शुक्रबार, वैशाख ७, २०८१

एनआरएनएको पहिलो चुनौति : घले पक्षतिर लाग्नबाट कसरि जोगाउने ?

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ३ गते १२:२८

अप्रिल ९ का दिन गैर आवाशीय नेपाली संघ संस्थापन पक्षको केन्द्रिय समितिको बैठक थियो । महाधिवेशनपछि आव्हान गरिएको यो बैठकले केहि महत्वपूर्ण निर्णय गर्ला भन्ने आँकलन गरिएपनि फासफुसमै बित्यो । बैठक खासमा महाधिवेशन पछिको बैठक जस्तो ओजिलो, हौशलापूर्ण भएन । किनकि बैठकले कुनै महत्वपुर्ण निर्णयनै गर्न सकेन । महाधिवेशन भएको लगभग पौने एक महिना बितिसक्दापनि संस्थापन पक्षको केन्द्रिय समितिको गतिलो बैठक बस्न सकेको छैन । कार्यकाल जम्मा डेढ वर्ष मात्रै बाँकि रहँदापनि केन्द्रिय समितिको बैठकबाट आफ्नो कार्यकालका एजेण्डाहरु प्रस्तुत गर्न नसक्नु यो जम्बो कार्यकारि समितिभित्र केहि बेमेलहरु छन् भन्ने नै हो ।

बैठक आव्हान गरिंदा केहि महत्वपूर्ण निर्णय गरिने भनिएको थियो । जस्तो- संरक्षक परिषद गठन गर्ने, बिभिन्न टास्कफोर्सहरुको गठनबारे छलफल गर्ने, सललहकार समितिको नाम छनोट र विधानत थप्नुपर्ने मनोनित सदस्यहरुको चयन गर्ने लगायतका थिए । तर ति केहिपनि निर्णय केन्द्रिय समितिले गर्न सकेन ।

जम्बो कार्यकारी समिति भएकाले खासमा कसले के काम गर्ने हो ? कसलाई के कामको जिम्मेवारी दिने, जिम्मेवारी दिए अनुरुप काम गर्न सक्ने हो कि होइन । कुन काम गर्न को लालायित वा इच्क्षुक छ भन्नेनै केन्द्रिय समितिले पत्तो पाउनसकेको छैन ।

कार्यसमितिमा २०० सय भन्दा बढी ब्यक्ति छन् । उपाध्यक्षनै १० र सचिवनै ११ जना छन् । यि दश जना उपाध्यक्ष र ११ जना सचिवले गर्ने के हो भन्ने नै केन्द्रिय समितिमा टुंगो छैन । केन्द्रिय समितिका कतिपयलाई त आफ्नो पद अनुसारको जिम्मेवारी के हो भन्नेनै थाह छैन । थाह हुनेलाई पनि १०, ११ जनाबिच के के जिम्मेवारी बाँड्ने हो र कसले के काम गर्ने हो भन्नेमै रुमल्लिएका छन् ।

गत अप्रिल ९ मा बसेको एनआरएनए केन्द्रिय समितिको बैठकले अर्को बैठक बस्ने मितिसमेत घोषणा गर्न सकेन । बैठक कहिले बस्ने भन्नेमै त्रिपक्षिय प्रस्ताव आए । आगामी बैठक अप्रिलको अन्तिममा बस्ने भनियो ।

त्यसो त, अध्यक्षनैनै तीन जना छन् । पहिलो कार्यकालका अध्यक्ष कुल आचार्यले एक साता भन्दा बढी त काठमाडौंमा नेताहरुका दैला र राजनितिक दलका कार्यालय धाएर, माला, खादा भिरेरै बित्यो । अर्का अध्यक्ष डा बद्रि केसीको स्वभाव फरक छ । उनी खासमा नेताका दैला चहार्ने र पार्टी कार्यालय धाउनमा इच्क्षुक देखिएनन् । उनले केपी ओली, प्रचण्ड र प्रधानमन्त्रीसितको भेटघाट बाहेक अरु नेतासितको भेटघाटमा चासोनै दिएनन् । यहि लाईनमा महासचिव गौरि जोशी र उपाध्यक्ष डा हेमराज शर्मा देखिए । अर्की अध्यक्ष रबीना थापाले के काम गर्न खोजेको हो भन्ने स्पष्ठ देखिन्न । समितिका आशा लाग्दा ब्यक्तिहरुको साहस, चाख र नैतिक बलनै भएजस्तो देखिन्न । जम्बो टोलीमा बसेर काम गर्ने आँट र जाँघरपनि प्रस्फुटन भएको छैन ।

महाधिवेशन सक्किएपछि खुलेर कोहिपनि मेडियामासमेत बोल्न सकेका छैनन् । छलफल गर्न खोज्यो भने समितिका ब्यक्तिहरुनै तर्किन खोजिरहेका छन् । जब कि महाधिवेशन अघि आफ्ना बिचारहरु आम गैर आवाशीय नेपालीसमक्ष राख्न आतुर थिए । लालायित देखिन्थे ।

समितिका ब्यक्तिहरुसित अनौपचारिक छलफल गर्‍यो भने कोहिपनि उत्साहित देखिन्न । हरेकको भनाई हुन्छ – ‘के काम हुन्छ र ? आधा मान्छे त अब निस्क्रियनै हुन्छन् होला ।’

केन्द्रिय समितिका कतिपय ब्यक्ति यस्ता छन् जसलाई आफ्नो पद अनुसार के काम गर्ने हो, कसरि काम गर्ने हो भन्ने अत्तोपत्तो छैन । पदका लागि ज्यान फालेर, एनआरएनएको छाबी धमिलो पारेर आएकाहरुलाई पद पाएपछि काम गर्ने अनुभव छैन । कार्य समितिमा एकदमै अनुभवी ठानिएका करिब देढ दर्जन ब्यक्ति छन् । तिनमापनि उत्साह देखिन्न । यो नेतृत्वमा पदका अति लालायित, अनुभवहिन र संस्थागत अनुभवबिना काम गर्न खोज्ने देखेर यिनमापनि उत्साह मरेको देखिन्छ ।

ति मध्ये कतिपयलाई अहिलेको भेटघाट र खादामाला, नेताको दैला चहार्ने देउसी भैलो शैलीले वाक्क बनाइसकेको छ । महाधिवेशन अघिको आलोचना र एनआरएनएप्रतिको तिखा तिप्पणीहरु काम गरेर देखाउने र साम्य पार्दै लैजाने जुन मनशाय थियो, नेता र पार्टी कार्यलय धाउने देउसी भैलो शैलीले तिनको उत्साह झन खस्केको छ ।

केन्द्रिय समितिका अधिकांश काम गर्ने भनेर चिनिएकामापनि “यो समितिले के नै काम गर्छ र ?’ ‘काम गर्ने केहि ज्ञान, ढंगनै छैन ।’ केहि ज्ञाननै नभैकनपनि के पद लिएको होला ।’ ‘कस्तो लाज नलागेको होला ?’ भनिरहेका छन् । यसले यो कार्यकालमा खासै काम हुने संकेत दिंदैन ।

कतिपयमा ‘यस्तालाई सिकाएर के काम ? सिकायो सिकायो फेरि यसैगरि अर्को महाधिवेशनमा घाँडो हाल्ने त होलान्’ भन्ने अघिल्लो विवाद र बखेडाको थकथकी बाँकि देखिन्छ । भविष्यमा केहि राम्रो काम गरेर देखाउने, संस्था र ब्यक्तित्व दुबै उज्यालो पार्न भनेर लागेकाहरुमा ‘कतिखेर अहिलेको जम्बो, अनुभव र ज्ञानहिन पदबाहकहरुले कतिखेर कहाँ नाम जोडेर बदनाम गरिदिने हुन् भन्ने त्रासमा देखिन्छन् । केहिलाई नसक्ने काम घोषणा गर्लान् र पछि असफल परियोजना घोषणा गरेको भन्ने दाग लाग्ला भन्ने त्राश छ ।

त्यसैले, अहिलेको जम्बो टोलीले राम्रा, गतिला काम गर्ला, नयाँ एजेण्डाहरु ल्याउला र धेरै काम गर्ला भन्ने खासै आशा गर्ने ठाउँ छैन ।

उता शेष घले पक्षले यहि असन्तुस्टि, मनमुटाव र लठभद्र देखेर यहि बिचमा राष्ट्रिय समन्वय परिषदहरु गठन गर्ने तयारि गरिरहेको छ । संस्थापन पक्षमा यहि भद्रगोलले अझै बितृष्णा जाग्ने र यसले आफूहरुलाई थप फाईदा पुग्ने आँकलन गरेको छ । तर एनआरएनएको संस्थापन पक्षका सबैलाई यसमा मतलवपनि छैन । तर सफल, बेदागी, स्वच्छ र संस्थासँगै आफ्नोपनि छबी उज्यालो बनाउन भनेर लागेकाहरुले यो राम्रोसित बुझेका छन् । यो जम्बो टोलीले गर्ने राम्रा र नराम्रा दुबै कामको सफलता र असफलताको भारि आफैंले बोक्नुपर्नेमा ति निस्चित छन् ।

त्यसैले, यो जम्बो टोलीले केहि राम्रा योजना ल्याएर काम गर्न नसकेपनि कम्तिमा बिभिन्न देशका राष्ट्रिय समन्वय परिषदको नेतृत्वलाई शेष घले पक्षतिर लाग्नबाट जोगाउने तिनको प्रमुख ध्येय देखिन्छ ।

संस्थापन पक्षको केन्द्रिय समितिको बैठकपनि राम्रोसित समयमै बस्न नसक्ने, एजेण्डाहरु निस्चित गर्न नसक्ने, गरेका काममापनि असन्तुस्टि हुने, नेतृत्व तहमा हौशला नदेखिने भएपछि संस्थापन पक्षमा झन असन्तुस्टि बढ्छ र त्यसलाई आफ्नो पक्षमा आकर्षण गर्नुपर्छ भन्ने शेष घले पक्षको देखिन्छ । यो संस्थापन पक्षका बाठा, संस्थागत अनुबह्व भएकाहरुलाई थाह नहुने कुरै भएन । त्यसैले संस्थापन पक्ष यो कार्यकाल विवादित भएर कलंकको टिका थाप्न नपर्ने, आलोचनाबाट जोगिने र राष्ट्रिय समन्वय परिषदहरुलाई शेष घले पक्षमा जानबाट रोक्ने प्रमुख एजेण्डामा देखिन्छ ।

गैर आवाशीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै दर्जनौं चुनौतिसमेत थपिएका छन् । तर अहिलेको नेतृत्वसमक्ष सबैभन्दा ठूलो चुनौति भनेको शेष घले पक्षले गठन गरेको एनआरएनएमा कसरि आफ्ना राष्ट्रिय समन्वय समितिहरुलाई संस्थापन पक्षमै रोकिराखेर घले पक्षमा जान नदिने भन्ने हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक