शुक्रबार, वैशाख १४, २०८१

कोइरालाजी ९ करोड रुपैयाँको श्रोत के हो ?

थानेश्वर सापकोटा२०७८ चैत २८ गते १:३३

Photo-RSS

बीपी कोइराला निर्वाशनबाट देश फर्किदा कोइराला परिवारको नाममा विराटनगरको कोइराला निवास वरिपरि रहेको १ बिगाह १६ कट्ठा जग्गा मात्र थियो । विराटनगरका निकै सम्पन्न परिवारको दर्जामा रहेको कोइराला परिवारको अधिकांश सम्पत्ति राणा र पंचायत सरकारले जफत गरेपछी कृष्णप्रसाद कोइरालाको सम्पन्न परिवार केही समयमै मध्यम वर्गिय परिवारमा रुपान्तरित भएको थियो । बीपी कोइरालाको अधिकांश समय जेलमा वित्यो । उनी सम्पत्ति जोड्न तर्फ लागेनन । उनको काठमाडौं बसाई या त आफन्तका घरमा भयो या कार्यकर्ताको बिचमै बसेर उनले आफ्नो समय विताए । गिरिजा प्रसादको पनि अधिकांश उमेर कार्यकर्ताहरुको सहयोगमा पालियो ।

०४६ को परिवर्तन पछी उने सँधै लाभको पदमा बसे- आँफै पालीए । देशका ठुला भन्दा ठुला भ्रष्टाचार र अनियमिततामा उनको नाम जोडीयो । गिरिजा प्रसाद कोइरालाले आर्थिक लाभ लिएर सरकारी नियुक्ती र ठेक्का पट्टा दिने गरेको सुनाउने कांग्रेसको एउटा पुस्ता अझै सक्रिय राजनीति मै छ । तर उनले आफ्नो नाममा सम्पत्ति थुपारेको कतै सुनिएन । बरु उनकी छोरी सुजाता कोइरालाले सम्पत्तिको लेनदेन गरेका समाचारहरु आइरहे । अहिले राजनीतिक बजारमा शशांक कोइरालाको चर्चा छ ।

यिनी पनि त्यही मध्यमा वर्गिय परिवारलाई प्रतिनिधित्व गर्ने कोइराला परिवारका एक जना सदस्य हुन । यिनले आफ्नो उमेरको लगभग दुई दशक लामो समय आँखाको चिकित्सक बनेर बिताए- सरकारी अस्पातलको आँखा सर्जन । शशांककी पत्नी सुपात्रा कोइराला पनि यही पेशामा छन । तर शशांक कोइरालाले आफ्नो पेशा छोडेर साठिको दशकमा कोइराला परिवारको विरासत थाम्न राजनीतिमा हामफालेका थिए । राजनीतिमै प्रवेश गरेको वर्ष संविधान सभा सदस्यको रुपमा उनी नवलपुर क्षेत्र नम्बर एक बाट विजयी भए । त्यस यता उनी लगातार चुनाव जित्दै आइरहेका छन ।

संसदिय निर्वाचन नजिकिदै गर्दा उनी फेरी चर्चामा छन । तीन पटका हार्दिकताका साथ चुनाव जिताएर पठाएका नवलपुरका मतदाताले अहिलेको निर्वाचनमा कोइरालाको विकल्प खोज्ने पक्का छ । यसको संकेत उनले पाएका पनि छन । तर शशांक लाई अन्य क्षेत्रहरुमा पनि चुनाव जित्न त्यती सहज छैन । त्यसैले पनि कोइरालाको जोड पुन: नवलपुरमै केन्द्रित भएको देखिन्छ । उनले आफ्नो एउटा मन्तब्यमा पैसा खर्च गर्न नसक्नेले चुनाव जित्न नसक्ने बताएर सामाजिक संजाल तताएका छन । उनले भनेका छन- मैले तीन पटका नवलपुरबाट चुनाव जिते । पहिलो चुनावमा मेरो खर्च ८० हजार भयो, दोस्रोमा तीन करोड र अन्तिमा चुनावमा ६ करोड । यही हिसाबमा चुनावको खर्च बढ्दै गयो भने अब हुने संसदिय निर्वाचनमा उनले १० करोड खर्च गर्ने तयारीमा छन ।

१० करोड रुपैयाँ खर्च गर्नु सामान्य राजनीतिज्ञको औकात भन्दा निकै परको कुरा हो । यती ठुलो रकम खर्च गरेर कोही पनि चुनाव लड्न चाहँदैन । उनले टिकटका आकंक्षीहरुलाई ठिकै प्रश्न सोधेका छन- ‘ल भन्नुस त यती धेरै रकम तपाईंहरु मध्ये कसैले खर्च गर्न तयार हुनुहुन्छ ? यदी हुनुहुन्छ भने म छोड्न तयार छु’ । तर गम्भिर प्रश्न- यती धेरै पैसा शशांक कोइराला सँग कहाँबाट आउछ ? केही वर्ष अघी सम्म उनी सामान्य सरकारी जागिरे थिए । सरकारी अस्पातलमा जागिर गरेर कती पैसा बच्दो हो ! उनको पैतृक सम्पत्ति कती थियो भन्ने कुरा पनि अधा भन्दा बढी नेपालीलाई थाहा छ ।

कृष्णप्रसाद कोइरालाको कोइराला निवास वरिपरी रहेको १ बिगाह १६ कट्ठाको सम्पत्ति बीपी, केशव, तारणी र गिरिजालाई ०२५ सालमै मौखिक अंशबण्डा गरिएको थियो । त्यस हिसावले बीपी कोइरालाको भागमा आएको ९ कट्ठा जग्गा शशांक सहित तीन जना दाजुभाई प्रकाश र हर्ष कोइरालालाई तीन तीन कट्ठाका हिसावले बाँडिएको हुनु पर्दछ । काठमाडौंमा उनकै भनाइ अनुसार आफ्नो आर्जनले घर खरिद गरेका हुन । विराटनगरको ३ कट्ठा जग्गा २०७४ को बजार भाउ अनुसार बेचेको भए पनि ६ करोड पर्दैन । उनले अन्य ब्यापार ब्यवसाय संचालन गरेको पनि सुनिएको छैन । तर त्यत्रो रकम कहाँबाट आयो र अझै उनी १० करोड खर्च गर्ने हैशिय राख्छन ?

धेरै नेपालीलाई एक करोडमा सय लाख हुन्छ भन्ने पनि मेसो छैन होला । र धेरै नेपालीहरुले सय लाखको कल्पना पनि गर्दैनन । तर देशमा प्रजातान्त्रिक समाजबाद स्थापना गराउने आन्दोलनमा आफ्नो पुरै जीवन उत्सर्ग गरेका बीपीका छोराले पछिल्लो चुनावमा ६ सय लाख खर्च गरिसकेका छन र अब उनले एक हजार लाख नेपाली रुपैयाँ खर्च गर्ने तयारी गरिरहेका छन ।

शशांक कोइरालाले नवलपरासी क्षेत्र नम्बर १ बाट चुनाव लड्दै गर्दा त्यहाँका मतदाताका अगाडि शिर झुकाएर केही प्रतिवद्दताहरु ब्यक्त गरेका थिए । उनले आँफै भनेका थिए- अबको पाँच वर्षमा म नवलपरासीमा अन्तरराष्ट्रिय स्तरको खेलग्राम र उच्चस्तरको ट्रामा सेन्टरको स्थापना गरेर छोड्छु । त्यो बेला उनले ठुलै ताली पाए, मतदाताले हार्दिकता पुर्वक जिताएर पठाए । त्यसपछी उनले ति सबै प्रतिवद्दताहरु विर्से । तर त्यहाँका जनताले विर्सेका छैनन । यदी कोइरालाले चुनावमा खर्च गरेको रकमको आधा मात्र रकम आफ्ना प्रतिवद्दता पुरा गर्न खर्चेको भए अहिले नवलपुरमा ट्रामा सेन्टर बनिसकेको हुने थियो र अन्तरराष्ट्रिय खेलग्राम निर्माणको काम सुरु भैसकेको हुने थियो ।

तर ति पुरा गरिने प्रतिवद्दता थिएनन । पुराना प्रतिवद्दतामा थपिएका केही नयाँँ प्रतिवद्दता मात्र थिए । शशांक कोइरालाको खर्चको अभिव्यक्तिले धेरै कुरा भन्छ । पहिलो त उनमा बीपी कोइरालाको पुत्र भएको दम्भ उचालिएको छ । अर्को उनले नवलपुरका मतदाताको अवमुल्यन गरेका छन । हार्दिकका साथ चुनाव जिताएर पठाएका नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताले लज्जाबोध गर्नु पर्ने भएको छ । फेरी पनि प्रश्न उठ्छ- शशांक कोइराला सँग ६ करोड रुपैयाँ कहाँँबाट आयो र कहाँँ खर्च भयो । त्यती धेरै रकमको श्रोत के हो ? यदी उनमा राजनीतिक इमान्दारिता छ भने उनले सालीनता पुर्वक त्यो रकमको श्रोत राज्यलाई देखाउन सक्नु पर्दछ र नवलपुरका कांग्रेसका कार्यकर्ताहरु सँग माफि माग्नु पर्दछ ।

देशमा भ्रष्टाचार कसरी हुन्छ ? कसले गर्छ ? यो लामो समय देखीको ‘ओपन’ रहस्य हो । यदी शशांक कोइरालाले ६ करोड रुपैयाँको श्रोत खुलाउन सकेनन भने त्यो भ्रष्टाचार हो । अहिलेलाई धेरै नभनौ भ्रष्टाचार सरकारमा पुग्ने अथवा फाईदाको पदमा बस्नेले मात्र गर्छन् भन्ने हुँदैन । शशांक कोइरालाको स्विकारोक्तिले भनेको छ भ्रष्टाचारका लागि विरासत काफी छ । नेपाली कांग्रेसको महामन्त्री भइसकेको ब्यक्ती तथा पार्टीको भावी सभापति र देशको भावी प्रधानमन्त्रीको आकंक्षी रहेको ब्यक्तिका यि अभिब्यती गम्भिर मात्र होइनन राजनीतिकर्मीले देशलाई कसरी हुँडलेका छन भन्ने प्रमाण पनि हुन । कोइरालाले खर्च गरेको त्यो रकमको श्रोत के हो भन्ने कुरा सार्वजनिक हुनुपर्ने अहिलेको मुख्य विषय हो । त्यसैले अनुशन्धान निकायहरुले यथासक्या छिटो शशांक कोइराला माथि अनुसन्धानको प्रकृया थाल्नु पर्दछ । यो नेपालको राजनीतिलाई शुद्द बनाउने मौका पनि हो । नेपाली कांग्रेस माथि लागेका धेरै दागहरु पखालिन सक्ने समय हो । कोइराला माथि अनुसन्धान शुरु भयो भने पैसा नहुने तर मुलुक उकास्ने सोच भएकाहरुलाई राजनीतिमा आकर्षित गर्न सकिने अवशर पनि हो ।

तपाइँको प्रतिक्रिया