बुधबार, वैशाख १२, २०८१

१६ वर्षपछि लिभरपुलले जित्यो एफए कपको उपाधि

नेपाल प्लस२०७९ जेठ १ गते २०:५२


चेल्सीलाई पेनाल्टी सुटआउटमा ६–५ ले पराजित गर्दै लिभरपुल १६ वर्षपछि एएफ कप जित्न सफल भएको छ । यो उपाधिसँगै एकै सिजन चार फरक उपाधि जित्ने पहिलो इंग्लिस टोली बन्ने लिभरपुलको सम्भावना अझै जीवित नै छ । यसअघि चेल्सीलाई नै पराजित गर्दै कारबाओ कप जितेको लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगिसकेको छ भने इंग्लिस प्रिमियर लिगको उपाधि होडमा पनि उसको सम्भावना समाप्त भइसकेको छैन । यद्यपि प्रिमियर लिगमा अब केबल दुई चरणको खेल बाँकी रहेको र पहिलो स्थानको म्यानचेष्टर सिटी ३ अंकका साथै गोलअन्तरमा पनि उभन्दा धेरै बलियो अवस्थामा रहेका कारण लिभरपुलले लिग उपाधि जित्ने सम्भावना भने ज्यादै कम छ ।

लन्डनको वेम्बेलीमा शनिवार खेलिएको खेलमा निर्धारित समयसम्म कुनै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो।कारबाओ कपको फाइनलमा पनि पेनाल्टी सुटआउटमा १०–११ ले पराजित भएको चेल्सी यसपटक पनि टाइब्रेकरमा निराश हुनुपर्‍यो । सडन डेथमा चेल्सीका मेसन माउन्टको प्रहार गोलरक्षक एलिसन बेकरले बचाएपछि सब्सिच्युट खेलाडी कोस्टास सिमिकासले लिभरपुलका लागि निर्णायक गोल गरेका थिए ।

२०१५ मा म्यानेजरका रूपमा योर्गन क्लोप लिभरपुल आएपछि क्लबले जितेको यो छैठौँ उपाधि हो । क्लोपको प्रशिक्षणमा लिभरपुलले ३० वर्षको लिग उपाधिको खडेरीलाई तोड्दै २०१९–२० को प्रिमियर लिग उपाधि जितेको थियो भने सोही सिजन क्लबले युईएफए सुपर कप र फिफा क्लब वल्र्डकप पनि जितेको थियो । त्यो भन्दा अगाडि २०१८–१९ को सिजनमा क्लोपले लिभरपुललाई १४ वर्षपछि युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । यस वर्ष दुई उपाधि जितेपछि एनफिल्डमा उनको उपाधि संख्या ६ पुगेको हो ।

यसअघि अन्तिमपटक २००६ मा यो उपाधि जितेको लिभरपुलको यो आठौँ एफए कप उपाधि हो । यसअघि लिभरपुलले १९६५, १९७४, १९८६, १९८९, १९९२, २००१ र २००६ मा एफए कपको उपाधि जितेको थियो । लिभरपुल इंग्लिस क्लबको इतिहासमा उसको पुरुष टोलीले जितेको यो पचासौँ उपाधि समेत रहेको क्लबको आधिकारिक वेवसाइटमा उल्लेख छ । (आइएनएस)

तपाइँको प्रतिक्रिया