शनिबार, वैशाख ८, २०८१

बँदेल शहर पसेपछि ईटालीमा कर्फ्यु !

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ वैशाख ३१ गते १०:१४

Image source-wantedinrome.com

ईटालीको राजधानी रोम सांस्क्रितिक र सुन्दर पर्यटकिय शहर भनेर चिनिन्छ । दैनिक हजारौं पर्यटकहरुको घुइँचो हुने यो शहरका बासिन्दा अहिले जंगली सुँगुरहरुसित लड्दै हैरानीमा छन् । केहि ठाउँमा नागरिकलाई बँदेलको आक्रमणबाट सुरक्षित राख्न राती कर्फ्यु लगाउने गरिएको छ ।

इटाली सरकारले अहिले देशको राजधानी रोममा आतंक मच्चाइरहेका जंगली बँदेलको सामूहिक शिकार गर्ने योजना बनाएको छ ।

सहर भित्र पस्ने, फोहोरको डिब्बा खोतलेर खाने र स्थानीय बासिन्दालाई समेत आक्रमण गर्ने जंगली सुंगुरको संख्या बढ्दै गएपछि सहर घेराबन्दीमा परेको छ ।

त्यसो त, बँदेल लगायतका जंगली जनावरहरू रोमको बाहिरी भागमा वर्षौंदेखि बसोबास गर्दै आएका छन् । तर हालका केहि महिनादेखि सहरमा घुसपैठ गर्ने क्रम बढेको छ । किनभने शहरमा मानिसले फ्याँकेका खाना बढीरहेको छ । जंगलमा खोजेर आहारा टिप्नुभन्दा शहरमा सजिलै आहारा भेटिने भएकाले बँदेल शहर पसेका हुन् ।

यो हप्ता रोममा समस्या अझ गम्भिर बन्यो जब इटालियन पशु चिकित्सा संस्थान इजसुमले तीनवटा सुँगुरको शवमा अफ्रिकी स्वाइन फिभर भन्ने रोग पुष्टि गर्‍यो । यो एक अत्यधिक संक्रामक भाइरल रोग हो ।

यस रोगले मानव स्वास्थ्यमा कुनै असर नगरे पनि घरपालुवा जनावरहरूलाई जोखिममा पार्छ ।

Image source- Wanted in Rome /Twitter

किसान संघ, कोल्डिरेट्टीले अनुमान गरेअनुसार रोमको बाहिरी भागमा लगभग २३ हजार बँदेलहरू बस्छन् । जंगली सुँगुरहरू प्रायः रोमको उत्तरमा लाजियो क्षेत्रमा देखिन्छन् । खानाको खोजीमा फोहोरको डिब्बाहरू खोज्दै शहरमा प्रवेश गर्छन् ।

रोम सहरको उत्तरमा ८०० हेक्टर वन्यजन्तु क्षेत्र इन्सुगेराटा नेचर रिजर्भ छ । त्यसमा स्वाइन फिभरका घटनाहरू फेला परेपछि स्वास्थ्य अधिकारीहरूले धेरै क्षेत्रलाई खतराजन्य क्षेत्र (रेड जोन) घोषणा गरेका छन् ।

रोम शहर भरी बँदेलको बिगबिगी बढेपछि ईटालीका स्वास्थ्य मन्त्री एन्ड्रिया कोस्टाले बँदेल नियन्त्रण गर्न ईटालीभरीनै नियन्त्रणका उपाय लगाएर सबै जनतालाई आव्हान गर्नुपर्ने घोषणा गरेका छन् ।

स्वाइन फिभरको पहिलो घटना जनवरीमा इटालीको उत्तर क्षेत्रस्थित पिडमन्टमा पत्ता लागेको थियो । अधिकारीहरू यसको फैलावट रोक्न त्यसबेला देखिनै लागिपरेका थिए ।

यो घातक रोगले चीन र रुस जस्ता देशहरूमा हजारौं जंगली र घरपालुवा जनावरहरूलाई मारेको छ । यसको फैलावटलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा लाखौं जनावरहरूको हत्या गरिएको छ ।

यस घटनाले गर्दा बाल्दुइना र वरपरका छ जिल्लाका बासिन्दाहरूलाई बँदेलको आक्रमणबाट बचाउन बेलुका ८।३० बजेदेखि कर्फ्यू लगाउउनेगरिएको छ ।

“बँदेलहरूले हाम्रा सहर, हाम्रा पार्क र हाम्रा छिमेकमा आक्रमण गरेका छन्” कोस्टाले भने “यो उनीहरूको संख्या घटाउने, बँदेलको आक्रमणबाट हुने हत्यालाई घटाउने र महत्वपूर्ण योजना बनाउने सही समय हो ।”

तपाइँको प्रतिक्रिया

फेसबुक