शुक्रबार, चैत १६, २०८०

फ्रान्सको तेस्रो ठूलो पार्टीले राष्ट्रपतीय निर्वाचनमा मत खाली छोड्ने !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ५ गते १०:११

जँ लुक मेलँसों

फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा तेस्रो स्थान ओगटेको वामपन्थी दलले अन्तिम चरणको मतदानमा मतपत्र खाली छोड्ने भएको छ ।

गत अप्रिल १० मा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको परिणामबाट तेस्रोमा परेको वामपन्थी पार्टी ला फ्रँस आँसुमिजका जँ-लुक मेलँसोका समर्थकहरुले अन्तिम चरणको मतदानमा मतपत्र खालि छोडिदिने भएपछि अन्तिम चरणको निर्वाचन पेचिलो बन्ने देखिएको हो ।

वामपन्थी उम्मेद्वार जँ-लुक मेलँशोंको पार्टीका अधिकांश सदस्यहरूले अप्रिल २४ मा राष्ट्रपति एमानुएल माख्रों र उनका चरम दक्षिणपन्थी प्रतिद्वन्द्वी मारिन ल पेन बीचको राष्ट्रपतिको दौडमा आफ्नो मतपत्र खाली छोड्ने आन्तरिक परामर्शले देखाएको फ्रान्सेली मेडियाहरुले जनाएका छन् ।

माख्रोंले सन् २०१७ मा ल पेनलाई सजिलै पराजित गरेपछि राष्ट्रपति पद जितेका थिए । मतदाताहरूले ल पेनको अति दक्षिणपन्थी पार्टीलाई सत्ताबाट टाढा राख्न अन्तिम चरणमा माख्रोंलाई मत दिएका थिए ।

अघिल्लो आइतवार (अप्रिल १०) को प्रारम्भिक मतदानले फेरिपनि माख्रों र ल पेनलाईनै अन्तिम लडाईकालागि छनौट गर्‍यो । तर माख्रोंले यस अघिको अन्तिम चरणमा भन्दा धेरै कडा चुनौतीको सामना गरिरहेका छन् । मेलँशोंले लगभग २२ प्रतिशत भोट जितेर तेस्रो बन्दै अन्तिम चरणमा जानबाट बाहिरिएका थिए ।

मेलँशोंले आफ्ना समर्थकहरूलाई ल पेनलाई भोट नगर्न आह्वान गरेका छन् । पहिलो चरणपछि आफ्ना समर्थकहरूलाई भाषणमा चार पटक ल पेनलाई मत नदिनु भन्दै दोहोर्‍याएका हुन् । तर उनले माख्रोंको वकालत गर्न पनि छोडेका छन् । उनको ला फ्रंन्स आँसुमिज (फ्रान्स अनबोड) पार्टीले उनलाई समर्थन गर्नेहरूलाई मार्गदर्शन गर्न सार्वजनिक परामर्श गर्ने भएको छ ।

आइतवार प्रकाशित नतिजा अनुसार लगभग दुई लाख १५ हजार जनाले सर्वेक्षणमा भाग लिएका थिए । सर्वेक्षणमा भाग लिएका ६६ प्रतिशत भन्दा बढीले आफ्नो मतपत्र खाली छोड्ने वा बिगार्ने बताएका छन् । मात्र ३३ प्रतिशत भन्दा अलिकति बढीले माख्रोंलाई भोट दिने बताएका छन् । ल पेनलाई मतदान गर्ने विकल्प सर्वेक्षणमा भाग लिएका उत्तरदाताहरूलाई दिइएको थिएन ।

“परिणामहरू कसैलाई भोट गर्ने आदेश होइन । मतदाताहरूले आफ्नो रोजाइ र आफूले उपयुक्त देखे अनुसार मतदान गर्नेछन्” मेलँशोंको अभियान टोलीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

लामो समयदेखि फ्रान्समा अति दक्षिणपन्थी र अतिवादी ठानिएका ल पेन जस्ता ब्यक्तिलाई अन्तिम चरणमा वामपन्थी र ग्रीन पार्टीका मतदाताहरुले मत दिने गरेका छैनन् । अन्तिम चरणमा अतिवादीलाई बाहिरै राख्ने गरेको देखिएको छ ।

मेलँशोंका करिब २२ प्रतिशत मतदाता छन् । उनका समर्थकको मतले लगभग निर्णायक भूमिका खेल्ने देखिन्छ ।

तर कहिलेकाहिँ नागरिक र अन्य पार्टीको कटु आलोचना गर्ने, अप्ठेरो शैलीमा प्रस्तुत हुने र कठिन निति अपनाउने गर्दा माख्रोंलाई मेलँशोंका मतदाता सबैले वा निर्णायक हुनेगरि मत दिन्छन् भन्ने भरोसापनि देखिन्न ।

शनिबार इप्सोस सोप्रा स्टेरिया भन्ने सर्वेक्षणले देखाए अनुसार मेलँशोंका मतदाताहरूको लगभग ३३ प्रतिशतले माख्रों र १६ प्रतिशतले ल पेनलाई अप्रिल २४ मा मत दिने देखाएको छ । तर उक्त सर्वेक्षणमा ५० प्रतिशत भन्दा बढी मानिसले कसलाई मत दिने भनेर आफ्नो विचार दिन अस्वीकार गरेका थिए ।

मतदाताहरू बिभाजित र अनिर्णित भएकाले मतदाताहरूलाई विश्वस्त पार्न आफ्नो शिविरभन्दा बाहिर पुग्न सक्ने उम्मेदवारले चुनाव जित्ने सम्भावना छ ।

माख्रोंले आफ्नो आगामी प्रधानमन्त्रीलाई इकोलोजिकल प्लानिङको जिम्मा दिने वाचा गर्दै शनिबार मेलँशोंको मञ्चबाट सीधै आव्हान गरेका थिए । यो नारा मेलँशोंले लोकप्रिय बनाएको अवधारणा हो ।

फ्रान्सको दोस्रो ठूलो शहर मार्सेईमा सयौं समर्थकहरूलाई सम्बोधन गर्दै माख्रोंले आफ्नो नीतिहरूको पूर्ण नवीकरण गर्ने वाचा गरेका छन् । उनले फ्रान्सलाई तेल, ग्यास र कोइलाको खपत अन्त्य गर्ने पहिलो अग्रणी राष्ट्र बनाउने लक्ष्यका साथ ऊर्जा योजना मन्त्री नियुक्त गर्ने समेत बताए ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक