शनिबार, वैशाख १५, २०८१

कांग्रेसमा विद्रोहको चेतावनी कति मनासिव ?

तिर्थनाथ कँडेल२०७९ वैशाख ७ गते १०:०३

लेखक तिर्थनाथ कँडेल

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको राजनीतिमा केहि गम्भिर गल्त्ति गरेका छन । सर्वोच्च अदालत संवैधानिक इजलासको गत असार २८ को फैसला अनुसार २९ असारमा पाँचौं पटक देशको प्रधानमन्त्री बनेका हुन, देउवा । प्रधानमन्त्री बन्ने प्रक्रिया र राजनीतिक खेल जस्तासुकै भए पनि प्रधानमन्त्रीमा देउवाको सपथग्रहणले धेरै कांग्रेसहरुमा सुखद संचार गराएको थियो । त्यसका कारण थिए । एउटा त राजनीतिक जीवनको निकै अन्तिम अवस्थामा रहेका देउवाले अबपनि फेरि उनै र उस्तै गल्ति दोहर्‍याउने छैनन भन्ने अधिकांशको सोचाइ थियो । अर्को पछिल्लो संसदिय निर्वाचनमा पार्टी हार्नुको विश्वासनिय कारण आफ्नै गलत निर्णय हुन भन्ने कुरा देउवाले बुझेका छन भन्ने थियो ।

त्यसैले आगामी दिनमा देउवाले चाल्ने हरेक कदमहरु देश, जनता र पार्टीको पक्षमा हुने छन भन्ने कांग्रेसको आम सोचाई गलत भयो । सोच र चाहना भनेका सपना जस्तै हुन । सधैं पुरा हुन्छन भन्ने छैनन । पुरा भएनन । तर पनि शेर बहादुर देउवाले आफ्नो बाटो छोडेनन । तिनी हिंडेको गलत बाटो यसपाली पनि फेरिएको छैन । राजनीतिमा रुची राख्ने सबैलाई एउटा के कुरा पक्का थियो भने देउवा नेपाली राजनीतिका असक्षम र असफल पात्र हुन । तर नेपाली कांग्रेसले बहुमत ल्याएर सरकारहरुको बागडोर युवाहरुको हातमा पर्‍यो भने देश फेरिन समय लाग्दैन । त्यस्तो हुन्थ्यो पनि होला । युवाहरुले देश चलाऊन पाए भने नेपाली जनताले फरक देख्न पाउने पनि थिए होला । त्यसका लागि नेपाली कांग्रेसका देउवाइतर पक्षका नेता र आम कांग्रेसका कार्यकर्ताको चाहना विपरित उनी खतरानाक गठवन्धनको जोडमा छन ।

गत स्थानिय निर्वाचनमा समेत गठवन्धन गरेका देउवाले यसपटक पनि उस्तै रणनिती अघि सारेका छन । केन्द्रिय समितिमा शेरबहादुर देउवाका मान्छे छन । उनले बोलेको कुरा काट्न सक्ने न त तिनले कुनै हैशियत राख्छन न तिनिहरुसँग परिस्थितीलाई बुझ्न सक्ने क्षमता नै छ । ति प्राय: यस्ता मान्छेहरु हुन जो देउवाकै निगाहमा केन्द्रिय समितीसम्म पुग्न सकेका हुन । केन्द्रिय समितिको पद उनिहरुलाई देउवाले दिएको विर्ता हो । त्यसकारण देउवाका हरेक प्रस्तावहरुमा सहिछाप ठोक्नु तिनिहरुको जिम्मेवारि हो । शेरबहादुर देउवा त्यही भेलमा बगिरहेका छन ।

तर अहिलेको निर्वाचनमा गठवन्धन गर्ने देउवाको निर्णयले गतिलो परिणाम दिन मुस्किल छ । प्रजातान्त्रिक प्रक्रियामा गठवन्धन गर्नु, जिम्मेवारी साटासाट गर्नु, कसैको समर्थन गर्नु वा विरोध गर्नु आफैंमा सामान्य कुरा हुन । तालमेल र त्यहाँभित्र हुने अन्तरसंघर्ष राजनीतिकै पाटाहरु हुन । तथापी, यो पटक देउवाले आफ्ना कार्यकर्ता र मतदाताको मनोभावना नबुझी गठवन्धन गर्ने गम्भिर गल्ति गर्दैछन ।

चितवनका एक जना प्रभावशाली जिल्ला नेताले भनेका छन ‘शेरबहादुरको हुकुमले मात्र पार्टी चल्दैन । हामीहरु उनका दास होइनौं’ । चितवनबाट मात्र होइन देशैभरिका कार्यकर्ताको आवाज सानेपासम्म पुगेको छ । चार दिन अघि मात्रै पोखराबाट आएको गठवन्धन विरुद्ध विद्रोह गर्ने चेतावनी देउवाको कानमा परेको छ । यसले के देखाउँछ भने केन्द्रिय समिती बाहेक कार्यकर्ता र मतदाताको साथ देउवाको पक्षमा छैन । नेपाली कांग्रेस अहिलेको स्थानिय निर्वाचन पछी गम्भिर आन्तरिक बिद्रोहमा प्रवेश गर्ने छ ।

तर यो विद्रोहले के हुन्छ त ? अन्य पार्टीको तुलनामा नेपाली कांग्रेसको मत धेरै छ । त्यहि धेरै मध्येको मत नै जित र हारको निर्णयक मत हो । देउवाले आदेश दिंदैमा ८० प्रतिशत कांग्रेसका भोटहरु गठवन्धन बाहेकका उम्मेद्वारले पाउने निश्चित छ । त्यो अवस्थामा फाईदामा पर्ने एमाले नै हो । त्यसपछी कांग्रेसका भोटहरु राप्रपाको लिङ्देन समुहले पाउने छ । नेपाली कांग्रेसका लागि यो अवस्था २०७४ को निर्वाचन परिणाम भन्दापनि अझ भयानक किन पनि हुने छ भने आफ्ना उम्मेद्वारहरुले जताततै चुनाव हारे पछी प्रचन्ड समुह र माधव नेपालले देउवाको साथ छोड्ने छन ।

चुनावको लगत्तै केन्द्रिय सरकारको गठवन्धन टुट्ने सम्भावना बलियो बन्दै गइरहेको छ । तर पार्टीका नेता र कार्यकर्ताको असहमतिका वावजुद देउवा यो गठवन्धनलाई अलि लामो समयसम्म जिवित राख्न चाहन्छन । उनले भनेका पनि छन- ‘गठबन्धनको बलमा म प्रधानमन्त्री बनेको हुँ । अहिले चुनावको मुखमा धोका दिन मिल्दैन’ । शेरबहादुरले धोका दिएपनि नदिएपनि अहिलेको निर्वाचनमा मतदाताले भने गतिलोसँग धोका दिंदैछन । यो समय पार्टीमा चर्को आवाज निकालेर भए पनि नेताहरुको दास हुने समय होइन । कांग्रेसका मतदाताले मत दिने बेलामा विद्रोह गर्नुपर्दछ । कार्यकर्ताहरुले आवाज उठाउनुपर्दछ । अब आदेश अति भयो । कार्यकर्ता र मतदाताको कदर नहुने हो भने कसैको आदेश मान्नुको कुनै अर्थ हुँदैन ।

एक जना पोखरेली नेताको भनाइ छ- ‘गठवन्धन नेपाली कांग्रेसको आवश्यकता हुँदै होइन । ६०/६५ हजार मत हामीले ल्याउँछौं । त्यो मत थोरै मत भएका पार्टीमा लगेर खन्याउनु ज्यादै अव्यवहारिक छ । अन्तिमसम्म पनि केन्द्रिय आदेश सच्चिएन भने बिद्रोह हुन्छ’ ति नेताले भने ।

यता केन्द्रिय सरकारमा सत्ता साझेदार रहेका प्रचन्ड र माधव नेपालले पनि यदि स्थानिय निर्वाचन परिणाम सोचे अनुकुल भएन भने आफूहरुले गठवन्धनलाई निरन्तरता दिन नसक्ने जनाउ दिइसकेका छन । देशमा अबको आवश्यकता आन्तरिक विद्रोह हो । अब ब्यवस्था फेर्ने बिद्रोह चाहिएको छैन । नेता फेर्नुपर्ने बिद्रोह जरुरी छ । त्यसको लागि मुख्य भूमिका नेपाली कांग्रेसका कार्यकर्ताले नै शुरुवात गर्ने छन ।

नेपाली कांग्रेस चितवनका पुराना नेता कृष्णलाल सापकोटाले स्थानिय युवाहरुलाई आग्रह गर्दै भनेका छन- ‘पार्टी केन्द्रले माओवादीलाई नगर प्रमुखमा समर्थन गरे जिल्लामा युवाहरूले विद्रोह गर्नुपर्छ । यसपटक कुनैपनि हालतमा माओवादीलाई बोक्न हुँदैन । युवाहरू विद्रोह गर । पार्टी बचाउनुपर्छ । यदि तिमीहरू सक्दैनौ भने म मैदानमा उत्रिन्छु । मलाई साथ देउ’ ।

८४ वर्ष उमेर पार गर्नै लागेका सापकोटाको यो अभिब्यक्तिले नेपाली कांग्रेसको दुरदराज सम्मको संगठनमा ठूलो अर्थ राख्छ । र, भरतपुरको तरंगले देउवाको राजनीतिक जीवनको अवशान गराउने सम्भावना देखाएको छ । बिद्रोहहरु प्राय: प्रिय हुँदैनन । तर कांग्रेसका कार्यकर्ताले अहिले गर्न लागेको बिद्रोह मनासिव छ । नेपाली राजनीतिबाट देउवा जस्ता पात्रहरुको अवशान नभएसम्म न देश बन्छ, न त पार्टी नै ।

तपाइँको प्रतिक्रिया