शुक्रबार, वैशाख १४, २०८१

फेरि शुरु भयो एनआरएनएमा लफडा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १३ गते ३:५४

गैर आवासीय नेपाली संघ (एनआरएनए) भित्र फेरि लफडा शुरु भएको छ । एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सागर सुबेदीको नेत्रित्वमा रहेको कार्य समितिलाई खारेज गरि कृष्ण लामिछानेलाई अध्यक्षमा चयन गरेपछि समग्र एनआरएनए भित्र लफडा शुरु भएको हो ।

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले बुद्धि सागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमितिलाई संघको ८२ औं बैठकको निर्णय बमोजिम स्वतः खारेज गरेको घोषणा गर्दै लामिछानेलाई नयाँ जिम्मेवारी दिइएको जनाएका थिए ।

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकालाई दिएको समय सीमा भित्र आफ्नो सदस्यता बापत तिर्नुपर्ने रकम केन्द्रलाई तिर्न आनाकानी गर्दै आएका थिए ।

‘पटक पटक ताकेता गर्दा समेत संघको केन्द्रीय कार्यालयमा सदस्यता बापतको रकम नतिरेपछि सुवेदीको कार्यसमिति कार्यवाहीमा परेको’ अमेरिकाज क्षेत्रमा संयोजक सापकोटाले सार्वजनिक गरेका थिए ।

तर सापकोटाको निर्णयलाई टक्कर दिंदै एनआरएनए अमेरिकाज क्षेत्रका अर्का क्षेत्रिय संयोजक राम चन्द्र पोख्रेलले आफूलाई एनआरएनए आइसीसीको वर्तमान कार्यसमितिले एनआरएनए अमेरिकाको मान्यता खारेज गरेर नयाँ कार्यसमिति गठन गर्न कुनैपनि पत्र नदिएको उल्लेख गरेका छन् ।

आफ्नो बक्तब्यमा उनले भनेका छन् “विधान र विधि भन्दा बाहिर गएर विना आधार र कारण बुद्धि सागर सुवेदी अध्यक्ष रहेको गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका भङ्ग गरिएको भनी एनआरएनए आइसीसी अमेरिका क्षेत्रका केही पदाधिकारिहरुको नाममा आएको पत्र अवैधानिक छ ।”

पोख्रेलले अप्रिल २३ मा बसेको एनआरएनए आइसीसीको ओवी बैठकले पन्जिकृत सदस्यहरूको शुल्क बुझाउन बाकी रहेका एनआरएनए एनसीसीहरुले अप्रिल ३० अगाडि शुल्क बुझाउने विषयमा पहल थाल्ने निर्णय समेत गरेको उल्लेख गरेका छन् ।

अप्रिल ३० तारिख सम्ममा एनसिसीहरुले तिर्नुपर्ने रकम उठाउने भन्ने निर्णय गर्ने तर त्यस मिति अगाडिनै सदस्यता बापतको रकम नतिरेको भन्दै एनआरएनए एनसिसी अमेरिका खारेज गरेर किन अर्को समिति बनाउने निर्णय गरियो ? यसबारे कसैलेपनि स्पष्ठ पारेका छैनन् ।

एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले बुद्धि सागर सुबेदीको अध्यक्षतामा रहेको कार्यसमिति खारेज भई अध्यक्षमा कृष्ण लामिछाने चयन भएको उल्लेख गरेका छन् भने अर्का क्षेत्रीय संयोजक रामचन्द्र पोख्रेलले भने उक्त निर्णयलाई अवैधानिक भन्दै बुद्धि सागर सुवेदीको नेतृत्वमा रहेको गैर आवासीय नेपाली सङ्घ अमेरिका यथावत् रहेको जानकारी गराएका छन् ।

बाहिरबाट झट्ट हेर्दा एनआरएनए अमेरिकाज क्षेत्रमा देखिएको यो लडाई आन्तरिक हो । तर भित्रिरुपमा यो लडाई केन्द्रिय तहको हो । यो लफडामा केन्द्रिय तहकै अभियन्ताहरुको तानातान र स्वार्थ गाँसिएको छ ।

एनआरएनए अमेरिका लगभग ६५ देशमा रहेका एनआरएनए एनसिसीहरु मध्ये सबैभन्दा ठूलो हो । यहाँ भएको विवादले विश्वभरका एनआरएनएमा प्रभाव पार्छ । धेरै मतदाता भएको र सदस्यताबापतको रकमपनि उच्च भएकाले एनआरएनए अमेरिकाज क्षेत्रमा केन्द्रिय तहका सबै अभियन्ताले प्रभाव पार्न खोज्छन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी संघका पूर्वअध्यक्ष शेष घले निकट थिए । उनले २० हजार पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्क करिब ६० लाख डलर केन्द्रमा बुझाएका छैनन् । अन्य देशका एनआरएनएहरुले केन्द्रलाई बुझाउनुपर्ने सदस्यता बापतको रकम नियम अनुसार बुझाउने तर सुवेदीले भने केन्द्रलाई बुझाउनुपर्ने रकम तिर्न किन आनाकानी गरिरहेका हुन् भन्ने चाहिं क्षेत्रीय संयोजक राम चन्द्र पोख्रेलले आफ्नो बिज्ञप्तीमा खुलाएका छैनन् ।

सुबेदीले केन्द्रलाई बुझाउनुपर्ने सदस्यता बापतको रकम बुझाउन शुरुदेखिनै अनेक शर्त राखेर आनाकानि गर्दै आएका छन् । सुवेदी अघिका सबै अध्यक्षहरुले केन्द्रलाई बुझानुपर्ने रकम आनाकानी नगरि बुझाउँदै आएका थिए । केन्द्रलाई बुझाउने शर्तमै सदस्यहरुबाट उठाएको रकम नबुझाएर केन्द्रसित किन द्वन्द गरेका हुन् भन्ने सुबेदीको स्वार्थ भने बुझ्न सकिएको छैन ।

एनआरएनए अमेरिका क्षेत्रका दुई क्षेत्रिय संयोजकका परस्पर बिरोधी बक्तब्य र निर्णयले एनआरएनए भित्रको आन्तरिक विवाद फेरि छताछुल्ल भएको छ । यो विवादले फेरि केन्द्रिय तहमा थप विवाद निम्त्याउने देखिएको छ ।

विवाद समाधान गरि एनआरएनएलाई एकताबद्द गर्ने पहल स्वरुप तीन जना अध्यक्ष र सबै केन्द्रिय, क्षेत्रीय पदहरुमा बहु पद स्रिजना गरेपनि अन्तत एनआरएनएको विवाद साम्य नहुने देखिएको छ । यो विवादले अब एनआरएनए अमेरिकाको अध्यक्ष को हो भन्ने अन्यौलता समेत बढाएको छ । आम सदस्यहरु कसको निर्णय मान्ने हो भन्ने अन्योलमा परेका छन् ।

तपाइँको प्रतिक्रिया