शनिबार, वैशाख ८, २०८१

नयाँघरेकोे याकजी विमोचन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १० गते १९:१८

निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन भएको छ । प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गरेको उक्त नियात्राका कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन छ ।

विमोचनपछि नाटककार मल्लले भने– ‘डोल्पाली समाजको असाध्यै सक्षम वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ । यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो ।’

समालोचक महेश पौडेलले भने– ‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ । विवरणभन्दा अध्ययन र अनुसन्धानले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न सकेको छ ।’

उनले भने– ‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं ।’

‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको बताउँदै कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार पुस्तकमा भेट्न सकिने बताए ।  उनले निबन्धकार नयाँघरे डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गर्न सफल भएको बताए ।

कला, शिल्प र शैलीको एक विशेष र चमत्कारिक स्वाद हामी यहाँ भेट्न सक्छौँ । नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ
पनि आत्मसात् गरिएको अनुबह्व गर्न सकिन्छ । डोल्पाली समाजलाई अत्यन्तै सक्षम र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन् ।’

यस्तै समालोचक तथा प्रा।डा। सिर्जना शर्मा उप्रेतीले ‘नयाँघरेको लेखनबाट आफू प्रभावित भएको र ‘याकजी’ पढ्न पढ्दा हिमाली सभ्यता, संस्कृति र रहनसहन थाहा पाउन सकिने बताइन ।

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै कर्णालीको विकट क्षेत्रको यात्राबाट आफूले जीवनकै गहिरो दर्शन प्राप्त गरेको धारणा प्रस्तुत गरे ।

नयाँघरेले भने ‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो । विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ । यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु । देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो । हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नुपर्छ ।’

नयाँघरेको यो कृतिमा तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति, जनजीवन र विकटताको वर्णन गरिएकोछ ।

नियात्राकार नयाँघरेको यो १८औंँ कृति हो । रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृति लगायत उनका आठ वटा नियात्राका कृति प्रकाशित छन् । मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन् ।

तपाइँको प्रतिक्रिया