पाएका देउवासँग देश बदल्ने मौका थियो । भ्रष्टाचार र ब्यक्तिगत स्वार्थ केन्द्रित नभएको भए नेपालको ईतिहासमा देउवाको नामको खम्बा गाडीन्थ्यो । तर भन्छन नि बाँदरको हातमा नरिवल ! शेरबहादुरको हातमा देश त्यस्तै नरिवल भएको छ- कसौंडिमा राखेर हुँडलेको मकै जस्तै ।

एउटा अचम्म लाग्दो कुरा के छ भने ३० वर्ष यता देशमा प्राय गठवन्धन सरकार बनेको छन । सरकार मिलिजुली भएपनि देश र जनताको हितमा हुने कुनैपनि योजनामा कहिल्यै सहमती हुन सक्दैन । तर नेताहरुले आफ्नो फाईदाका लागि, आफुहरुले खानका लागि लागी भने तुरुन्तै सहमती जुट्दछ । एकै छिनमा राजदुतहरु नियुक्त हुन सक्दछन । राष्ट्र बैंकको गभर्नर निलम्बनमा पर्न सक्छ । गैर सांसद मन्त्री बन्न सक्छ । भ्रष्टाचारमा दाग लागिसकेको कुनै ब्यक्ती शुद्द देखिन्छ । विधी, विधान, निती, नियमहरुको जतिसुकै बाजा बजाए पनि आखिरमा कुरा ब्यक्तिगत स्वार्थमा पुगेर टुङ्गिन्छ ।

विगतमा जे कुरालाई लिएर यि दलहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति प्रश्न उठाए थिए अहिले त्यहि गल्ती धारावाहिक रुपमा नेताहरुले गरिरहेका छन् । ओलीले त्यही काम गर्दा गलत भन्ने तर अहिले देउवा-दाहाल-नेपाल-यादवले गर्दा गलत नहुने कसरी हुन सक्छ ? गलत ओलीले पनि गरेका थिए । अहिले देउवाले पनि दोहोर्‍याइरहेका छन् । सबै मिलेर देशको हुर्मत लिंदा खोइ गगन कुमार थापा ? खोइ विश्व प्रकाश शर्मा ? वेथितीका विरुद्दमा लड्ने कोही पनि छैन ।

यस्तो देखिदैछ- विश्वप्रकाश र गगन कुमार थापाका आवाजहरु पनि मौषमी हुन । हावाको झोंक सँगै बाटो फेर्छन । नत्र खोइ भन्न सकेको ‘यो अती भयो’ । नेपाली कांग्रेस गुलामहरुको पार्टी हो । गुलामहरु आफ्नो मालिकको विरुद्दमा बोल्दैनन । नेपाली कांग्रेस भित्र यस्तै छ- गुलामी गर्नेहरुको जनसंख्या बढेको छ । शेरबहादुरलाई पाठ पढाउन सक्ने कोही पनि छैन ।

देश अहिले यस्तो अवस्थामा पुगेको छ जहाँ राज्यको अनुहार देखिंदैन । यो ३० वर्षको अवधिमा देश कहिल्यै पनि देश हुन पाएको छैन । हरेक नियुक्तिहरुमा, निलम्बनहरुमा नेताहरुको अनुहार देखिन्छ । अझ जताततै शेर बहादुर देउवाको अनुहार देखिन्छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले सोच्नु पर्ने एउटा गम्भिर कुरा के हो भने- देउवाको अवशान पछी यिनलाई नेपाली समाजले कसरी चित्रण गर्ला ? देउवाको टाउकोमा टाँसिएको कलंकको टिका नेपाली कांग्रेसले कहिलेसम्म बोक्नु पर्ला ? पक्कै पनि समाजले देउवालाई विर्सिने कोशीस गर्ने छ । जसरी गिरिजा प्रसाद कोइराला विर्सिए । तर यो समाजले सयौं वर्षसम्म देउवाले भत्काएको देशको नक्सा सम्झिरहने छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक