बिहीबार, जेठ १२, २०७९

डिजिटल प्रविधिद्वारा तेस्रो कृषि क्रान्तितिर फ्रान्स

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख १५ गते १७:५८

फ्रान्सको एग्रोटेक कम्पनीका ड्रोन इन्जिनियर फ्रंस्वा सोलेमेन हरेक विहानजसो कृषि क्षेत्रमा पुग्छन् । उनी सयौं हेक्टरको जमिनमा बिभिन्न जातका गहुँ, जौ लगायतका खेतीको ड्रोनबाट फोटो खिच्छन् ।

पेरिसबाट करिब ३५ किमी उत्तरतर्फको विश्वविद्यालय क्षेत्र जिफ सुर ईभेतको जौ बारीमा एकाविहानै ड्रोन उडाईरहेका बेला भेटिएका उनले भने “हजारौं श्रमिकले गर्ने काम ड्रोनले केहि मिनेटमै गर्छ । म वाली कति बाक्लो, पातलो छ, कति हुर्किएको वा बिग्रिएको छ, किरा कस्ता खाले कुन् खाले लागेका छन् भनेर तस्विर खिच्छु । त्यसपछि तिनलाई कम्प्युटरको विशेष प्रोग्रामले विश्लेषण गर्छौं । ”

फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रों फ्रान्सको कृषि फार्महरूलाई “टेक स्टार्ट-अप” मा परिणत गर्न चाहन्छन् । उनले त्यो घोषणा गरेपछि कृषिमा प्रविधिकरणका नयाँ उपाय ड्रोन, भिडियो लगायतले तिब्रता पाइरहेको छ ।

“डिजिटल, रोबोटिक्स, आनुवंशिकी तेस्रो कृषि क्रान्तिको स्तम्भहरू हुन्” एमानुएल माख्रोंले शनिबार फर्वरी २६ मा पेरिसस्थित कृषि प्रदर्शनी भ्रमणको क्रममा उल्लेख गरेका थिए ।

राष्ट्रपतिले कृषि पेशाका प्रतिनिधिहरूलाई जम्मा पारेर भनेका थिए “फ्रान्स सन् २०३० सम्ममा डिजिटल कृषि तर्फ जान्छ । ‘रिकभरी प्लान’ मार्फत लगभग तीन अर्व यूरो कृषिलाई डिजिटल माध्यममा लैजान प्रत्येक क्षेत्रमा समर्पित गरिसकिएको समेत उनले उल्लेख गरेका थिए ।

युरोपले हालैका दशकहरूमा मुख्यतया रासायनिक क्रान्तिको अनुभव गरेको र त्यसैमा उदाइरहेको छ । उत्पादनको वृद्धि घटाएर यसबाट बाहिर निस्कन नसकिने निचोडमा फ्रान्सेली सरकार पुगेको छ । १९ औं शताब्दीको कृषिमा फर्केर यसबाट बाहिर निस्कन नसकिने भनाई सोलेमनको छ ।

“परम्परागत कृषिले अब हाम्रो जनसंख्यालाई खुवाउन सक्दैन वा अहिलेसम्मको कृषि नितिले अबको जनसंख्यालाई धान्न सक्दैन । प्रतिस्पर्धा, नवप्रवर्तन, डिजिटलाईज्ड परिचालनबाट मात्रै हामी यो समस्याबाट बाहिरिन सक्छौं । त्यसैले फ्रान्सले डिजिटल कृषिमा ध्यान केन्द्रित गर्दै छ” उनले भने ।

सोलेमन सँगै ड्रोन उडाईरहेकि थिईन अर्की ईन्जिनियर ब्रिजिट ईर्वा । नव डिजिटल प्रविधिहरू प्रयोग गरेर गाईवस्तुको खनिज सेवन नियन्त्रण गर्न, दूध उत्पादन बढाउन र पशुधनमा रोगहरूको प्रारम्भिक पहिचान सक्षम गर्न मद्दत गर्ने उनले बताईन् । उनको भनाईमा क्रप सेन्सर र इयर ट्यागहरूमा भर परेर किसानहरूले वातावरणीय प्रभावलाई कम गर्दै उत्पादन बढाउन सक्ने प्रमाणित भैसकेको छ ।

यी परियोजनाहरूमा पाइलट गरिएका धेरै डिजिटल उपायहरू पहिले नै फ्रान्सेली बजारमा उपलब्ध छन् जुन आज वास्तविक जीवनका अनुप्राग (एप्स) हरूमा प्रयोग गरिन्छ ।

डिजिटल खेतीका प्लेटफर्महरू, कृषि मेसिन निर्माणकर्ताहरू र स्मार्ट पानी व्यवस्थापन प्रणालीहरूको विकासले उदाउँदो डिजिटल समाधानहरू दिन्छ जसले खेतमा किसानहरूलाई समर्थन गर्न बलियो भूमिका प्रदर्शन गरेको भनाई ब्रिजिटको छ ।

होराईजन २०२० कार्यक्रम अन्तर्गत ईयु कोषको लगभग एक अर्व यस्तै डिजिटल प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि उपलब्ध गराइएको थियो । युरोपेली आयोगले डिजिटाइजेसन युरोपियन उद्योग (डेइ) अन्तर्गत त्यो पहल गरेको हो ।

राष्ट्रपति एमानुएल माक्रोंले अभिमुखीकरण र कृषि भविष्यको प्रमुख सुनिस्चितता निर्माण गर्न चाहेको घोषणा गरेका छन् । त्यसको उद्देश्य सन् २०२० मा १२ हजार पाँच सय तुलनामा आगामी वर्षहरूमा प्रति वर्ष २० हजार प्रतिष्ठानहरूमा पुगेर पुस्ताको नवीकरण गर्ने, भएकालाई प्रवर्द्धन गर्ने हो ।

पछिल्लो दश वर्षको कृषि जनगणना अनुसार फ्रान्सले सन् २०१० देखि २०२० को बीचमा दश लाख भन्दा बढी कृषि फार्महरू गुमाएको छ । लगभग ६० प्रतिशत कृषकहरू सन् २०२० मा पचास वर्ष भन्दा माथिका थिए ।

“कृषिलाई डिजिटलाईज्ड रुपमा लैजान सकिएन भने युवा पुस्ता आकर्षित हुन्न । अहिले कृषिले हामीलाई धान्दैन भनेर डिजिटल कृषि, आधुनिक कृषि, रोबोटिक, ड्रोन कृषि लगायतका प्रविधिमा लैजान खोजिएको हो” सोलेमनले सुनाए ।

फ्रान्सेली फार्म प्राविधिक स्टार्ट-अपमा रूपान्तरण

फ्रान्सले आफ्ना कृषि फार्महरुलाई प्राविधिक स्टार्ट-अपमा रूपान्तरणको घोषणा गरिसकेको छ । कन्फेडेरेसन पेइजँ (किसान संघ) ले यसलाई स्वागत गरेको छ ।

तेस्रो कृषि क्रान्ति आवश्यक रहेको र त्यसलाई डिजिटल, रोबोटिक्स, नवप्रविधि बीचको मिश्रण हुनुपर्ने भन्दै किसान संघका प्रवक्ता निकोलस गिरोडले साप्ताहिक व्यावसायिक कृषि फ्रान्समा घोषणा गरेका छन् । उनीहरुले अब किसानहरु मानव श्रममा भर पर्न नसक्ने र त्यसले कृषिलाई धान्न नसक्ने हुनालेपनि डिजिटल पद्दतीमा लैजानुपर्ने बताएका छन् ।

‘एउटा ड्रोनले आधा घण्टामा सयौं हेक्टरको अवस्था पहिल्याउँछ, बिज र औषधी, मल छर्छ । ड्रोनले आधा घण्टामा गर्ने कामकालागि सयौं मजदूर चाहिन्छ । त्यसैले फ्रान्सलाई अब डिजिटलिकरण गर्नुको बिकल्पनै छैन” सोलेमानको तर्क छ ।

फ्रान्स सरकारले इन्टरनेट अफ फूड एन्ड फार्म २०२० (आइओएफएफ २०२०) अभियान जनवरी २०१७ मा सुरु गरेको थियो । लगभग तीन करोड युरो लगानी गर्‍यो । यसले दुई पारिस्थितिक प्रणालीहरू: कृषि-व्यवसाय र उन्नत आईसीटी आपूर्तिकर्ताहरू सँगै ल्याएर खाना र खेतीमा इन्टरनेट अफ थिंग्स (आइओटि) को सुविधा प्रदान गर्न केन्द्रित गर्‍यो । यी दुवै इकोसिस्टमले कृषिमा डिजिटल आविष्कारलाई बढावा दिन मद्दत गरेको छ ।

आइओएफ २०२० एक किसान-केन्द्रित परियोजना हो । २२ ईयु सदस्य राष्ट्रहरूमा ३३ वटा कार्यक्रम संचालित छन् । पाँच विभिन्न कृषि परीक्षण क्षेत्रहरू छन्- कृषिजन्य, दुग्ध, फलफूल, तरकारी र मासु ।

आइओएफ २०२० ले हाल प्रणालीहरूमा काम गर्न विभिन्न डिजिटल प्रविधि प्रयोग गर्दछ । अघिल्लो चरणहरूमा विकसित गरिएका एपहरू प्रयोग गरेर । बालीहरूमा ताररहित सेन्सरहरू स्थापना गर्न र गाईहरूमा स्मार्ट इयर ट्यागहरू जडान गर्नाले किसानहरूलाई कम वातावरणीय प्रभावमा बढी खाना उत्पादन गर्न अनुमति दिएको ड्रोन विशेषज्ञ ब्रिजिटको भनाई छ ।

“बथानको खनिज सेवनलाई नियन्त्रण गर्नाले तिनीहरूको मलमा अमोनिया र फस्फेटको मात्रा घटाउन सक्छ । त्यसले खेतमा बग्ने पानीको गुणस्तरलाईपनि प्रभाव पार्छ” ब्रिजिट भन्छिन् ।

एउटा विशिष्ट आइओएफ २०२० को काम कृषि मेसिन निर्माणकर्ताहरू प्रयोग गर्नु हो । तिनीहरूले उपकरणको मानक र अन्तरसञ्चालनमा उत्कृष्ट प्रगति गरेका छन् । त्यसले इन्धन खपतमा १० प्रतिशत कमी र माटोको उर्वरतामा १० प्रतिशत वृद्धि भएको छ ।

आइओेएफ २०२० को प्रयोग अन्तर्गत् परिक्षण गरिएको पशु फार्महरू मध्ये एउटाले कनेक्टेर कंपनीद्वारा विकसित सफ्टवेयर प्रयोग गर्दा दूध उत्पादनमा बृद्धि भयो । बाच्छा वा बाच्छी पाउने अन्तराल लम्बियो र एन्टिबायोटिकको उपचार गर्ने दिनहरू ६० प्रतिशत भन्दा बढीले घटेको देखियो । प्रारम्भिक रोग पत्ता लगाउने किसानलाई केही दिन पहिले उपचार सुरु गर्न अनुमति दियो जसले पशु ब्यवशायीलाई धेरै ठूलो फरक पारेको तर्क सोलेमानको छ ।

यो प्रविधि प्रयोग गर्दा स्मार्ट एयर ट्याग गरिएका लगाएका बथानहरूमा दूध उत्पादनपनि ११ प्रतिशतले बढ्यो भने दूधको गुणस्तर २० प्रतिशतले सुधार भयो । ट्याग नगरिएका गाईवस्तुको तुलनामा ट्याग गरिएका जनावरमा रोगी जनावरको संख्या ६ प्रतिशतले घटेको छ । अन्य स्वास्थ्य खराबीका कारण मार्नुपर्ने गाईको संख्या सामान्य भन्दा २४ प्रतिशत कम भयो ।

यो परिणाम देखिएपछि कनेक्टेर कंपनीले ७८ लाख युरोको पुरानो वा परम्परागत कोष बन्द गरेको छ । यो डिजिटल प्रविधिले कृषिलाई थप उत्पादनशील, मानवीय मैत्री र दिगो बनाउने आफ्नो उद्देश्यलाई सहज बनाइदिएको कनेक्टेरले आफ्नो वेभसाईटमा उल्लेख गरेको छ ।

कृषिलाई डिजिटलाईज्ड गर्न कृषि अन्तरसञ्चालन र विश्लेषण प्रणाली (एटलास) अक्टोबर २०१९ मा प्रारम्भिकरुपमा सुरुवात गरेदेखि नै कृषि अनुप्रयोगहरूको लागि खुला डिजिटल सेवा प्लेटफर्मको विकास गरियो । यसले नयाँ तथ्यांकद्वारा संचालित कृषिको लागि दिगो इकोसिस्टम पनि निर्माण गरिरहेको छ ।

प्लेटफर्मले कृषि मेसिनरी, सेन्सर प्रणाली र तथ्यांक विश्लेषण उपकरणहरूको लचिलो संयोजन गरिदिन्छ जसले अन्तरकृयाशीलताको अभावलाई हटाउन सक्षम बनाउँछ । यसो गर्दा किसानहरूलाई दिगो रूपमा आफ्नो उत्पादकत्व वृद्धि गर्न सहयोग पुगेको छ ।

एटलास अन्तर्गत् ६ युरोपेली देशहरूमा १३ व्यवसायिक र अनुसन्धान फार्महरू छन् । यसले धेरै पाइलट अध्ययनहरू सञ्चालन गर्दै आएको छ जहाँ अन्तिम प्रयोगकर्ताहरू, सेवा प्रदायकहरू, अनुसन्धानकर्ताहरू र नीति निर्माताहरूको सञ्जाल कृषि क्षेत्रमा नयाँ प्रविधिहरूको फाइदाहरू प्रवर्द्धन गर्छ । प्लेटफर्म मार्फत सेवाहरू प्रदान गर्न नयाँ कम्पनीहरूलाई बीजबिजन कोष मार्फत आकर्षित गर्छ । यस परियोजनाले यी अध्ययनहरूबाट प्राप्त ज्ञान लिएर डाटा-संचालित कृषिको लागि अर्को पुस्ताको मापदण्डहरू परिभाषित गर्न काम गर्छ ।

आइओएफ २०२० मोडेल अन्तर्गत् डिमेटरले १८ विभिन्न देशहरूमा २० पाइलटहरू मार्फत् डेलिभर गर्ने स्मार्ट खेती प्लेटफर्महरूको ठूलो मात्रामा परियोजनापनि सन्चालन गरेको छ ।

सन् २०१९ को सेप्टेम्वरमा शुरु गरिएको यो परियोजनामा ६० साझेदार, २५ साइटहरू, छ हजार किसान, ३८ हजार भन्दा बढी यन्त्र र सेन्सरहरू छन् ।

त्यसैगरि, स्मार्ट एग्रिकल्चचरल हब भनिने नेटवर्क नोभेम्बर २०१८ मा स्थापित भएको थियो । ईयु कोषको दुई करोड युरोबाट सन्चालित यस कार्यक्रमले २००० क्षमताका केन्द्रमा २८ प्रमुख प्रयोगहरू गरिरहेको छ । यसले कृषिमा भएका डिजिटल आविष्कारहरू प्रदर्शन गर्दछ ।

“फ्रान्समा स्मार्ट एग्रो हबको प्रयोग गरेर बनाईएको स्वायत्त ग्रीनहाउसले कोविड-१९ महामारीको समयमा रोबोटिक्स, सटीक खेती र अनलाइन म्याचमेकिंग सेवाहरू प्रयोग गर्‍यो । त्यसले खेतमा श्रमिक अभावलाई सफलतापूर्वक सम्बोधन गर्‍यो । यो कठिन परिस्थितिको बावजुद नागरिकहरूलाई ताजा खानामा पहुँच सुनिश्चित गरेको प्रमाणित भयो” ब्रिजिटले सुनाईन ।

डिजिटल कार्यक्रमबाट फ्रान्सेलीहरुले पानी ब्यवस्थापनको परियोजनापनि शुरु गरेका छन् । स्मार्ट वाटर म्यानेजमेन्ट प्लेटफर्मको नाममा संचालित यो परियोजनाले सटीक सिँचाइ भन्दै पानी व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । फ्रान्सको यहि मोडेल हाल ब्राजिल, ईटाली र स्पेनमापनि शुरु गरिएको जानकारि ब्रिजिट दिन्छिन् ।

यो परियोजना अन्तर्गत् वृक्षारोपणलाई आवश्यक पर्ने पानीको स्तर अनुगमन गरिन्छ । आवश्यक परेको बेला यसको प्रवाह नाप्ने गरी कृषिमा हुने पानीको बर्बादीलाई सम्बोधन गर्न प्रविधिहरू सिर्जना गरिएको छ । टेक्नोलोजीहरूले चुहावट र उत्पादकत्व घाटा कम गर्न आइओटी डाटा एनालाईटिक्स र स्वायत्त उपकरणहरू प्रयोग गर्दछ ।

‘पहिले हामी ठूला ठूला ठड्डामा अभिलेख गर्थ्यौं । अहिले कम्प्युटरले कति सहज बनाएको छ । डिजिटल कृषि प्रणालीपनि त्यस्तै हो । यसले पशुपालन, कृषि, वृक्षारोपण, सिंचाई, खेती लगाउने, भित्र्याउने, औषधी छर्किने हरेक क्षेत्रमा सहज, कम खर्चमा उच्च लाभ, श्रमिक समस्याको हल दिन्छ” ब्रिजिटले सुनाईन ।

तपाइँको प्रतिक्रिया

फेसबुक