बिहीबार, वैशाख ६, २०८१

फ्रान्सको राष्ट्रपतीय निर्वाचनका पाँच मुख्य प्रभाव

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख १३ गते १९:२१

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंले अति दक्षिणपन्थी पार्टीका प्रतिद्वन्द्वी मारिन ल पेनलाई पराजित गरेर दोस्रो पटक राष्ट्रपतीमा बिजयी बने । ल पेनले अहिलेसम्मकै उत्कृष्ट मत ल्याए पनि माख्रोंले आइतबार पुनः चुनाव जिते । माख्रोंको पार्टीले अब जुन महिनामा हुने संसदीय चुनावको अगाडि एक अप्ठेरो लडाईको सामना गर्ने छ । किनभने वामपन्थी, पुरानतवादी र दक्षिणपन्थी पार्टीका प्रतिद्वन्द्वीहरूले उनीसित लड्ने बाचा गरिरहेका छन् । यो राष्ट्रपतीय निर्वाचनलेपनि संसदिय निर्वाचनमा भूमिका खेल्ने छ । हाल भएको राष्ट्रपतीय निर्वाचनले फ्रान्समा मुलत पाँच प्रभावहरु देखाएको छ ।

विभाजित राष्ट्र

फ्रान्सको चुनावपछिको नक्साले चकित पार्ने गरि क्षेत्रीय असमानताहरू देखाएको छ । माख्रोंले राजधानी पेरिस, पश्चिम क्षेत्र, दक्षिणपश्चिम र देशको केन्द्रिय भागमा ठूलो मात्रामा समर्थन पाए । जबकि उनका प्रतिद्वन्दी ल पेनले संघर्षरत उत्तरी औद्योगिक केन्द्रहरू, भूमध्यसागरको दक्षिण र फ्रान्सेली बसोबास भएको विदेशी क्षेत्रहरूमा समर्थन जितेकि छन् ।

ठूला सहरी केन्द्रहरू, उच्च-मध्यम वर्ग र वृद्ध मतदाताहरूले माख्रोंलाई समर्थन गरे भने कम आय भएका समूहहरूले ल पेनको पक्षमा अत्यधिक मतदान गरे । कम आए भएका मध्येपनि फ्रान्सेली रैथानेहरुको मत उनलाई परेको हो ।

तर ‘इप्सोस फ्रान्स पोलिंग फर्म’ का अनुसन्धान निर्देशक म्याथ्यु गालार्डका अनुसार सहरी समर्थक माख्रों क्याम्प र ग्रामीण भेगमा ल पेन समर्थकहरू बीच विभाजित देशको कल्पना गर्नु गलत हुनेछ ।

“सबैभन्दा ठूलो बिभाजन भनेको पुस्ताबिच र सामाजिक स्तरको हो” ग्यालार्डले भनेका छन् ।

बढ्दो बहिष्कार

निर्वाचनमा मतदान ७२ प्रतिशत मात्र थियो । फ्रान्समा सन् १९६९ पछि कुनै पनि दोस्रो चरणको मतदानमा अनुपस्थित संख्या यति धेरै भएको पहिलो पटक हो ।

माख्रोंका लागि डरलाग्दो संकेत के हो भने आइतवार मतदान केन्द्रहरूमा जानेहरु मध्ये ८ दशमलव ६ प्रतिशतले कुनै पनि उम्मेद्वार स्वीकार्य छैन भन्ने सन्देश पठाउनको लागि निर्वाचनको विरोधमा मतदान गरे । आइतवारको निर्वाचनमा करिब ६ दशमलव ३५ प्रतिशत भोट “खाली” (ब्ल्यान्क) थियो । अर्को २ दशमलव २५ प्रतिशत मत “शून्य” थिए । उम्मेदवारको नाममा ‘क्रस आउट’ गर्ने वा मतपत्र बदर गरिएको थियो ।

देशको सबैभन्दा शक्तिशाली पदकालागि भएको निर्वाचनमा यति धेरै नागरिकहरुले निर्वाचनप्रति घृणा प्रकट गर्नु माख्रोंकालागि मात्रै नभएर समग्र फ्रान्सको राजनितिकैलागि शुभसंकेत होइन ।

सडक आन्दोलन र असन्तुष्टि

आइतवार चुनावको नतिजा सार्वजनिक भएपछि पेरिस, रेन र तुलुज लगायतका शहरहरूमा छिटपुट विरोध प्रदर्शन भए । फ्रान्सका उम्मेदवारहरु देखेर क्रोधित भएका वामपन्थी प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रु ग्यास प्रयोग गर्नुपर्‍यो । बिरोध प्रदर्शनकारीहरुको भनाई  माख्रों र ल पेन दुबै फ्रान्सकालागि अनुपयुक्त उम्मेदवार हुन् भन्ने थियो ।

विरोधहरू अपेक्षाकृत रुपमा सानो भए तापनि त्यसले भविषयमा चर्को रुप लिनसक्छ, असन्तुष्टीहरु अझै बढ्नसक्छ भन्ने लक्षण देखाएको छ ।

“यहाँ हामी पेरिसको कुलीन वर्गको नेतृत्वमा उदारवादको अर्को पाँच वर्ष भोग्न बाध्य भएका छौं जसले देशलाई धेरै नोक्सान पुर्याएको छ” मतदान नगर्ने तुलुसका प्रदर्शनकारी जोरोनी पिक्सले फ्रंस २४ न्युजलाई भने ।

पुस्ताको विभाजन

मात्र ४४ वर्षका माख्रों अझै पनि युवा मतदाताहरूमा ठूलो प्रभाव पार्न संघर्ष गरिरहेका छन् । युवा भएतापनि उनी पाकाहरुको मतमा निर्भर रहेको निर्वाचनको मतदानले देखाएको छ ।

‘इप्सोस’ र ‘डाटा एनालिसिस फर्म सोप्रा स्टेरिया’ को तथ्यांकले देखाएको छ, १८ देखि २४ वर्ष उमेर समूहका ६१ प्रतिशतको मत माख्रोंलाई परेको छ भने त्यो उमेर समूहका ४१ प्रतिशतले मतदान नै गरेनन् ।

उनको जितको मार्जिन २५-३४ र ३५-४९ वर्षका बीचमा कम थियो । ल पेनको ५०-५९ वर्ष उमेर समूहका बीचमा माख्रोंभन्दा अलिकति अगाडि थियो ।

इप्सोस-सोप्रा स्टेरियाको रिपोर्ट अनुसार ७१ वर्ष वा त्यो भन्दा बढी उमेरका व्यक्तिहरूबाट ७१ प्रतिशत भोटहरू सहित माख्रोंले समर्थन पाए । तिनैको भोटको आधारमा भरोसा गर्नसक्ने अवस्था देखायो ।

राजनीतिक विश्लेषक जेरोम जाफ्रेले एलसिआई टेलिभिजनलाई भनेका छन् “हामीसँग एक वृद्ध फ्रान्स छ जसले एमानुएल माख्रोंलाई व्यापक रूपमा समर्थन गर्यो । र एउटा युवा फ्रान्सले आंशिक रूपमा मतदानमा आफ्नो पीठ फर्कायो । यो एक प्रमुख समाजशास्त्रीय खाडल हो ।”

माख्रोंले गुमाए फ्रान्सेली क्षेत्र

फ्रान्सेली बसोबास रहेको बिदेशी क्षेत्र (ओभरसिज टेराटोरी) मा ३० लाख नागरिक छन् । उनी ति क्षेत्रमा आफ्नो पहुँच बलियो बनाएर विश्वब्यापी पहुँचमा खेल्न रुचाउँछन् । तर माख्रोंले त्यो प्रभाव देखाउन सकेनन् ।

ल पेन फ्रान्सको मुख्य क्यारेबियन टापुहरू ग्वादलुप र मार्टिनिकका साथै दक्षिण अमेरिकाको फ्रेन्च गुयाना, रियुनियन र मायोटको हिन्द महासागर टापुहरूमा सजिलै शीर्ष स्थानमा देखापरिन् । यो माख्रोंकालागि ठूलो हार वा अलोकप्रियताको संकेत हो ।

माख्रोंले न्यु क्यालेडोनिया र फ्रेन्च पोलिनेसिया जस्ता प्रशान्त टापुहरूमा मात्रै जित हासिल गर्न सके ।

“माख्रों विरोधी भावनामा पर्याप्त शक्ति छ” पेरिसको साइन्स पो विश्वविद्यालयका राजनीतिक वैज्ञानिक मार्शल फुकोले भने “ल पेनको भोट पूर्वनिर्धारित रूपमा आएको हो । यसको मतलब उनलाई समर्थन गरेर होइन । संस्थागतरुपमा पूर्व तयारि र सिफारिसका भरमा आएको हो ।” यसको अर्थ माख्रों फ्रान्सको समुद्रपार क्षेत्रमा रहेका आफ्नै भूमीमा कमजोर छन् भन्ने देखाउँछ ।

(फ्रान्स २४ र एएफपीको सहयोगमा)

तपाइँको प्रतिक्रिया

फेसबुक