शुक्रबार, वैशाख १४, २०८१

मान्छेको भिडभाडस्थल गौंथलीहरुको तालिमकेन्द्र

नेपालप्लस संवाददाता / धुलिखेल, काभ्रे२०७९ वैशाख ११ गते १८:४८

काभ्रे जिल्ला, धुलिखेल चोकको एक रेस्टुरेन्ट अगाडी सयौं गाडीहरु ओहोरदोहोर गरिरहेका थिए । मानिसहरुको भिड थियो ।सवारी साधनका हर्नहरु उत्तिकै बजिरहेका थिए । तर त्यहि सडक छेउको बिजुली र टेलिफोनका तारहरुलाई गौंथलीहरुले तालिम केन्द्र बनाइरहेका थिए । सयौं मानिस र सवारी साधनको भिडलाई नियाल्दै किशोर किशोरी गौंथलीको माउले बिजुली र टेलिफोनका तारमै आफ्ना बचेरालाई तालिम दिईरहेकि थिई ।

गुँडबाट बाहिर उडाएर जिवन र जगतका बिभिन्न पाटा सिकाउन, बचेरा उड्न, तारहरुमा अडिन, आहारा खोज्न र बस्तिमा सुरक्षित रहन माउले आफ्ना बचेरालाई सिकाउँदै थिई।बचेरालाई उसले तारमा छोडेकि थिई । तारमा अडिन उसले बेला बेला भुर्र भुर्र उड्ने र फेरि तारमै अडिने अभ्यास बचेराले गरिरहेका थिए । ति बचेरा तारबाट उडेर अलिकति पर जाने र फेरि तारमै फर्किने गरिरहेका थिए । तारबाट बेला बेला चिप्लिने र कखस्स्ने गरिरहेका थिए । माउ भने भुर्र भुर्र कतै उडेर गैरहेकि थिई ।  र केहि मिनेटको अन्तरालमा ठोंडमा आहारा च्यापेर ल्याउने गरिरहेकि थिई ।

माउ आएको थाह पाउनासाथ बचेराहरु मुख फट्टाएर ‘आहारा मलाई’, ‘म भोको छु’ भन्ने संकेत माउलाई गरिरहेका थिए ।सबै बचेराले मुख फट्टाएर आहार मागेपनि माउले कुन बचेराले कम खाएको छ, कुन चाहिं बढी भोकाएको छ भन्ने ठ्याक्कै थाह पाइरहेकि थिई । त्यहि अनुसार उसले आहारा बचेराको ठोंडमा राखिदिएकि थिई । कहिलेकाहिँ बचेराहरु बिजुलीका तारमा अडिन नसक्दा अर्को बच्चाको ढाडमा चढेका पनि थिए ।

यो सबै क्रियाकलापमा त्यहि तार मुन्तिरबाट ओहोरदोहोर गरिरहेका सयौं मानिसमध्ये कसैकोपनि ध्यान गएको थिएन । गौंथलीको माउले आफ्ना बचेरालाई आहारा दिने, उड्न सिकाउने अनेक तालिम दिईरहेकि थिई  माउले मानिसहरुको टाउकै माथि रहेका बिजुली र फोनका तारहरुलाई तालिमकेन्द्र बनाईरहेकि थिई ।

तपाइँको प्रतिक्रिया