शुक्रबार, वैशाख १४, २०८१

घले पक्षिय एनआरएनको डेढ दर्जन तयारि !

नेपालप्लस संवाददाता२०७८ चैत २९ गते २०:३४

गैर आवाशीय नेपाली संघ (एनआरएनए) कै नाममा महाधिवेशन गरेका पूर्व अध्यक्ष डा. शेष घले पक्षको एनआरएनएको बाहिरबाट चालचुल केहि नभएजस्तो देखिन्छ । तर साँच्चैको अवस्था भने बिलकुल फरक छ । उनीहरु चुपचाप काम गर्ने भन्दै भित्रभित्रै ब्यापक तयारिमा लागेका छन् ।

महाधिवेशनको तयारि र अन्तिम उम्मेदवार देखि नेत्रित्वसम्मको खाका लगभग तयार भैसकेपछि अन्तिम अवस्थामा धोका दिईएको बताउँदै आएका डा. शेष घले र यो पक्षले त्यो धोकालाई चुनौतिका रुपमा लिएको छ । उनीहरुले भित्र भित्रै आफू पक्षको एनआरएनएलाई सुधार गर्ने, संस्थागत बिस्तारमा लाग्ने र एनआरएनएका कमजोरीहरु केलाएर संस्था बलियो बनाउने भन्दै लागेका छन् ।

कम ब्यापारी र धनाढ्य

एनआरएनएमाथि अहिलेसम्म लाग्ने गरेको सबैभन्दा ठूलो आरोप ‘एनआरएनए धनीहरुको संस्था’ भन्नेनै हो । त्यसैले आम जनमानसको भावनालाई पक्रिन उनीहरुले ब्यापारी, ब्यवशायी र धनाढ्य भन्दा सामान्य खालका ब्यक्तिहरुलाई नेतृत्वमा लैजाने रणनिति बनाएका छन् । त्यहि रणनिति अनुरुपनै उनीहरुले केन्द्रिय तहमा धनाढ्य नसमेट्ने र आम गरिखाने नेपालीहरुलाईनै नेतृत्वमा पुर्‍याउने भएका हुन् । त्यसैले उनीहरुले नेतृत्वको चर्चामा रहेका केहिलाई केन्द्रित तहमा राखेका छन् । केहिलाई मात्रै सल्लाहकारका रुपमा रोजेका हुन् ।

कानुनि लडाई अगाडि बढ्ने

परराष्ट्र मन्त्रालयले एनआरएनएको दशौं महाधिवेशन गर्न भन्दै तत्कालिन विवाद समाधान उच्चस्तरिय समितिका संयोजक डा. शेष घलेलाइ पत्रनै काटेको थियो । परराष्ट्र मान्त्रालयको सोहि निर्देशन अनुरुप घलेले प्रतिनिधि छनौट देखि निर्वाचनसम्म गराएको बताउँदै आएका छन् । घलेले यस अघि नेपालप्लससित पनि भनेका थिए “मलाई परराष्ट्र मन्त्रालयले दिएको जिम्मेवारी अनुरुप आफ्नो काम फत्ते गरें । महाधिवेशन गराएर नेतृत्व चयन भयो, मेरो काम सक्कियो । अब काम निर्वाचित समितिले गर्ने हो ।”

यसको अर्थ आफूले गराएको महाधिवेशननै वैधानिक हो भन्ने उनीहरुको दाबी छ । महाधिवेशनद्वारा पारित रिपोर्टसमेत परराष्ट्रमा दर्ता गराइसकेका छन्, बैधानिक मान्यता पाउँ भन्दै ।

अब यो बैधानिक मान्यताको दाबीलाई पररष्ट्र मन्त्रालयले मान्यता नदिएमा कानुनि लडाई लड्ने छन् । यसकालागि कानुनबिदहरुको लगभग पक्कापक्की भैसकेको छ । अब कानुनि मान्यताका लागि उनीहरुले कानुनि लडाई लड्ने छन् । यो कानुनि लडाई लड्दै संस्था सुधारका लागि ब्यापक सक्रिय हुने तयारिपनि गरिरहेका छन् ।

देश देशमै समिति गठन

शेष घले पक्षले अब विश्वभरका बिभिन्न देशमा राष्ट्रिय समन्वय समिति (एनसिसी) हरु गठन गर्ने तयारिपनि गरिरहेका छन् । उनीहरुले अहिले तल्लो तहबाट एनसिसी गठनकालागि कुन कुन देशमा संभावना छ । कस्ता कस्ता ब्यक्तिहरु आउने संभावना छ भन्ने अध्ययन, नामावली संकलन र छलफल गरिरहेका छन् । केहि समयबाटै अब बिभिन्न देशमा एनसिसीहरु निर्माणको प्रक्रिया शुरु हुने छ । केहि देशका एनसिसीहरु संस्थापन पक्षबाट राजिनामा दिएर शेष घले पक्षतिर लाग्ने तयारिमा छन् ।

थोरै उठाउने, धेरैलाई समेत्ने

शेष घले पक्षले अहिले लगभग निकालेको अर्को निचोड के हो भने गैर आवाशीय नेपाली संघ सथापना भएको दुई दशक भएपनि निकै कसरत गरेर बल्ल करिब एक लाख छ हजार प्रवाशी नेपाली मात्रै गैर आवाशीय नेपाली संघमा आवद्द छन् । करिब ५९ लाख नेपाली बाहिरै छन् । यसको कारण उनीहरुले आम नेपालीलाई तान्न सक्ने खालको योजना, निति र प्रयास नहुनु, धनाढ्यहरुनै नेत्रित्वमा पुग्नु, उम्मेदवारी दस्तुर चर्को राखेर सामान्य नेपाली नेत्रित्वमा पुग्नै नसक्ने संरचना बनाउनु, जहिलेपनि कुनै सामाजिक सेवाको कामकालागि ठूलो ठूलो राशीको खोजि गरिनु, ठूलो राशी दिनेहरुको मात्रै वर्चस्व रहनु, ब्यापारीहरुको मुख ताक्नु र एनआरएनएलाई धेरै प्रयोग गरियो भन्ने आम नेपालीमा पर्नुनै हो ।

त्यसैले उनीहरुले यो रणनितिलाई बदल्नेबारे ब्यापक छलफल गरिरहेका छन् । प्रवाशमा जुन नेपालीहरु आवद्द भएका छैनन् तिनलाई आफ्नोमा आवद्द गराउने उनीहरुले प्रयास गर्ने भएका छन् ।

त्यसैले, एनआरएनएको बिगतका यि सबै कमजोरीलाई उनीहरुले पुरै सच्याउने प्रयास गर्ने छन् । उम्मेदवारको शुल्क कम राख्ने, आम नेपालीलाई सामाजिक कामकालागि एक दुई डलर वा नेपाली रुपिया दिएपनि हुने, सामान्य तहका नेपालीहरुलाई नेतृत्वमा लैजान प्रेरित गर्ने, हरेक विषयमा अब ब्यापक छलफल गराउने, संस्थाको प्रचारप्रसारका लागि मेडियाहरुसित समन्वय गर्ने र आफ्ना कमजोरीबारे खुलेर सुन्ने र दोहोरो बहस गराउनेबारेमा अघिल्लो आइतवार भएको बैठकमा विशेष छलफल गरेका थिए ।

संस्थापन पक्षको कमजोरीबाट फाइदा लिने

अहिले एनआरएनएको संस्थापन पक्षमा जम्बो टोली निर्माण भएको भन्ने ब्यापक गुनासो र आलोचना भैरहेको छ । हो यो आलोचनाले गर्दा संस्थापन पक्षमा खासै एनआरएहरु आकर्षण नहुने आँकलन शेष घले पक्षको छ ।

एनआरएनएको विवाद समाधानकालागि तीन जना अध्यक्ष बनाउने प्रस्ताव शेष घले समक्ष छलफलकालागि पुर्‍याउँदा घलेले यसमा स्विकारोक्ति नजनाएकोले यसलाईपनि स्थापित गराउने पक्षमा छन् । एनआरएनए जस्तो सामाजिक संस्थाको ईतिहासमा तीन अध्यक्ष धेरै कार्यकारी समितिनै बैठकमा कोरम पुर्‍याउनपनि हम्मे हम्मे पर्ने अवस्था देखिएको भन्दै उनीहरुले यहि बेलामा आफ्नो संस्था सुधारका उपायहरु अवलम्बन गर्ने भएका हुन् ।

संस्थापन पक्षमा पदकालागि मात्रै मरिमेटी गरेको, पद पाएपछि सबै एजेण्डालाई तिलान्जली दिएकाले संस्था होइन कि पद मात्रै हेरेको, पदको स्वार्थले मात्रै तीन चार समुहका दर्जनौंलाई पद बाँडेकाले त्यहाँ शक्ति संघर्ष तिब्र हुने आँकलन गरेका छन् । हो यहि असन्तुस्टी, लडाई, आलोचना र प्रतिस्पर्धा भैरहेका बेला आफ्नो संस्थालाई स्थापित गराउन उपयुक्त अवशरका रुपमा शेष घले पक्षले लिएको छ ।

थोरै बोली, धेरै काम

बैठकमा आफ्नो संस्थाले गरेका राम्रो कामको प्रचार नभएको, गरेका राम्रो कामको सकारात्मक सन्देश दिन नसकिएको, महाधिवेशनका गलत नजिरको आम एनआरएनलाई प्रयाप्त मात्रामा बुझाउन सफल नभएको भन्दै बैठकमा छलफल भएको थियो । त्यसपछि ‘आफूहरु सस्तो प्रचारमा नलाग्ने तर संस्थाको हितमा जानैपर्ने सूचना र कामका बारेमा भने खुलेर बाहिर लैजान थप प्रयास गर्ने निचोड निकालेका थिए ।

बैठकमा केहि ब्यक्तिहरुले प्रवाशका केहि मेडिया आफ्नो संस्था र आफ्ना पक्षका केहि अभियन्ताबिरुद्द चर्को आलोचना गर्ने गरेको, आफूहरुको बारेमा गलत सन्देश जाने गरेको भन्दै छलफल भएको थियो । पत्रकारहरुले आलोचना गरेपनि त्यसमा आक्रमक बन्न नहुने बरु निरन्तर सम्पर्कमा रहेर त्यसका बारेमा स्पष्ठ गराउने र मेडिया मैत्रिबन्नुपर्छ भन्ने तर्क राखेका थिए ।

अघिल्लो आइतवार बसेको बैठकमा शेष घले अधिकांश समय राय दिनेहरुका कुरा सुनेर बसेका थिए । उनले ‘काम गर्ने तपाईहरुले हो । म तपाईहरुका कुरा सुन्छु । हामीले सहयोग र सल्लाह दिने हो । यो संस्था राम्रो बनाउनुपर्छ’ भन्ने अभिब्यक्ति दिएका थिए । र छलफलमा सबैलाई आगामी बैठककालागि आफ्ना आफ्ना सुझावहरु ल्याउन पनि आग्रह गरिएको थियो । आगामी बैठक फेरि आइतवार बस्ने मौखिक सहमति भएको थियो ।

राजनितिक नेत्रित्वबाट राजिनामा

अहिले एनआरएनएमा राजनिति धेरै भयो भन्ने चर्को आलोचना छ । राजनितिक ब्यक्तिहरु एनआरएनएमा लागेर नेताका पार्टी कार्यालय र घरका ढोकै ढोका चाहर्दा एनआरएनए थप बदनाम भैरहेको छ । एनआरएनको यहि तिब्र आलोचना र त्यहि बित्रिष्णालाई ध्यानमा राखेर उनीहरुले कुनैपनि राजनितिक पार्टीको जनवर्गिय संगठनमा रहेकाहरुलाई राजिनामा गर्न लगाउने र राजनितिलाई कुनैपनि हालतमा शुरुदेखिनै भित्रिन दिन हुन्न भन्ने रणनिति बनाउने अधिकांशको तर्क रहेको थियो । यसलाई कडाईका साथ लागु गर्न सकिएमा नेतृत्वमा हानथाप कम हुने, विवाद स्वत कम आउने, राजनितिक पार्टी र नेताको हस्तक्षेप कम हुने र गैर राजनितिक हजारौं हजारलाई आबद्द गर्न सकिने बुझाइ छ ।

१० अर्व प्रोजेक्ट धमाधम उठाइँदै

अहिले शेष घले पक्षले एनआरएनएले नेपालमा लगानीकालागि खडा गर्ने भनेको १० अर्वको प्रोजेक्टकालागि पनि भित्र भित्रै काम गरिरहेको छ । घले पक्षमा रहेका केहि धनाढ्यहरुले यो कोषकालागि लगभग छ अर्वको बचन दिईसकेका छन् । बाहिर हल्ला धेरै नगर्ने र १० अर्व पुर्‍याएर लगानीकालागि अगाडि बढ्ने योजना उनीहरुको छ । उनीहरुले धनाढ्यहरु नेतृत्वमा कम आउने तर संस्थालाई बाहिर बसेर सहयोग गर्ने रणनिति बनाएका छन् ।

कमजोर नैतिक धरातलको फाईदा

अन्तिम अवस्थामा धोका दिएर पद लिन जानेहरुको नैतिक धरातल कमजोर बनेको, आम गैर आवाशीय नेपालीको प्रमुख आलोचना तिनकै भैरहेको, पद लिएरपनि हारेको मनस्थितिमा रहेको, पद लिनेहरुको नैतिक पतन भएको र शिर ठाडो बनाउन सक्ने अवस्था नरहेकाले यसले आफ्नो पक्षलाई ठूलो योगदान गर्ने आँकलन पनि गरिएको छ । संस्थामा आगामी डेढ वर्ष किचलो, बैमनस्यता, प्रचारकालागि तानातान हुने, आगामी निर्वाचनमा उम्मेदवार बन्न अब काम भन्दा निर्वाचनमा लाग्ने भएकाले यो आफूहरुकालागि संस्था स्थापित गराउने र केहि काम गर्न उपयुक्त अवशर रहेको बुझाइपनि शेष घले पक्षको छ ।

तपाइँको प्रतिक्रिया