बिहीबार, वैशाख १३, २०८१

संसदिय निर्वाचनकालागि नवलपुरमा कस्सिंदै उद्योगपति चौधरी

 नेपालप्लस संवाददाता / नवलपुर२०७९ वैशाख २२ गते १८:११

हुन त अहिले स्थानिय चुनावको रस्साकस्सी छ । पार्टी र तिनका नेता कार्यकर्ताले यहि चुनावलाई बढी केन्द्रित गरिरहेका छन । तर यहि चुनावको भित्र पट्टी अथवा छेउछाउमा संसदिय निर्वाचनका लागि आकांक्षीहरुले आफ्ना अभियानहरु चालु राखेका छन । स्थानिय निर्वाचन सकिए लगत्तै सरकार केन्द्र र प्रदेशका लागि चुनाव गराउने तयारीमा जुट्ने छ । त्यसका लागि देशका विभिन्न जिल्लाहरुमा आकांक्षीहरुले आफ्नो अभियानलाई नजानिंदो रुपमा अघि बढाएका छन । अब आउने संसदिय र प्रदेश चुनावमा नवलपुर क्षेत्र नं १ मुख्य चर्चामा रहने छ ।

यो क्षेत्र नेपाली कांग्रेसका केन्द्रिय सदस्य शशांक कोइरालाले चुनाव जितेको क्षेत्र भएर मात्र चर्चामा रहने छैन । बरु अबको चुनावमा यो क्षेत्रमा देखिने नेपाली कांग्रेसका केही नयाँँ अनुहारका कारण चर्चामा हुने छ । तीन पटकसम्म चुनाव जितेर केन्द्रिय संसदमा पुगेका शशांक कोइरालाले केही साता अघी नै पुन: यही क्षेत्रबाट उम्मेद्वार बन्ने घोषणा मात्र गरेनन, कुनै मध्यम वर्गिय नेताले चुनाव जित्न नसक्ने दावी गरे । किनभने कोइरालाकै दावी अनुसार उनले पछिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेका थिए । र त्यत्रो रकम अरु कसैले खर्च गर्न नसक्ने बताएका थिए ।

त्यसको मतलव शशांक कोइराला फेरी नवलपुर १ मै आफूलाई उतार्ने छन । तर जिल्लाको ध्रुविकरण अर्कै बाटोमा हिंडेको छ । कोइरालाले जिल्लाका नेता तथा कार्यकर्तासँग भेटघाट र अन्तर्क्रिया नगरेको धेरै भएको छ । उनी कहिलेकाहिं बाटो पारेर नारायणघाटसम्म आउँछन् र त्यतैको कुनै होटलमा आफ्न भित्रियाहरु बोलाएर बुझबुझारथ गरेर फर्किने गर्छन् । यहि नै उनले नेपाली कांग्रेसको जिल्ला संगठनमा पुर्‍याएको योगदान हो ।

पछिल्लो निर्वाचनमा थोरै मतान्तरले मात्र कोइरालाले जित हात पार्न सकेका थिए । यसपटक त्यो अवस्था अझै गम्भिर बन्दै गइरहेको छ ।

नवलपुरका नेपाली कांग्रेस कार्यकर्ताहरुका अनुसार अबको निर्वाचनले नवलपुर क्षेत्रले कोइरालालाई विजय बनाएर पठाउने कुरामा गतिलो आधार केहि छैन । शशांक कोइरालासँगको विच्छेदकै बिचमा जिल्लाको राजनीतिमा अरु कसैले यो क्षेत्रमा आफ्नो गम्भिर रुपमा आफ्ना कदमहरु अगाडि बढाईरहेको छ । नवलपुरको राजनीतिमा सबैभन्दा बढी प्रभाव पार्ने ठाउँ गैंडाकोट नगरपालिका हो । यो यस्तो नगरपालिका हो जहाँँ नेपाली कांग्रेसको बनारसकालिन ईतिहास जोडीएको छ र त्यसले वर्तमानलाई डोर्‍याएको छ । सांगठनिक रुपमा धेरै रुपान्तरण भएका छन तथापी यहाँँका कार्यकर्ताहरु विश्वासिलो नेता चाहन्छन ।

त्यसो त यस क्षेत्रमा अरु स्थानिय नेता नभएका होइनन । तर उनिहरुलाई शशांक कोइरालाले ६ करोड खर्चको फेहरिस्त सुनाएर तर्साएका छन । कांग्रेसका एक जना जिल्ला स्तरिय नेता भन्छन “नवलपुर १ मा कोइरालाको विकल्प खोज्ने बेला भएको छ । यद्यपी त्यति ठूलो रकम खर्च गरेर चुनावी मैदानमा उभिन स्थानिय नेताहरुलाई हम्मे हम्मे छ । त्यसकारण खर्चिलो चुनावको सम्पूर्ण फाईदा ब्यापारी विनोद चौधरीले लिने देखिएको छ ।”

आगामी निर्वाचनमा नवलपुर क्षेत्र नं १ बाट नेपाली कांग्रेसको उम्मेद्वारका रुपमा चौधरी बलिया दावेदार हुन । यसका लागि उनले आफ्नो आन्तरिक पहल पनि गर्दै आइरहेका छन । शशांक कोइराला नवलपुरको सांसद भएर पनि नवलपुरसँग जोडीन नसक्नु चौधरीका लागि सकारात्मक पक्ष हो ।

नारायणघाट देखि ८ किलोमिटर पश्चिम पुगेपछी एउटा सानो गाउँ आउछ- थुम्सी । थुम्सी, गैंडाकोटको राजनीतिक धार्मिक र सांस्कृतिक पक्षमा धेरै महत्व राख्ने एउटा वडा हो । त्यहि वडामा भर्खरै मात्र विशाल हनुमान मन्दिरको निर्माण कार्य सम्पन्न भएको छ । २०४२ साल देखि स्थानियको पहलमा सानो कुटी हुँदै शुरु भएको यो मन्दिरलाई चार वर्ष अघि देखी खजुराहो शैलीमा निर्माण गर्ने कार्य प्रारम्भ भएको थियो । त्यो कार्य गत वर्ष चैतमा सम्पन्न भएको थियो ।

आयोजकहरुले नवनिर्मित हनुमान मन्दिरको समुद्घाटन मूर्तिप्राणप्रतिष्ठा तथा साङ्ग विराट ज्ञानमहायज्ञ महामहोत्सवको आयोजना गर्दै चैतको अन्तिमा साताबाट यज्ञ आरम्भ भयो । पुर्वी नवलपुरले गौरवको रुपमा लिएको यो यज्ञभरी यस क्षेत्रका सांसद समेत रहेका शशांक कोइराला कतै देखिएनन । त्यहि समयमा बरु उनी पूर्वी नेपालको भ्रमणमा निस्किए । आयोज समितिले समेत उनलाई कार्यक्रममा उतार्न निकै पहल गरेको थियो । तर उनी आएनन ।

हनुमान मन्दिर संचालक समितिका अध्यक्ष टिकाराम सापकोटाका भन्छन- “हामीले कोइरालाज्युलाई मन्दिरको उद्घाटन कार्यक्रममा ल्याउनका लागि दर्जनौं पटका फोन गर्‍यौ । उहाँको पीएसँग पनि संपर्क गर्‍यौं । पीएले ‘जसरी पनि आउनुहुन्छ’ भन्थे । तर उहाँ आउनु भएन । कोइराला मन्दिराको संरक्षक मध्येका एक हुन । उद्घाटन कार्यक्रमको अघिल्लो दिनसम्म पनि सांसद कोइराला आउने नआउने पत्तो नभए पछी आयोजकले अर्का सांसद तथा ब्यापारी विनोद चौधरिलाई संपर्क गर्‍यो ।

“खासमा दुइजना सांसद बोलाउने हाम्रो कुनै कार्यक्रम थिएन । कोइराला ज्युको सम्भावना नदेखिए पछी हामीले विनोद चौधरीजीलाई संपर्क गर्‍यौं । उहाँले खुशी साथ बचन दिनु भयो र उद्घाटन कार्यक्रममा आउनु पनि भयो” उनले भने ।

आधा नवलपुर उर्लिएको त्यो महायज्ञमा चौधरीको उपस्थितिले धेरै अर्थमा सांकेतिक महत्व राख्यो । केहि समय अघि देखि नै नवलपुर- १ मा भित्री रुपमा आफ्नो दावेदारी प्रस्तुत गर्दै आइरहेका उनलाई हनुमान मन्दिरको उद्घाटन समारोहले प्रत्यक्ष रुपमा सर्वसाधारण सँग भेट गरायो । उनले थोरै भए पनि आफ्ना कुरा राखे र मन्दिरलाई सहयोग गर्ने वचन दिए ।

२ करोड ८५ लाखको लागतमा निर्माण भएको यो धार्मिक स्थलमा मन्दिरको निर्माण सकिनु बाहेक अन्य कार्यहरु सम्पन्न गर्न बाँकी नै छन । मन्दिरको निर्माण कार्य चलिरहँदा एक पटक यस क्षेत्रमा आएका कोइरालाले आफूले मन्दिर निर्माणका लागि आर्थिक सहयोग गर्ने बताएका थिए । तर उनको सहयोग अहिलेसम्म आएको छैन ।

समिती अध्यक्ष सापकोटा भन्छन- ‘उहाँ एक पटक आउनु भएको थियो । मन्दिरलाई सहयोग गर्छु पनि भन्नु भएको हो । तर अहिलेसम्म त्यो सहयोग यहाँं आइपुगेको छैन ।

नवलपुर कांग्रेसका एक नेता भन्छन- चुनाव जितेर गए पछी कोइराला केहि पटक मात्र जिल्लामा आउनु भएको छ । मन्दिरको त कुरै छोडौं । भेट्नैपर्ने मान्छेहरुलाई नारायणगढको कुनै होटलमा भेट्नुहुन्छ ।’

यता चौधरीले भने फूर्सदको धेरै समय नवलपुरमै बिताउने गरेका छन । २ दिन अघि स्थानिय निर्वाचन लक्षित नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकमा आएका चौधरीले नेपाली कांग्रेसलाई जिताउनका लागि बिभिन्न योजना बनाएर गएका छन ।

कांग्रेसका ति जिल्ला नेताका भन्छन- मिलेसम्म चौधरीलाई बोलाएर केही सभा गर्ने योजना पनि रहेको छ ।

तपाइँको प्रतिक्रिया