चुनाव प्रचारका नाममा गाउँ गाउँमा दलहरुको शक्ति प्रदर्शन

रुपन्देहीको देवदह नगरपालिका सितलनगरमा नेकपा माओवादीको घर दैलो कार्यक्रम
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन आउन नौ दिन मात्र बाँकी रहँदा देशभरिनै उम्मेदवारहरुले चुनावी प्रचार ब्यापक पारेका छन् ।
गाउँ गाउँ पुगेर मतदाताको मन जित्ने र भोट तान्ने क्रम ब्यापक भएको छ । उम्मेदवारहरु आफ्ना पार्टीका समर्थक र शुभचिन्तक बटुलेर मतदाताको घरघरै हिंडिरहेका छन् ।
अघिल्ला निर्वाचनहरुमा मतदातालाई घरमा नभेटेपछि खेतबारीमै पुगेर उम्मेदवार र राजनीतिक कार्यकर्ताहरुले किसानका खेत जोतिदिने, गहुँ काटिििदने, धान-मकै गोडिदिने गर्थे । त्यसको ब्यापक बिरोध भएपछि यस पटकको निर्वाचनमा त्यो क्रम निकै घटेको देखिएको छ ।
पाँच दलीय गठबन्धन मध्ये नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादीका बिभिन्न ठाउँमा संयुक्तरुपमा उम्मेदवार खडा गरेपनि प्रचारप्रसारमा नेकपा एमाले र नेपाली कांग्रेसनै अगाडि देखिन्छन् । तर केहि ठाउँमा भने आन्तरिक सहमति गरेर नेकपा एमाले र नेपाली कांग्रेसलेपनि गोप्य प्रचार गरेका छन् ।
पाँच दलिय गठबन्धन भनिएपनि गठबन्धनको संयुक्त प्रचारप्रसार र घरदैलो कार्यक्रम खासै देखिन्न । खासगरि पस्चिम तराईतिर त नेकपा समाजवादीको प्रचारपनि उति देखिएको छैन । बरु राष्ट्रिय प्रजातन्त्र पार्टीकै प्रचार अलि बाक्लो देखिन्छ ।

चितवनको रत्ननगर नगरपालिका पाँच झुवानीमा नेपाली कांग्रेसको शक्ति प्रदर्शन जुलुस
अघिल्ला निर्वाचनमा भन्दा प्रचारप्रसारको शैलीमा ठूलो भिन्नता देखिएको छैन । बरु पार्टीका शमर्थक र शुभचिन्तकहरुको उत्शाह कम देखिन्छ । गाउँ गाउँमा माईकिङ उस्तै छ । चोकचोक, घरका भित्ता र रुखका हाँगामापनि पोस्टरहरु उसैगरि टाँसिएका छन् । सडकमा नाचगान, रमाईलो उस्तै छ, चुनाव प्रचारका नाममा ।
शहर, गाउँ, टोलटोलका सार्वजनिक स्थल, पाटी पौवादेखि सडकका भित्ता र पुल, रुखका फेद र हाँगा, सवारी साधानहरू उम्मेदवारका ब्यानर तथा होर्डिङ बोर्डले भरिभराउ छन् । साईकल र मोटरसाईकलमापनि कुनै न कुनै दल, उम्मेदवारको पोस्टर वा झण्डा टाँसेको देखिन्छ । चोकचोकमा राजनितिक दलका कार्यकर्ता उम्मेदवारसँगै नाचगान गर्दै पम्प्लेटहरु बाँडिरहेका छन् ।
निर्वाचन आयोगले आचारसंहिता लागू गरेपनि गाउँ शहरका सार्वजनिक स्थल, चौतारी र पर्खालहरुमा पोस्टर र भित्ते लेखन उस्तै छ । अघिल्ला निर्वाचनहरुको तुलनामा प्रचार सामाग्रि छाप्ने काम कम देखिएको छ । तर शहर बजारका निजि सवारी साधनहरु पुरै निर्वाचनमा लगाइएको छ ।
शहरका फोटो स्टुडियोका फोटोग्राफरहरु ब्यस्त छन्, दलका कार्यक्रममा फोटो खिच्न, उम्मेदवारका अनेक पोजपोजका फोटा टाँसेर पोस्टरमा बनाउन । साना र ठूला धेरै सवारि साधन दलले निर्वाचन सम्मकालागि बुक गरेका छन् । कतिपय ठाउँ मा त ट्याक्सी र टेम्पोपनि पाउन छोडिएको छ । तिनको काम कार्यकर्ता बोक्ने र नारा जुलुसमा मान्छे ओसार्ने भएको छ । एक किसिमले गाउँ गाउँमा दलहरुको शक्ति प्रदर्शन जस्तै चलेको छ ।
ईन्टनेटको विकासले गर्दा धेरै उम्मेदवारले फेसबुकलाई प्रचारकालागि भरपुर प्रयोग गरेको देखिन्छ । प्रचार सामाग्रि भन्दा घरदैलो, नाचगान र फेसबुक प्रचारमा बढी ध्यान गएको देखिन्छ ।