शुक्रबार, चैत १६, २०८०

नेताले बोल्ने झुटलाई अपराधको दायरामा नराखेसम्म घोषणापत्रहरु औचित्यहिन

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १३ गते १८:०२

फोटो स्रोत- लोकान्तर

गगन थापा नेपाली कांग्रेस भित्रका यस्ता नेता हुन जसले भरपुर अध्ययन गर्छन् र विषयवस्तुको गहिराइसम्म पुग्ने क्षमता राख्छन । देशको अहिलेको अवस्था ठ्याक्कै कस्तो छ भन्ने कुरा अध्ययन गर्ने गगन थापा मात्र होइन जस्तो सुकै भुत्ते नेतालाई पनि थाहा छ । अहिलेको स्थानिय निर्वाचनलाई लक्षित गरेर गगन थापाको टोलीले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । थापाले हात हालिसकेपछी पक्कै पनि त्यो काम गहिराइसम्म पुग्छ नै । उनले गरेको मेहनत घोषणा पत्रमा देखिन्छ पनि ।

घोषणा पत्र भनेको पार्टीको शंकल्प हो । आगामी पाँच वर्षमा पार्टीले गर्नुपर्ने कामको फेहरिस्त पनि हो । पार्टीले गर्नुपर्ने कामलाई थापाको टोलीले निकै अनुसन्धान गरेर सतहमा ल्याएको छ । तर मुख्य प्रश्न भनेको पार्टीले घोषणा पत्रलाई आफ्नो आधार मान्छ कि मान्दैन भन्ने हो ।

यहाँँनेर बेलायतको एउटा प्रसंग सामयिक हुन सक्दछ । सन २०१० मा भएको त्यहाँको संसदिय निर्वाचनमा डेभिड क्यामरुन कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेद्वार थिए । चुनावी प्रचारका क्रममा निकै लामो समय देखि स्कटल्याण्डलाई अलग्गै देशको मान्यता दिने कि नदिने भन्ने आवाजको निरुपणका लागि उनले जनमत संग्रह गराउने प्रतिवद्दता ब्य्क्त गरे ।

सन् २०१४ को सेप्टेम्बर १८ मा जनमत संग्रह भयो । अधिकांश स्कटिस जनताले संयुक्त राज्य अन्तर्गत नै रहने पक्षमा आफ्नो मत जाहेर गरे । त्यसपछि २०१५ मा भएको संसदिय निर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्यायो । प्रधानमन्त्री क्यामरुन नै बने । त्यो निर्वाचन हुनुभन्दा केहि अघि देखि बेलायतमा आप्रवासीका बारेमा बिभिन्न बहस चलेका थिए । माझौला र तल्लो वर्गका बेलायतीहरुले आप्रवासीहरुका कारण आफूहरुले प्रयाप्त सुविधा नपाएको गुनासो गरिरहेका थिए । यो मामिलामा पार्टी दुई खेमामा बाँडिएको थियो । एउटा पक्षले बेलायत युरोपियन युनियनबाट अलग्गिनु पर्ने धारणालाई हुर्काइरहेको थियो भने अर्को पक्ष बद्लिंदो विश्व परिवेशमा युनियनसँगको सम्बन्ध अझै मजबुत बनाउने लविङमा थियो । त्यस भन्दा अघि भएको संसदिय निर्वाचनमा निकै आवाज उठिरहेको यो विषयमा क्यामरुनले जनमत संग्रह गराउने प्रतिवद्दता ब्यक्त गरे ।

हुन त यो विषय निरन्तर उनको पार्टीमा उठिरहेको थियो र पार्टीको एउटा ठूलो समुह ईयुबाट अल्लग्गिने पक्षमा थियो । तर क्यामरुन ब्यक्तिगत रुपमा भने विपक्षमा थिए । तैपनि मतदातासँग उनले जनमत संग्रह गराउने प्रतिवद्दता ब्यक्त गरे । आफ्नो दोस्रो कार्यकालको लगभग एक वर्ष पछी भएको जनमत संग्रहमा ईयुबाट अलग्गिने पक्षमा ५१ प्रतिशत जनताले मतदान गरे ।

जनमत संग्रह अघि क्यामरुनले भनेका थिए “म खासमा केहि पनि होइन । म हुनु र नहुनुले कुनै मायाना राख्दैन र म सधैंभरी हुँदिन पनि । तर जनता सधैंभरी रहिरहन्छन । यदी मैले जनतासँग गरेका प्रतिवद्दता पुरा गरिन भने एक सय वर्ष पछी पनि जनताका माझमा म झुटो भइर्हने छु ।”

उनले जनमत संग्रह गराए । बेलायत ईयुबाट अलग भयो । उनले प्रधानमन्त्रीबाट रजिनामा दिए । क्यामरुनलाई चुनाव हुनुभन्दा केही अगाडि नै के थाहा थियो भने यदि जनमत संग्रह भएको खण्डमा बेलायत ईयुबाट बाहिरिन सक्दछ । किनभने आप्रवासीको मुद्दा बेलायतीहरुका चुल्हासम्म पुगेको थियो । चुनावका बेलामा प्रतिवद्दता जनाएका सबै विषय सम्बोधन नहुन पनि सक्थे । उनले त्यहि गरेको भए हुने थियो । तथापी उनले जनमत संग्रहको घोषणा गरे ।

क्यामरुनले एउटा अन्तर्वाताका क्रममा भनेका थिए- “जनतालाई ढाँट्नु भनेको अपराध हो । यस्तो अपराध कम से कम मबाट नहोस् ।”

विश्वमै बेलायती प्रजातन्त्र उदाहरणिय मानिन्छ । धेरै ठाउँमा त्यस्तै अभ्यास पनि भएका छन । नेपालले पनि प्रजातन्त्रका केहि न केही आधारभुत तत्वहरु लिने भनेको भारत पछी बेलायत नै हो । तर पनि नेपालका राजनीतिक दल र तिनका नेताहरुले दशकौंसम्म जनतासँग झुट बोलेका छन । जबसम्म सार्वजनिक कार्यमा रहेका पार्टी अथवा नेताहरुको झुटलाई अपराध मानिंदैन तबसम्म जस्तासुकै फुलबुट्टा भरेका घोषणा पत्र आएपनि पुरा हुन सक्ने विश्वाशिला आधारहरु रहँदैनन ।

गगन थापाको टोलिले सार्वजनिक गरेको पार्टीको घोषणा पत्र मिहिन छ । अत्यन्त राम्रो छ । अबको पाँच वर्षमा उल्लेखित प्रतिवद्दताहरु मध्ये पचास प्रतिश मात्र पुरा हुने हो भने देशको कायापलट हुन्छ । कांग्रेसको मात्र कुरा होइन, एमाले अथवा माओवादी र अन्य दलहरुले ल्याएका घोषणा पत्रहरुमा लेखिएका आधा बुँदाहरुले मात्र पनि यो देशलाई कुनै अरु देशको तुलना भन्दा माथि नै पुर्‍याउने पक्का हुन्छ । तर समस्या उहि छ । पार्टी र तिनका नेताहरुले सत्य बोल्दैनन् । गगन थापाले पनि बोलेका छैनन । उनलाई पनि थाहा छ ८८ पेज लामो घोषणा पत्रका ९० प्रतिशत बुँदाहरु पुरा हुँदैनन ।

एउटा सामान्य कुरा, नेपाली कांग्रेसले सबै खाले चुनावमा जारी गर्ने घोषणा पत्रको पहिलो पृष्‍ठमा पारदर्शिताको कुरा हुन्छ हुन्छ । फेरि आफैं भित्रको कुरा खै त जनतालाई भनेको ? नेपाली कांग्रेस पार्टी कसरी चलेको छ ? आयश्रोत के हो ? कति खर्च हुन्छ ? पहिले त आफ्नै पार्टीलाई पारदर्शी बनाउनु पर्‍यो !

गगन थापालाई सोध्न मन लागेको एउटा प्रश्न- अब तपाईंहरुले पार्टीको लेखापरीक्षण कहिले बाट शुरु गर्नुहुन्छ ? जनताले तपाईंको आयब्ययको रिपोर्ट हेर्न पाउँछन ? जबसम्म तपाईंहरुले आफूलाई सुधार्नु हुँदैन तबसम्म जनताले तपाईंहरुले जारी गरेको घोषणा पत्र लागु हुन्छ भनेर पत्याउँदैन । कसरी पत्याउने ?

२०४८ लाई हेर्ने हो भने पनि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्रमा अहिले जे समेटिएका छन तिनै कुराहरु समेटिएका थिए । अहिले उल्लेख गरिएका केही कुरा हेरौं- नागरिकको ज्ञान, सीप र क्षमतामा वृद्धि गरी तिनको जीवनस्तर उकास्ने, अन्ततः तिनका मुहारमा खुशी र आशाको उज्यालो ल्याउने साझा प्रयत्नले नै समुन्नति हासिल हुने हो ।

त्यसैले नेपालको अर्थनीति र विकासको बारेमा बहस गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको हाम्रो सामाजिक पूर्वाधारको निर्माण नै हो । गुणस्तरीय शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र नागरिकको समग्र क्षमता र सृजनशीलतालाई उत्प्रेरित गर्ने पूर्वाधारको निर्माण संवैधानिक र नैतिक दायित्वमात्र होइन, त्यस्ता नागरिक नभई मुलुकको सम्पन्नता सम्भव नै छैन । यहि आशयका प्रतिवद्दताहरु नेपाली कांग्रेसले कति पटकसम्म उल्लेख गरे होला । अनी किन पुरा हुँदैनन ?

फेरि अबका दिनहरुमा नेपाली कांग्रेसले तर्जुमा गर्ने नितीमा सुत्केरीलाई राहत, शिक्षा, स्वास्थ्य, नवजात शिशुलाई सरकारी राहत जस्ता कुराहरु पर्लान भनेर कसरी विश्वास गर्ने ? जनतालाई थाहा छ, घोषणा पत्रहरु क्षणिक हुन । दिर्घकालिन नेताहरुले बोल्ने झुट हो । जबसम्म नेताहरुले बोल्ने झुटलाई अपराधको दायरामा राखिंदैन तबसम्म घोषणापत्रहरु पत्रमै सिमित हुन्छन ।

तपाइँको प्रतिक्रिया

फेसबुक