आइतबार, मंसिर १८, २०७९

गुरु चरणं

कृष्ण शर्मा / अमेरिका२०७९ वैशाख २८ गते ९:२०

किमत्र बहुनोक्तेन, शास्त्रकोटि शतेन च ।
दुर्लभा चित्त विश्रान्तिः विना गुरुकृपां परम् ।।

धेरै भनेर के हुन्छ? करोडौं शास्त्र पढेर के हुन्छ? गुरु बिना चित्त उपर परम् शान्ति पाउन दुर्लभप्राय : हुन्छ ।

आज भन्दा करिव छ वर्ष अघि विल्मिंटनमा सम्पन्न दश-दिने बिपस्यना ध्यान शिविरमा रहँदा शुरुका पाँच दिनसम्म म सँग जीवन, जगत र अध्यात्म सम्बन्धि करीव एक पाथि जति प्रश्नहरु हुँदा हुन । ‘मिड-लाइफ क्राइसिस’ले थिच्नुसम्म थिचेको बेला थियो । म अनि जगत किन र के अनि कसरि र कसका लागि यो समयमा…. जस्ता निकै अप्ठेरा प्रश्नहरुमा सधैं घोत्लिइरहेको दशायुक्त दिमाग लिएर महाभारत कालको अश्वथ्थामा जस्तो दरबदर भड्किइरहेको अवस्था थियो ।

बोलेर सोध्न नपाइने हुनाले मलाइ लाग्दछ, मैले कागजको टुक्रामा प्रश्नहरु लेख्दै प्रशिक्षकको आशन अगाडि राखिएको सानो ‘प्रश्न-बाकस’ मा पाँचै दिनसम्म खसालेको थिएँ । सबै प्रश्नका जवाफहरु प्रशिक्षकबाट शिविरको अन्तिम दिनमा प्राप्त हुने भनिएको थियो । छैठौं दिन पछि मेरा प्रश्नका गाँठाहरु बिस्तारै बिस्तारै एक पछि अर्को गर्दै सुर्के गाँठो जस्तै फुसु फुसु फुक्दै गए । दशौं दिनको समाप्ती नजिकिंदै गर्दा जब प्रशिक्षकबाट अनुत्तरित प्रश्नहरु बारे आग्रह भयो, म सँग सोध्नका लागि कुनै प्रश्न पनि बाँकि थिएनन।

बिपस्यना ध्यान शिविरको यो प्रसंगले मलाइ सधैं आफ्ना ति अति पूजनीय गुरुको याद दिलाउँछ। म सानो हुँदा सकी नसकी आफु भन्दा ठुला प्रश्नहरुको झोला बोकी हिड्ने गर्दथें। दिनभर म जहाँ गयो त्यहिं, त्यहि सूर्य कसरि देखिन्छ? बादल उडिरहने रातमा चन्द्रमा किन हिंडेको प्रतित हुन्छ तर टाढा कतै पुगेको हुदैन ? मान्छे आफु किन कुकुर जत्ति पनि इमान्दार हुँदैन? मानिस बिद्वान हुन पढ्नै पर्ने हो ? लगायतका वाल सुलभ प्रश्नले मलाइ सताउनु सताउंँथे । गुरुको अघि नहुँदासम्म म सधैं ती झोलाका प्रश्नले थिचिएको हुन्थें। तर जव म गुरुको समीप पुग्थें, अनुत्तरित प्रश्नहरु सबै हावा सरि हराउँथे। यसरि बिलाउंथे मानौ ति मसँग छँदै थिएनन। झोला आफैं रित्तिन्थ्यो।

सधैं वात्सल्य छचल्किने गुरुका सजीव नयन, उहाँले बोल्ने छोटा, सरल एबम ओजपूर्ण शुरुवाती वाक्यहरुले मेरा सबै प्रश्नहरुको जवाफ दिईसकेका हुन्थे । अनि म गुरुको हातको बट्टाई्को धागोमा झुन्डिएर आकाशिने एक चंगा जस्तै हुन्थें । सधैं उहाँको नजीक रहन पाए कस्तो आनन्दमय हुन्थ्यो होला जीवन जस्तो लाग्थ्यो। उहाँको उपस्थितीबाट अलग भए पछि मेरो मनमा बार बार एउटा नयाँ प्रश्न डेरा गर्न आउँथ्योः गुरुले म के सोध्दैछु भन्ने कुरा कसरि थाहा पाएर मैले सोध्नु अघि नै जवाफ दिन सकेको होला?

जीवनमा कतिपय कर्महरु समयक्रम सँगै दोहोरिंदै जान्छन र नित्य संस्कारमा परिणत हुन्छन। विहानमा सूर्य उदाए जस्तै, शुक्ल पक्षका रातमा जून अनि ताराहरु चम्के जस्तै, झरीका दिनमा बलेनि भरि पानीका फोका उठ्दै फुट्दै गरे जस्तै, प्रातः कालमा गुरुलाइ सम्झनु मेरा लागि आजकलको नित्यकर्म हो। भक्तले अबिरल रुपमा भगवानलाइ सम्झँदा जस्तै, प्रियसीले प्रेमीलाइ चाहेर पनि बिर्सन नसक्दा जस्तै गुरुलाइ सम्झँदा जस्तो आनन्द आजकल केहि गर्दा पनि हुँदैन। उहाँलाइ सम्झ्यो कि पाखुरामा पखेटा जोडिए जस्तो महशुस हुन्छ। हृदय चंगा जस्तै आकाशमा उड्न थाल्छ। मनका आँखाले हजारौं माइलको दुरी क्षण भर मै पुरा गर्छन र मलाइ गुरुको चरण दर्शन गराउँछन, जो नाताले मेरा साख्खै ठुलोबुबा पर्नुहुन्छ। म खुशिले गदगद हुन्छु। उहाँको आशिर्वादले मेरा हरेक दिन पूर्ण जीवन जस्तै बन्छन । तपाइलाइ पत्याउन मुश्किल पर्छ शायद, तर मैले भन्नै पर्छ कि उहाँको स्मरण मात्रले मेरो चित्तमा परम् शान्ति महशुस हुन्छ । र मलाइ मेरो दिन भरको कार्य योजनाका लागि निर्देशन प्राप्त हुन्छ ।

युवा हुँदा, सात समुन्द्र टाढा कतै प्रकाशको चहकमा हराउँदा, कसैले आफ्नो प्रशंसाको भारी बिसाइदिंदा आफूलाइ के के न जान्ने, कत्ति न ठूलो मान्छे सम्झेर ति आदरणिय गूरूलाइ नसम्झेका दिनहरुको याद गर्दा आजकल मन खिन्न हुन्छ। ब्यर्थमा त्यति लामो समय गुरुको स्मरण बिना खेर फालेकोमा पश्चाताप हुन्छ। आखिर जीवन भनेको सोझो बाटो समयमा देख्न नसकेर अप्ठेरो, बांगो, घुमाउरो बाटो काट्नु रहेछ । र अन्त्य तिर आइसकेपछि आफ्नो मूर्खता प्रति फिस्स हाँस्नु र पछुताउनुको नाम त रहेछ ।

भाइ सुशील र मैले गुरुबाट कहिल्यै कुनै कथा सुनेनौं। कुनै कविताका अर्थका बारेमा उहाँसँग शाष्त्रार्थ गर्ने मौका पाएनौ। बरु हजुरबुवाबाट पुराण, रामायण, महाभारत लगायत ग्रन्थका बारेमा सुन्न पाएका थियौं। गणितको समस्या हल गर्न सहयोग पाउनका लागि पनि गुरु हामी सामु उपस्थित हुनुहुन्थेन । सरकारी जागिरमा संलग्न भएको कारणले कामको शिलशिलामा उहाँ बिभिन्न शहर र सदरमुकाम धाइरहनु पर्थ्यो । तर जव चाड पर्वहरुमा घर आउनुहुन्थ्यो अनि उहाँ हामीलाइ खोज्नु हुन्थ्यो जसरि हामीले उहाँलाइ वर्षभरि खोजिरहेका हुन्थ्यौं । हामीले गाउँको मन्दीर नजिकैको खुला मैदानमा भकुन्डो खेलेको हेरेर गदगद हुनुहुन्थ्यो उहाँ र घर आएपछि भन्नुहुन्थ्यो, “आज तिमीहरुले मलाइ एउटा एउटा कथा सुनाउनुपर्छ।”

कहिले आँगनको छेउमा काठको कुर्सि राखिदिएर त्यस माथि उभिन लगाउँदै घरका सबैलाइ स्रोता बन्न लगाउनुहुन्थ्यो । र हामीलाइ मन परेको विषयमा बोल्न लगाउनु हुन्थ्यो । कहिले तरवार ठूलो कि कलम भन्ने शिर्षक दिएर बादबिबाद प्रतियोगितामा उतार्नु हुन्थ्यो । सृजनात्मक स्वतन्त्रताका एकदमै ठूला पक्षपाती हुनुहुन्थ्यो उहाँ ।

भन्नुहुन्थ्यो, “कसैको कोमल मष्तिष्कमा आफ्नो बिचार लाद्नु राम्रो कुरा होइन। जगतको अवलोकन गरेर बिज्ञानसम्मत धारणा बनाउन हर कोहि स्वतन्त्र हुन पाउनु पर्छ।” उहाँले आवश्यकता भन्दा बढि माया कहिल्यै दर्शाउनु भएन। हामीलाइ लड्नको लागि फराकिलो धरातल दिनुभयो। फेरि उठ्नको लागि समय दिनु भयो। आफै उठ्न दिनु भयो। उड्न दिनुभयो। बिस्वास रुपि नजर हामी माथि राख्नु भयो। तर कहिल्यै हामी उड्दै माथि जाँदै गर्दा वा तल झर्दै गर्दा बट्टाईलाइ आफ्नो इच्छा अनुसार तल वा माथि लैजानको लागि बलपूर्बक झट्कार्नु भएन । भाङको लस्सी पिएर तीन दिन सम्म सुत्दा पनि, दर्जनौं फरक फरक गल्ति गर्दा पनि कहिल्यै हकार्नु भएन।

धेरै जसो घटनाहरु कुनै कारणको परिणाम स्वरूप मात्र होइन अपितु केहि कारणका लागि पनि घटेका हुन्छन जस्तो लाग्दछ मलाइ। गत बैशाखमा नेपाल गएको बेला मोटरसाइकल दूर्घटना भएपछि गुरुसँग करिव पाँच दिन सम्म सत्संग गर्ने सुवर्ण मौका पाएँ । लाग्दछ, उक्त दूर्घटना नभएको भए शायद उहाँसँग त्यति धेरै समय ब्यथित गर्न पाउँदैनथें होला।

महियांस प्रकृत्या मितभाषिणः। अर्थात महान मानिसहरु, स्वाभावैले कम बोल्छन। उहाँ धेरै बोल्ने मानिस नभएकोले मैले कसरि पारिवारिक इतिहास बारे, उहाँको उत्तरार्धको जीवन दर्शन र सोच्ने शैली बारे सोध्न सकुँला भन्ने थियो।

तर उहाँको चरणमा पर्दा साथ मेरो शीरमा आफ्ना कोमल हातहरु राखेर भन्नु भयोः तत त्वम असि। अर्थातः जो अनन्त छ, कहिल्यै मेटिंदैन, तिमि त्यहि हौ ।

“रुप र चोला त मेटिन्छ नि, हैन र ?”

त्यसपछि गुरु चेला बिच आत्माको अमरताको बारेमा, जीवनको प्रारब्ध अनि उत्तरार्धको बारेमा लामो बिचार मन्थन भयो । संस्कृतका श्लोकहरुको उद्धरण गर्दै उहाँले कर्मबाट बन्ने मान्छेको अमीट ब्यक्तित्वको बारेमा बिस्तारमा कुरा गर्नु भयो।

एक दिन उहाँको मन साध्न सोधें, “भाइ र मैले हाइ स्कूलमा तपाइको चाहना बिपरित ऐक्षिक बिज्ञान विषय नलिएर इतिहास अनि अर्थशास्त्र रोज्दा तपाइलाइ रिस उठेकै थिएन ? अनि त्यसै ताका भाङको लस्सी पिएर तीन दिन सम्म बेहोश भई सुत्दा पनि तपाइले हामीलाइ गालि गर्नु भएन नि ! किन ?”

“अनुगच्छातु प्रवाह । अर्थात, तिमीहरुले आफ्नो स्वभाव अनुसारको विषय रोज्यौ । मैले रिसाउनु पर्ने कुरै थिएन। तिमीहरुको रोजाइमा मैले कहिल्यै शंका गरिन। रिस उठेको भए म नै गलत हुने थिएँ। जहाँसम्म भाङको लस्सी काण्डको कुरा छ, तिमीहरुले नशाजन्य पदार्थ लिएको थाहा पाए पछि म तिमीहरु बिग्रन्छौ कि भनेर अत्यन्त सचेत चाहिं भएको थिएँ । त्यसैले मेरो साथी प्रेम चन्द्रको जेठो छोरा मोहनलाइ तिमीहरुले थाहा नपाउने गरी चियो गर्न खटाएको थिएँ। तिमीहरुले मैले शिकायत गर्नु पर्ने गरि कुनै गल्तिहरु दोहोर्याएनौ । त्यसैले मैले गाली गर्नै परेन ।”

“जीवनको ८४ वर्ष काट्दै गर्दा कुनै कुरा वा काम गर्न नपाएकोमा पस्चाताप त छैन नि हजुरलाइ ?”

“पस्चाताप गर्नु पर्ने त्यस्तो केहि छैन। मैले सधै आफूलाइ काममा ब्यस्त राखें, त्यसैले म सुखि र खुशि पनि छु।

वाणि रसवती यस्य, यस्य श्रमवती कृया। लक्ष्मीः दानवती यस्य, सफलं तस्य जीवितं॥

अर्थात, मनुश्यको सबैभन्दा ठुलो दुश्मन उसको आलस्य हो। परिश्रम जस्तो दोश्रो मित्र कोहि हुन सक्दैन । किनकि परिश्रम गर्ने मानिस कहिल्यै दुखी हुनु पर्दैन ।

पस्चातापै त नभनौंहोला । तर यदि फेरि फर्केर बाँच्ने अवसर आइदिन्थ्यो भने मैले अलिक बढि समय शायद तिमिहरुसँग भकुन्डो खेलेर बिताउन चाहन्थें होला। ”

यस पटक गुरुको हात समाउने भन्दा पनि गुरुको हातमा आफ्नो हात सुम्पेर आएको छु। आफूले समाउँदा आफ्नो गल्तिले हात फुस्कने डर हुन्छ। गुरुले समाएका हात बिरलै फुस्कन्छन ।

गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर देवो महेश्वर।
गुरुः साक्षात्परब्रह्मा तस्मै श्री गुरुवे नमः।।

कृष्ण शर्माका अघिल्ला रचनापनि हेर्ने कि ?

ति पानीका फोका, त्यो कट्टुको पसल

भाङको सत्यले चिमोटिएको बेला

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

तपाइँको प्रतिक्रिया