शनिबार, वैशाख १५, २०८१

‘एनआरएनए फेरि एकतावद्द रुपमा अगाडि बढ्न संवादमा छौं’ उपाध्यक्ष श्रेष्ठ

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख ६ गते १९:४८

महेश श्रेष्ठ, भर्खरै सम्पन्न एनआरएनएको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका अभियन्ता हुन । संघ भित्र करिब आधा वर्ष चलेको विवादलाई सुल्झाउन महत्वपूर्ण भूमिका खेलेका श्रेष्ठको कोषाध्यक्षका रुपमा पछिल्लो कार्यकाल पनि उपलब्धिपूर्ण नै मानिन्छ । तर पनि संस्थालाई मिलाउने नाममा जे जस्ता अवस्थाहरु देखिए तिनले एनआरएनएको भविष्यलाई पक्कै पनि सुमधुर गती दिन सक्दैनन । तै पनि अर्को कुनै विष्फोट नहुन्जेलसम्मका लागि झट्ट हेर्दा संघ मिले जस्तो देखिएको छ । यसका वावजुद शेष घलेको एउटा समुह अलग्गिएको छ । श्रेष्ठको भनाइलाई मान्ने हो भने मुलधारबाट अलग भएको पक्षलाई पनि उचित स्थान दिनका लागि संघ तयार छ र यसका लागि वार्ता टोली समेत बनाउने पहल भइरहेको छ ।

“हामी सबै संस्थामा आवद्ध भएको नेपाल र नेपालीका लागि काम गरेर केही योगदान गर्न नै हो । त्यसैले काम गर्ने ठाउँ बनिरहेको अवस्थामा अर्को तर्फ लाग्नु खासै जरुरी छैन” उनले भने । प्रस्तुत छ नेपालप्लसले उपाध्यक्ष महेश श्रेष्ठसँग गरेको वार्ताको संपादित अंश ।

तपाईंहरुको समिती उल्काको जम्बो बन्यो त ! काम कसरी गर्दै हुनुहुन्छ ?

यो विशेष समय र परिस्थितीमा बनेको जम्बो समिती हो । कहिलेकाहिं
कस्तो हुन्छ भने असफल हुनु, छुट्टीनु वा विग्रिनु भन्दा ठुलै समिती बने पनि समाज र समुदायको लागि राम्रै काम गर्छन् भन्ने कुराका धेरै उदाहरण छन । तत्कालिन नेपाली कांग्रेसलाई लिन सक्नुहुन्छ । दुई पार्टीहरु नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक एकिकरण हुँदा जस्तो परिस्थिती उत्पन्न भएको थियो त्यस्तै त नभनौं । तर हाम्रो अवस्था पनि लगभग उस्तै थियो । पक्ष विपक्षमा विभाजित हुँदाको अवस्थामा भएको यो मिलाप कदापी खराव होइन । नेपाली कांग्रेस र अरु पार्टी मिल्दा के भयो, बन्न त ६०५ जनाको जम्बो संसद बन्यो । त्यसले केही समय नेपाली जनतालाई असन्तुष्ट पनि बानायो होला । चौतर्फी विरोध पनि भयो तथापी संविधान त आयो नि । कहिलेकाँही कुनै चिज हेर्दा नराम्रो देखिए पनि त्यसको परिणाम फलदायी हुन्छ । अहिले हाम्रो अवस्था लगभग त्यस्तै हो । तर केही समय प्रतिक्षा गर्नुस यसबाट आउने परिणाम राम्रै हुन्छ ।

त्यहि त यति ठुलो टिम लिएर हिंड्नु भएको छ कसरी अगाडि बढ्दै हुनुहुन्छ ?

पहिले कस्तो थियो भने सबै कुराहरु अन्तर्राष्ट्रिय सचिवालयमा निर्णय हुन्थ्यो । तल्ला निकायहरु भूमिका विहिन जस्ता देखिएका थिए । अहिले यो जम्बो टिमको राम्रो पक्ष के छ भने उपाध्यक्षहरुका विचमा छलफल हुन्छ । सचिवहरुले पनि आफ्नो तहमा छलफल गर्छन् । महासचिवले छलफल गर्छन् । क्षेत्रिय समितिहरुमा पनि त्यस्तै हुने भो । यति धेरै तहमा भएको छलफल पछी पक्कै पनि सकारात्मक निचोड निस्किन्छ । समिती ठूलो भएको फाईदा भनेको यहि हो । हाम्रो काम गर्ने तरिका अब फेरिन्छ । पहिले आइएसले मात्र निर्णय गरेर कुरा सकिन्थ्यो । अब त्यस्तो हुँदैन । विषयमा घनिभुत छलफल हुन्छ ।

ठिक छ, तपाईंहरुका आगामी कार्यक्रमहरु केके छन त ?

एउटा कुरा सबैले के बुझ्नु पर्‍यो भने १९-२१ को जुन कार्यकाल थियो त्यसले संस्थाको एउटा आधार तयार पारेको छ । गैर आवाशिय नेपाली संघको मुख्यगरी केही काम छन । नेपालमा ज्ञान, सिप र पूँजी लगानी गर्ने भन्ने जुन हाम्रो सोच हो त्यसका लागि वा भनौ पूँजी लगानीका लागि कम्पनी खोलिसकेका छौं । यो कम्पनीले लगानी सम्बन्धि काम गर्ने छ । सामाजिक काम गर्नका लागि एनआरएन फाउण्डेशन शुरु भएको छ । नेपालमा गरिने सम्पूर्ण सामाजिक कामहरु यसैले हेर्छ । यि जुन आधार स्तम्भ खडा भएका छन यिनलाई कार्यन्वयनमा लैजाने काम यो कार्यकालमा हुन्छ । यो बाहेक नेपालमा हामीले दशवर्षे निती कार्यक्रम तथा योजना बनाउदै छौं, द्रिष्टिकोण सहितको । यो कार्यक्रम पनि हाम्रो यहि कार्यकालमा शुरु हुँदैछ । यसमा विदेशमा बस्ने विज्ञहरु, नेपालका विज्ञ, राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य महासंघ र सम्बन्धित मन्त्रालय समेतको संलग्नता हुने छ । अहिलेसम्म के भएको छ भने नयाँँ समिती बन्यो कि कहिले के बनाउने, कहिले लाप्राक बनाउने, कहिले धर्मशाला बनाउने काम भएका छन । तर अब कुनै पनि कामहरु निर्वाचित भए पछी होइन कि त्यहाँ भन्दा अगाडि नै अब आउने समितिले के गर्ने भन्ने कुरा पहिले नै थाहा हुन्छ । यो दशवर्षे योजना आएपछी अबको १० वर्षमा के गर्ने भन्ने कुरा हरेक कमिटिलाई थाहा हुन्छ ।

एनआरएनको मुख्य काम भनेको नेपालमा लगानी लैजाने र सामाजिक कार्य गर्ने हो । यि कामहरु मध्ये लगानीका काम लगानी बोर्डले गर्ने भयो भने सामाजिक काम फाउण्डेशनले गर्ने भयो । भने पछी तपाईंहरुको के काम त ?

यो पनि एउटा महत्वपूर्ण कुरा हो । धेरै साथीहरुको यसमा जिज्ञासा पनि छ । सबैले बुझ्नुपर्ने कुरा के हो भने यि दुबै समितिहरु एनआरएन अन्तर्गत नै हुन । यि दुबै समितिहरुले गैर आवाशिय नेपाली संघको छातामुनी रहेर नै काम गर्ने हुन । अहिलेसम्म भोगेका अनुभवले पनि के भन्छन भने हामीले सबै कुराहरु एउटै समितिबाट मात्रै गर्दा कतिपय समस्याहरु आएका छन । अब हामीले सदस्यहरुको ब्यवस्थापनका लागि पनि छुट्टै आयोग जस्तो बनाउँछौ । सबै खाले विवादहरु त्यसैले समाधान गर्दछ । निर्वाचनका लागि केन्द्र देखि राष्ट्रिय परिषदसम्म निर्वाचन समिती बनाउँछौ । त्यस्तै न्याय समिती बनाउछौं । अहिलेसम्म यि कुनै पनि कुराहरु थिएनन । सबै अन्तर् राष्ट्रिय सचिवालयले नै गरिरहेको थियो । र विवादित भएको थियो । अबको सोच यस्ता कुराहरु स्वतन्त्र निकायलाई दिनुपर्दछ भन्ने हो । अब हाम्रो काम भनेको यि सबै आयोगहरु, लगानी बोर्ड र फाउण्डेशनलाई काम लगाउने हो । हाम्रो काम भनेको समन्वयकारी भूमिका खेल्ने हो ।

काठमाडौंमा उभिएर हेर्दा के देखिन्छ भने यो संस्थाले लगानी लगायत सामाजिक कामको गतिलो सुरुवात गर्छ भन्ने प्रतिविम्व देखिन्छ । तपाईंहरुले समन्वयकारी भूमिका मात्रै खेल्ने हो भने यात्रो जम्बो टोली किन चाहियो ?

काम गर्ने त हाम्रै कमिटीले हो । यहिं भएका साथीहरुले नै हो । तर मुख्य कुरा यहाँँ भएका साथीहरु बाहेक अरु पनि साथीहरु यस्ता आयोग र समितिहरुमा अटाउँछन ।

तपाईंहरुको बाँकी रहेको कार्यकालमा लगानिको कार्यक्रम छोडेर अरु के कार्यक्रम छन ?

गैर आवाशिय नेपाली संघका हक अधिकारका कुराहरु छन । दोहोरो नागरिकताका कुरा पनि छन । सुरक्षित श्रमका विषय निरन्तर उठाइरहनुपर्ने छन । युवा र महिलाका कुराहरु छन । यि कार्यक्रमहरु त चलिनैरहन्छन । तर अब देखि धेरै कार्यक्रम र योजनाहरु विभाजित हुने छन । सामाजिक क्षेत्रमा काम गर्न चाहने सबै अटाउने वातावरण बन्छ ।

तपाईंहरुको पछिल्लो कार्यकालमा निर्णय भएअनुसार सामाजिक काम सबै फाउण्डेशनले गर्ने भन्ने छ । फेरि अर्कोतिर तपाईंहरुको नव निर्वाचित अध्यक्षले बृद्ध आश्रम खोल्ने घोषणा गर्नु भएको छ । कसरी तालमेल मिल्यो त ?

अहिलेसम्म हाम्रो फाउण्डेशन दुई प्रकारले परिभाषित भएको छ । एउटा कोष जम्मा आफैं गर्ने हो । त्यसैले कामहरु दुई प्रकारका छन । एउटा फाउण्डेशन मार्फत गर्ने र आफैं गर्ने । फाउण्डेशनको अझै पनि कार्यविधी बनिसकेको छैन । त्यसले पनि प्रत्यक्ष गर्नुपर्ने अवस्था आएको छ । कार्यविधी बनिसकेपछी धेरैजसो काम हामी फाउण्डेशनबाटै गर्छौं । मेरो कुरा के छ भने तपाईं संचारकर्मी मित्रहरु, नेपालका राजनीतिक दल्हरु र नेपाली जनताहरु कसैले पनि गैर आवाशिय संघले केही गरेन, यसले केही गर्दैन भन्ने जस्ता बित्रिष्णा फैलाउने कुराहरु गर्नु भएन । कसरी हेरिदिनु पर्‍यो भने यो धेरै सम्भावना बोकेको संस्था हो । यसले अहिले नगरे भोली गर्ला । भोली नगरे पर्सी गर्ला । एक न एक दिन गर्छ गर्छ । देश बन्नका लागि यो संस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्ने कुरा सबैले बुझिदिनु पर्‍यो । अलिकति केहि समस्या देखिंदैमा यो पुरै संस्था नै गलत भन्ने भावना फैलाउन भएन । त्यसैले भर्खरै कसले के गर्‍यो भन्नु भन्दा पनि संस्थाले वहन गर्ने जिम्मेवारी तर्फ सोचिदिनु पर्‍यो ।

खै वर्ष भैसक्यो खासै देखिने कुरा केही भएको छैन ? मान्छेहरुले कसरी पत्याउने ?

भारत र चीनको विकास कसरी भयो भन्ने कुरा सबैले बुझ्न जरुरी छ । ति दुबै देश अहिलेको अवस्थासम्म पुग्नका लागि शुरु शुरुमा त्यहाँका गैर आवाशिय नागरिकहरुको कती ठूलो भूमिका छ । तपाईंहरुले हेर्नुहुन्न यस्ता कुराहरु । फुर्सद पाए आलोचना गर्न तम्सिनु हुन्छ । ति देशमा पनि एक्कै चोटि लगानी आएको होइन । लगानीको लामो ईतिहास छ । एकै पटक कायापलट हुन सक्दैन ।

लगानीका यति धेरै सपना छन तपाईंहरुका । तर संस्था टुक्रिय जस्तो देखिन्छ । कसरी पुरा हुन्छन सबै सपना ?

कुनैपनि एक जना ब्यक्ति जतिसुकै धनाढ्य भए पनि एक्लै लगानी गर्न सक्दैन । हाम्रो अभियान भने सामुहिक उपस्थितिको अभियान हो । त्यसैले लगानी पनि सामुहिक नै हुन्छ । अहिले एउटा समुह टुक्रिय जस्तो देखिएको छ । बाहिरबाट हेर्दा । तर हेर्दा जस्तो देखिएको छ त्यस्तो भित्री रुपमा छैन । हामीहरु फेरी एकतावद्द रुपमा अगाडि बढ्नका लागि संवादमा छौं । एनआरएनए जम्मा एउटा छ । र यो एउटै रहन्छ । अब वार्ता समिती पनि बन्छ । एउटै समितिमा बसेर एउटै बाटोबाट हिडौं भन्ने प्रयत्न छ । उहाँहरुले विस्तारै विस्तारै बुझ्दै हुनुहुन्छ । हाम्रा अनौपचारिक वार्ताहरु निकै सकारात्मक छन । नेपाल र नेपालीको हितका लागि सबै साथीहरुलाई मुलधारमा आउन म आग्रह पनि गर्दछु ।

तपाइँको प्रतिक्रिया