शुक्रबार, वैशाख १४, २०८१

‘छोरीले नजिते देश दुर्घटनामा जान्छ भन्या के हो ?’ जगन्नाथ पौडेल, भरतपुर महानगरका उम्मेदवार

प्रतिमा सिलवाल / चितवन२०७९ वैशाख २४ गते १९:०५

फोटो स्रोत-शिलापत्र

स्थानीय निर्वाचन आउन साता दिनमात्रै बाँकी छ । देश नै चुनावमय भएको छ। अझ चितवनको भरतपुर गठबन्धन, विद्रोहका कारण चुनावी चर्चामा छ । बिहीवारको चुनावी सभामा प्रधानमन्त्रीसहित गठबन्धनका प्रमुख नेता चितवन आए । उक्त चुनावी सभामा प्रचण्डले रेणुले उपनगरपालिका प्रमुखमा नजिते देश दुर्घटनामा जाने र त्यसको जिम्मा चितवन कांग्रेसले लिनुपर्ने बताएपछि तितो प्रतिक्रिया आउन थालेको छ । भरतपुर उपमहानगर पालिका प्रमुखमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले प्रचण्डको भाषणलाई कसरी लिनुभयो त ?

प्रचण्डले चुनावी सभामा गठबन्धनबाट मेयर पदका उम्मेदवार रेणुले नजिते देश दुर्घटनामा जान्छ, रेणुले नजिते चितवनका कांग्रेसले जिम्मेवारी लिनुपर्छ भन्नुभयो नि ?

कोही व्यक्तिलाई आफ्नो छोरीले जित्नुपर्छ भन्ने लाग्ला । उनले जिते हुन्थ्यो भन्ने लाग्ला। तर, फलानाले जित्नैपर्ने भन्या के हो ? फलानाले हारे देश दुर्घटनामा जान्छ भन्या के हो ? कसैको छोरीले हारे कसरी मैले जिम्मेवारी लिने ? कुनै व्यक्ति प्रजातन्त्र मान्छु भन्ने अनि प्रजातन्त्रमा फलानाले हारे देश डुब्छ फलानाले जिते देश देश उँभो लाग्छ भन्ने तर्क अहिलेको २१ औँ शताब्दीमा यो समाजले ग्राहय ठान्छ ? मैले देश विदेशबाट आएको प्रतिकृया हेरिरहेको छु । सुनिरहेको छु । कसैले पनि त्यो भनाइलाई स्वीकार गरेको देखिँदैन। चितवनका जनता मात्रै होइन अन्य कसैलाई पनि पाच्य हुने कुरै होइन यो। अर्कोतिर यो गठबन्धन नै अप्राकृतिक छ। अब चुनाव आउन एक साता मात्रै बाँकी छ। जनताले मतमार्फत पक्कै जवाफ दिनेछन् ।

तपाईको उम्मेदवारी रेणु हराउ अभियानको रुपमा हो भन्ने पनि छन् नि त ?

यो बिल्कुल गलत हो। म कसैलाई हराउन मात्र उठेको होइन। मैले त भरतपुर महानगरपालिकालाई अरु महानगरभन्दा उत्कृष्ट महानगर बनाउनका लागि मेरो योग्यता, क्षमता, अनुभव, समर्पण लगाएर काम गर्न उम्मेदवारी दिएको हुँ।

अब त तपाई कांग्रेस पनि रहनुभएन ?

भरतपुरबाट जिम्मेवारीमा रहेका कांग्रेसले नै राजीनामा गरिसकेका छन्। भोलि हजारले राजीनामा गर्छन्। उनीहरू मात्रै बस्छन् कांग्रेस भनेर, जो कारबाही गर्ने ठाउँमा छन्। अनि हामी नयाँ कांग्रेस हुन्छौँ। जसले शिर ठाडो गर्न सक्छ कांग्रेस भनेर। जसले विकास, परिवर्तनका लागि काम गर्छ। जसले नेपाली कांग्रेसको सिद्धान्त, रूप अनि चारतारे झन्डालाई उँचो बनाउने काम गर्छ।

चुनावी अभियान कसरी अघि बढाउनुभएको छ ?

म दलको आधिकारिक उम्मेदवार होइन । व्यक्तिले लडेको चुनाव कतिको गाह्रो हुन्छ सबैले बुझ्नुभएको छ। घरदैलोमा हिँडिरहेको छु। घरघरबाट मलाई उत्साहजनक रुपमा हौसला दिइरहनुभएको छ। मतदाताले पनि मलाई राम्रो सहानुभूति पनि दिइरहनुभएको छ। भरतपुर महानगरमा २९ वटा वडा छ । अघि पनि भनेँ, म एक्लो उम्मेदवार, पार्टीको आधिकारिक होइन। त्यसैले पनि सबै मतदाताको घरघर पुग्न सम्भव भएको छैन। तर, ठाउँठाउँमा कोणसभा गरिरहेको छु। मेरा कुरा राखिरहेको छु। सञ्चार माध्यमबाट पनि मेरा एजेण्डाहरू राखिरहेको छु। चितवनका मतदाताले मलाई बुझ्नुभएको छ।

भरतपुरबासीले तपाईलाई किन मतदान गर्ने ?

मैले आफ्नो सिद्धान्तसँग सम्झौता गरेको छैन। स्वार्थसँग सम्झौता गरेको छैन। म भ्रष्ट्राचार गर्दिन। मेरो पालामा नगरको सम्पत्तिमा ब्रह्मलुट गर्ने मौका कसैले पाउँदैन। महानगर स्थानीय सरकारको महत्वपूर्ण इकाई हो। मलाई आफ्नो भरतपुर महानगरका समस्याहरू थाहा छ। यहाँको भूमिको अवस्था र विकासको असमान वितरण अन्त्य गर्दछु। यहाँको जमिनको उपयोग नीति बनाउनुपर्छ। नारायणीलाई व्यवस्थित गर्ने, पुल बनाउने, शिक्षाको नीति, सर्वसुलभ स्वास्थ्यको नीति लगायतका कुरामा मेरो प्रष्ट नीतिगत द्रिटिकोण छ। आफ्नो महानगरको वस्तुस्थिति र अवस्था अनुसार काम गर्ने योजना छ। नीतिगत प्रष्टता र विकासमा समानता गर्ने मेरो ‘भिजन’ लाई समर्थन तथा सञ्चार माध्यमबाट पनि मलाई सकारात्मक सघाइरहनुभएको छ। त्यसैले पनि मतदाताले मलाई मतदान गर्नुहुनेछ भन्नेमा ढुक्क छु।

तपाईले सिंगो पार्टी अनि राज्यशक्ति विरुद्ध नै उम्मेदवारी दिनुभयो। यो कांग्रेसको प्रतिष्ठाको लडाइँ मात्रै हो कि जितका आधार पनि छन् ?

प्रतिष्ठाको लडाइँ मात्रै होइन। यहाँका नागरिकलाई यस्तो मान्छे चाहियो, कि यहाँको भूगोल र विकासको भिजन भएको मानिस चाहिएको छ। मैले जीवनको लामो समय राजनीति र पेशागत जीवन बिताएँ। तर, कहिल्यै सत्ताको लागि सम्झौता गरिनँ। त्यसैको कारण पटक पटक पार्टीभित्रै अन्यायमा परेँ। मसँग केही गर्ने भिजन छ। काम गर्ने समय पनि छ। त्यसैले एकपटक जनताको बीचमा जान्छु भन्ने निर्णय गरेको हुँ। २० वर्ष यता मलाई कहिल्यै पार्टीले मतलब गरेन। साँच्चै म राजनीतिमा असफल भएको रहेछु त ? यदि असफल रहेको हुँ भने जनताको जवाफ पाउँछु। ममाथि पटक पटक पार्टीले नै गरेको अन्याय बुझेर भरतपुरका नागरिकले यसले मौका पाए केही गर्छ भनेर पक्कै मतदान गर्नेछन्। म सुशासन, विकास र भ्रष्टाचार अन्त्यको लागि काम गर्छु। त्यसैले भरतपुरवासीले मतदान गर्छन् भन्ने विश्वास नै मेरो जितको आधार हो।

अमेरिकाको ग्रिनकार्ड बोकेर नेपालको राजनीति गर्नुहुन्छ भन्ने तपाईलाई प्रतिस्पर्धीको आरोप छ नि ?

तँ ग्रिनकार्ड वाला होस् भनेर मेरो अगाडि आउनु म कानूनी उपचारमा जान्छु । यो बकवास हो। पूर्वाग्रह हो। घटिया टिप्पणी हो। निर्वाचनमा कमजोर बन्छ भन्ठानेर यस्तो कपोलकल्पित टिप्पणी गर्दै हिँड्न मिल्दैन। कसैले मेरो अगाडि टिप्पणी गर्छ भने कानूनी उपचारमा जान्छु ।

(स्रोत-आइएनएस)

तपाइँको प्रतिक्रिया