शुक्रबार, जेठ १३, २०७९

रामचन्द्र पौडेलको खास मूल्य

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ वैशाख २६ गते ४:२६

Ram Chandra Paudel (NC leader)

“म त रेणु दाहालको भाषण सुन्दै थिएँ । अरे प्रचन्डको छोरी, साँच्चिकै प्रचन्डको छोरी । कस्तो प्रवाह रुपमा यत्रो ठूलो काम गरेको कुरा उनले बताइन । म त प्रभावित भएँ । यत्रो ठुलो काम यो भरतपुर नगरपालिकामा भएको छ, के चितवनका जनता कृतघ्न हुन ? यतिधेरै काम गरेको बदलामा उसलाई हराउन सकिन्छ ? कसरी हराउने ? उनलाई जिताउनु पर्दछ ! यो कुरा बुझ्नुस हामीले निर्धक्क सँग हँसिया हथौडामा छाप लगाउनु पर्दछ । यो हँसिया हथौंडा हिजोको जस्तो मारकाट गर्नेबाट बदलिइसक्यो । हँसिया हथौडा विशाल बनिसक्यो । त्यसैले मेयरमा रेणु दाहाल र अपमेयरमा….. ( उनले नेपाली कांग्रेसबाट उपमेयरका प्रत्यासीको नाम बिर्से ) ।”

भाषण गर्दागर्दै नेपाली कांग्रेसका तर्फबाट उपमेयरका उम्मेदवारको नाम मञ्चमा आसिनलाई सोधे ।

“माधव नेपालको अनुहार हेर्नुस । प्रचन्डको अनुहार हेर्नुस । शेरबहादुरको अनुहार हेर्नुस । उपेन्द्रको अनुहार हुर्नुस । के हो यो गठवन्धन ? यो गठवन्धको बारेमा बुझ्नुस पहिले ।”

चार दिन अघि रामचन्द्र पौडेलले चितवनको गठवन्धन सभामा बोलेको भाषण हो यो ।

यो अहिले सामाजिक संजालमा धेरै हेरिएको भाषण हो । यसका अन्य आयामहरु पनि छन । पौडेललाई लाग्दो हो, उनको भाषणले प्रचन्डपुत्रीलाई जिताउन सकिन्छ । तर होइन, नेपाली कांग्रेसका मतदाता अझ बढी भड्किएका छन । नेपाली कांग्रेसको गत महाधिवेशनमा उनले डोर्‍याएको गुटले सभापतीको उम्मेद्वार नबनाए पछी उनै पौडेल झोक्किएर हिंडेका थिए ।

यता महाधिवेशन शुरु हुनै लागेको थियो । शेखर कोइराला, शेरबहादुर, प्रकाशमान र विमलेन्द्रनिधी सभापतिका उम्मेद्वार थिए । माहौल तातेको थियो । उता रामचन्द्र पौडेल बोहराटारको आफ्नो निवासमा सिरकले अनुहार छोपेर निदाएका थिए । शेरबहादुर देउवा उठाउन नपुगेको भए पौडेल नेपाली कांग्रेसको अधिवेशन सकिएपछी मात्र बिउँझिने थिए । देउवाले उनलाई उठाएनन, मात्र नुहाइधुवाई गरेर महाधिवेशन स्थलसम्म ल्याए । आफ्नो गुटको भेलाबाट आँसु बगाउदै घर पुगेका पौडेल महाधिवेशनको मन्चमा बस्दा खुशी देखिएका थिए ।

के भएको थियो बोहराटारमा ? यो धेरै सोधिरहन पर्ने प्रश्न होइन । धेरैलाई थाहा छ । अझ खासगरेर नेपाली कांग्रेसका हरेक नेता कार्यकर्तालाई थाहा छ । महाधिवेशनको उद्घाटनको दिन देउवाले रामचन्द्र पौडेललाई किनेर ल्याएका थिए । देउवा र पौडेलको मूल्य खासमा उस्तै हो । तर नेपाली कांग्रेसको चौधौं महाधिवेशन पछी पौडेलको मूल्य खस्किएको थियो । शेयर बजारको मापनमा ग्राफ झरेको कुनै कम्पनी जस्तै । उनी निकै सस्ता भएका थिए । सांसद किनबेचमा माहिर देउवाले उनलाई सुपथ मूल्यमा किनेको कांग्रेसकै नेताहरु बताउँछन । त्यस्ता मूल्यवान भनिएका नेता रातभरिमै कसरी ढल्छन ?

रामचन्द्र पौडेलको जन्म २००१ सालमा बाहुन पोखरा तनहुँँमा सामान्य जजमानी परिवारमा भएको हो । पौडेलले पनि आफ्नो पढाइलाई पंडित्याईँकै वरिपरि घुमाए । बनारस बसेर पढ्ने बेलामा बीपी कोइरालाले उनलाई तरकारी किन्ने पैसा नदिएको भए सम्भवत: पौडेलले राजनीतिमा खुट्टा राख्ने थिएनन । उनले सोचे, राजनीतिमा धन प्राप्ति हुन्छ । पद प्राप्ति हुन्छ भन्ने कुरा त उनले पछी मात्र थाहा पाएका हुन । तथापी पौडेलले राजनीतिमा लागेर धन प्राप्त गरेको समाचार त्यति धेरै सुनिएन । पदका लागि भने सधैंं मरिहत्ते गरे । अझैसम्म गर्दै छन ।

पाँच दिन अघि चितवनमा रमचन्द्र पौडेलको रोदन मन्दिरमा बली चढाउन हिँडाएको बोकाको भन्दा कम थिएन । अठहत्तर वर्षको उमेरमा केका लागि थियो ? पौडेल कतिसम्म तल्लो तहमा झरे भने उनले चितवनका वरिष्ठ नेता कृष्णलाल सापकोटालाई ‘तँ’ भनेर सार्वजनिक सभाबाट सम्बोधन गरे । पौडेल सापकोटा भन्दा ६ वर्ष कान्छा छन । चितवनमा भएको एउटा पत्रकार सम्मेलनमा पौडेलले आफू कृष्णलाल सापकोटाको चेलो भएको बताएका थिए । यस्तै हुन्छ एउटा चेलाले गुरुलाई गर्ने सम्बोधन ? यो चरित्रको कुरा हो । नैतीकता बाँकी रहेको छ कि छैन भन्ने कुरा हो । चितवनबासीले रामचन्द्र पौडेलको नैतिकता पतन भएको प्रत्यक्ष देखे ।

नेपाली कांग्रेस भित्र समकालिन नेताहरुका बिचमा रामचन्द्र पौडेललाई सम्भवत अलिकति निष्ठाको राजनीति गर्ने नेताको श्रेणीमा राखिन्थ्यो । शेरबहादुर देउवाको नैतिक पतन देखेका कांग्रेसहरुले रामचन्द्रको पतनलाई सहज लिन सक्दैनन । तर उनी पतन भए ।

ल मानौं, रेणु दाहालले भरतपुरबाट जितिहालिन भने पनि पौडेलको राष्ट्रपती बन्ने चाहना अलिकती सजिलो हुन्छ । राष्ट्रपती बन्लान पनि । के हुन्छ रामचन्द्र पौडेल यो देशको राष्ट्रपती बनेर ? बितेका ३२ वर्षमा देशले सम्झन लायक के काम गरे उनले र अब जीवनका अन्तिम दिनमा गर्छन् भनेर आशा गर्ने ? चितवनमा उनले गरेको भाषणको भिडियोलाई तपाईंहरुले राम्ररी हेर्नु भयो भने देख्नुहुनेछ, रामचन्द्र पौडेलको बदलिंदो अनुहारमा देखिएको ग्लानी । तैपनि आफैं भित्रको लालचले उनलाई बेचिन बाध्य गर्‍यो । जसरी उनलाई १७ पटकसम्म प्रधानमन्त्री पदमा चुनाव लड्नका गिरिजा प्रसाद कोइरालाले मोहरा बनाए त्यसरी नै उनी शेरबहादुर देउवाको चंगुलमा परे । ईतिहासले न शेरबहादुर देउवालाई पखाल्न सक्छ न रामचन्द्र पौडेललाई । इमान्दार नेपाली कांग्रेसका कार्यकर्ताका मनमा यो दुबै जना स्खलित, नितिहिन, अदूरदर्शी, पदलोलुप नै हुन ।

लोकतन्त्रको निरन्तरताका लागि चुनाव अनिवार्य छ । त्यसैले यसप्रति निरपेक्ष रहने कुरा भएन । तर यस्तो निर्देशनात्मक, आदेशका भरमा हुने निर्वाचनले देशलाई कहिं पनि पुर्‍याउँदैन । कुनै पनि पार्टीका कार्यकर्ता भनेका नेताहरुका दास होइनन । तर पौडेल र देउवा गिरोहले सबै कार्यकर्तालाई दास सम्झेका छन । चितवनमा जगन्नाथले दिएको उम्मेद्बारी त्यहि दासताका विरुद्दमा हो ।

शेखर कोइराला समुह चितवनको मुद्दामा मौन छ । शेखर कोइराला र उनको समुह यो मामिलामा जति मौन रहन्छन त्यति नै लोकप्रिय हुन्छन । शेखरले बितेका पाँच वर्ष देशका कुनाकाप्चा डुल्दै कार्यकर्ताको मनोविज्ञान पढेर बिताएका छन । त्यसैले अब कार्यकर्ताको आक्रोशको केन्द्रमा रामचन्द्र र शेरबहादुर नै पर्ने छन । किनभने यो समय मुल्यवान भनिएका नेता लिलाम भएको समय हो ।

तपाइँको प्रतिक्रिया

फेसबुक