शनिबार, वैशाख १५, २०८१

मतदाता प्रभाव पार्ने तरिका : जस्तापाता, भोजभतेर र दिनको रु. एक हजार

नेपालप्लस संवाददाता / चितवन२०७९ वैशाख २६ गते १४:१४

चितवनको खैरहनी नगरपालिका घोग्रेला गाउँमा पुग्दा वालवालिका र किशोरकिशोरीको एउटा टोली चुनावी गीत लगाएर नाचिरहेको थियो । उनीहरु नेकपा माओवादी केन्द्रको समर्थनमा गीत घन्काएर सडकमा नाच्दै गाउँदै  थिए । मिनीट्रकमा माओवादीको हँसिया हथौडा, उम्मेदवारका पोस्टर थिए ।

नेपालप्लस प्रतिनिधिले सोध्यो ‘नानीहरु के गरिराखेको हो ?’

प्रचार गरेको ।

‘कसको प्रचार ?’

माओवादीको ।

‘भोट दिन पाउनुहुन्छ ?’

पाउँदैन, भोट दिने बेलै (उमेर) भएको छैन ।

‘आफूले भोट दिन नपाउने अनि अरुसित के भोट माग्ने त ?’

उनीहरु अकमकाए ।

त्यसपछिपनि उनीहरुसितको वार्ता जारि रह्यो-

‘एक दिनको कति दिन्छन् जुलुसमा हिंडेबापत ?’

‘दिन्छु भनेको छ, तर दिएको छैन’ सरिता बोटेले भनिन् ।

‘ए उधारोमै हिँडेको ?’

हाहाहाहा !

‘पैसा नदिईकनै हिंड्ने हो त ?’

दिन्छु भनेको छ, दिन्छ होला नी !

उमेरले १८ पनि नकटेका किशोर किशोरीहरुले भरिएको मिनिट्रक हेर्दा बुझ्न मुस्किल छैन, आफैंले मत दिन नपाउने उमेरका ति चुनावी प्रचारकालागि आर्थिक प्रलोभनबिना यो टन्टलापुर घाममा दिनभरि पक्कैपनि खटिएका छैनन् । तिनलाई नेकपा माओवादी के हो, कस्तो पार्टी हो ? के गर्छ ? चुनावी घोषणापत्रमा के छ भन्नेपनि थाह छैन ।

पूर्वी चितवनकै लोथ्थर बाँधको डिलमा रुखमुनी सित्तल खाइरहेका राम दराई भेटिए ।

उनीसित भलाकुसारी गर्दा थाह भयो ‘नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमालेले दिनको एक हजार रुपियाँ दिने गरेका रहेछन्, चुनावमा नारा लगाउन, गीत गाउन गएबापत ।

त्यति मात्रै होइन, स्थानिय निर्वाचनमा अहिले मासु र भात खुवाउने, मोटर साईकलमा दिनको पाँच लिटर पेट्रोल राखिदिने, जुलुसमा हिंडेकालाई खाजा र खाना खुवाउने गरेका छन् ।

लोथ्थर बाँधको ग्राबिल बाटो पछ्याउँदै पस्चिमतिर फर्किँदा हर्नहरीको चोकमा सितल खाइरहेका तीन जना अर्धवैंशे भेटिए ।

तिमध्ये एक थिए, फूलमान तामाङ । उनलाई नेपालप्लसले सोध्यो ‘चुनाव लागेको छैन ?’

के लाग्ने ? कसले के गर्ने हो र ?

‘जुलुसमा जानुहुन्न ?’

‘लाँदैन ।’

‘किन ?’ गीत गाउन, नाच्न जानेको भर्खरको केटीकेटा खोज्छन् ।’

‘पैसा कति दिने रैछन् ?’

‘दिनको हजार भन्छ । अहिले त नाच्न गाउन जान्नेले भर्खरको केटाकेटीले त कमाको छ नी !’

‘त्यसो भए तपाईलेपनि छोराछोरी पठाउनुभएको होला नी !’

नौमा पढ्ने छोरी गएको छ !

‘त्यसरि पैसा लिएर जुलुसमा गएको राम्रो त ?’

घरमै हजार दिन्छु, खान दिन्छु भनेर बोलाउन आउँछ, त्योपनि काम गरेको जस्तै त हो, अनि किन नजाने त ?

‘पछि हाम्रै पैसा भ्रस्टाचार गरेर उठाउँछन् नी !?

लिएपनि नलिएपनि उनीरुलेपनि अन्तबाट उठाउने हो, ठगेर कमाउनेनै हो । हाम्ले नलिएर नठग्ने हो र नेताले ?

स्थानिय निर्वाचन आउन चार दिन बाँकी रहँदा प्रमुख दलहरुले गाउँगाउँमा पैसा बाँड्न थालेका छन् । तर यो खुलेर भन्नेहरु भेटिन गाह्रो छ । मासुभात, भोजभतेर भने खुलेरै गरिरहेका छन् ।

तर चुनावमा प्रभाव पार्न होइन भनेर झुक्याउन ‘प्रचारप्रसारमा हिंड्नेलाई खुवाउनै पर्‍यो’ नी भन्ने गरेका छन् ।

तर तिनको चुनावी भोज हो भन्ने कुरा सबैलाई स्पष्ठ थाह हुन्छ । किनकि एक दुई वटा ट्रकमा प्रचार गर्न जानेहरु दुई तीन सय जना हुँदैनन् ।

यहि हप्ता नेपाली कांग्रेसले रत्ननगर नगरपालिकाको भोकाहा, डेबौली क्षेत्रमा मासु, भात, पेय पदार्थ सहितको भब्य भोज गर्‍यो । विहान ११ बजेदेखि शुरु भएको भोज अपरान्ह चार बजेसम्मपनि जारि थियो । देखिनेगरि पैसा त बाँडेन । तर भित्रभित्रै जनहि हजारका दरले बाँडिरहेको कांग्रेसकै कार्यकर्ताहरुले बताउने गरेका छन् ।

स्थानिय चुनावमा मत किन्ने अर्को तरिका नेपाली कांग्रेसलेपनि अपनाएको छ । राती राती फुस्का घर भएका ठाउँमा छाना मिल्काएर जस्तापाता हालिदिने । नेपाली कांग्रेसले रत्ननगर नगरपालिकाको मगर बस्तिमा तीन दिन अघि यहि गरेको थियो ।

स्थानिय चुनावको मुखमा अहिले भोटलाई प्रभाव पार्न सक्ने स्थानिय नेता, कार्यकर्ताको भाउसमेत बढेको छ ।

‘हाम्रो यति भोट छ, कति पैसा दिने भनेर हाकाहाकै मोलतोल गर्छन् उम्मेदवारहरुसित’ रत्ननगर नगरपालिका-६ मा नेपाली कांग्रेसबाट वडामा उम्मेदवारी दिएका एक युवा नाम नलेखिदिन आग्रह गर्दै भन्छन् ।

“सर, पार्टीले पैसा कम दिन्छ । आफूले हाल्न सकिन्न । पैसा खर्च नगरे एमालेले यति दिएको छ, माओवादीले यति खुवाएको छ भन्छन् । अब पैसा नहुने गरिवहरुले राजनिति गर्ने दिन गएछन् ।”

नेकपा एमालेले पनि रत्ननगर नगरपालिका-५ झुवानीमा आइतवार भब्य भोज गर्‍यो । एमालेका स्थानिय कार्यकर्ता विहानैबाट भोजको तयारिमा जुटेका थिए । मासु भात र पेय पदार्थसहित साँढे दुई सयजतिले भोज खाए । यो रकम कसले तिरेको हो भन्ने यकिन छैन ।

मोटरसाईकलमा हिंड्ने, झण्डा बोकेर टेम्पो र गाडीमा नारा लगाउने लगायतका समर्थकहरुले हरेक दिन रक्सी, मासु र खानाको माग गर्छन् । स्थानिय वडा तहकै उम्मेदवारले त्यो ब्यवस्था गर्न सक्नुपर्छ । जसले त्यो ब्यवस्था गर्न सक्दैन भोलिपल्टदेखि जुलुसमा हिंड्ने कोहि पाइन्न ।

गाउँगाउँ, वडा वडामा अहिले ‘हाम्रो केटाहरुलाई यस्सो ब्यवस्था हुनुपर्‍यो, यति हजार चाहिन्छ’ भन्दै बिचौलिया, वडा र टोलका स्थानिय हर्ताकर्ताले उम्मेदवारहरुसित भन्ने गरेका छन् ।

पार्टीसित माग्यो खर्च पुग्नेगरि दिंदैनन् । खर्च नगरे भोट अरुलेनै लान्छ । दिउँ जग्गाजमिन बेचेर चुनाव लड्नुपर्ने अवस्था भयो । चुनाव जितेपनि त्यो रकम उठ्ने होइन । अब स्थानियस्तरमैपनि राजनिति गर्न सानातिना मान्छेले नसक्ने भए । करोड खर्च गर्नुपर्ने स्थिति बन्यो’ रत्ननगर नपा-५ मा एमालेका एक उम्मेदवारले निराश हुँदै नेपालप्लसलाई बताए ।

तपाइँको प्रतिक्रिया