शुक्रबार, चैत १६, २०८०

भोट दिने मतदाता छैनन्, चुनावका नाममा बिप्लव माओवादीको रडाको

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख १७ गते १२:३८

नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि जनक्रान्तिको नारा बोकेर अलग भएको नेकपा माओवादी (बिप्लव समुह) मा अन्तत : निर्वाचन उपयोग गर्ने कि बहिष्कार भन्ने विवादले रडाको मच्चिएको छ ।

बिप्लव माओवादीको आधिकारिक समुहले पार्टीले घोषित रुपमा निर्वाचनमा जाने निति सार्वजनिक त गरेको छैन । तर ‘मोहि माग्ने ढुंग्रो चाहिं लुकाउने’ भने झैं स्वतन्त्ररुपमा उम्मेदवार बन्न सक्ने बिकल्प अघि सारेपछि यो पार्टी फेरि फुटको नजिक पुगेको छ । केहि नेता यहि विवादका कारण पार्टी कारवाहिमा परिसकेका छन् ।

गत चैत महिनामा कपिलवस्तु जिल्लामा भएको बिप्लव माओवादीको १२ औं केन्द्रिय समिति बैठकलेनै स्थानिय निर्वाचनकालागि चुनावमा भाग नलिने भन्दै निर्वाचन आयोगमा पार्टी दर्ता गरेको थिएन । महासचिव बिप्लवको निर्वाचनलाई उपयोग गर्ने भन्ने प्रस्तावनै अल्पमतमा परेपछि पार्टीले निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

तर अहिले आएर निर्वाचनमा भाग लिने निर्णय बिप्लब पक्षले गरेपछि पार्टीभित्र चरम संकट देखिएको छ । निर्वाचनमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएर उपयोग गर्ने भनेपछि निर्वाचनमा केन्द्रित हुनुपर्ने नेता अहिले आन्तरिक किचलोमा फसेका छन् ।

पार्टीले निर्वाचनमा भाग नलिने नितिगत निर्णय गर्ने तर स्वतन्त्ररुपमा उम्मेदवार बनेर भाग लिन पाइने यो कस्तो निति हो ? पार्टीका नेता र कार्यकर्ताले आफूखुशि जस्तो निर्णय गर्न पाउने यो बिप्लव माओवादीको ढुलमुले निति हो । या पार्टीले निर्वाचनमा केहि परिहाले प्रयोग गर्ने र पार्टीका नेताले हार खाए पार्टीले भाग लिएको होइन, पार्टीको संलग्नता छैन भन्ने बहानामा ढुलमुले निति लिएको देखिन्छ ।

त्यो भन्दापनि अझ चुरो कुरो के हो भने बिप्लव माओवादीलाई भोट कसले दिने ? विस २०५२ सालमा जनयुद्द गर्ने घोषणासँगै यो पार्टीतिर लाग्नेहरुले अहिलेसम्मपनि कहिल्यै निर्वाचनमा भाग लिएका छैनन् । उनीहरुले निर्वाचन आयोगमा दल दर्ता त गरेनन् नै, आफ्ना कार्यकर्ताहरुलाई मतदाता सूचीमा नाम दर्ता गर्नबाटपनि बञ्चित गर्दै आए । दल आधिकारिक रुपमा दर्ता नगरेपनि यदि निर्वाचनलाई स्वतन्त्र उम्मेदवारीका रुपमा उपयोग गर्ने हो भने आफ्ना पार्टीका मतदाता त चाहियो । आफ्ना पार्टीकै समर्थकहरुलाई मतदाता नामावलीबाटै बाहिर राखेपछि आफ्ना उम्मेदवारलाई मत दिने कसले ?

निर्वाचनप्रति विश्वास नभएर पार्टी निर्वाचन आयोगमा दर्ता गरिएन । यसको अर्थ बिप्लव माओवादीले अहिलेको संघिय गणतान्त्रिक राजनितिमा विश्वाश गर्दैन भन्नेनै हो । आम जनतालाई निर्वाचनमा विश्वाश नगर्ने पार्टी हो यो भन्ने सन्देश बिप्लव माओवादीले निर्वाचन आयोगमा दल दर्ता नगरेरै दिएको हो । अहिले फेरि स्वतन्त्ररुपमा निर्वाचनमा भाग लिन सकिने भन्ने अर्को चुनावी निति पार्टी नितिगतरुपमा रनभुल्लमा परेकोले हो ।

दुई दशक भन्दा लामो समयसम्म संसदिय निर्वाचनलाई बहिस्कार गर्ने, निर्वाचन भाँड्ने निति अँगाल्ने भण्डाफोरको निति लिने, अरु कुनैपनि दललाई कहिल्यै मतदान नगर्ने, जनतालाई मतदान गर्नबाटपनि बन्चित गर्नेलाई कसले मत दिन्छ ? वास्तवमा यो पार्टीका मतदातापनि छैनन् । पार्टीको नितिपनि स्पष्ठ छैन ।

जनक्रान्तिको नारा बोकेर नेकपा माओवादीबाट छुट्टिएको पार्टी अन्तत संसदिय धारमा उभिएको छ । तर संसदिय धारका हौं भन्नपनि हिच्किचाईरहेको छ । मतदाता नभएको, स्पष्ठ नितिनै नभएको, आफ्नै पार्टीमा किचलो मच्चिएको यस्तो दललाई कसले मतदान गर्छ ? निर्वाचन कि बहिस्कार, संसदिय निर्वाचन उपयोग गर्ने कि नगर्ने, सशस्त्र जनक्रान्ति कि यहि संसदिय प्रजातन्त्र भन्ने राजनितिक भुमरीभित्रै रनभुल्लमा परेको बिप्लव माओवादीले निर्वाचनमा भाग लेओस् कि नलेओस् त्यसले खासै अर्थ राख्ने देखिंदैन ।

यो पार्टीको अझ कमजोर धरातल के रहेछ भने पार्टीको केन्द्रिय नेताहरु मध्ये केहिले स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका छन् । केन्द्रिय तहका नेता भएर स्थानिय निर्वाचनमा उम्मेदवार बन्नुपर्ने टिठ लाग्दो अवस्था यो पार्टीमा देखियो । अर्थात् यो पार्टीका केन्द्रिय तहका नेता अन्य दलका स्थानिय तहका नेतासित मात्रै प्रतिस्पर्धा गर्नसक्ने हैशियत राख्ने रहेछन् ।

क्रान्तिका चर्काचर्का कुरा गर्ने, संसदिय दलहरुलाई राष्ट्रघाती देख्ने र आफ्नो दललाई अब्बल क्रान्तिकारी ठान्ने यो पार्टीको जनाधार कति कमजोर रहेछ । स्थानिय तहमा उम्मेदवारनै नपाएर केन्द्रिय तहका नेताले अन्य दलका स्थानिय नेतासित निर्वाचन लड्नुपर्ने पार्टीको जनाधार कति कमजोर रहेछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक