शुक्रबार, वैशाख ७, २०८१

फिनल्याण्डद्वारा नाटोमा संलग्न हुने निर्णयपछि रुसको चेतावनी, थप द्वन्दको खतरा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ जेठ २ गते १६:१०

Image Credit-atlanticcouncil.org

फिनल्याण्डको सरकारले आइतवार उत्तर सन्धि संगठन (नाटो) मा संलग्न हुने निर्णय गरेपछि उत्तरी ध्रुविय देश (नर्डिक कन्ट्री) हरुसित रुसको संवन्धमा थप टकराव हुने देखिएको छ ।

फिनल्याण्ड सरकारले आधिकारिक रूपमा आइतबार नाटोमा सामेल हुने घोषणा गरेपछि स्वीडेनको सत्तारूढ दलले पनि संयुक्त आवेदनको लागि मार्ग प्रशस्त गर्न सक्ने निर्णायक बैठक आयोजना गर्ने भएको छ ।

रुसले फर्वरी २४ मा युक्रेनमा आक्रमण गरेको तीन महिनाभन्दा कम समयपछि फिनल्याण्डले यस्तो घोषणा गरेको हो । यो कदम ७५ वर्षभन्दा अघिको सैन्य असंलग्नतासम्बन्धी फिनल्याण्डको नीतिको आश्चर्यजनक रुपमा बिपरित निर्णय हो ।

स्वीडेन दुई शताब्दी भन्दा बढी समयदेखि सैन्य संगठनमा असंलग्न रहेको छ । सम्भवतः आजै सोमवार वा मंगलवार स्विडेनपनि नाटोमा संलग्न हुन औपचारिक निर्णय गर्ने अपेक्षा गरिएको छ ।

“आज, गणतन्त्रका राष्ट्रपति र सरकारको विदेश नीति समितिले संयुक्त रूपमा फिनल्याण्डले संसदसँग परामर्श गरेपछि नाटो सदस्यताका लागि आवेदन दिने सहमति गरेको छ” फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले आइतवार प्रधानमन्त्री सान्ना मारिनसँगको संयुक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने ।

“यो ऐतिहासिक दिन हो । नयाँ युग खुल्दैछ” निनिस्टोले थपे ।

टर्कीले अन्तिम मिनेटमा आपत्ति जनाएपनि नेटो सदस्यहरू स्वीडेन र फिनल्याण्डलाई पश्चिमी सैन्य गठबन्धनमा स्वागत गर्ने सम्बन्धमा उनीहरूले छलफल गर्दा “राम्रो बाटोमा” रहेको क्रोएसियाका विदेशमन्त्री गोर्डन ग्रलिक रेडम्यानले बर्लिनमा नाटो समकक्षहरूसँग वार्ताका लागि आइपुगेको बेला बताए ।

फिनल्याण्डको संसदले सोमवार सदस्यता प्रस्तावमाथि बहस गर्दै छ । “हामी आशा गर्छौं कि संसदले आगामी दिनहरूमा नाटो सदस्यताको लागि आवेदन दिने निर्णयको पुष्टि गर्नेछ। यो बलियो जनादेशमा आधारित हुनेछ” प्रधानमन्त्री मारिनले भनिन् ।

मारिनको सोसल डेमोक्र्याटिक पार्टीले शनिबार आफ्नो देश नाटोमा सामेल हुने पक्षमा रहेको बताएपछि फिनल्याण्डका सांसदहरूको बहुमतले उक्त निर्णयलाई समर्थन गरेको थियो ।

“आशा छ, हामी अर्को हप्ता स्वीडेनसँगै हाम्रो आवेदनहरू पठाउन सक्छौं” मारिनले शनिबार भनिन् ।

दुई उत्तरी ध्रुविय (नर्डिक) देशहरूले शीतयुद्धको अन्त्य पछि इयुमा सामेल भएर र सन् १९९० को दशकमा नाटोको साझेदार बनेर आफ्नो कडा तटस्थता तोडेका थिए । उनीहरुले पश्चिमसँगको आफ्नो सम्बन्धलाई सुदृढ गरेका थिए ।

रसियासँग एक हजार तीन सय किलोमिटर (८०० माइल) सीमा साझेदारी गर्ने फिनल्याण्डले नाटोमा सामेल हुने निर्णयको आरोप खेपिरहेको छ । अर्कोतिर स्वीडेन बाल्टिक सागर वरपरको एक मात्र गैर नाटो देश भएकोमा चिन्तित देखिन्छ ।

फिनल्याण्ड स्वीडेनको सबैभन्दा नजिकको रक्षा सहयोग साझेदार पनि हो । धेरै स्विडेनी राजनीतिज्ञहरूले उनीहरूको समर्थन फिनल्याण्डमा सामेल हुन सशर्त रहेको बताएका छन् ।

शनिबार, फिनल्याण्डका राज्य प्रमुखले आफ्ना रूसी समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी ‘प्रत्यक्ष र सीधा’ भनेर वर्णन गरिएको कुराकानीमा नाटोमा सामेल हुने आफ्नो देशको चाहनाको बारेमा जानकारी गराएका थिए ।

“तनावबाट बच्नु महत्त्वपूर्ण मानिएको थियो” निनिस्टोले एक विज्ञप्तिमा भने ।

तर पुटिनले चेतावनीसहितको प्रतिक्रिया दिएका छन् । “नाटोमा सामेल हुनु गल्ती हुनेछ । किनकि फिनल्याण्डको सुरक्षामा कुनै खतरा छैन” रुसी सैनिक मुख्यालय क्रेमलिनको विज्ञप्तिमा उल्लेख छ ।

रुसले बारम्बार दुवै देशलाई नाटोमा सामेल भए परिणाम भोग्ने चेतावनी दिएको छ ।

“फिनल्याण्डले रसियाले आफ्नो निर्णयको जवाफ दिने अपेक्षा गरेको बेला मलाई लाग्छ कि हामीले वास्तविक सैन्य अपरेशनको सामना गर्ने छैनौं” निनिस्टोले आइतवार भने पुटिनसँगको फोन कल पछि मलाई अझ बढी आशा लागेको छ ।”

अर्को विकल्प छैन

हालैको सर्वेक्षण अनुसार गठबन्धनमा सामेल हुन चाहने फिन (फिन्ल्याण्डाक जनता) हरूको संख्या बढेर तीन-चौथाई पुगेको छ । यो रुस-युक्रेन युद्ध अघि देखाइएको स्तरभन्दा झन्डै तीन गुणा बढी हो ।

स्वीडेनमापनि नाटोमा सामेल हुने समर्थन नाटकीय रूपमा बढेको छ । लगभग ५० प्रतिशतले बढेको अधिकारीले दाबी गरेका छन् । लगभग २० प्रतिशत मात्रै नाटोमा सामेल हुने विरुद्धमा छन् ।

प्रधानमन्त्री म्याग्डालेना एन्डरसनको नेतृत्वमा स्वीडेनको सोसल डेमोक्र्याटहरूले आइतबार पार्टीमा सामेल हुने विरुद्धको ऐतिहासिक अडान त्याग्ने कि स्विकार गर्ने भन्ने निर्णय गर्न आइतबार बैठक बसेका थिए । अन्तिम पटक नोभेम्बरमा पार्टीको वार्षिक महाधिवेशनमा पुन: यहि विषयमा छलफल भएको थियो । पार्टीबाट नाटोअमा सामेल हुने हरियो बत्ती बलेपछि सामेल हुने पक्षमा संसदीय बहुमत प्राप्त गर्नेछ ।

पार्टीका प्रमुख राजनीतिज्ञहरू निर्णय उल्टाउन तयार देखिन्छन् भने भित्रभित्रै उठेका आलोचनात्मक आवाजहरूले नाटोमा सामेल हुने नीतिमा हतार भएको भन्दै उक्त निर्णयको भर्त्सना गरेका छन् । तर विश्लेषकहरूले यो कदमको पार्टीले विरोध गर्ने सम्भावना कम रहेको बताएका छन् ।

नाटो सदस्यता प्राप्त गर्न गठबन्धनका सबै ३० सदस्यहरूले अनुमोदन गर्न आवश्यक छ । फिनल्याण्ड र स्वीडेनले अंकाराबाट अनुकूल संकेतहरू प्राप्त गरेको दाबी गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले शुक्रबार यस विचारप्रति कडा आलोचना गरेका थिए । टर्कीको आपत्ति विशेष गरी स्विडेनप्रति छ । स्स्विडेनले कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) प्रति उदारता देकहएको आरोप लगाउने गरेको छ । त्यो पार्टीप्रति देशहरूको उदारतालाई के मान्छ भन्ने कुरामा केन्द्रित छ । किनभने त्यो पार्टी ईयूको आतंकवादी संगठनहरूको सूचीमा छ ।

निनिस्टोले आइतवार भने “राष्ट्रपति एर्दोगानसँग मैले उठाएका समस्याहरूको बारेमा नयाँ शिरामा छलफल गर्न तयार छु ।”

बर्लिनमा भएको नाटोको बैठकमा स्लोभाकियाका विदेश मन्त्री इभान कोर्कोकले भने “हामी समाधान खोज्नेछौं भन्नेमा पूर्ण रूपमा विश्वस्त छौँ ।”

तर लक्जम्बर्गका विदेशमन्त्री जीन एसेलबोर्नले स्वीडेन र फिनल्याण्डका लागि संकेतहरू नराम्रो नदेखिएको बताएका थिए ।

(नेपालप्लसको साथै युरोन्युज, फ्रंस २४ न्युज र एएफपी)

तपाइँको प्रतिक्रिया

फेसबुक