शुक्रबार, वैशाख १४, २०८१

‘युक्रेन युद्धको मामिलामा ईयू आक्रामक र युद्ध मानसिकतामा’

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ३१ गते ७:५१

foreign minister of Russia Sergei Lavrov. photo-xinhuwa

रुस-युक्रेन युद्ध मामिलामा युरोपेली युनियन रचनात्मक आर्थिक प्लेटफर्म बन्नुपर्नेमा आक्रामक र युद्धकारी अभिनेता बन्न पुगेको छ ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार यस्तो आरोप लगाएका हुन् ।

ईयूका परराष्ट्र मामिला प्रमुख जोसेप बोरेलले रुसको आक्रमण निस्तेज पार्न युक्रेनलाई भारी हतियार किन्नको लागि अर्को ५० करोड युरो दिने घोषणा गर्नु अघिनै रुसी बिदेशमन्त्रीले उक्त आरोप लगाएका हुन् ।

“हामी युक्रेनको सेनालाई सहयोग गर्न थप ५० करोड युरोको नयाँ किस्ता प्रदान गर्नेछौं” बोरेलले जर्मनीको बाल्टिक सागरको तटस्थित वाईसेन हाउस मा जि ७ राष्ट्रहरुको बैठक अघि पत्रकारहरूलाई भने ।

उनले युक्रेनकालागि भारी हतियार खरिद गर्न रकम छुट्याइने र युरोपेली संघको कुल आर्थिक सहयोगलाई २ अर्ब युरोमा पुर्‍याउनेसमेत बताए।

बोरेलको घोषणा अघि बोल्दै रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भने: “ईयू एक रचनात्मक आर्थिक प्लेटफर्मबाट विकसित भएको हो । जसरी यो सिर्जना गरिएको थियो त्यसरि नचलेर अहिले एक आक्रामक र युद्धरत खेलाडीमा विकसित भएको छ । ईयुले पहिलेनै युरोपेली महाद्वीपभन्दा टाढा आफ्नो महत्वाकांक्षा प्रदर्शन गरेको छ ।”

लाभरोभले “युरोपियन युनियनको सदस्य बन्ने कीभको चाहना महत्वहीन नभएको” समेत उल्लेख गरेका छन् ।

उनले युरोपेलीहरूलाई नाटोले पहिल्यै कोरेको बाटोमा ठ्याक्कै दौडिरहेको आरोप लगाए । त्यसले गर्दा उत्तर एट्लान्टिक गठबन्धनसँग फ्युजनको पुष्टि भएको भनाईसमेत उनको छ ।

रुसले नाटोलाई आफ्नो देशको अस्तित्वको खतरा मानेको छ । आंशिक रूपमा नाटो र ईयुले रुसको पूर्वतर्फ विस्तार हुन खोजेको आरोप लगाएर युक्रेनमा आफ्नो युद्धलाई जायज ठहराएको छ ।

विहिवार फिनल्याण्डका नेताहरूले आफ्नो देश बिना ढिलाइ नाटोमा सामेल हुन आह्वान गरेका छन् । स्वीडेनले पनि आगामी दिनमा यहि बाटो लिनसक्ने संकेत देखिएको छ ।

रुसले २४ फर्वरीमा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका, बेलायत र इयु लगायतका देशले रुसमाथि कडा प्रतिबन्धहरू लगाएका छन् । त्यसपछि रूसले ईयुबिरुद्द मौखिक आक्रमणहरू बढाइरहेको छ ।

तपाइँको प्रतिक्रिया