बिहीबार, वैशाख १३, २०८१

इत्रुको जगन्नाथले हल्लाएको बडेमानको शेर

नेपालप्लस सम्वाददाता / चितवन२०७९ वैशाख १६ गते १९:०१

फोटो स्रोत- दैनिक न्युज नेपाल

अन्तत: जगन्नाथ पौडेलले शेरबहादुर देउवाको सम्पूर्ण आग्रह र सरकारी दवावका बावजुद आफ्नो उम्मेद्बारी फिर्ता लिएनन । उनले प्रधानमन्त्री बनिरहने देउवाको आकांक्षाको जगलाई भित्री तह देखिनै हल्लाइदिएका छन । यो चाहिं साँच्चै नै अति भएको हो ।

पुष्पकमल दाहालकी छोरीका लागि शेरबहादुर देउवाको केन्द्रिय समिती ज्यान फालेर लागेको छ । कांग्रेसहरुले सधैंंभरी दासता स्विकार्ने कुरा भएन । देउवाको दौरा सुरुवालका लागि समग्र कांग्रेसले मुन्टो झुकाउने कुरा पनि भएन । एक न एक दिन हुनु नै थियो, भयो ।

भरतपुरको मेयरमा उम्मेद्बारी जगन्नाथ पौडेलको एक्लो निर्णय थिएन । न त एक दुई जना ब्यक्तिको लहड थियो । लहडले मात्र कांग्रेसका कार्यकर्ताको त्यो भिड जम्मा हुनु सम्भव पनि थिएन । यो सबै चितवन कांग्रेसको विरुद्दमा शेरबहादुर देउवाले बोलेको धावा थियो । आफ्नो आत्मा सम्मानका जोगाउनका लागि कार्यकर्ताको प्रतिकार स्वभाविक हो ।

नेपाली कांग्रेसले बागी उम्मेद्वार र उनका प्रस्तावक तथा समर्थकहरुलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । त्यस हिसावले जगन्नाथ पौडेल स्वत: कारवाहीमा परेका छन । पाैडेलले उम्मेदवारी दिँदा कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकाेटा प्रस्तावक र कांग्रेस महासमिति सदस्य मिना खरेल समर्थक रहेका थिए ।

पाैडेल विसं। २०४९ सालकाे स्थानीय चुनावमा तत्कालिन भरतपुर नगरपालिकाकाे उपमेयरमा कांग्रेसबाट विजयी भएका थिए । उनी राष्ट्रिय सभाका सदस्य समेत भैसकेका ब्यक्ति हुन । तर पार्टीमा शेरबहादुर देउवाको उदय भए पछी उनी पाखा लागे । किनभने उनलाई देउवाले नेपाली कांग्रेसलाई विस्थापनको बाटोमा लैजाँदै छन भन्ने पूर्ण ज्ञान थियो । पौडेललाई कांग्रेस केन्द्रिय समितिको निर्णय विरुद्द उम्मेद्बारी दिँदा आफु कारवाहिमा पर्छु भन्ने राम्रो सँगै थाहा थियो । उनले त्यसको वास्ता नगरि उम्मेद्बारी दिएका थिए ।

चुनावमा उम्मेद्बारी दिन पाउने कुनै पनि वालिग नागरिकको बैधानिक अधिकार हो । हरेक नेपाली नागरिकलाई आफूलाई कुनै पनि पार्टी अथवा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिने अधिकार संविधानले नै सुरक्षित गरेको छ । तर चितवनको मामिलामा शेरबहादुर देउवाले संविधान माथि नै धावा बोलेका छन । गृहमन्त्री वालकृष्ण खाँड र मन्त्री उमेश श्रेष्ठले सरकारी सम्पत्तिको दुरुपायोग गर्दै पौडेललाई अनेक प्रलोभन दिए, धम्क्याए ।

निर्वाचन आयोगले बिज्ञाप्ती जारी गर्दै भनेको छ- “स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारी दर्ताको मनोनयन गराउनु भएका कतिपय उम्मेदवारहरूलाई मनोनयन फिर्ता गराउनका लागि डर, धाक धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने समेतका सूचना तथा जानकारी आयोगमा प्राप्त भइरहेको प्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधिले संविधान र प्रचलित कानून बमोजिम योग्यता पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानूनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानून र लोकतन्त्र माथि आघात पुर्‍याउने भएकोले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबैप्रति आग्रह गर्दछ ।

आयोगले आफ्नो बिज्ञाप्तिमा अगाडि लेखेको छ- “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्ने संवैधानिक दायित्व पूरा गर्न आयोग कटिवद्ध भएर अहोरात्र खटिराखेको व्यहोरा स्मरण गराउदै सम्पूर्ण राजनीतिक दल, तिनका उम्मेदवारलाई संविधान र कानूनको पूर्णपरिपालना गर्न, गराउन र मनोनयन दर्ता गरिसकेका स्वतन्त्र उम्मेदवारहरूलाई आफ्नो मनोनयन फिर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निजहरूको स्वविवेकीय अधिकारको सम्मान गर्न र नेपालको संविधान, स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७३, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ एवम् निर्वाचन सम्बन्धी प्रचलित कानूनको प्रयोग र पालनामा इमान्दार हुन सबै प्रति अनुरोध गर्दै राजनीतिक दल, उम्मेदवार वा दलको भातृ संगठनले कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास र धम्की दिनु निर्वाचनजन्य कसूर तथा आचार संहिता विपरीत कार्य भएकोले यस्ता कार्य कुनै पनि हालतमा नदोहोन्याउन स्मरण गराउँदै लोकतन्त्र र नागरिक अधिकारको सम्मान गर्न समेत निर्वाचन आयोग हार्दिक आग्रह गर्दछ” ।

डर, धम्की, त्रास र प्रलोभन अन्त पनि भएको छ । तर निर्वाचन आयोगको मुख्य चासो चितवन नै हो । किनभने देउवाका सरकारी दुत बनेर चितवन कांग्रेसलाई तर्साउन आएका गृहमन्त्री खाँडले पौडेललाई शुरुमा त आर्थिक प्रलोभन दिएका थिए । तर उनले नमानेपछी आफूहरुले गायब बनाउन सक्ने धम्की पनि दिएका थिए । चितवन कांग्रेसका एक जना नेताको भनाइमा गृहमन्त्री खाँडले पौडेल सँगको वार्ता नमिले पछी सुरक्षित रहनुहोला भनेका थिए ।

“तपाईं सिंगो पार्टीको निर्णय विरुद्दमा जानु भएको छ । मेरो शुभकामना छ, सुरक्षित रहनु होला”- खाँडको भनाइ उल्लेख गर्दै ति नेताले भने । शेरबहादुर देउवाको दुतका रुपमा आएका गृहमन्त्री खाँडले ‘तपाईं सुरक्षित रहनुहोला’ भनेको के हो ? गृहमन्त्रीको धम्की पछी पौडेललाइ अहिले नेपाली कांग्रेसका कार्यकर्ताहरुले सुरक्षा दिइरहेका छन ।

तरपनि सरकारी त्रास कस्तो छ भने पौडेल जुनसुकै बेला अपहरणमा पर्न सक्दछन । चुनावमा पौडेलले जित्लान नजित्लान त्यो छुट्टै कुरा हो । तर नेपाली कांग्रेसको केन्द्रिय समितिले गरेको ज्यादाती विरुद्द नेपाली कांग्रेसका कार्यकर्ताहरु हौशिएका पक्कै छन । गठवन्धन गर्ने नेपाली कांग्रेसको चाहना होइन । चाहना शेरबहादुर देउवाको हो । किन भने तिनलाई न कहिल्यै नेपाली कांग्रेस प्रती विश्वास भयो न कार्यकर्ता प्रती । न उनले आफैं प्रती विश्वास गरे ।

राजनीति शास्त्रले के भन्छ भने जुन कुनै राजनीतिकर्मीले आफूलाई विश्वास गर्दैन भने त्यस्तो मान्छे जुनसुकै अपराध गर्न उद्वेलित हुन्छ । देउवाले अहिले अपराध गरिरहेका छन । उनी राजनीतिकर्मी हुँदै होइनन । किनभने एउटा सामान्य नागरिक अथवा सामान्य राजनीतिज्ञ जो धेरै ठाँउबाट भुतपूर्व भइसकेको छ उसको उम्मेद्बारीले देउवाको जग हल्लिएको छ । देउवा आकंक्षाका सबै स्तम्भ एकै पटक हल्लिएका छन । साँच्चै यति कमजोर छ देउवाले बनाएको घर ? एउटा जगन्नाथ पौडेलको उम्मेद्बारीले चर्कियो !

देउवाको जतिबेला पार्टीमा उदय भयो त्यसकै वरिपरी जगन्नाथ पौडेलले सकृय राजनीति छोडे । अब शेरबहादुर देउवाको पतन हुँदैछ । जगन्नाथ पौडेलसँगै चितवन कांग्रेसले स्वच्छन्द राजनीतिको बाटो बनाउँदैछ । जगन्नाथले चुनाव जितेभने नेपाली कांग्रेस पार्टीले शेरबहादुरको दासताबाट मुक्ति पाउँछ भन्नेहरुको समय नेपाली राजनितिमा अर्थपूर्ण र हस्तक्षेपकारि हुने छ ।

तपाइँको प्रतिक्रिया